Kathmandu Press

रैथाने कलाको संरक्षण गर्दै ललितकला प्रतिष्ठान

रैथाने कलाको संरक्षण गर्दै ललितकला प्रतिष्ठान
Hardik ivf

काठमाडौं, पुस ८ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली रैथाने कलाको संरक्षण तथा प्रवर्धन गर्ने भएको छ।
   
नेपाली कलाको विकास र संरक्षणमा योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारी गरेको प्रतिष्ठानले सातै प्रदेश, पालिका सरकार तथा सरोकार भएका सङ्घसंस्थासँगको सहकार्यमा रैथाने कलाको संरक्षण अभियान अघि बढाउन लागेको हो। 
    
अहिलेसम्म रैथाने लोक कलाको संरक्षणमा खासै ध्यान पुगेको छैन। कला प्रदर्शनी पनि आधुनिकतामा केन्द्रित भइरहेका छन्। गाउँमा त्यस्ता मौलिक कला हराउँदै गएको छ। त्यसैले ती कलालाई जीवन्त राख्नुपर्ने आवश्यकता महसुस गरी रैथाने कलाको संरक्षणमा जोड दिइएको प्रतिष्ठानले जनाएको छ।
    
'सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिने निर्णय भएको छ', प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले भने, 'त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरिसकेको छ।' 

ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यअनुसार प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान : अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित कला संरक्षणका लागि देशका सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो।
   
त्यसरी संरक्षण गरिएका कलालाई सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी पनि भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए।

उनले भने, 'कलामा पुनःजागरण ल्याउने लक्ष्यअनुसार नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने योजनासमेत रहेको छ, प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गरिनेछ। सफल भएमा त्यसले नेपाली मौलिक कला संरक्षणमा सहयोग गर्नेछ।'
  
कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्य धेरै योजनातर्जुमा गरी लागू गर्ने चरणमा प्रतिष्ठान पुगेको पनि उनले बताए। 

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्