Kathmandu Press

महावीर पुनको सहभागितामा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’

महावीर पुनको सहभागितामा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’

काठमाडौं, पुस ७ : सामाजिक अभियन्ता एवं वैज्ञानिक डा.महावीर पुनको सहभागितामा बागमती स्कुल तथा कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ गरिएको छ। 

काठमाडौंको सुकेधारामा रहेको स्कुलमा शनिबार भएको कार्यक्रममा अभियन्ता पुनले विद्यार्थीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा आवश्यक रहेको बताएका छन्। उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने र समस्या समाधान गर्न सक्ने खालको शिक्षा प्रदान गर्नुपर्ने सुझावसमेत दिए।

Hardik ivf

‘हामीले के शिक्षा दिइरहेका छौं,  विद्यार्थीले त्यसलाई उपभोग गर्न सकिरहेका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्नेछ,’ कार्यक्रममा सहभागी पुनले भने, ‘विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा पनि सीपमूलक शिक्षा चाहिएको छ।’ उनले यस्ता कार्यक्रम विद्यालयको पाठ्यक्रममै समावेश हुनुपर्नेमा जोड दिए।

विद्यार्थीहरुले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उनले यस्तैखाले कार्यक्रम अन्य विद्यालयहरुमा पनि गरिनुपर्ने सुझाए। विद्यार्थीहरुले पनि आफूले बनाएका सामग्रीहरुबारे कार्यक्रममा सहभागी भएकाहरुलाई जानकारी गराएका थिए। गणित तथा विज्ञानसँग सम्बन्धित ५२ वटा स्टलसम्मै पुगेर वैज्ञानिक पुनले विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए। वैज्ञानिक पुन र बागमती फाउन्डेसनका अध्यक्ष डा.सुरेन्द्र सिटौलाले सामूहिक रुपमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ को शुभारम्भ गरेका थिए।

बागमती कलेजका निर्देशक अश्मिन सिटौलाले प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न संस्था सदैव तयार हुने प्रतिबद्धता जनाए। कार्यक्रममा बागमती कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यार्थी तथा अभिभावकहरु सहभागी रहेको कार्यक्रममा बागमती हस्पिटालिटी एन्ड म्यानेजमेन्ट क्लबको आयोजनामा ‘फुड फेस्टिभल’ समेत गरिएको थियो। जसमा कक्षा ११ र १२ का होटेल म्यानेजमेन्ट विषय पढिरहेका विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागीहरुलाई खुवाएको बागमती कलेजका प्राचार्य विशाल पराजुलीले जानकारी दिए। उनले यस्ता कार्यक्रम हरेक वर्ष क्यालेन्डरमै राखेर गरिरहेको पनि जानकारी दिए। उनका अनुसार यो आठौं संस्करण हो।

बागमती स्कुलका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बागमती रोबोटिक्स क्लबको योगदानमाथि चर्चा गर्दै यसमा संलग्न विद्यार्थी तथा शिक्षकहरुको प्रशंसा गरे। उनले आगामी दिनमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने पनि जनाए। कार्यक्रममा प्राथमिक तहका विद्यार्थीलक्षित गरी खेल्ने सामग्रीका स्टलहरुसमेत राखिएका थिए। कार्यक्रममा तीन हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति थियो।
 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्