ज्येष्ठ नागरिकलाई पनि पोसाक भत्ता

फिक्कल (इलाम), पुस ६ : इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ।
जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो। उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए।
चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन्। उनीहरुले यस वर्ष मात्र रु ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताए।
गएको आव २०७९/८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले रु ३१ लाख ५२ हजार पोसाक भत्ता लिएका थिए। ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए।
'शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन', नगर प्रमुख पोख्रेलले भने, 'ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ। यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेकोे हो।'
पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ। नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा रु ३६ लाख विनियोजन गरेको थियो।
दीर्घरोगीलाई औषधि खर्च
यसैगरी उक्त नगरपालिकाले दीर्घरोगीलाई औषधि खर्चवापत वार्षिक रु पाँच हजार पनि उपलब्ध गराउँदै आएको छ। गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई रु दुई लाख उपलब्ध गराएको थियो। चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले रु ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए।












