Kathmandu Press

मेवा बेचेर मासिक डेढ लाख आम्दानी गर्दै ‘अनार बाजे’

मेवा बेचेर मासिक डेढ लाख आम्दानी गर्दै ‘अनार बाजे’

मन्थली (रामेछाप), पुस ६ : रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनार खेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू. १ लाख ५० हजार आम्दानी गर्छन्। 

अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए।  

आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ। उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लागेका हुन्। 

कृषक आचार्यले भने, 'पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ। यसको होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ।' एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए।  
 
बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो। उनले भने, 'अरु रोजगारीका लागि विदेश जान्छन्। म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ। काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ।'

आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए। नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए। 

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्