Kathmandu Press

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य  लिम्बू

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य  लिम्बू

फिक्कल (इलाम), पुस ४ : इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन। बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त छन्। दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन्।

दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन्। उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गर्नुभएको छ। जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन्।

चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गर्नुभएका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ। उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन्। सबै बोटले उत्पादनसमेत दिन थालेका छन्। 

Hardik ivf

छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु. दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन्। उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो। बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो। तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन्। उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन्। उनले या वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन्। फल बिक्री गरेर रु एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गरेको उनले बताए। 

'जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु। आम्दानीसमेत राम्रै हुँदो रहेछ', सदस्य लिम्बूले भने, 'वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ। यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु।' उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोप्नुभएको थियो। उनले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताउनुभयो। 'युवामा पैसा कमाउनकै लागि विदेश जानुपर्दैन। आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ। यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ', उनले भने।

लिम्बूले उत्पादन गर्नुभएको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ। सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा बिक्री हुने उनले बताए। बिरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ। बिरुवा पनि प्रतिगोटा रु दुई सय ५० सम्ममा बिक्री हुने गर्दछ। लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ। टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ। गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ। यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ। ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ। 

जग्गामा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो। यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ। एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ। एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ। 

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ। यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ। यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ। नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ। 

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्