Kathmandu Press

चितवनमा हात्ती महोत्सव पुस १० देखि

संघका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ।
चितवनमा हात्ती महोत्सव पुस १० देखि

चितवन, पुस ३ : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ। कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने भएको छ।

होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो।

Hardik ivf

यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने आयोजकले जनाएको छ। हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका  प्रतियोगिता नहुने बताइएको हो।

संघका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे।

महोत्सवबाट अन्तरराष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने व्यवसायीको बुझाइ छ।

महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल संघले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए।

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्