नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ
-1702885879.jpg)
काठमाडौं, पुस २ : लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन्।
केही व्यक्तिहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र २ थान मोबाइल समेत बरामद गरेको छ।
उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको बताइएको छ। घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।












