‘खुलेर आफू गे हुँ भन्न सक्ने भएदेखि खुसी छु’
काठमाडौं आएको चार वर्षपछि (सन् २०१५ देखि) उनले ‘ब्लु डाइमन्ड सोसाइटी’मा इन्टर्नको रूपमा काम गर्न थाले । यसै क्रममा २०७२ सालमा उनलाई एक टेलिभिजन कार्यक्रम ‘परिवर्तन’मा अन्तर्वार्ताका लागि बोलाइयो । त्यही अन्तर्वार्ता हेरेर उनका आमाबुबाले छोरो समलिंगी भएको संकेत पाए ।काठमाडौं, माघ ११ : काठमाडौं आएदेखि अनुज पिटर राईले आफू गे (समलिंगी पुरुष) भएको थाहा पाइसकेका थिए । एकपटक फेसबुकमा कुराकानी गर्दागर्दै उनी एक पुरुषसँग आकर्षित हुन पुगे, ती पुरुष पनि गे थिए ।
उनीहरूबीच भेट्ने निधो भयो । ‘हाम्रो फस्र्ट डेट काठमाडौं मलमा भएको थियो । तर अरुले हामीलाई देख्लान्, के भन्लान् भनेर एकअर्काको नजिकै परेनौँ । जहाँ जाँदा पनि टाढा–टाढा भएर हिँडेका थियौँ,’ अनुज भन्छन्, ‘वसन्तपुरमा गयौँ, त्यहाँ पनि कसैले देख्ला, सुन्ला भनेर सानो स्वरमा बोलेका थियौँ । अहिले त्यो कुरा सम्झँदा हाँसो लाग्छ । हामीले किन त्यस्तो गरेका हौँला भन्ने लाग्छ ।’
केही समय प्रेम सम्बन्धमा रहेका उनीहरू कारणवश छुट्टिए । अहिले उनीहरू एकअर्काको सम्पर्कमा छैनन् ।
महसुस
३५ वर्षीय अनुज अहिले गे भनेर आफ्नो परिचय दिन्छन् । उनले २४ वर्षको उमेरमा आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्ने थाहा पाएका थिए ।
खोटाङमा जन्मे–हुर्केका उनी २४ वर्षको उमेरमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्न भाइबहिनीलाई लिएर काठमाडौं आए । काठमाडौं आएर आफूजस्तै प्रकृतिका मान्छे भेटेपछि आफ्नो पहिचान थाहा पाएको उनी बताउँछन् । ‘काठमाडौं आएपछि नै मैले मजस्तै स्वभावका मान्छे देखेँ । हाम्रो पहिचान र अस्तित्व अरुभन्दा बेग्लै रहेको थाहा पाएँ,’ उनी भन्छन्, ‘काठमाडौं आएको केही समयपछि नै सामाजिक सञ्जालबाट पार्टनर पनि भेटाएँ ।’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा ६ वर्ग पर्छन्, जसलाई एलजिबिटिआइक्युबाट परिभाषित गरिन्छ । उनका अनुसार, यो भनेको लेसबियन (समलिंगी महिला), गे (समलिंगी पुरुष), बाइसेक्सुअल (द्विलिंगी), ट्रान्सजेन्डर, इन्टरसेक्स (अन्तर्लिंगी), क्वेयर हो ।
‘गे’ वर्गमा पर्ने पुरुष पुरुषसँग नै आकर्षित हुन्छन् । अनुजमा पनि बाल्यकालदेखि यो स्वभाव देखिएको थियो । दुई दाजुभाइ र तीन दिदीबहिनीमध्ये उनी माइला सन्तान् हुन् । उनका बुबाआमा सरकारी विद्यालयमा शिक्षक छन् ।
संयुक्त परिवारमा हुर्केका उनी सानैदेखि दिदीबहिनी र फुपूहरूसँगै खेल्ने गर्थे, त्यसैले सबैले उनलाई केटीजस्तै स्वभावको छ भन्ने गर्थे । ‘विद्यालयमा पनि मैले कसैलाई साथी बनाउन सकेको थिइनँ,’ उनी भन्छन्, ‘केटाप्रति आकर्षित हुँदा आफैँलाई प्रश्न गर्थे– मलाई किन यस्तो हुँदै छ भनेर ।’
‘रियल लाइफ’
काठमाडौं आएको चार वर्षपछि (सन् २०१५ देखि) उनले ‘ब्लु डाइमन्ड सोसाइटी’मा इन्टर्नको रूपमा काम गर्न थाले । यसै क्रममा २०७२ सालमा उनलाई एक टेलिभिजन कार्यक्रम ‘परिवर्तन’मा अन्तर्वार्ताका लागि बोलाइयो । त्यही अन्तर्वार्ता हेरेर उनका आमाबुबाले छोरो समलिंगी भएको संकेत पाए । त्यसपछि त्यही वर्ष उनी अर्को टेलिभिजन कार्यक्रम ‘साझा सवाल’मा पनि आफ्ना विचार राख्न गए । त्यसपछि भने अनुजका आमाबुबा छोरो ‘गे’ भएकामा निश्चित भए ।
‘अहिलेसम्म आमाबुबालाई गे हुँ भनी आफैँले भनेको छैन । उहाँहरूलाई थाहा भइसकेको छ तर आपत्ति जनाउनुभएको छैन । उहाँहरूले मलाई छोराकै रूपमा व्यवहार गर्नुहुन्छ,’ अनुज भन्छन्, ‘मेरा भाइबहिनीलाई भने मैले मुखैले म गे हुँ भनेको छु, उनीहरूले मलाई सहजै स्विकारेका छन् ।’
अनुज अहिले ब्लु डाइमन्ड सोसाइटीमा प्रोग्राम कोअर्डिनेटरका रूपमा कार्यरत छन् । विगतको तुलनामा अहिले एलजिबिटिआइक्युलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको उनको अनुभव छ । ‘पहिलेको तुलनामा अहिले हाम्रो समुदायलाई हेर्ने दृष्टिकोणमा एकदमै परिवर्तन आएको छ ।
मेरो सन्दर्भमा अहिलेसम्म मैले समाज र परिवारबाट कुनै प्रकारको विभेद भोगेको छैन । अरु धेरै साथीले विभेद भोगिरहेका छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा उहाँहरूले मलाई छोरो भएर जन्मेपछि त्यही अनुसारको व्यवहारको अपेक्षा गर्नुहुन्छ । अहिले विवाह गर्नुपर्ने, वंश धान्नुपर्ने लगायत कुरामा प्रश्न उठ्ने गरेको छ । घरबाटै निस्केर जा, टोल बिगारिस् लगायतको लाञ्छना भोग्नुनपरेकामा आफूलाई भाग्यमानी ठान्छु ।’
आफू खुलेर बोल्ने हो र सक्षम हुने हो भने अरुले विभेद गर्ने सम्भावना कम हुने उनको बुझाइ छ । ‘एलजिबिटिआइक्यु साथीहरूले खुलेर बोल्ने वा बोल्न पाउने, शिक्षाको पहुँच हुने, गरिखान पाउने हो भने विभेद कम हुँदै जान्छ,’ उनी भन्छन्, ‘सायद मैले आफ्नो परिचय लुकाएर बसेको भए, सक्रिय रूपमा संस्थामा आबद्ध नभएको भए वा जागिर नभएको भए जीवन निर्वाह गर्नै गाह्रो हुन्थ्यो ।’
समस्या
अनुजका अनुसार, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कतिपय व्यक्तिलाई आफू को हो भन्ने कुरामै अलमल भएको पाइन्छ, यही नै मुख्य समस्या हो । यस्तै अर्को समस्या भनेको समाजलाई ‘एलजिबिटिआइक्यु’का विषयमा त्यति धेरै ज्ञान नहुनु पनि समस्या हो ।
‘योसँगै राज्यका कतिपय नीति–नियम तथा कार्यक्रम पनि एलजिबिटिआइक्युका हितमा छैनन् । हामीलाई विवाहको कानुन छैन, रोजगारीको व्यवस्था छैन, नागरिकतामा समस्या छ,’ उनी भन्छन्, ‘राज्यले नै नीति नियममा सहजता दिएको भए सरकारी कोटामा पनि अप्लाई गर्न सकिन्थ्यो, समलिंगी विवाह गरेर एकअर्कासँगै बसिन्थ्यो, कोही उच्च पदमा पुग्थ्यो । त्यसैले अधिकार पाउन त व्यक्ति खुलेर बोल्नुप¥यो ।’
संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सम्बोधन गरिएको छ । स्वेच्छाका आधारमा नागरिकता, सामाजिक सुरक्षा लगायत कुरा संविधानमा समावेश गरिएका छन् । सोही अनुसार राज्यले नीतिनियम तथा कार्यक्रम ल्याइनसकेको अनुज बताउँछन् । ‘अहिले पनि नागरिकता बनाउने हकमा स्वेच्छाको अवधारणा ल्याइए पनि त्यसमा धेरै समस्या छन्,’ उनी भन्छन्, ‘जन्मनेबित्तिकै लिंगका आधारमा महिला वा पुरुष भनी छुट्ट्याइएको हुन्छ । सुरुमा नामले गर्दा पनि नागरिकता बनाउन गाह्रो हुन्छ, पछि लिंग परिवर्तनमा थप समस्या हुन्छ ।’
नागरिकताले केही हदसम्म समस्या समाधान गरेको त छ । तर त्यो अधिकार दिएजस्तो पनि र नदिए जस्तो पनि रहेको उनी बताउँछन् । यसपालिको जनगणनामा आफूहरूलाई सम्बोधन गरिएकामा उनी खुसी व्यक्त गर्छन् । ‘यसले नेपालमा कति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति छन् भन्ने तथ्यांक आउँछ,’ उनले भने ।
उनका अनुसार, पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले प्रगति गरेको केही उदाहरण पनि छन् । विगतको तुलनामा अहिले यस समुदायका मानिस खुलेर कुरा गर्न सक्नुलाई पनि प्रगति र परिवर्तन मान्नुपर्ने उनी बताउँछन् । ‘यसले गर्दा बैंकमा काम गर्ने, मोडलिङ, मेकअप आर्टिस्ट लगायतमा यो समुदायका व्यक्ति पुगेका छन्,’ उनले भने ।
‘पहिलाभन्दा खुसी छु’
आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्ने थाहा हुनु अघिसम्म अनुजलाई कसैसँग बोल्न समेत डर लाग्थ्यो । आफू पुरुषप्रति नै आकर्षित हुनुलाई उनले आफ्नो व्यक्तिगत समस्या भएको ठान्थे । ‘मेरो स्वभाव थाहा पाए अरुले के भन्लान् भन्ने डर हुन्थ्यो । त्यसैले धेरै बोल्दिनँथेँ । अरुसँग खुलेर कुरा गर्न डराउँथे,’ उनी भन्छन्, ‘अहिलेजस्तो आफ्नो अधिकारका बारे मलाई थाहै थिएन । हामीजस्तो व्यक्ति हुन्छन् भन्ने समेत थाहा थिएन । तर, अहिले बोल्न सक्छु, आफ्नो परिचय खुलेर दिन सक्छु । अधिकारका लागि आवाज उठाउन सक्छु । पहिलाभन्दा खुसी छु ।’
उनी अझ दार्शनिक शैलीमा भन्छन् ‘मान्छे गुम्सिएर कोठामा बस्नुको पीडा र खुला आकाशमा उड्न पाउँदाको खुसी धेरै नै भिन्न हुन्छ । समाज, परिवार र आफन्तलाई पनि म गे हुँ भन्ने थाहा छ । उहाँहरूले मलाई सपोर्ट नै गर्नुभएको छ ।’
अहिले उनी जुन क्षेत्रमा छन्, जसरी आवाज उठाइरहेका छन्, जसरी आफ्नो परिचय दिइरहेका छन्– यसमा उनले धेरैबाट प्रशंसा पनि बटुलिरहेका छन् । ‘सबैका लागि गरिरहेका छौँ, अझै राम्रो गर भन्नुहुन्छ,’ उनी भन्छन्, ‘यसले मलाई थप हौसला दिन्छ ।’
नेपालमा एलजिबिटिआइक्यु
विलियम इन्स्टिच्युटले गरेको अध्ययनले नेपालमा कुल जनसंख्याको नौदेखि १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको देखाएको छ ।
तर, ब्लु डायमन्ड सोसाइटीको तथ्यांक अनुसार नेपालमा पाँचदेखि ६ लाखसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको अनुमान गरिएको छ । यस्तै, अहिलेसम्म नेपालको २५ वटा सहरमा ब्लु डायमन्ड सोसाइटी पुगेको छ । महिला, पुरुष र एलजिबिटिआइक्यु गरी करिब चार सय कर्मचारी यस संस्थामा कार्यरत छन् ।
शाब्दिक अर्थ
लेसबियन (समलिंगी महिला) : कुनै पनि महिला अर्को महिलासँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षण हुन्छन् भने त्यस्ता महिलालाई समलिंगी महिला भनिन्छ ।
गे (समलिंगी पुरुष) : कुनै पनि पुरुष अर्को पुरुषसँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षण हुन्छन् भने त्यस्ता पुरुषलाई समलिंगी पुरुष भनिन्छ ।
बाइसेक्सुअल (द्विलिंगी) : आफूभन्दा फरक लैंगिकता र आफूजस्तै लैंगिकता भएका दुवैसँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षण हुने व्यक्तिलाई बाइसेक्सुअल भनिन्छ ।
ट्रान्सजेन्डर : व्यक्तिगत पहिचान र लिंगको भावना जन्म लिंगभन्दा फरक भएका व्यक्तिलाई ट्रान्सजेन्डर भनिन्छ । यसलाई ट्रान्स मेन र ट्रान्स वुमेनमा विभाजन गरिएको छ ।
इन्टरसेक्स (अन्तर्लिंगी) : पुलिंग वा स्त्रीलिंग शरीरका परम्परागत धारणामा नअटाउने यौन विशेषता यौनांग, प्रजनन ग्रन्थी तथा गुणसूत्रको ढाँचा भएका व्यक्तिलाई अन्तर्लिंगी भनिन्छ ।
क्वेयर : सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिलाई छोटकरीमा क्वेयर भनिन्छ ।