Kathmandu Press

सम्पदा सुरक्षा : चाँगुनारायणमा लापरबाही त गर्दै छैनौँ ?

सत्तल पुनर्निर्माणका नाममा त्यहाँ रहेका मूर्ति जथाभावी राखिएका छन् । मूर्तिको महत्व नबुझ्दा यस्ता क्रियाकलाप हुँदै आएको जानकार बताउँछन् ।
सम्पदा सुरक्षा : चाँगुनारायणमा लापरबाही त गर्दै छैनौँ ?

काठमाडौं, पुस ११ : चाँगुनारायण परिसरको गेटमा लेखिएको छ, ‘पुर्खाले सिर्जेको कला भावी पुस्ताका लागि बचाएर राखौँ । तपाईंले प्रयोग गर्ने केमिकलले मूर्तिको आयु घट्दै छ ।’ 

गत शनिबार मन्दिर परिसरभित्र छिर्दा भने कुनै मूर्ति झाडीले छोपिएका थिए, कुनै पुनर्निर्माणका लागि ल्याइएका काठले । सत्तल पनि जस्तापाताले घेरिएका थिए । 

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा दैनिक सैयौँ स्वदेशी तथा विदेशी पर्यटक आउँछन्, दर्शन र भ्रमणका लागि । पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार, २०७२ को भूकम्पले क्षतिग्रस्त यस मन्दिरको पुनर्निर्माण कार्य लगभग सकिएको छ, अब परिसरमा सत्तल पुनर्निर्माण कार्य मात्र बाँकी छ । असारसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य छ । ‘सत्तल पुनर्निर्माणका लागि सम्झौता रकम १८ करोड रहेको छ भने भौतिक प्रगति करिब ६० प्रतिशत सम्पन्न भएको छ,’ उनी भन्छन्। 

Hardik ivf

सत्तल पुनर्निर्माणका नाममा त्यहाँ रहेका मूर्ति जथाभावी राखिएका छन् । मूर्तिको महत्व नबुझ्दा यस्ता क्रियाकलाप हुँदै आएको जानकार बताउँछन् । पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, चाँगुनारायण परिसरमा रहेका मूर्ति आफ्नो मौलिक स्थानमा हुनुपर्छ । मौलिक स्थानमै राख्दा यसको महत्व विशेष हुन्छ । स्थानान्तरण गर्नेबित्तिकै यसको ऐतिहासिक, पुरातात्विक  र सांस्कृतिक महत्व हराउँछ । 

केही समयअघि उनले अध्ययनका क्रममा त्यस परिसरमा एक जोडी भँगेराले आफ्नो चुच्चोले हात्तीको पुच्छर च्यापेर झुन्डिएको चित्र कुँदिएको काठ देखेका थिए । तर, अमात्य सत्तलमा हुनुपर्ने उक्त काठ अहिले त्यहाँ नभएको उनी बताउँछन् । वास्तवमा त्यो काठले ज्यादै महत्व राख्ने उनी बताउँछन्।

उक्त मल्लकालीन काठ त्यहाँ नभएकामा उनी चिन्तित छन् । ‘चाँगुनारायण परिसरमा मूर्ति असरल्ल अवस्थामा छन् । त्यति धेरै महत्वका मूर्ति कसैले उठाएर लग्यो भने थाहा हुँदैन,’ उनले भने, ‘त्यहाँ रहेका मूर्ति र सम्पदाले विगतको धेरै इतिहास पत्ता लगाउन सहयोग गरेको छ । तर, त्यही सम्पदा क्षेत्रको उत्तरपश्चिम कुनाको भित्ताको ख्वापामा रहेको लक्ष्मीनारायणको मूर्ति पनि एक वर्षअघि चोरी भइसकेको छ ।’

विश्वसम्पदा सूचीमा परेको उक्त स्थलका सम्पदाप्रति सम्बन्धित निकायको चासो नहुनु लाजमर्दो भएको उनी बताउँछन् । यसको नैतिक रूपमा जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उनको भनाइ छ । नगरपालिका भने सम्पूर्ण जिम्मा पुरातत्त्व विभागलाई हस्तान्तरण गरिसकेको भन्दै पन्छिदै आएको छ।

पुरातत्त्वविद् श्रेष्ठको कुरालाई नकार्दै प्रवक्ता कुँवर भने त्यहाँका मूर्ति हराउने वा चोरी हुने सम्भावना नरहेको दाबी गर्छन् । सत्तल पुनर्निर्माणको कार्य सम्पन्न भएलगत्तै मूर्तिको पनि व्यवस्थापन हुने उनको भनाइ छ । ‘कहाँ सजिलै चोर्न सक्छ ? सबै मूर्तिहरू सुरक्षित छन्,’ उनी भन्छन्, ‘सशस्त्र प्रहरी बल नै त्यहीँ व्यवस्था गरिएको छ । त्यहाँ केही समस्या छ जस्तो मलाई लाग्दैन ।’ 
 

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्