जहाँ सुन्न र बोल्न नसक्ने चन्दा प्लेकार्ड बोकेर काम गर्छिन्
‘बिहान ९ बजेदेखि साँझसम्म होटलमा काम गर्थें। तलब थोरै थियो,’ चन्दा सांकेतिक भाषामा भन्छिन्, ‘बच्चालाई समय दिन पाएकी थिइनँ। यहाँको कामबाट म सन्तुष्ट छु।’काठमाडाैं, पुस ५ : म सुन्न र बोल्न सक्दिनँ– चन्दा नेपालको हातमा प्लेकार्ड छ। प्लेकार्डको छेउमा कान नसुन्ने र इसाराले कुरा गर्नुपर्ने संकेत पनि राखिएका छन्।
उनी शौचालयको काउन्टरमा बस्छिन्। सार्वजनिक शौचालय प्रयोग गर्न आउनेलाई सहजीकरण गर्ने र तोकिएको शुल्क लिने उनको काम हो।
ललितपुरको पाटनढोका चोकमा छ, उनले काम गर्ने स्मार्ट शौचालय। यो साधारण शौचालय होइन, केही सुविधा र केही विशेषता छन् यसका।
एकातिर क्याफे छ, अर्कोतिर शौचालय। मूल ढोकाबाट प्रवेश गर्नासाथ काउन्टर आउँछ। त्यहाँ लेखिएको छ– महिला, पुरुष र समावेशी शौचालय। समावेशी शौचालय अपांगता र ह्विलचियर प्रयोग गर्नेहरूका लागि हो।
यस शौचालय प्रयोग गर्न १० रुपैयाँ तिर्नुपर्छ। शौचालय छिर्न टोकन आवश्यक हुन्छ। यसबाट एक दिनमा कतिले शौचालय प्रयोग गरे भन्ने तथ्यांक पनि बस्छ।
चन्दाले यहाँ काम सुरु गरेको एक महिना हुन लाग्यो। यहाँ उनले आठ घन्टा ड्युटी गर्छिन्, बिहान ६ देखि दिउँसो १ बजेसम्म। यसबाट उनलाई १५ हजार रुपैयाँ तलब आउँछ, योसँगै अन्य सुविधा पनि छन्।
यो सार्वजनिक शौचालय ललितपुर महानगरपालिकाको जग्गामा बनेको हो। पहिले पनि यहाँ सार्वजनिक शौचालय थियो। अहिले यहाँ ‘एरोसन सस्टेनेबल स्यानिटेसन कम्पनी’का सञ्चालक तथा सार्वजनिक शौचालय अभियन्ता प्रकाश अमात्यले स्मार्ट शौचालय बनाएका हुन्। अमात्यले काठमाडौं उपत्यकाभित्र नगरपालिकाहरूसँग सहकार्य गरेर स्मार्ट शौचालय बनाइरहेका छन्।
ऐतिहासिक पाटन सहर घुम्ने, टहल्नेका लागि यो शौचालय एक प्रकारले आराम कक्ष नै बनेको छ। यहाँ मानिसले शौचालयको प्रयोगसँगै चियाकफी पनि पिउन सक्छन्।
आइतबार (२५ मंसिरमा) हामी यस शौचालयमा पुग्दा ३२ वर्षीया चन्दा काउन्टरमा थिइन्। उनले अनुहारमा मुस्कान ल्याउँदै प्लेकार्ड देखाइन्। यस्तो लाग्छ, यहाँ शान्त वातावरण छ।
हामीले उनीसँग कुरा गर्न चाह्यौँ तर बुझ्ने कसरी ? हाम्रा लागि दोभासे बनिदिइन्, आकृति न्यौपाने। हामीले चन्दासँग कुरा गर्न चाहेपछि शौचालय सञ्चालक अमात्यले आकृतिलाई बोलाएका थिए। आकृतिले सांकेतिक भाषाको तालिम लिएकी रहिछन्। उनले चन्दासँग सांकेतिक भाषामै कुरा गरिन्।
चन्दा यहाँ काम गर्न पाउँदा खुसी छन्। यो उनका लागि एउटा सुन्दर रोजगारी भएको छ। ‘काम गर्न पाउँदा खुसी छु,’ चन्दाले सांकेतिक भाषामा भनिन्, आकृतिले शब्दमा, ‘शौचालय आधुनिक र व्यवस्थित भएकाले काम गर्न अप्ठेरो लागेन।’
चन्दा आफ्नो जागिरको कथा सुनाउँछिन्। उनले जागिर खोजिरहेकी रहिछन्। ‘विभिन्न ठाउँमा जागिरका लागि गएँ। बोल्न र सुन्न नसक्ने भनेर जागिर पाउनै मुस्किल,’ उनले भनिन्, ‘यहाँ सहजै काम पाएँ।’
चन्दा खोटाङमा जन्मेकी हुन्, उनको बाल्यकाल विराटनगर–५ स्थित ‘विराट बहिरा माध्यमिक विद्यालय’मा बित्यो। उनले यहीँबाट एसएलसी गरिन्। उनलाई यो अवसर बहिरा संस्थाले जुराएको हो। उनी काठमाडौं आएको सात वर्ष भयो। ‘काठमाडौं आएपछि चावहिलका स्थानीयसँग विवाह गरेँ,’ उनी भन्छिन्, ‘श्रीमान् पनि बोल्न र कान सुन्न सक्नुहुन्न।’
उनीहरूका चार वर्षको छोरा छन्। छोरा हुर्काउन र जीविका लागि उनले यसअघि चावहिलस्थित एक होटेलमा काम गर्थिन्, वेटरका रुपमा। ‘बिहान ९ बजेदेखि साँझसम्म काम गर्थें। तर तलब थोरै थियो,’ चन्दा भन्छिन्, ‘मासिक आठ हजार रुपैयाँ मात्रै। पैसा पनि कम, उता बच्चालाई समय दिन पाएकी थिइनँ।’
यहाँको जागिर उनलाई निकै मिलेको छ। चावहिल बस्ने उनी बिहान बसमा पाटन ढोका आउँछिन्। १ बजे काम सकिने भएकाले उनले बच्चालाई समय दिन पाएकी छन्। होटलको तुलनामा यता तलब पनि दोब्बर।
चन्दाजस्तै सुन्न र बोल्न नसक्नेहरूलाई जागिर दिने विचार शौचालयका सञ्चालक अमात्यलाई कसरी आयो त ?
सार्वजनिक स्थलहरू अपांगमैत्री नभएका गुनासा प्रशस्तै आउने गरेका छन्। उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने क्रममा अमात्यले यो मुद्दा बुझे। ‘शौचालय अपांगतामैत्री बनाउने क्रममा मैले सुन्न र बोल्न नसक्नेसँग पनि छलफल गरेँ,’ अमात्य भन्छन्, ‘उहाँहरूका थुप्रै समस्या रहेछन्। मैले उहाँहरूबाट जागिर नपाएको गुनासो पनि सुनेँ।’
चन्दालाई आफूले १० दिनको तालिम दिएर रोजगारीमा राखेको बताउँछन्। उनी भन्छन्, ‘सफाइ सामग्री तयारी विधिदेखि, शौचालय कसरी सफा राख्ने तालिम दियौँ।’
चन्दाले लेख्न सक्छिन्। केही रेकर्ड राख्नुपरे, उनलाई समस्या छैन। उनका लागि यो जागिर निकै सहज छ। उनी मुहारमा सन्तुष्टिको भाव ल्याउँदै भन्छिन्, ‘यस कामबाट म सन्तुष्ट छु।’
यो पनि