स्वयम्भूतिर हिँड्दै गर्दा तपाईंलाई दिसापिसाबले चाप्यो वा महिनावारी हुनुभयो भने...
एक कप चियाको १५ रुपैयाँ तिर्नुस् र स्मार्ट ट्वाइलेट निःशुल्क प्रयोग गर्नुस् । महिनावारी हुनुभयो तर साथमा प्याड छैन भने यहाँ दुई रुपैयाँका तीनवटा सिक्का खसालेपछि प्याड निस्कने व्यवस्था पनि छ । र, तपाईंले यसअघि प्रयोग गरेको प्याडलाई जलाएर खरानी बनाउने मेसिन पनि छ ।काठमाडौं, चैत ३१ : स्वयम्भूतिर डुल्दै गर्दा तपाईंलाई दिसापिसाबले चाप्यो, वा महिनावारी हुनुभयो भने चिन्ता नगर्नुस्, १५ रुपैयाँ तिरेपछि तपाईले स्मार्ट ट्वाइलेट प्रयोग गर्न पाउनुहुुन्छ । अनि, एक कप चिया निःशुल्क । अथवा, एक कप चियाको १५ रुपैयाँ तिर्नुस् र स्मार्ट ट्वाइलेट निःशुल्क प्रयोग गर्नुस् । महिनावारी हुनुभयो तर साथमा प्याड छैन भने यहाँ दुई रुपैयाँका तीनवटा सिक्का खसालेपछि प्याड निस्कने व्यवस्था पनि छ । र, तपाईंले यसअघि प्रयोग गरेको प्याडलाई जलाएर खरानी बनाउने मेसिन पनि छ । यति भएपछि तपाईं ढुक्कले यस स्मार्ट ट्वाइलेटमा प्याड बदल्न सक्नुहुन्छ ।
कुरा रह्यो एक कप चियाको, के ख्याल गर्नुस् भने, तपाईंको मलमूत्रबाट बायोग्यास निकालिन्छ र त्यही ग्यासले चिया पाक्छ । अझ तपाईंले हात धोएको पानी पनि प्रशोधन गरेर यहाँ पुनः प्रयोग गरिन्छ । घीन लाग्यो ? विश्वस्त हुनुस्, यहाँ वैज्ञानिक प्रविधिबाटै काम हुन्छ।
०००
काठमाडौंमा धेरै सुविधा छन्, तर सार्वजनिक शौचालय र बस्ने खुला ठाउँको कमी छ । काठमाडौं महानगरपालिका– १५ बुद्धपार्क अर्थात् स्वयम्भू प्रवेश गेटअगाडि यी दुवै कमीको हल गर्ने कोसिस गरिएको छ । यहाँको एक रोपनी जति जग्गामा ट्वाइलेट, चिया–खाजा पसल र बस्ने ठाउँ बनाइएको छ । त्यसैले यसको नाम ‘ट्वाइलेट पार्क’ । यो पार्क ‘ऐरोसन सस्टेनेबल स्यानिटेसन कम्पनी’ र काठमाडौं महानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।
आइतबार साँझ तीनजना अर्धबैंसे महिला र दुई बालबालिका यहाँको स्मार्ट ट्वाइलेट प्रवेश गर्छन् । एक बालिका भने पटकपटक हात धुँदै हात सुकाउने (ह्यान्ड ड्राइअर) मेसिनमा हात राखिरहन्छिन् । अर्धबैंसे महिला छोरीलाई भन्दै थिइन्, ‘धेरैबेर नसुकाउनू, पैसा धेरै लाग्छ।’
यहाँ हात सुकाएको पैसा धेरै लाग्ने त होइन, उनले बच्चालाई सम्झाउन त्यसो भनेको हुन सक्छ ।
स्वयम्भू बस्ने २१ वर्षीया रुष्मा गुरुङले पहिलोपटक यहाँको ट्वाइलेट प्रयोग गरिन् । उनले भनिन्, ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै फोहोर, चुक्कुल बिग्रिएको, पानी नहुने भन्ने ख्याल हुन्छ । तर, यहाँ सफा र व्यवस्थित रहेछ ।’
यहाँ दुईतिर महिला र पुरुष शौचालय छन् । पानीको राम्रो व्यवस्था भएको यहाँको शौचालयमा हात धुने साबुन, हात सुकाउने मेसिन पनि छ । साथै, यो अपांगतामैत्री छ । ह्विल चियर प्रयोगकर्ताले ह्विलचियरसँगै शौचालय जान सक्छन् । ‘ह्विल चियर प्रयोगकर्ताका लागि अग्लो पेनवाला शौचालय बनाइएको हो,’ शौचालय निर्माण प्रमुख तथा ‘एरोसन सस्टेनेबल स्यानिटेसन कम्पनी’ का प्रमुख प्रकाश अमात्य भन्छन्, ‘अपांगता भएका व्यक्तिलाई शौचालयमा कुनै रकम (१५ रुपैयाँ) लिइँदैन ।’
स्वयम्भू डल्लुका ४७ वर्षीय अमात्य स्वच्छ वातावरणका अभियन्ता हुन् । आफूले विगत १० वर्षदेखि कहिले सार्वजनिक धारा, कहिले सार्वजनिक शौचालयका बारेमा आवाज उठाउँदै आएको उनी बताउँछन् ।
यहाँको शौचालयभित्रको हावा प्रदूषित भएमा प्रशोधन गर्न प्रविधियुक्त पंखा राखिएको छ । अँध्यारोमा शौचालयभित्र प्रवेश गर्दा अटोमेटिक बत्ती बल्छ । बिजुली कम खपतका लागि यो प्रविधि राखिएको अमात्य बताउँछन् ।
अमात्यका अनुसार, शौचालय प्रयोग गर्न आउँदा १५ रुपैयाँको एक कप चिया खानुपर्छ । उनी भन्छन्, ‘चिया खाएबापत १५ रुपैयाँ लिन्छौँ । चिया नखानेले स्वेच्छाले शौचालय प्रयोग गरेबापत पाँच रुपैयाँ दिए पनि हुन्छ । वरपरका फुटपाथका व्यापारीलाई हामी शौचालय प्रयोगबापत पाँच रुपैयाँ लिन्छौं ।’ दैनिक सय भन्दा बढी सेवाग्राही आउने गर्छन्। त्यसबाट दैनिक १५०० आम्दानी हुने उनी बताउँछन् ।
उनका अनुसार, शौचालयबाट संकलन गरिएको रकम ‘स्वामिनी सरसफाइकर्मी सहकारी संस्था’मा जम्मा हुन्छ । यो सहकारी शौचालय तथा सडक सफा गर्ने महिलाले सञ्चालन गर्दै आएका हुन् ।
शौचालयका अगाडि दुई तीनवटा फलामका टेबल, केही गमलामा रंगीचंगी फूल, अग्ला–अग्ला सल्लाका रूख छन् । त्यहाँ बालबालिका, युवायुवती, अधबैंसे महिला बसेर वा उभिएर गफिँदै थिए ।
सुकेधाराबाट साथीहरुसँग स्वयम्भू आएका कुशल गुरुङले शौचालय प्रयोग गरेपछि यहाँ चिया पिए । १५ रुपैयाँमा चिया नै सस्तो मान्नुपर्छ, त्यसमाथि स्मार्ट ट्वाइलेट । उनलाई थाहा रहेछ, यहाँको चिया यहीँ शौचालयमा संकलित मलमूत्रबाट निकालिएको ग्यासबाट पकाइन्छ भन्ने । उनी हाँस्दै भन्छन्, ‘चिया खाँदा मलमूत्रको ग्यासबाट बनाएको जस्तो लाग्दैन ।’
पुरुष शौचालय र महिला शौचालयको बीचमा काउन्टर र होटल छ । त्यहाँ २८ वर्षीया बिनी देउला कहिले चिया पकाउन, कहिले खाजा पकाउन त कहिले पैसा लिन वा खुद्रा फर्काउन व्यस्त थिइन् । खरानी कलरको युनिफर्ममा सजिएकी उनी यहाँकी सुरुदेखिकी कर्मचारी हुन् । यो शौचालय विश्व शौचालय दिवस (१९ नोभेम्बर, २०२०) मा कामनपा प्रमुख विद्यासुन्दर शाक्यबाट उद्घाटन भएको थियो । बिनी बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म यहाँ काम गर्छिन् । उनका आमाबुवा पनि सडक सरसरसफाइ कर्मचारी हुन् ।
हाल उपत्यकामा तीनवटा स्मार्ट शौचालय सञ्चालित छन् भने दुईवटा निर्माणाधीन । काठमाडौंको नयाँ बानेश्वर, स्वयम्भू र ललितपुरको मंगलबजारमा स्मार्ट ट्वाइलेट सञ्चालित छन् भने, त्रिपुरेश्वर र पाटनमा निर्माण भइरहेको छ ।
अमात्यका अनुसार, शौचालित सञ्चालित तीन स्थानमा १५ कर्मचारी छन् । एक कर्मचारीलाई सरकारले तोकेको न्यूनतम १३ हजार ५ सय तलब र अन्य सुविधा दिइन्छ । उनले भने ।
मलमूत्रबाट ऊर्जा र पानीको पुन:प्रयाेग
यहाँको शौचालयको माथिल्लो भागमा दुईवटा ठुल्ठूला हरियो ट्यांकी राखिएको छ । एउटामा आकाशको पानी जम्मा हुन्छ, अर्काेमा प्रशोधित पानी । शौचालयको दिशा एउटा १५ हजार लिटर क्षमता भएको ट्यांकीमा जम्मा हुन्छ । त्यही दिसा कुहाएर बायोग्यास निकालिन्छ । त्यही बायोग्यास पाइपमार्फट यहाँको होटलमा लगिएको छ ।
यहाँ ६ वटा दुई हजार २५ सय लिटर क्षमता भएका इनार बनाइएको छ । पहिलो इनारमा साबुनपानी जम्मा हुन्छ, त्यसबाट पानीका फोहोर छानिएर पानी अर्काे इनारमा जान्छ । त्यसरी छैटौं इनारसम्म पानी पुग्दा प्रशोधन भइसकेको हुन्छ । उक्त पानीलाई ठूलो ट्यांकीमा जम्मा गरिन्छ । अमात्य भन्छन्, ‘उक्त पानी प्रशोधनका लागि ट्यांकीबाट बिरुवामा हालिन्छ ।’
लगभग एक हजार लिटर क्षमता भएको गहिरो इनारमा माथिबाट नर्कट सर्वदाका बिरुवा रोपिएका छन् । नर्कटा र सर्वदाका जराले पानीमा रहेका कीटाणु मार्ने काम गर्छ । साबुनबाट छानिएको पानी बिरुवामा हालिन्छ । बिरुवा रोपेको इनारमा एक हजार लिटर पानी अट्छ । माथिबाट गिटीवाला ढुंगा, बालुवा राखिएको छ । जसले पानी प्रशोधित हुँदै तल पुग्छ । चार–पाँचवटा इनारबाट प्रशोधित भएको पानी अलि तल्लो भागमा एउटा ठूलो इनारमा जम्मा हुन्छ । सोही पानी शौचालयमा पुनः प्रयोग हुन्छ ।
यसरी शौचालयबाट निस्किने, पानी र फोहोर दुवै प्रयाेग हुन्छन् ।