यःमरि पकाउने पोटासीलाई भूकम्पले फुटायो
वैशाख १२ को भूकम्पले माटोका भाँडा फुटायो। पराकम्प अझ लामो समय रह्यो। त्यसैले मानिसहरूले माटाको भाँडाको विकल्प खोज्न थाले।काठमाडाैं, पुस ४ : पुरानो ठिमी, चपाचोका चन्द्रकृष्ण प्रजापति हांसी (रक्सी बनाउने माटोको भाँडा) बनाउन व्यस्त थिए। उनको आँगन विभिन्न थरीका माटाका भाँडाले भरिभराउ थियो ।
‘यहाँ यःमरि पकाउने पोटासी बन्छ ?’ हामीले सोध्यौँ।
‘बन्छ तर अर्डर आए मात्र। चाहिएको हो तपाईंलाई ?’ उनले प्रतिप्रश्न गरे।
‘होइन। हेर्न र जान्नबुझ्न खोजेको मात्र।’
‘केही थान त हाम्रो भण्डारमा छ,’ उनले भने।
केहीबेरमै घरनजिकैको भण्डारबाट उनले एउटा भाँडो निकाल्दै भने, ‘यही हो यःमरि बनाउने पोटासी।’
सानो घैँटो आकारको भाँडा, पिँधमा प्वालैप्वाल। जसलाई केही वर्ष अघिसम्म नेवारहरूले यःमरि पकाउन प्रयोग गर्थे, अहिले यसलाई मःमः बनाउने धातुको भाँडाले विस्थापित गरिदिएको छ।
यःमरि मात्र नभई जाँड बनाउन पनि प्रयोग गरिन्छ, पोटासी। उपत्यकाबाहिर विशेषतः थारु, मगर समुदायमा अझै पनि यस्ता पोटासीको माग हुने गरेको चन्द्रकृष्ण बताउँछन्। माग अनुसार उनी अझै पनि पोटासी बनाउँछन्। ‘यःमरि पुन्हि (मार्ग शुक्ल पूर्णिमा)कै लागि भनी बनाउन भने छाडिसक्यौँ,’ उनले भने, ‘५–६ वर्ष अघिसम्म यःमरि पुन्हिका लागि पोटासी किन्न मानिसहरू यहीँ आइपुग्थे। अहिले मःमः सेटले सजिलो भएको छ सबैलाई।’ माटोका भाँडाजस्तो नफुट्ने भएकाले स्थायी प्रयोगका लागि मःमः सेटको प्रयोग बढेको उनी बताउँछन्।
भक्तपुरमा माटोका भाँडा बनाउने पुख्र्यौली पेसा भएका प्रजापति (नेवार समुदाय अन्तर्गतको एक थर)हरू थुप्रै छन्, उनीहरू अहिले पनि माटोका बनाउने गर्छन्।
माटोका भाँडा नेवारहरूको जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्म प्रयोग हुन्छ। संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, जन्मदेखि मृत्युसम्म गरिने हरेक संस्कारमा माटोका भाँडाको प्रयोग गर्नुपर्ने मान्यता थियो।
अझै पनि समाजमा माटोबाट बन्ने दियो, मट्का (कप), हाँडी, खुक्रुके, सजावटका सामग्री आदिको प्रयोग भइरहेकै देखिन्छ। यःमरि बनाउने पोटासीको प्रयोग भने पहिलेको तुलनामा घटेको प्रजापतिहरू बताउँछन्।
चपाचोकै ५० वर्षीय जिलकृष्ण प्रजापति भन्छन्, ‘अहिले मेरो परिवारले विशेष गरी हाँडी, खुत्रुके, दियो आदि बनाउँछौँ। पोटासी बनाउन छाडिसक्यौँ।’
भूकम्पको असर
चन्द्रकृष्णका अनुसार, २०७२ को विनाशकारी भूकम्पपछि माटाका भाँडाको प्रयोगमा कमी आएको हो। भूकम्पले माटोका भाँडा फुटायो। त्यसपछि मानिसहरू माटाका भाँडा किन्न र प्रयोग गर्न हच्किए। चन्द्रकृष्ण भन्छन्, ‘भूकम्पमा हाम्रो टोलमै ठूलो क्षति भयो, अधिकांश माटोका भाँडा फुटे। हामी नै अलमलमा थियौं, अब के गर्ने भनेर।’
वैशाख १२ को भूकम्पपछि पराकम्प लामो समय रह्यो। त्यसैले मानिसहरूले माटाको भाँडाको विकल्प खोजेको उनको बुझाइ छ।
पुरानो ठिमीकै ६४ वर्षीय रामकृष्ण प्रजापति गत बिहीबार लाखबत्ती बाल्ने पाला बनाउन व्यस्त थिए। भूकम्प अघिसम्म यःमरि पुन्हिकै लागि पोटासी बनाउन उनलाई भ्याइनभ्याई हुन्थ्यो। अहिले पनि उनले पोटासी नबनाउने होइन, तर भूकम्पयता यःमरि पुन्हिकै लागि भनेर पोटासी बनाउन छाडेको उनी बताउँछन्। ‘भूकम्पपछि यःमरि पकाउने पोटासीको माग घट्यो,’ उनी भन्छन्, ‘नत्र यःमरि पुन्हिका बेला भक्तपुरमै दिनको ३० देखि ५० भारी पोटासी हामीले बेच्थ्यौँ। यःमरि पुन्हिका लागि तीन–चार महिना अघिदेखि अन्य माटाका भाँडा बनाउन छाडेर पोटासी बनाउन सुरु गथ्र्यौं।’
पहिले उनले आलु, प्याज, धान, गहँु आदि अन्नअनाजसँग पोटासी साट्थे। बिस्तारै नगदमा कारोबार हुन थाल्यो। अहिले एउटा पोटासीलाई चार–पाँच सय रुपैयाँ तिर्नुपर्छ। ‘अहिले त रक्सी बनाउने हाँसी पनि धातुकै प्रयोग हुन थालिसक्यो,’ रामकृष्ण भन्छन्, ‘तर जाँड बनाउने कपितयले पोटासी किन्न छाडेका छैनन्।’
यस्ता पोटासी हाल उपत्यकाबाहिर तराईदेखि पहाडसम्म जाँड बनाउन प्रयोग हुने उनी बताउँछन्। पोटासी अहिले तराईमा थारु, पहाडमा गुरुङ, तामाङ समुदायमा जाने गरेको छ,’ उनले भने।
‘संस्कृति हराउन दिनुहुन्न’
संस्कृतिविद् हरिराम जोशी समयसँगै माटोका भाँडाको ठाउँ अन्य भाँडाले लिनुलाई स्वाभाविक प्रक्रिया मान्छन्। ‘मानिस प्रगतिशील प्राणी भएकाले ज्ञान, चेतना, विकास र प्रविधिसँगै अगाडि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘तर परम्परा तथा संस्कृतिप्रति पनि हामी सजग हुनुपर्छ। हराउन दिनुहुन्न।’
मानव सभ्यताको सुरुवात माटाको भाँडाको प्रयोगबाट भएको हो। सुरुवाती समयमा सहजै उपलब्ध हुने माटोबाट मानिसले भाँडा बनायो। पछि ज्ञानको विस्तार र धातुको उपलब्धतासँगै माटोका सामग्रीमा कमी आउन थाल्यो। पुरानो ठिमीका स्थानीय तथा संस्कृतिविद् गणेशमान प्रजापति विकास र प्रविधिसँगै प्लास्टिक र धातुका सामान आउन थालेपछि माटोका भाँडाको प्रयोगमा कमी आउनु स्वाभाविक भएको बताउँछन्। तर, माटोका भाँडाको गुण र महत्त्व रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘फुट्न सक्ने भएकाले माटोका भाँडाको ठाउँ अन्यले लिएको छ तर माटोका भाँडाको जति गुण प्लास्टिक तथा मेटलका भाडामा हुँदैन।’
यःमरि
नेवार समुदायले मार्ग शुक्ल पूर्णिमाको दिन यःमरि पुन्हि मनाउने गर्छ, यःमरि खाएर। यःमरि नयाँ वा पुरानो चामलको पीठोबाट बनाइने एक प्रकारको रोटी हो। चामलको पिठो मुछी हातका औँलाको सहाराले स्तुपाकारमा ढालिन्छ। त्यसभित्र रहेको प्वालमा तील, सखर लगायत विभिन्न परिकार राखेर यःमरि बनाइन्छ।
संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, यःमरि पुन्हिको बिहान विशेष गरी ढिकुटीलाई चोखोनितो गरी धानचामलको भकारी, घ्याम्पो आदि भाँडाहरूमा धानचामल भरीभरी राखेर त्यसमा चामलको पीठोद्वारा तयार पारिएको यःमरि, लोहँचांमरि, लक्ष्मी, गणेश, कुबेर राखी फूल चन्दन, नैवेद्य, फलफूल चढाई पूजा गरी चार दिन सम्म थापना गर्ने गरिन्छ।