Kathmandu Press

लाइसेन्सका लागि साढे ६ लाख आवेदन, आज फाराम भर्दा ट्रायल दिने पालो डेढ वर्षपछि !

यातायात व्यवस्था विभागका अनुसार नयाँ लाइसेन्स र वर्ग थपका लागि मात्रै देशभरबाट साढे ६ लाख आवेदन परेको छ। 
लाइसेन्सका लागि साढे ६ लाख आवेदन, आज फाराम भर्दा ट्रायल दिने पालो डेढ वर्षपछि !

काठमाडौं, मंसिर २३ : बुधबार एक पुरूषले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन फाराम भरे । काठमाडौंको एकान्तकुनाबाट ट्रायल दिने गरि फारम भरेका उनको ‘भिजिट डेट’ अर्थात् यातायात कार्यालयमा हाजिर हुन २०२३ मार्च ८ को मिति तोकियो ।

लाइसेन्सका लागि फाराम भरेको १५ महिनापछि मात्र पालो आउने जानकारी पाएपछि उनी भन्छन् ‘फाराम भरेको १५ महिना पछिमात्र ‘भिजिट डेट’ दिइएको छ, आफ्नो पालो आउँदासम्म मिति नै बिर्सन्छु होला।’ 

फाराम भरेको केही समयमै पालो आउने उनको अनुमान थियो । त्यसैले उनी ट्रायल सेन्टरमा मोटरसाइकल चलाउने तालिम समेत लिइरहेका छन् । ‘अहिले कुनै पनि संस्थामा जागिरका लागि आवेदन दिँदा  लाइसेन्स अनिवार्य जस्तै भइसकेको छ । अब लाइसेन्स नभएसम्म के गर्ने हो थाहा छैन,’ उनले भने, ‘पहिला ट्रायलमा पास भएपनि स्मार्ट लाइसेन्स आउन महिनौँ लाग्छ भन्ने सुन्थेँ । अहिले ट्रायलकै लागि डेढ वर्षभन्दा बढी समय पालो कुर्नुपर्ने अवस्था छ।’

Hardik ivf

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै समस्या अहिले धेरैको छ । लकडाउन पछि  निजी सवारी साधन खरिद बिक्रीको दर ह्वात्तै बढेको छ । नयाँ सवारी साधन खरिदका लागि लाइसेन्स पनि अनिवार्य गरेको छ ।  तर, यातायात व्यवस्था विभागले लाइसेन्स चाँडै पाउन सक्ने प्रवन्ध नगरेका कारण नागरिकहरु थप मर्कामा परेका छन्। 
 
सरकारले अनलाइन मार्फत लाइसेन्सको फाराम भर्ने व्यवस्था गर्दा सर्वसाधारणले केही राहत महसुस गरेको भएपनि ट्रायल दिन लामो समय कुर्नुपर्ने बाध्यताबाट भने मुक्त हुन सकेका छ्रैनन् । लकडाउनका कारण लामो समय लाइसेन्सको आवेदन बन्द गरिएको र खुल्नासाथ एकैपटक धेरैले आवेदन दिएकाले यस्तो समस्या निम्तिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । 

विभागका अनुसार नयाँ लाइसेन्स र वर्ग थपका लागि मात्रै देशभरबाट साढे ६ लाख आवेदन परेको छ। 

‘लकडाउनका कारण लामो समयसम्म आवेदन बन्द भयो र खुले लगत्तै हाम्रो क्षमताभन्दा धेरैले लाइसेन्सको आवेदन परेका कारण यस्तो समस्या आएको हो,’ महानिर्देशक घिमिरेले काठमाडौं प्रेससँग भने ।

महानिर्देशक घिमिरेले लाइसेन्सको समस्या समाधानका लागि शुक्रबार बाग्मति प्रदेश सरकारसँग छलफल गर्न लागेको समेत जानकारी दिएका छन्। ‘भोलिको छलफलमा कार्यालयको क्षमता बढाउने अथवा नयाँ ट्रायल सेन्टर खोल्ने भन्ने विषयमा छलफल गर्नेछौं,’उनले भने।  

लाइसेन्सको आवेदनपछि ट्रायल दिन लामो समय कुर्नुपर्ने वाध्यता पुरानै रहेको महानिर्देशक  घिमिरे स्वीकार गर्छन्। ‘देशभर नै समस्या छ । अझ बाग्मती प्रदेशभित्र विशेषगरी काठमाडौंमा यस्तो समस्या धेरै देखिएको छ,’ उनले भने । 

भोलिको छलफलमा कार्यालयको क्षमता बढाउने वा नयाँ ट्रायल सेन्टर खोल्ने भन्ने निश्चित भए तोकिएको समयभन्दा अगाडी नै पालो आउनसक्ने सम्भावना रहेको महानिर्देशक घिमिरेले जानकारी दिए।
 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्