‘विषाक्त पुरुषत्वले सुरक्षाको नाममा महिलाको स्वतन्त्रता रोक्छ’
स्थानीय सरकारमा उपप्रमुख र उपाध्यक्षमा बढीजसो महिला देख्नुहुन्छ, तर प्रमुख र अध्यक्षमा पुरुष। कुनै सरकारी कार्यालयमा महिला हाकिम हुन्छन्, जिम्मेवारीमा पनि हुन्छन्। कानुनले उनीहरूको काम, कर्तव्य र अधिकार छुट्ट्याएको हुन्छ, तर कुनै मुद्दा तथा उजुरी लिएर मानिसहरू पुरुषकै कार्यकक्षमा पुगेका हुन्छन्।अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदीबहिनी (पेट्रिया, मिनर्भा र मारिया)को हत्यासँग जोडिएको छ। तत्कालीन त्रुजिलो तानाशाही सरकारबाट सन् १९६० नोभेम्बर २५ मा उनीहरूको हत्या भएको थियो। उनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाका रूपमा लिई महिलावादीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।
पछिल्लो समय महिला हिंसाको पिँधमा विषाक्त पुरुषत्व (टक्सिक मस्कुलिनिटी) रहेको सन्दर्भमा बहस भइरहेका छन्। प्रस्तुत छ, १६ दिने अभियानका सन्दर्भमा अभियन्ता पल्वली पायलसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ता :
विषाक्त पुरुषत्व भनेको के हो ?
विषाक्त पुरुषत्व भनेको पुरुषलाई समाजले सिकाउने मानसिकता हो। समाजमा महिला र पुरुषबीच विभिन्न मान्यता छन्। एउटा पुरुषको काल्पनिक रूप कोरिएको हुन्छ। पुरुषले भावनात्मक हुनु हुँदैन, रुनु हुँदैन, मर्दपन देखाउनुपर्छ भनेर सिकाइएको हुन्छ।
जस्तो कि रक्षाबन्धनकै कुरा गरौँ। हामीले भाइलाई एउटा धाँगो बाँधिदिन्छौँ। उनीहरूले हाम्रो सुरक्षा गरिदिने जस्तो सोच्छौँ। यसमा दिदीबहिनी कमजोर हुन्छन् र दाजुभाइले हाम्रो सुरक्षा गर्छन् भन्ने मान्यता लुकेको छ। यही मान्यताका कारण घरबाट दिदीबहिनी बाहिर जाँदा पनि सानो भाइलाई सँगै पठाउने गरिन्छ। घरबाट बाहिर गएकी छोरीलाई ढिलासम्म नबस् भनिन्छ। लुगा लगाउन पनि नियममा बाँधिन्छ। छोटो लुगा लगाउँदा पुरुषबाट असुरक्षित हुनुपर्छ भनेर भनिन्छ। महिलालाई कमजोर हो भन्ने बनाउन समाजमा अनेक मूल्य–मान्यता प्रचलित छन्। त्यस्तै पुरुषलाई स्वाभाविक वा प्राकृतिक बन्न दिइँदैन। आफ्ना भावना व्यक्त गर्दा, रुँदा, भावुक हुँदा ‘कस्तो केटी जस्तो होस्’ भन्ने गरिन्छ। आफ्नो श्रीमतीलाई सहयोग गर्ने पुरुषलाई ‘श्रीमतीको पल्लुमा लुक्ने खालको मान्छे वा श्रीमतीले कन्ट्रोल गर्ने मान्छे’ को उपनाम दिन्छौँ।
घरको काम महिला–पुरुष जसले गर्दा पनि हुन्छ। तर, घरको काममा महिलाले बढी जिम्मेवारी लिनुपर्छ। चुलो–चौकोको काम तिमीले गर्ने हो भनेर सानैदेखि छोरीलाई सिकाइन्छ। छोरालाई घरको काममा त्यति लगाइँदैन। यसले गर्दा छोराको सोचमा पर्छ कि ‘घरको काम छोरीले गर्ने हो, मैले होइन। मैले त कमाउने हो, पढ्ने हो, लड्ने–भिड्ने हो।’
पुरुषको यही विषाक्त सोचले महिलाहरूलाई घरभित्रको काममा सीमित गर्न खोज्छ। त्यसैले महिलालाई घरबाट बाहिर निस्कन र अगाडि बढ्न धेरै चुनौती छन्। देश–विदेशमा युद्धका कुरा आउँछन्, त्यो पनि यही विषाक्त पुरुषत्वबाटै आउने हुन्। किनकि ‘देशलाई सुरक्षादिनुपर्छ’ भन्ने खालको भावना विकास गर्न पुरुषलाई सानैदेखि सिकाइएको हुन्छ।
साना कक्षाका पाठ्यक्रममा आमाले किचेनमा खाना बनाएको, बुबाले न्युजपेपर पढिरहेको अथवा कम्युटरमा काम गरिरहेको दृश्य चित्रण गरिन्छ। त्यस्तो पुस्तक लेख्ने को हो ? पुस्तक लेख्नेले पनि कसरी सोच्यो होला ? यही नै विषाक्त पुरुषत्वको उपज हो।
अहिले नेपालमा धेरै महिला राजनीतिमा सक्रिय भएको पाइन्छ। तर, वडा, नगर, गाउँ, प्रदेश, जिल्लामा सदस्य बने पनि नेतृत्वमा देख्न मुस्किल पर्छ। नेतृत्वमा महिला हुन्छन् भनेर सोच ल्याउनै गाह्रो छ। यसरी शारीरिक हिंसा मात्र नभई मानसिक हिंसा हुनुमा पनि विषाक्त पुरुषत्वकै भूमिका रहन्छ।
नेपालमा यसको अवस्था कस्तो छ ?
नेपालमा यसको अवस्था व्यापक छ। तपाईं सरकारी कार्यालयहरूमा जानुस्– स्थानीय सरकारमा उपप्रमुख र उपाध्यक्षमा बढीजसो महिला देख्नुहुन्छ, तर प्रमुख र अध्यक्षमा पुरुष। कुनै सरकारी कार्यालयमा महिला हाकिम हुन्छन्, जिम्मेवारीमा पनि हुन्छन्। कानुनले उनीहरूको काम, कर्तव्य र अधिकार छुट्ट्याएको हुन्छ, तर कुनै मुद्दा तथा उजुरी लिएर मानिसहरू पुरुषकै कार्यकक्षमा पुगेका हुन्छन्। मानिसहरू प्रायः उपमेयरको भन्दा मेयरकै कार्यकक्षअगाडि झुम्मिन्छन्। यस्तो किन भइरहेको छ ? किनभने हाकिम हुने, नेतृत्व गर्ने र निर्णय लिने काम पुरुषले मात्रै गर्छन् भनी मानिसले सानैदेखि सिकेका छन् वा सिकाइएको छ। यही मान्यता वा मानसिकता नै विषाक्त पुरुषत्व हो। यसले गर्दा नै स्थानीय तहको नेतृत्वमा पुरुष आए। उपाध्यक्ष र उपप्रमुखको पदमा महिला आए।
मिडिया र रिपोर्टहरूमा हेर्दा उपमेयर, उपाध्यक्ष, वडासदस्यमा महिला छन् तर उनीहरूलाई काम गर्न असहज भइरहेको गुनासा आइरहेका छन्। महिलालाई तोकेको काम गर्न पनि बाधा–अड्चन आइरहन्छ। उहाँहरूको कामलाई खोसिन्छ। त्यस्तो काम खोस्ने पुरुष नै हुन्छन्। किन त्यस्तो गरिन्छ भने महिला नेतृत्वमा हुँदा कतिपय पुरुषले आफ्नो सत्ता गएको जस्तो अनुभव गर्न पुग्छन्। पुरुषले यस्तो अनुभव गर्नुको पछाडि पनि विषाक्त पुरुषत्व नै आउँछ।
यसले महिला–पुरुष दुवैलाई कसरी हानि गर्छ ?
विषाक्त पुरुषत्वले सिधै महिलाको स्वतन्त्रतालाई रोक्छ, सुरक्षाका नाममा। महिलालाई भविष्य बनाउनेदेखि घरबाहिरको काम गर्न रोक लगाउँछ। महिलालाई नेतृत्वमा पुग्न बाधा–अड्चन सिर्जना गर्छ। त्यस्तै, विषाक्त पुरुषत्वले पुरुषलाई ढुंगाजस्तो बनाइदिन्छ। पुरुषलाई भावनामा बग्नु हुँदैन भन्दै बलियो मन भएको मानिस बन्न दबाब दिन्छ।
त्यस्तै, बच्चाहरूको पूरै जिम्मेवारी महिलालाई दिन्छ। त्यसमा पुरुषहरू आउँदैनन्। त्यसले गर्दा कति परिवारमा यस्तो देखिएको छ कि बालबालिका आफ्ना बुबासँग डराउँछन्।
यसलाई हटाउन परिवार, समाज र राष्ट्रको कस्तो भूमिका हुनुपर्छ ?
परिवारमा गर्न सकिने भनेको छलफल नै हो। सबैभन्दा पहिला सबैतिर सचेतना जगाउनुपर्यो। शिक्षाले नै हो, यस्ता कुरामा परिवर्तन ल्याउने। परिवारका सदस्य र अन्य बुझेको मान्छेसँग छलफल गरिरहनुपर्छ।
घरभित्र छलफल, बाहिर अभियान हुनुप यो। बच्चालाई अध्ययन गराउने पुस्तकमा विषाक्त पुरुषत्वलाई हटाएर पढाइनुप यो। महिला–पुरुष समान हुन् भन्ने सोच ल्याउनुपर्यो। महिला र पुरुषका बारेमा मात्र होइन, अन्य लिंगका बारेमा पनि बालबालिकालाई जानकारी गराउनुपर्छ।
सरकारले महिलालाई नेतृत्वमा ल्याउने प्रयास गर्नुपर्छ। महिलाहरू उपमेयर र उपाध्यक्षमा आए। राजनीतिक दल र सरकारले नेतृत्वमा महिला आउने गरी व्यवस्था गर्नुपर्छ।
जबसम्म हामीले वरपरका महिला स्वतन्त्र भएको, आत्मनिर्भर भएको, नेतृत्वमा पुगेको देख्दैनौँ, तबसम्म विषाक्त पुरुषत्व हटेको भन्न सकिँदैन। सरकारी तथा गैरसरकारी तबरबाट सचेतनाका कार्यक्रम, महिलाको क्षमता बढाउने जस्ता कार्यक्रम ल्याइनुपर्छ।
१६ दिने अभियानले पिँधमा पारिएका महिलाको अवस्थामा केही परिवर्तन ल्याउन सक्ला ?
१६ दिने अभियान भइरहन्छ, तर मलाई सबैभन्दा मननपरेको कुरा के हो भने, महिलाका मुद्दा सम्बन्धमा हामी यही १६ दिने अभियान वा मार्चको महिनामा मात्र कुरा गर्छौं। महिलाको कुरा हरेक पाटोबाट हरेक दिन आउनुपर्छ। १६ दिने अभियानले धेरै कुरा आउँछन्। तर, पछि फलोअप हुँदैन।