Kathmandu Press

एमाले महाधिवेशनमा चार देशका आठ दलबाट १५ जना पाहुना

काठमाडौं, मंसिर ९ : एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको निमन्त्रणा स्वीकार गरी स्वदेश तथा विदेशका नेताहरूले अतिथिका रूपमा सहभागिता जनाउने भएका छन्।महाधिवेशनको...
एमाले महाधिवेशनमा चार देशका आठ दलबाट १५ जना पाहुना

काठमाडौं, मंसिर ९ : एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको निमन्त्रणा स्वीकार गरी स्वदेश तथा विदेशका नेताहरूले अतिथिका रूपमा सहभागिता जनाउने भएका छन्।

महाधिवेशनको सुरु हुनुभन्दा अघिल्लो दिन आज एमाले विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारत, बंगलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठवटा पार्टीका १५ जना अतिथि महाधिवेशनमा उपस्थित हुने जानकारी आएको बताएको छ।

महाधिवेशन अतिथि सत्कार समितिका संयोजकसमेत रहेका एमाले विदेश मामिला विभागका प्रमुख डा. राजन भट्टराईले २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको जानकारी दिए।

भट्टराईका अनुसार विदेशी पाहुनाहरूलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बस्ने व्यवस्था गरिएको छ। बिहीबार बेलुकी ती पाहुनाहरूका लागि रात्रिभोजको आयोजना गरिएको छ।

अध्यक्ष ओलीले विदेशी अतिथिसँग मंसिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने जनाइएको छ। चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइनुका साथै स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण र जिप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकन गराइने जनाइएको छ।

महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्। एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन्।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा सहभागी हुने जानकारी गराएको सहभागी हुने टुंगो लागेको अतिथि सत्कार समितिले जनाएको छ।

महाधिवेशनमा खासगरी सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई निमन्त्रणा गरिएको उनले बताए। एमाले दशौँ राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनको निम्तो दिए पनि उनले सहभागिता जनाउने कि नजनाउने भनेर कुनै जानकारी नआएको एमालेले बताएको छ। स्रोतका अनुसार प्रचण्डले एमाले महाधिवेशनमा सहभागिता नजनाउने बताएका छन्।

नेकपा एकीकृत समाजवादी र सो दलका अध्यक्ष माधवकुमार नेपाललाई भने पार्टीगत र व्यक्तिगत कुनै पनि रूपमा निमन्त्रणा गरिएको छैन।  

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्