स्वास्थ्य सेवा प्रवाहमा आत्मनिर्भरताको आवश्यकता छ : मन्त्री पौडेल
‘चिकित्सकीय परीक्षणका निम्ति पनि आत्मनिर्भर हुन नसक्ने हो भने स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सक्दैनौं। नेपालमा सबै परीक्षण यही (टेकु प्रयोगशाला) मा हुने गरौं,’ उनले भने।-1755438416.jpg)
काठमाडौं, भदौ १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा डिजिटल पीसीआर र अनलाइन भेण्डिङ मेसिनको उदघाटन गर्दै स्वास्थ्य सेवा प्रवाहमा आत्मनिर्भरताको आवश्यकता औंल्याएका छन्।
पौडेलले चिकित्सकीय परीक्षणका लागि देश बाहिर निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमै सबै परीक्षण हुनसक्ने वातावरण बनाउनुपर्ने बताए।
‘चिकित्सकीय परीक्षणका निम्ति पनि आत्मनिर्भर हुन नसक्ने हो भने स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सक्दैनौं। नेपालमा सबै परीक्षण यही (टेकु प्रयोगशाला) मा हुने गरौं,’ उनले भने।
उनले सरकारी तथा सामूदायिक सबै अस्पतालहरूबाट परीक्षणका लागि नमूना यही प्रयोगशालामा ल्याउने व्यवस्था मिलाउनु आवश्यक रहेको बताए।
‘सेवा विस्तारमा यसलाई नयाँ कदम मान्नुपर्छ । डिजिटल पीसीआर र अनलाइन भेण्डिङ मेसिन सुधारका निम्ति थप आमूल परिवर्तन जरुरी छ,’ उनले भने।
मन्त्री पौडेलले प्रयोगशालालाई अझै व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ उपकरण तथा प्रविधिको प्रयोगमा जोड दिए।
‘यस प्रयोगशालालाई विस्तारित ढंगबाट कसरी विकास गर्न सकिन्छ वा नयाँ प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, थप सुविधा कसरी दिन सकिन्छ, त्यसमा ध्यान दिन सक्नुपर्छ,’ उनले भने।
नागरिकलाई प्रभावकारी सेवा दिनु पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उनले प्रयोगशालाले सस्तो शुल्कमा सेवा दिई आम्दानीका साथै राजस्व संकलनमा समेत योगदान दिइरहेको उल्लेख गरे।
‘हामीले बढी सक्रिय भएर नागरिकलाई सेवा दिन जरुरी छ । यस प्रयोगशालाले सेवा शुल्कबाट आम्दानी बढाउनुका साथै राज्यको राजस्वमा समेत भूमिका खेलेको छ,’ मन्त्री पौडेलले भने।












