देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन
‘मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदैन रहेछ भन्ने कुरा त अहिले ६ महिनामा देखिन थालेको छ। समस्या तपाईंहरूले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्थामा पनि छ । संविधानमा छ,’ उनले भने।
काठमाडौं, असाेज १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको बताए।
उनले अहिले देशको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको र जनतामा नेताप्रति तथा राजनीतिप्रति रहेको वितृष्णा र घृणामा सुधार आउन नसकेको बताए।
‘आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । यस बीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो तर अहिले पनि देशको स्थिति जहाँको त्यहीँ छ मात्र होइन, झन् जटिल बनेको छ । देश एक प्रकारले अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने।
लिङ्देनले समस्या व्यक्तिमा मात्रै नभई शासन व्यवस्था र संविधानमा समेत रहेको दाबी गरे। ‘मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदैन रहेछ भन्ने कुरा त अहिले ६ महिनामा देखिन थालेको छ। समस्या तपाईंहरूले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्थामा पनि छ । संविधानमा छ,’ उनले भने।
संविधानलाई संशोधन गर्नै नहुने दस्तावेजका रूपमा लिन नहुने उनको भनाइ थियो। ‘संविधान गीता होइन, बाइबल होइन, कुरान होइन, त्यो छुन नहुने, चलाउन नहुने होइन । हिजो तपाईंले यो संविधान बनाउँदाखेरि राम्रै सोचेर बनाउनुभयो होला, तर आज त्यसमा त्रुटिनै त्रुटिका चाङहरू देखिएका छन्। त्यसकारण नमिलेका चीजहरू मिलाएर जानुपर्छ,’ उनले भने।
लिङ्देनले निषेधको राजनीतिले देशलाई थप समस्यामा पुर्याएको बताए। राजादेखि राजनीतिक दल, दलदेखि दल र दलभित्रका गुटसम्म निषेधको राजनीति चल्दै आएको भन्दै उनले अब त्यसबाट बाहिर निस्कनुपर्ने बताए।
उनले राजादेखि राजनीतिक दल र नवयुवा पुस्तासम्मलाई एक ठाउँमा राखेर देशलाई निकास दिनुपर्ने धारणा राखे । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय प्रतिस्पर्धा, २०६२/६३ को समावेशी समानुपातिकता र जेन–जी पुस्ताको चाहनालाई संरक्षण गर्दै नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
लिङ्देनले कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिँदै सभापति गगन थापा, विश्वप्रकाश शर्मा लगायत कांग्रेस नेताहरूलाई बधाई दिए ।











