Kathmandu Press

‘न्हु दया भिन्तुना’ : आयातीत विक्रम संवतको छायामा मौलिक नेपाल संवत

नेवार जातिले मात्र नेपाल संवत मनाइरहेका छन्। तर, यो गैरनेवारको पनि मौलिक संवत हो। पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि विक्रम संवत पनि भित्र्याए। र, त्यसलाई पूर्णता दिने काम चन्द्रशम्शेरले गरे।
‘न्हु दया भिन्तुना’ : आयातीत विक्रम संवतको छायामा मौलिक नेपाल संवत

काठमाडौं, कात्तिक १९ : सामान्य लाग्ने निमेष, मिनट, घण्टा, दिन, साता, महिना, साल, युग, कालले आ-आफ्नै इतिहास बोकेका हुन्छन्। तिनको पृष्‍‍ठभूमि नेपथ्यमा रहन्छ तर इतिहासमा कमै मितिले नाम लेखाउँछन्। यस्तै एउटा मौलिकताको इतिहास नेपाल संवतसँग जोडिएको छ। हरेक वर्ष कार्तिक शुल्क प्रतिपदाका दिन नेपाल संवतको नव वर्ष प्रवेश हुन्छ।

पृथ्वीनारायण शाहले सन् १७६९ अर्थात् विसं १८२६ मा काठमाडौं उपत्यकामाथि विजय हासिल गरे। त्यतिन्जेल उपत्यकाका तीन राज्यले नेपाल संवत चलाउँथे। त्यसपछि भने विक्रम संवत चलाउन थालियो।

पृथ्वीनारायण शाहले उपत्यका जितेसँगै व्यवस्थामा परिवर्तन आउनु स्वाभाविकै थियो। त्यसमध्ये एक थियो, चलिरहेको नेपालसंवतको सट्टामा विक्रम संवत। मध्यकालसम्म राजपत्र तथा सिक्कामा समेत अंकित रहेको नेपाल संवतको प्रयोगमा त्यसपछि एक प्रकारको ‘ब्रेक’ लाग्यो।

Hardik ivf

एक जर्नलमा उल्लेख भएअनुसार राजा राघव देवको पालामा २० अक्टुबर ८७९ मंगलबारदेखि नेपाल संवतको प्रचलन सुरु भयो। मध्यकालभर (८७९-११९९ इ.सं) नेपाल संवत राजकीय संवतको रूपमा स्थापित थियो। मल्लकालीन समय (१२००-१७६९ इ.सं) सम्म यो कायम रह्यो। त्यसअघि भने लिच्च्छवी काल (४६४-६०४ इ.सं.)सम्म शक संवत चलाइन्थ्यो, उपत्यकामा। यस्तै, जुम्लाको खस राज्यमा पनि नेपाल संवत चलनचल्तीमा थियो। १४ औं शताब्दीमा पनि नेपाल संवत चलिरहेकै थियो।

विदेशमा सन् ८८० चलिरहेको समयमा नेपालमा नेपाल संवत सुरु भयो। पृथ्वीनारायण शाह (१७६९-१९०२ इ.सं) ले उपत्यका जितेसँगै सिक्काहरूमा समानान्तर तर लघु रूपमा शक संवत चलेको इतिहासमा उल्लेख छ। र, कागतपत्रमा भने विक्रम संवतलाई वैधानिकता दिएको इतिहासविद् त्रिरत्‍न मानन्धर बताउँछन्।

विक्रम संवतको प्रचलन भने भारत उज्जयनका राजा विक्रमादित्यले सुरु गरेका थिए। ५७ बीसी (बिफोर क्राइस्ट)मा सुरु भएको विक्रम संवत नेपालमा राजा पृथ्वीनारायण शाहको पालामा भित्रियो। तर, सन् १९०३ मा मात्र यसले पूर्ण वैधानिकता पाएको थियो, जसलाई राणा प्रधानमन्त्री चन्द्रशम्शेरले नेपालमा पूर्ण कार्यान्वयनमा ल्याएका थिए।

यद्यपि, दिनको गणना मितिमा नभई एकादशी, प्रतिपदाजस्तो तिथिमा हुने गरेको मानन्धर बताउँछन्। भन्छन्, ‘दिनको गन्ती चन्द्रमासअनुसार नै हुने गरेको थियो।’ युनिर्भसिटी अफ अक्सफोर्डका लागि बालगोपाल श्रेष्‍‍ठले तयार पारेको ‘टु युज अर नट टु युज : नेपाल संवत, द नेसनल एरा अफ नेपाल’ नामक एक जर्नलमा उल्लेख भएअनुसार पृथ्वीनारायणका छोरा प्रतापसिंह शाहको पालामा नेपाल र तिब्बतबीच सन्धि भएको पाइन्छ, जसमा नेपाल संवत क्यालेन्डरलाई नै आधारमा मानिएको थियो।

सन् १९०३ (विसं १९६०)मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले चलिआएको दिनको गन्तीलाई पनि विक्रम संवतकै आधारमा स्थापना गरे। त्यससँगै तिथि नभई मितिका अनुसार दिनको गन्ती हुन थाल्यो। र, त्यतिन्जेल प्रयोगमा रहेको नेपाल संवतको अस्तित्व नै संकटमा पर्‍यो।

नेपाल संवत विश्‍वको एक मात्र यस्तो संवत हो, जसको नाम देशसँग जोडिएको छ। र, यसले देशको पहिचान र संवत मौलिकतालाई उजागर गर्छ। सोही कारण पनि नेपाल संवतको व्यावहारिक प्रयोगका लागि अभियन्ताहरू र नेपाल संवत मनाउने समुदायले जोड दिँदै आएका छन्। तथापि, चाडपर्व, कर्मकाण्ड, शूभकार्यका लागि अझै पनि नेपाल संवतलाई मानिँदै आएको छ।

नेपाल संवत जागरण अभियान

इतिहासविद् मानन्धरका अनुसार ००७ सालमा राणा शासनको पतनपछि नेपाल संवतको पुन: प्रयोगका लागि थोरबहुत जागरण सुरु भयो। तर, राणाकालमा जस्तै पञ्‍चायती व्यवस्थासम्म यो अभियानले सशक्त रूप लिन सकेन।

पञ्‍चायतकालमा यदाकदा ‘म्ह पूजा’का दिन मोटरसाइकल र्‍याली हुने र नेपाल संवतलाई राष्‍‍ट्रिय मान्यता पाउनुपर्ने आवाज उठ्ने गरेको थियो। तर, पञ्‍चायती सरकारको दमनका कारण ती आवाज नेपथ्यमै बिलाए।

‘सन् १९५४ मा पहिलोपटक सवस पासा नामक एक नेवा साहित्यिक संगठनले पहिलोपटक हुनमान ढोका दरबार क्षेत्रमा नव वर्ष ‘न्हु दया’ मनाएको पाइन्छ। सरदार नरेन्द्रमणि आचार्य दीक्षित, साहित्यकार बालकृष्‍‍ण सम पनि त्यस अवसरमा सहभागी थिए।

यस्तै, सन् १९७० को दशकमा नेवा बौद्धिक वर्गमाझ म्ह पूजाको दिनमा ‘न्हु दया’ अर्थात् नेपाल संवतको नयाँ वर्षलाई सार्वजनिक रूपमा मानिनुपर्ने आवाज उठिरह्यो। पञ्‍चायती व्यवस्थाको चरमोत्कर्ष रहेको त्यस दशकमा पनि यो आवाज बिलाइरह्यो।

पञ्‍चायती सरकारले निरन्तर नेपाल संवत जागरण अभियानप्रति बक्र दृष्‍‍टि राखिरह्यो। त्यसको एक बलियो उदाहरण हो, सन् १९८५। त्यस वर्ष नेपाल भाषा मंका खल:लाई तत्कालीन सरकारले क्रुरतापूर्वक दमित गर्‍यो (बालगोपाल श्रेष्‍‍ठ, ‘टु युज अर नट टु युज : नेपाल संवत, द नेसनल एरा अफ नेपाल’)।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुन:स्थापनासँगै प्रजातान्त्रिक सरकारले नेपाल संवतको विषयमा उठेको विवादलाई सम्बोधन गर्ने प्रयास नगरेको होइन। तर, खासै धेरै चासोमा नपरेको मानन्धर बताउँछन्।

३ मंसिर ०५८ मा तत्कालीन प्रधानमन्त्री कृष्‍‍णप्रसाद भट्टराईको सरकारले शंखधर शाख्वालाई राष्‍‍ट्रिय विभूति घोषणा गर्‍यो। तर, त्यससँगै नेपाल संवततर्फको समस्या सुल्झने आशा निराशामा बदलियो। त्यसको करिब नौ वर्षपछि ०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्‍‍पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवतलाई औपचारिक रूपमा राष्‍‍ट्रिय संवतको मान्यता दियो।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका् सरकारले पनि स्वर्गीय पद्मरत्‍न तुलाधरको नेतृत्वमा नेपाल संवतसम्बन्धी समिति गठन गरी आवश्यक कदम लिन अनुमति दियो। त्यसैको प्रतिफलका रूपमा २९ पुस ०६९ मा डा. भट्टराई नेतृत्वको सरकारले ‘न्हु दया’लाई राष्‍‍ट्रिय पर्वको मान्यता दिँदै सार्वजनिक बिदा दिने घोषणा गर्‍यो। त्यसमा थप प्रगति हुनुअघि नै डा. भट्टराईले १ चैत ०६९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यतिबेलादेखि थाति रहेको नेपाल संवतको समस्या जहाँको तहीँ छ।

‘आधिकारिक राष्‍‍ट्रिय पत्रमा नेपाल संवत अंकित हुनुपर्छ’

नेपाल संवत ११३५ मा नेपाल भाषा मंका खलका अध्यक्ष चुनिएका इतिहासविद् मानन्धर भन्छन्, ‘हरेक वर्ष नेपाल संवतको नव वर्ष आउने सातादिनअघि प्रधानमन्त्रीसँग म्ह पूजा र नेपाल संवत कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउन आग्रह गरिन्छ। त्यतिबेला नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउनुपर्ने माग पनि मन्त्रालयमा पुग्छ। प्रधानमन्त्रीबाट पनि सोही आश्‍वासन प्राप्त हुन्छ। व्यवहारमा भने लागू हुँदैन।’

२०६४ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पालादेखि हालसम्म हरेक प्रधानमन्त्रीबाट सोही आश्‍वासन प्राप्त हुँदै आएको तर परिणाम केही ननिस्किएको मानन्धर बताउँछन्।

तथापि, उनी यसको दोष सरकारलाई मात्र दिँदैनन्, सरकारका सम्बन्धित निकाय पनि यसमा उत्तिकै दोषी रहेको उनको ठम्याइ छ। वर्षको एक दिन माग गर्ने अनि त्यसको पुन: अनुगमन नगरिँदा सरकारको उदासिनता देखिनु स्वाभाविकै भएको उनको भनाइ छ।

‘देशको आधिकारिक पत्र र प्रधानमन्त्रीको लेटर प्याडमा विसं र इसं मिति प्रयोग हुन्छ तर आफ्नै मौलिक नेपाल संवत अंकित हुँदैन, किन ? उनी प्रश्न गर्छन्। देशकै मौलिक संवत राष्‍‍ट्रिय पत्रमा अंकित हुनु गर्वको विषय हुने मानन्धरको तर्क छ।

‘विक्रम संवत हटाउनुपर्ने चरमपन्थी माग’

‘चरमपन्थीहरूका माग केही अस्वाभाविक छन्। तर, सरकारी पत्र र प्रधानमन्त्रीको लेटर प्याडसम्म नेपाल संवत अंकित हुनु आवश्यक पनि छ,’ इतिहासविद् मानन्धर भन्छन्, ‘तर, स्थापित भइसकेको मिति हटाएर तिथिको प्रयोग पुन: गर्नु सजिलो भने हुँदैन।’

मानन्धरकै विचारमा सहमत छन् साहित्यकार तथा संस्कृतिविद् हरिराम जोशी पनि। उनका अनुसार तिथि आफैँमा केही जटिल छ। र, कहिलेकाहीं एकै दिनमा दुई तिथि पनि हुने गर्छन्। त्यसका कारण सरकारी कामकाज मात्र नभई दैनिक जीवनमा पनि असर पर्ने जोशीको बुझाइ छ।

उनी भन्छन्, ‘हाल तिथिको प्रयोग चाडपर्व मनाउन, राशि, चिना र पर्व बिदामा हुँदै आएको छ। एक सचेत चेतनशील वर्गको एक मात्र माग भने राष्‍‍ट्रिय आधिकारिक पत्रमा आफ्नो मौलिक संवतलाई समावेश गरिनुपर्‍यो भन्‍ने छ, जुन जायज हो।’

नेवार समुदायको मात्र होइन नेपाल संवत

झट्ट हेर्दा हरेक वर्ष न्हु दयाको दिन नेवार समुदायले मात्र नेपाल संवत मनाएको देखिन्छ। त्यसका कारण अधिकांशलाई नेपाल संवत नेवार समुदाय विशेषको मात्र भएको भन्‍ने भान पनि परेको देखिन्छ, जुन सरासर गलत हो।

काठमाडौं उपत्यकालाई पहिले नेपाल मण्डल भनिन्थ्यो, जहाँ रैथाने नेवार समुदायको बसोवास अधिक थियो। त्यसैले हो नेपाल संवत चलेको पनि।

पृथ्वीनारायण शाहको उपत्यका विजयदेखि हराउँदै गएको नेपाल संवतलाई नेवारहरूले जीवित र प्रचलनमा राखे। सोही कारण नेपाल संवत मूलत: नेवार समुदायमा सीमित देखिन गयो।

‘लोप हुन लागेको नेपाल संवतलाई जोगाउन नेवार समुदायको ठूलो योगदान छ। यद्यपि, यो नेपालीहरूको संवत हो,’ मानन्धर भन्छन्, ‘झुकाव र लगाव नेवार समुदायको भएको र अन्य समुदायले खासै वास्ता नगरेका कारण पनि नेपाल संवत नेवारको जस्तो देखिन गएको हो।’

नेवारहरू आफैँले पनि उक्त संवत समुदाय विशेष हो भनेर हक दावी गर्न नमिल्ने उनी बताउँछन्। भन्छन्, ‘नेपालको मौलिक संवत हो यो।’

बालगोपाल श्रेष्‍‍ठको जर्नलमा उल्लेख भएअनुसार नेवार शब्दको प्रयोग पहिलोपटक सन् १६५४ मा एक शिलालेखमा भएको पाइन्छ । त्यसैले नेपाल शब्द शताब्दीऔं अघिदेखि प्रयोगमा छ। यसकारण पनि आम जनमानसमा नेपाल संवत नेवार समुदायको मात्रै हो भन्‍ने बुझाइ गलत छ। नेपाल संवत सम्पूर्ण नेपाली जनमानसको भएको मानन्धर बताउँछन्।

सोही जर्नलमा साहित्यकार अभि सुवेदीले सन् २००३ को काठमाडौं पोस्टमा उल्लेख गरेको एक अंश पनि समावेश छ। त्यसमा सुवेदीले लेखेका छन्, ‘नेवार जातिले नेपाल संवत मनाइरहँदा हामी गैरनेवारले भने किन मनाइरहेका छैनौँ ? यो संवत हाम्रो पनि हो। तर, गैरनेवारले यस विषयमा कुनै हेक्का राखेको देखिँदैन। यस्तै, संस्कृतिकै सन्दर्भमा पनि नेवार समुदाय निकै जागरुक र चेतनशील छन्।’

शंखधरका किंवदन्ती : दास प्रथा मोचन अनि नयाँ युगको सुरुवात

नेपाल संवतका प्रणेता शंखघर शाख्वा काठमाडौंका रैथाने थिए। व्यापारिक घरानाका उनले यहाँका गरिबको ऋण तिरिदिएपछि नयाँ युगको सुरुवात भएको मानिँदै आएको छ।

किंवदन्तीअनुसार तान्सिपाख लोकु तीर्थ (नदी) बाट पावन घडीमा बालुवा ओसार्न भरिया प्रयोग गरिन्थ्यो। भक्तपुरदेखि बालुवा नै लिन आएको देखेर शंखधर आश्चर्यमा परे। त्यससँगै उनले भरियालाई ठूलो रकम दिए अनि उक्त बालुवा आफूले लिएर अर्कै ठाउँको बालुवा पठाइदिए। शंखधरले लगेको बालुवा सुनमा परिणत भयो।

सुनमा परिणत भएको बालुवालाई शंखधरले ऋणमा डुबेका गरिबको ऋण तिर्न प्रयोग गरे र उनीहरू दासत्वबाट मुक्त भए। ‘त्यो समयमा ऋण तिर्न नसके हली वा कमैया, दास भएर बस्नुपथ्र्यो,’ मानन्धर भन्छन्, ‘दासत्वबाट मुक्ति दिएको र नयाँ युगको सुरुवात भएको कारण नेपाल संवत मनाउन थालियो।’

किंवदन्तीमा कति सत्य छ भन्‍नु भन्दा पनि प्रस्तुत भएको विषयलाई प्रतीकात्मक रूपमा बुझ्न उनी सुझाउँछन्। बालुवा सुनमा परिणत हुनुको अर्थ व्यापार गरेर उनी धनधान्यले पूर्ण भए होला र दीनदु:खीलाई ऋण मुक्त गराएका हुनसक्छन्। जनश्रुतिका आधारमा विश्‍वास वा अन्धविश्‍वासभन्दा पनि कथा, मिथकको आशयबाट सिक्नुपर्ने उनी बताउँछन्।

प्रकाशित मिति: १०:१५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्