Kathmandu Press

प्रेम गीत मात्र होइन ‘कालो केशमा रेलिमाई’

कसरी चर्चित बन्यो त- कालो केशमा रेलिमाई ? गीतकार तथा गायक दिनेश ढकाल भन्छन्, ‘पप गीतसँगै सानैदेखि गण्डक क्षेत्रका लोकभाका मेरो भोकलमा बसे। त्यसैको फ्युजन हो कालो केशमा रेलिमाई।’
प्रेम गीत मात्र होइन ‘कालो केशमा रेलिमाई’

काठमाडौं,  कात्तिक १६ : 

कालो केशमा रेलिमाई बाँधेको रिबन
तिम्लाई हेर्दौ रेलिमाई बिताउँला जीवन।

यो गीत अहिले चर्चामा छ। तीन साताअघि रिलिज भएको ‘कालो केशमा रेलिमाई’ युट्युबमा ट्रेन्डिङमा छ। तीन सातामा गीतले ३१ लाख बढी भ्यू पाइसकेको छ।

Hardik ivf

लोकलय, सरल शब्द र लोक तथा वेस्टर्नको फ्युजन कर्णप्रिय संगीत। शब्द र संगीतजस्तै सरल म्युजिक भिडियो। यी नै विशेषताले ‘कालो केशमा रेलिमाई’लाई चर्चित बनायो।

गीतको चर्चासँगै सर्जक गीतकार तथा गायक दिनेश ढकाल पनि चर्चामा छन्। चर्चासँगै उनको व्यस्तता बढेको छ।

गीत-संगीत रचना गर्न दिनेश ‘फ्री अनि इन्टेन्स मुड’ खोज्छन् उनी। त्यो ‘फ्री अनि इन्टेन्स मुड’ उनलाई कोरोना कहरले दियो, र जन्मियो- कालो केशमा रेलिमाई। गीत दर्शक-स्रोतामाझ ल्याउन दिनेशलाई दुई वर्ष लाग्यो।

अनि जन्मियो कालो केशमा रेलिमाई

गण्डक क्षेत्रका संस्कृतिसँग परिचित छन्, दिनेश। गुल्मीमा जन्मिएका उनी गण्डक क्षेत्रकै लोकभाका गुनगुनाउँदै हुर्किए। र, उनी गण्डक क्षेत्रकै सर्जक झलकमान गन्धर्व, राम थापा र धर्मराज थापाबाट निकै प्रभावित छन्। त्यही गण्डक क्षेत्रकै लोकभाकामा आधारित छ, कालो केशमा रेलिमाई। 

सरल शब्दबाट गहन चिज अभिव्यक्त गर्न रुचाउँछन् दिनेश। त्यही जीवनका गहन कुरालाई सरल रूपमा प्रस्तुत गर्न खोज्दा ‘कालो केशमा रेलिमाई’ जन्मिएको उनी ठान्छन्। ‘सामान्य शब्दबाट गहन चीजलाई कसरी उठाउन सकिन्छ भन्‍ने नै मेरो ध्येय हो,’ उनी भन्छन्।

रचनाका लागि घटना विशेषभन्दा पनि जीवन-जगतका गहन विषय कति सहज अनि सरल तरिकामा प्रस्तुत भएका छन्, उक्त विषयले महत्त्व राख्ने तर्क दिनेशको छ। पल्टनको तोप गोल, मारी जाने चालो, बम्बै जाने रेल, कहिले हाँसो कहिले आँसुलगायत गीतले जीवनजगत र अनित्यता दर्साउने बताउने दिनेशले ‘कालो केशमा रेलिमाई’मा पनि त्यही प्रयास गरेका छन्।

कसरी चर्चित बन्यो त- कालो केशमा रेलिमाई ? गीतकार तथा गायक दिनेश भन्छन्, ‘पप गीतसँगै सानैदेखि गण्डक क्षेत्रका लोकभाका मेरो भोकलमा बसे। त्यसैको फ्युजन हो कालो केशमा रेलिमाई। त्यही फ्युजन दर्शक-स्रोताको रोजाइमा पर्‍यो।’

गीतको शब्द रचना ठ्याक्कै घटना वा कुनै कारणबाट प्रेरित भएको भन्‍न सक्दैनन् उनी। तर, एक प्रेमीले आफ्नो प्रेमिकाको प्रशंसा र माया दर्साएको सेरोफेरोमा गीत घुमेको छ। ’रातो रिबन पहिलेदखि नै फिल्म, संगीतदेखि आमजीवनशैलीमा चलेको र कालो केशमा रातो रिबन लगाउँदा खुलेजस्तै शब्द संयोजनमा पनि मिल्न गएको उनी बताउँछन्। रेलिमाईको अर्थ उनलाई थाहा भएन तथापि गीतका एकदमै योग्य शब्द ठानेर रेलिमाई छनोट गरे। ‘गीत रफ लेख्दा यत्तिकै रेलिमाई राखेको थिएँ, पछि चेन्ज गरौँला भनेर तर यही शब्द उत्तम हुन पुग्यो।’

भन्छन्, ‘मलाई ‘सरलता मन पर्छ।’ यसका लागि उनी पुनः झलकमान गन्धर्वकै गीतको टेको लिन्छ। भन्छन्, ‘तिम्रै नै माया लाग्दछ साइँली बोलको गीतमा दैनिक जीवनका खाना, तिहुन, तरकारीका विषय र प्रेममा असफल भएका प्रेमिको भावना नमिल्दो रहे पनि कति सुन्दर र सुमधुर सुनिएको छ। कुनै पनि वस्तु विषयवस्तुलाई समेटेर कति राम्रो बनाउनुहुन्थ्यो उहाँले।’

त्यसबाट प्रभावित भएका गायक ढकालले गीतमा पनि काठको ठेकी, मदानी, चमेलीको तेल, रातो रिबनजस्ता दैनिक जीवनका परम्परागत साधनलाई उतारेका छन्। सोही कारण हुन सक्छ, उनका गीतले स्रोता-दर्शकको राम्रो साथ पाएको पनि। ‘असनको रातो साडी’ अनि ‘चारपांग्रे गाडी’ भने उनले अन्त्यानुप्रासका लागि उपयुक्त ठानेका छन्।

लकडाउनको सिर्जना

त्यो समय सुजन चापगाईंका गीतहरू ‘तीनपाते’ र ‘गाला पुक्का’ निकै चलेका थिए। दुवै आर्टमान्डुका उत्पादन थिए। ढकाल पनि आर्टमान्डुमै गए। ‘मलाई पनि त्यस्तै स्तरीय कन्टेन्ट दर्शकमाझ ल्याउनु थियो,’ उनी सम्झिन्छन्। त्यहाँ उनको भेट पूर्वपत्रकार, गायक तथा आर्टमान्डुका प्रमुख अंकितबाबु अधिकारीसँग भयो। अंकित आफैँ पनि संगीतको राम्रो ज्ञान राख्छन्।

ढकालको ध्येय भने फरक थियो। उनी ‘कालो केशमा’ भन्दा अगाडि पप धारको गीत रेकर्ड गर्न चाहन्थे। अंकितबाबुले भने पहिलो ‘कालो केशमा’ रेकर्ड गर्न सल्लाह दिए। यद्यपि, गीतको ढाँचा भने केही परिवर्तन गर्न सल्लाह दिए। त्यससँगै उनले गीतको पहिलो र दोस्रो अन्तरालाई एकै भाकामा नभई भिन्‍न गराए।

कुराकानीपछि उनी काठा पुगे अनि सुरु गरे गीतलाई अझ निखार्न। छतमा गएर उनले करिब एक डेढ घण्टा ज्याम गरे, भाका-लयमा थप काम गरे। घण्टौँको मिहिनेतपछि बल्ल चित्तबुझ्दो ढाँचा र भाका पक्रिन सफलता पाए। प्रोडक्सनको कामलाई पनि समय दिएर काम गरे भने भिडियो निकै अब्बल रह्यो। यसरी दुई वर्षअघिको लेखाइ अनि नौ महिनाको पोस्ट प्रोडक्सनपछि ‘कालो केशमा रेलिमाई’ गुन्जिन थाल्यो।

‘गीतलाई मैले होल्ड गरेको नै हो,’ ढकाल भन्छन्, ‘कन्टेन्ट राम्रै पस्कौँ भनेर होल्ड गर्‍यौँ।’

दसैंका चाडबाडकेन्द्रित गीत नै बढी सुनिन्थे। तर, जोखिम मोलेर दसैंताका नै गीत रिलिज गरे। रिलिज भएको तेस्रो दिनबाट गीतले ‘हाइप’ लियो। सामाजिक सञ्‍जालमा खासै बस्न नरुचाउने उनी भन्छन्, ‘दुई दिन त कतिपटक रिफ्रेस गरेर हेरेँ हेरेँ।’

राम्रो कन्टेन्ट, मिहिनेतका साथै अनि थोरै लक्की पनि मान्छन् उनी आफूलाई। पहिलो गीत, सबै नवकलाकार अनि बिनाप्रचार-प्रसार गीत दर्शकमाझ यसरी छाउनुको श्रेय दर्शक-स्रोतालाई नै दिन्छन्। पहिलो सफलता पछाडिका कठिनाइ र अनुभव उनलाई राम्रैसँग स्मरणमा छ। यद्यपि, उनी भोगेका संघर्ष तथा दुःखलाई देवत्वकरण गर्न चाहँदैनन्।

सुख, दुःख जीवनका अभिन्‍न पाटा हुन्। ‘म यस्ता अनुभवलाई ‘प्रोसेस’ भन्‍न रुचाउँछु। सुखमा रमाउन सकिन्छ भने दुःखमा किन नरमाउने ?’ सौम्य भाकामा उनी प्रश्‍न गर्छन्।

‘कालो केशमा रेलिमाई’ भन्‍नासाथ उनको दिमाग के आउँछ ? ढकालको जवाफ छ, ‘दर्शक, यो सम्झँदा अब म मेरो गीत होइन, माया गर्नु हुने दर्शकलाई देख्छु।’

प्रकाशित मिति: ११:१३ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्