हिमाली भेगमै पाइन छाड्यो पानी, सुनसान बन्दैछ मुस्ताङको ध्ये गाउँ

काठमाडौं, कात्तिक १२ : समुद्री सतहबाट तीन हजार नौ सय फिट उचाइमा पर्छ, उपल्लो मुस्ताङको ध्ये गाउँ। सोही गाउँका बासिन्दा हुन्, ४७ वषीय पासाङ गुरुङ। उनी अहिले करिब १२ किलोमिटर तलको थाङचुङमा बसाइँ सरेका छन्। उनले पुख्र्यौली थलो ध्ये गाउँ छाड्नुको कारण भने अनौठो छ। केही समययता यो गाउँमा पानीको चरम अभाव भएको छ। पानीबिना जीवन चलाउन हम्मे परेपछि उनका लागि थाङचुङमा बसाइँ सर्नुको विकल्प भएन।

हिमाली भेगको पानीको स्रोत नै हिउँ पग्लिएर बग्ने र मुल फुट्ने पानी हो। हिउँ पग्लिएको पानीबाटै आफू पिउन, घरपालुवा पशुलाई दिन र सिँचाइ गर्न पुग्थ्यो। त्यही स्रोत सुकेपछि हिमाली भेगको यो गाउँका बासिन्दामा संकटमा परे। र, धमाधम पानी पाइने नजिकका बस्तीमा बसाइँ सरिरहेका छन्।

यो समस्या आएको एक दशक बित्यो। यस १० वर्षमा उनीहरूले जेनतेन गुजारा पनि चलाए। तर, अब त्यही गुजारा पनि नचल्ने भयो। अनि बसाइँ सर्नुमै जीवन जिउने आधार देखे।

‘पानीका मुहान सुक्न थालेपछि वर्षमा एक बाली उत्पादनमा पनि हुन छाड्यो,’ पासाङ भन्छन्, ‘उत्पादन नभएपछि भेडा, च्याङ्ग्रा पाल्नसमेत समस्या पर्न थाल्यो, त्यसैले गाउँ छोड्न बाध्य भयौँ।’

उनको परिवार आठ सदस्यीय छ। ध्ये गाउँमा बसेर जीवन धान्न गाह्रो भएपछि थाङचुङ झरिसक्यो उनको परिवार। करिब तीन वर्षयता परिवार थाङचुङमै छ। पासाङ भने बेलाबेलामा पुख्र्यौली थलो पुग्छन्। र, घर र जमिनको रेखदेख गर्छन्। तर, अब फेरि पुख्र्यौली थलो फर्किने सोच उनले त्यागिसकेका छन्। भावुक हुँदै उनी भन्छन्, ‘समयमा वर्षा नहुँदा पानीको अभावले नै प्यारो गाउँ छाड्नुप¥यो।’

उनका अनुसार ध्ये गाउँमा पानीको मुहान सुक्न थालेको १० वर्ष बित्यो। न त समयमा हिउँ पर्छ, न हिउँ पग्लेको पानीबाट मुल नै फुट्छ।

ध्ये गाउँकै ४० वर्षीय टासी ह्याचोको परिवार पनि पुख्र्यौली ठाउँ छाडेर थाङचुङ झरिसक्यो। ‘परिवार पाल्नैप¥यो, उब्जाउ नभएपछि कसरी पेट भर्नु,’ उनी भन्छन्, ‘पहिला त समयमा वर्षा हुन्थ्यो, बाली राम्रो हुन्थ्यो। तर, अहिले पानी प¥यो भने एकैछिनमा भेल आउँछ, एकछिनमा सुक्छ। जमिनले पानी सोस्न नपाएपछि मुहान कसरी रसाओस्।’

सिँचाइसँगै पिउने पानी अभाव हुँदा बसाइँ सर्न बाध्य हुनुपरेको छ, उनको परिवारले। ध्ये गाउँको नजिकमा खोला छैन। खोलो भए त ध्ये गाउँवासीले त्यसैमा बग्ने पानी थुनेर पनि जीविका चलाउँथे होला। कुनै स्रोत उपलब्ध नहुँदा गाउँ रित्तो बनाएर हिँड्नुको विकल्प रहेन उनीहरूसँग। उनका अनुसार ०६६–६७ तिरदेखि ध्ये गाउँमा पानीको चरम संकट हुन थालेको हो।

२६ मा आठ घरघुरी मात्र गाउँमा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५ मा पर्छ, ध्ये गाउँ। यो उपल्लो मुस्ताङको विकट क्षेत्र पनि हो। यो गाउँमा १० वर्ष अघिसम्म २६ घरधुरीको बसोवास थियो। विस्तारै बसाइँ सर्दै गएर अहिले आठ घरधुरी मात्र बाँकी छन्, गाउँमा। बाँकी १८ घरधुरी थाङचुङ बसाइँ सरेका छन्।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पनि हुन्, पासाङ। थाङचुङ पनि सोही वडामा पर्छ। स्थानीयवासीका अनुसार सुरुमा बसाइँ सर्नेहरू पोखरा, काठमाडौंसम्म पनि आइपुगेका थिए। तर, आफ्नो संस्कार, संस्कृति मासिने चिन्ताका कारण सबैलाई गाउँ फर्काइयो। र, सबै थाङचुङलाई स्थायी बसोवासको थलो बनाएका छन्।

थाङचुङमा भने दामोदरकुण्डबाट बगेर आउने खोलो छ। सोही खोलाको किनारमा बसेको छ, थाङचुङ गाउँ। यो खोलालाई स्थानीय बासिन्दाले ‘ध्ये’ नाम दिएका छन्। तर, यो ध्ये गाउँबाट धेरै टाढा छ। सिँचाइ र पिउने पानी अभाव नभएकाले थाङचुङमा उनीहरूको बसाइ ध्ये गाउँमा भन्दा धेरै सहज भएको छ। आगामी तीन–चार वर्षभित्रै ध्ये गाउँ पूरै खाली हुने पासाङ बताउँछन्। पासाङका अनुसार गाउँभेलाबाटै ध्येबाट थाङचुङमा बसाइँ सर्ने निर्णय भएको हो।

विकट गाउँ ध्येका बासिन्दाको मुख्य पेशा कृषि र पशुपालन हो। खासगरी, गहँु र आलु फल्थ्यो। वैशाखमा बाली लगाउँथे र असोजमा उठाउँथे उनीहरू। त्यही सिजनमा मात्र बालीनाली सप्रिन्थ्यो। कारण– पानी प्रशस्त थियो। पानी अभाव चर्को भएपछि त्यही एक बाली पनि लगाउन पाउन छाडे, ध्ये गाउँवासीले। अनि त बसाइँ नसरी सुखै भएन।

यस्तै, घरपालुवा पशुलाई जेठ–असारमा धेरै माथिसम्म पु¥याउँथे, चराउन। र, पुसमा बेंसी झार्थे। पानी नै नभएपछि अब ध्ये गाउँ र त्यसभन्दा माथिल्लो क्षेत्रमा घाँस पनि पाइन छाड्यो। आफू मात्र होइन, घरपालुवाकै ज्यान पनि बचाउन गाह्रो भयो, उनीहरूलाई।

उच्च हिमाली भेग भएकाले ध्ये गाउँमा असोजदेखि नै हिउँ पर्न थाल्थ्यो। अनि खर्कमा भएका घरपालुवा चौपायालाई उनीहरू बेंसीतिर ओराल्न थाल्थे।

पहिला एक१ पाथी आलु रोप्दा १५ पाथी फल्थ्यो। अहिले भने एक पाथी बीउबाट दुई–तीन पाथी उत्पादन हुँदैन। गाउँभरिमा करिब तीन हजार याक (चौँरी) थिए। चरन क्षेत्र नै नभएपछि अहिले एक हजार मात्र रहेको टासी बताउँछन्। ‘घाँस पाइन छाडेपछि पशुपालन घट्न थालेको हो,’ उनी भन्छन्, ‘बेमौसमी वर्षा र हिउँले च्याङ्ग्रा र याक पनि मर्न थाले।’

जलवायु परिवर्तनको असर

के यो जलवायु परिवर्तनको असर हो ? यसबारे गम्भीर अध्ययन हुन सकेको छैन। तर, करिब १० वर्षदेखि सोही क्षेत्रमा अध्ययन गरिरहेका फिडेल देवकोटा यसलाई जलवायु परिवर्तनकै असर मान्छन्। उनी बसाइसराइ तथा हिमाली मानवशास्त्रका अध्येता पनि हुन्। र, फिल्म मेकर पनि।

जलवायु परिवर्तनले हिमाली क्षेत्रको जीवनयापनमा पारेको प्रभाव चित्रण गर्दै उनले निर्देशन गरेको फिल्म ‘काङ्लिङ’ले निकै चर्चा पाएको थियो।

यो जलवायु परिवर्तनकै असर हो भन्ने केही कारण देखिन्छन्। जस्तो– पुसमा हुने हिमपात अहिले तीन महिनाअघि असोजमै हुन थालेको छ। यस्तै, वैशाखदेखि भदौसम्म हुने वर्षात् अहिले असार र साउनमा मात्र सीमित भएको छ। अझ, वर्षा कहिले र कत्रो परिमाण हुन्छ भन्ने पनि निश्चित हुन छाडिसकेको छ।

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा वर्षा र हिमपातको यो ट्रेन्ड करिब दुई दशक पुरानो रहेको देवकोटा बताउँछन्। ‘समस्यामा परेका अधिकांश घरधुरी बसाइँ सरेर जान थालेकाले गाउँ नै सुनसान बनेको छ,’ पासाङ भन्छन्, ‘ध्ये गाउँलाई संरक्षण गर्न सरकारी निकायसँग आग्रह गरिरहेका छौँँ।’

ध्ये गाउँमा माटो सुक्खा भई खेती गर्न नमिल्नु, चरन र हिउँ पर्ने समय निमिल्न थालेकाले बसाइँ सर्नु परेको स्थानीय बासिन्दा बताउँछन्। चाहिने बेलामा पानी नपर्नु, वर्षातको समय नै घट्नु, मुहान सुक्दै जानु र चरन क्षेत्र कम हँुदै जनजीवन कष्टकर बनेकाले ध्ये गाउँ खाली भएको हो। ‘ध्ये गाउँमै बसिरहँदा बाँच्नै गाह्रो भयो,’ टासी भन्छन्, ‘त्यसैले गाउँ छाडेर थाङचुङ झ¥यौँ।’ उनको भनाइ पनि जलवायु परिवर्तनको असर आफूहरूले भोगेको भन्ने छ।

देवकोटाका अनुसार १०–१२ वर्षयताको अवलोकनबाट ध्ये गाउँले जलवायु परिवर्तनको असर भोग्नुपरेका धेरै उदाहरण मिल्छन्। जस्तो– सन् २०१२ मा धेरै हिउँ प¥यो, त्यस वर्ष घाँसपात पनि राम्रैसँग उम्रिए। तर, एक स्थानीयवासीका धेरै बाख्रा मरे। किनकि, त्यसअघि घाँसपात नउम्रिँदा आधा पेट खाएका बाख्रा धेरै घाँस खाएर मरेको स्थानीय बासिन्दाको भनाइ छ।

उपल्लो मुस्ताङ तीव्र गतिमा मरुभूमिकरण भइरहेको देवकोटाको भनाइ छ। अहिले उपल्लो मुस्ताङमा धेरै जग्गा–जमिन खाली रहेको उनी बताउँछन्।

जलवायु परिवर्तन भन्न सकिने केही आधार

⦿ कहिले वर्षभरि पानी पर्ने, कहिले पर्दै नपर्ने
⦿ अनियमित वर्षाका कारण अन्न उत्पादन न्यून, घाँस उम्रिनै छाड्यो
⦿ ३०–३५ वर्ष अगाडिसम्म जोमसोममा लामखुट्टे आउँदैनथे। तर, अहिले ध्ये गाउँमा पनि लामखुट्टेका कारण गर्मीयाममा झुल नटाँगी सुत्नै सकिँदैन। जब कि, जोमसोमबाट निकै माथिल्लो भेगमा पर्छ, ध्ये गाउँ।
⦿ मुस्ताङमा पहिले कोभाङ र जोमसोममा मात्र स्याउ फल्थ्यो। अहिले माथिल्लो भाग थाङचुङ, ध्येतिर पनि स्याउ फल्न थालेको छ।
⦿ २०–३० वर्ष अघिसम्म ध्ये र थाङचुङमा स्याउ रोप्दा स–साना दाना मात्र लाग्थे। अहिले राम्रोसँग फल्न थालेको छ।
⦿ पहिले उपल्लो मुस्ताङतिर स्याल पाइँदैनथ्यो। अहिले उपल्लो मुस्ताङभरि स्याल छ्यापछ्याप्ति पाइन थालेको छ।
⦿ पहिले एक पाथी रोप्दा चार–पाँच पाथी उप्पादन हुन्थ्यो, अहिले एक पाथी बीउबाट दुई–चार पाथी मात्र उत्पादन हुन्छ।
⦿ पहिले हरेक परिवारले याक पाल्थे। अहिले चार–पाँच परिवारसँग मात्र याक छन्।
⦿ पहिले मलेरिया र टाइफाइडजस्ता रोग तराई र पहाडी भेगमै सीमित थिए। तर, अहिले मुस्ताङको उपल्लो भेगमै पनि मलेरियाका बिरामी भेटिन थालेका छन्।

 

 Published Date: Friday, 29th October 2021 10:04:00 am