‘आइमाईको कुनै देश छैन’मा दक्षिण एसियाली समाजको प्रतिविम्ब

काठमाडौं, कात्तिक ६ : ‘आइमाई’ शब्द सुन्दै नाक खुम्च्याउने समाज र सोचविरुद्ध लेखनमार्फत अभिव्यक्त गर्न सानो आँट र साहसले पुग्दैन। त्यसका लागि हण्डर र ठक्करसँगै अदम्य साहस र बुझाइ हुनुपर्छ। महिला (आइमाई) का लागि समाजले निर्धारण गरेका नीति नियम र बनाइएका धार्मिक, सांस्कृतिक बन्धन छन्, जसले महिलालाई दोस्रो दर्जाका रूपमा स्थापित गरेका छन्।

पुरुषद्वारा महिलाका लागि तय गरिएका विभिन्‍न शास्त्रीय नीति नियमको राजनीतिबाट कसलाई फाइदा भइरहेको छ ? धार्मिक र सांस्कृतिक कट्टरपन्थ र अन्धता महिलालाई सधैँ अल्झाइराख्‍ने नेल बनेका छन्। यस्तै विषयवस्तुमा केन्द्रित रहेर लेखिएको तसलिमा नसरिनको ‘आइमार्इको कुनै देश छैन’ पुस्तक विश्‍व चर्चित छ। लेखकका पुस्तकले समाजमा एक प्रकारको तरंग पैदा गर्छन्। सामाजिक मूल्य मान्यताउपर प्रश्‍न गर्दै पुस्तक लेखेकै कारण देश निकालादेखि मृत्यदण्ड दिने मागसमेत तसलिमाविरुद्ध नगरिएको होइन। तर, उनी समाजका कुरीति र विकृतिविरुद्ध लड्न हिचकिचाएकी छैनन्।

जब-जब समाजका दायरामाथि प्रश्‍न गरिन्छन्, उत्पीडितहरू एक भई हक र अधिकारका लागि आवाज उठाउँछन्, सामाजिक संस्कृति धानेको दाबी गर्ने अनि समाजमा हालिमुहाली चलाउने वर्ग भाँडभैलो भयो भन्दै रोइलो गर्छ। सामाजिक मूल्य मान्यताविरुद्ध प्रश्‍न गरेकै कारण तसलिमाले विभिन्‍न सामाजिक-धार्मिक ठेकेदारसँग लड्नुपरिरहेको छ। पुस्तक ‘आइमाईको कुनै देश छैन’मा महिला अभिव्यक्ति, स्वतन्त्रता र आवश्यकतालाई प्रष्‍ट्याइएको छ। पुस्तकमा भारतीय र बंगालादेशी परिवेश उल्लेख गरिए पनि नेपाली समाजसँग पनि उत्तिकै मेल खान्छ।

महिलाका अधिकार र स्वतन्त्रता पुरुषतन्त्रका पेवा

महिलाका हक अधिकार र स्वतन्त्रता कसैले दिए पाउने, नदिए नपाउने अनि जफत गर्न सकिने भन्दै महिलालाई गरिएको वस्तुकरण र बजारीकरणमाथिको विद्रोह लेखनमार्फत पोखेकी छन्, तसलिमाले। संस्कारका नाममा छोरीले आमाको गर्भमा रहँदाको असुरक्षा र छोरी भएर जन्मिएपछिको प्रत्येक पाइलाका संघर्ष उक्त पुस्तकमा अनुभवसहित समेटिएको छ।

छोरी, पे्रमिका, बुहारी, श्रीमती, आमा र वृद्ध हुँदासम्मको जीवनचक्रमा भूमिकाअनुसारको जीवन बाँच्‍नुपर्ने तसलिमाले पुस्तकमा अभिव्यक्त गरेकी छन्।  छोरीले घरको संघार पारि पाइला टेकेर सकुशल घर फर्किनु भनेको कुनै युद्ध जित्‍नुबराबर भएको उनको प्रष्‍टोक्ति पुस्तकमा पाइन्छ।

मानव इतिहासको सुरुदेखि नै महिलामाथिको अत्याचारले आजको दिनसम्म आइपुग्दा विभिन्‍न रूप फेरिसकेको छ। तर, अत्याचार उस्तै, अझ भयंकर र डरलाग्दो बनेको दैनन्दिनका समाचारहरूबाट प्रष्‍ट हुन्छ।

पुरुषको भागमा अधिकार, महिलाको दायित्व मात्र

पुरुषमय समाजिक संरचनाको समस्या पुरुष हो या पुरुषतन्त्र भन्‍ने यो प्रश्‍नको उत्तर खाेज्न प्रश्नात्मक चेत खाेल्न पुस्तक उपयाेगी छ। महिला अधिकारको विषय सधैँ उसको दायित्वको अगाडि किन ओझेल पर्छ ? देशले महिलालाई नागरिकका रूपमा स्वीकार्ने दिन आउन महिलाले के र कुन मापदण्ड पूरा गर्नुपर्ने हो ? महिलालाई जीवित वस्तुको रूपमा व्यवहार गर्न बन्द गरी पुरुषसहर व्यवहार गरिनुपर्छ भनी आवाज उठाएकी छन्, तसलिमाले यस पुस्तकमा।

विशेषतः समानता र समतामूलक समाज चाहनेहरूमा प्रश्‍न गर्ने प्रेरणा बनेकी बंगालादेशी लेखक तसलिमाका पुस्तकले पाठकमाझ बहस मात्र छेड्दैन्, शक्तिशाली भूकम्पीय कम्पन पैदा गर्छन्। सबैभन्दा पीडित कोही छ भने महिला र दलित समुदाय छन्। विश्‍वभरका महिलाका देशअनुसारका समस्या छन्। देश विकसित छन् तर महिलाप्रतिको सोच निकै कमसल छ। अझ, दक्षिण एसियाली महिलाका दुःख र राज्यले नै निर्धारण गरेको महिलाको दर्जाको विश्लेषण गर्ने हो भने महिलालाई पुरुषका लागि उपभोग्य वस्तुका रूपमा मात्र देखिन सक्छन्।

कैयौँ शताब्दि बिते, महिलाले हक र अधिकारका लागि गरिएका क्रान्ति र लडाइँहरू पनि दबाइए वा कुनै शास्त्रमा इतिहासको रूपमा संरक्षण गर्न आवश्यक ठानिएन, राखिएन। किनकि, शास्त्रीय ज्ञानको भण्डार पुरुषसँग मात्रै छ, हुन्छ भन्ने भ्रम स्थापित गरियो र त्यो आजका दिनसम्म पनि कायम छ। पुरुष कसरी सर्वश्रेष्‍ठ, महिला कसरी निरिह ? यस पुस्तकले सोच्‍न बाध्य पार्छ।

पुरुषतन्त्रको शिक्षा : आदर्श दासी उत्पादन केन्द्र

महिलाका नैसर्गिक अधिकारको विषयमा कुरा गरिरहँदा शिक्षामा जोड दिए सम्पूर्ण परिवर्तन हुन्छ भनिए पनि हाम्रो शिक्षा प्रणालीको अवस्था कस्तो छ भनेर बुझ्‍न आवश्यक छ। महिलालाई पुरुषको दासी, सेवक हुनुपर्छ भनी सिकाइने शिक्षाले फेरि पनि महिलाको धरातललाई कुनै फरक पार्दैन। पुरुषतन्त्रले पुरुषकेन्द्रित, पुरुषका लागि आवश्यक अधिकारलाई नै मानिसका अधिकारका रूपमा त्यो समयमा स्वघोषित गरे। त्यसैलाई नै नियम मान्दै सोहीअनुरूप समाज अगाडि बढ्यो। महिलाका हक अधिकार, महिलामाथिका विभेद, अन्याय र अत्याचारविरुद्ध बोल्न कुनै निकायले १० पटक सोच्छ। पुरुषको गल्ति हुन्छ, पुरुष दोषि हुन्छ, पुरुष अपराधी हुन्छ। तर पनि, महिलामाथिको अविश्‍वासले भ्रामक प्रश्‍न जन्माइदिन्छ र चरित्रमा पुर्‍याएर सारा मुद्दा टुंग्याइन्छ।

यही हो पुरुषतन्त्र, जहाँ महिलाका लागि कुनै निकाय छैन, छ त मात्र अविश्‍वास, अफवाह र भ्रमहरूको थुप्रो। महिलाका विषयमा कुरा उठ्दा निकै इमानदारिताका साथ प्रयोग गरिन्छ। पुरुषका लागि अधिकार बनाइयो, महिलाका लागि दायित्व तय गरियो। संस्कार, इज्जत, घरपरिवारको रेखदेख, पुरुषलाई खुशी दिने, वंशलाई निरन्तरता दिने, भनेको समयमा उपस्थित रहे दासी र निजी सम्पत्तीको रूपमा राख्‍ने प्रथाको थालनी भयो, यही प्रथा आजको दिनसम्म पनि छ।

समग्र महिलामा एकरूपता नहोस् भनी आपसी फुट हुनेखाले भाष्‍य र उखानहरू निर्माण गरिए। ‘आइमाईको दुश्मन आइमाई नै’ भन्‍ने भाष्‍यलाई निरन्तरता दिइयो, महिला अधिकारका सवाल, हक र स्वतन्त्रताका सवालमा एकजुट हुन बाधक बनोस् भनेर। यतिसम्म कि महिलाको स्थान घरभित्र हो, घरबाहिर होइन भनी दायरा तय गरियो। महिलाका लागि शिक्षाको कुरा अगाडि बढ्यो तर त्यो शिक्षा आदर्श श्रीमती, आदर्श आमा बनाउने अनि महिलाको संसार घरसंसार मात्र हो भनी पुस्तक, टेलिभिजन कार्यक्रम, पत्रपत्रिकालगायत माध्यममा देखाउने गरिएको छ।

सन् १९४२ मा प्रकाशित ‘नारी-धर्म-शिक्षा’मा महिलाले मान्‍नुपर्ने नियम, विनम्रताका साथ शिर झुकाउने, सरसफाइ, निष्‍ठुरी नबन्‍ने, हाँसो ठट्टा नगर्ने, गुनासो र अभिव्यक्ति नपोख्‍ने, श्रीमानबाहेक अन्यमा नजर परेमा पापिनी हुने, पुरुष (ठूला मान्छेको) सधैँ खुट्टा छुनुपर्नेजस्ता विषयलाई जोड दिएको थियो। शिक्षित महिलाले अझ नियम पालनामा सावधानी अपनाउनुपर्ने भनी संस्कारको रूपमा स्थापित गरिएको थियो।

पुरुषले सधैँ अधिकार उपयोग गरोस् र महिलाले दायित्व पूरा गरुन् भन्‍ने भाष्‍य स्थापित गराउन खोजिएको थियो। यो राजनीतिले पुरुषतन्त्रलाई कायम राख्‍न सघाउ पुर्‍याउँदै आएको छ। र, महिलालाई त्यसको छनकसम्म नदिइएकाले नै यो प्रथा समाजबाट हटाउन नसकिएको बुझ्‍न सहज बनाउँछ, तसलिमाको पुस्तकले।

महिलालाई पीडा दिएर दर्साइने ‘प्रेम’

प्रेमको गलत परिभाषा गरिँदै आएको छ भन्‍ने बुझ्‍न जरुरी छ। महिलालाई प्रेमको भ्रममा राखिएको बुझ्‍न गाह्रो छैन। आमाले आफ्नो शिशुलाई छातिमा टाँस्दा दर्सिने प्रेमसँग अन्य प्रेमको तुलना हुन सक्दैन।

‘प्रेम गर्छ र त रिसाउँछ, प्रेम गर्छ र त यसरी थर्काउँछ, प्रेम गर्नेले दुई-चार थप्पड, दुई-चार लात त बजाइहाल्छन् नि, तिमी महिला हौ सहनशील हुन्छौ’जस्ता प्रेमप्रतिको गलत र भ्रामक भाष्‍यहरू परिवर्तन हुन जरुरी छ। जसरी महिलालाई प्रेम दर्साउन उसलाई पीडा दिन्छन् र सोही पीडामा रमाउँछन्, ती पुरुषका लागि यो पुस्तक गतिलो सिकाइ हुन सक्छ। महिलाको पीडामा आफ्नो मर्दांगी सावित भएको भ्रममा पर्ने पुरुष र पुरुषतन्त्रमा बाँचेकाहरूले यो पुस्तक एकपटक पढ्नैपर्छ। तसलिमाले त्यस्तो सोच्‍ने पुरुषका मनोवैज्ञानिक लेखनमार्फत महिलाको पीडा उतारेकी छन्। खासमा पुरुषतन्त्रले पुरुषको नजरबाटै महिलाले आफूलाई हेरिरहेको कुरा बुझाएकी छन्।

समाजको संरचना यसरी निर्माण गरिएको छ कि जहाँ महिलाका रक्षक पुरुष, महिलाका भाग्यविधाता पुरुष, महिलाको पूर्णता पुरुषबिना असम्झवजस्ता मान्यता स्थापित भएको छ। खासगरी, दक्षिण एसियाली मुलुकमा पुरुष र महिलाबीच त्यस्तो प्रेम हुँदैन, जुन खासमा प्रेम हो। यहाँ हुने प्रेम केवल भ्रम हो। स्पष्‍ट कुरा के भने पुरुषले महिलालाई गरेको दया र महिलाले पुरुषलाई दिएको उच्चसम्मान, श्रद्धालाई प्रेमको नाम दिइएको छ। पुरुषतन्त्रले पुरुष सुख महिलालाई चिमोटेर, चित्कार सुनेर लिन सकिन्छ भन्‍ने तथाकथित भाष्‍य स्थापित गरिएको छ। त्यो गलत हो र सच्याइनुपर्छ भनेकी छन्, यस पुस्तकमा तसलिमाले। पुरुषले आदेश दिएअनुरूप नै महिलाले पालना गर्छिन्, निकै संवेदनशील भएर, करकापमा होस् या जोडबलमा त्यसलाई प्रेमको उपनाम दिने समाजको यथार्थ उदांगो पारेकी छन्।

पुरुषका लागि यौन साध्य, महिला साधन

यौन र शरीरका कुरा गर्न पुरुषलाई जति छुट छ, महिलालाई छैन। महिलाका लागि यौन, तृष्‍णा र शरीरका बारेमा वर्जित गरिएको समाजमा समलैंगिक प्रेमको अवस्था पुस्तकमार्फत तसलिमाले देखाएकी छन्। सामाजिक बन्धन र सोचका कारण प्रेमको हत्या गर्न बाध्य पारिने मानक र आफूले रोजेर प्रेम गर्न नपाइने दायराका विषयमा पुस्तकमा उल्लेख गरिएको छ।

परिवार र साथीको त कुरा त्यही बिसाऊँ, प्रेमी अथवा श्रीमानसँग नै किन नहोस् यौन, शारीरिक सन्तुष्‍टीका विषयमा संवाद गर्न वर्जित गरिएको विषयलाई पुस्तकमा उल्लेख गरिएको छ। कुनै महिलाले हिम्मत जुटाएर त्यो विषयउपर सहमति या विमति राखे समाजले दिने उपनाम बदचलन, संस्कारहीन, काम नलाग्‍ने, चरित्रहीन नारी हुँदै आएको छ। तसर्थ, पुरुषले दर्साएको राक्षसी हर्कतलाई नै प्रेम हो भनी बस्‍नेहरूका लागि यस पुस्तकले प्रेम, सामिप्य र अपनत्वको बारेमा छर्लंग पार्न मद्दत गर्छ।

विशेषगरी महिलाहरूलाई यो पुस्तकले जीवन साथी गलत कि सही भनेर छुट्टयाउन सक्ने र सही निर्णय गर्ने क्षमता दिन्छ।

वर्षैभरि पुरुषकै रजगज, एकदिने महिला दिवस

‘आइमाईको कुनै देश छैन’ पुस्तकमा पुरुषतन्त्रले महिलामाथि लादेको संस्कारको विषयमा बहस त गर्छ नै, महिलाका लागि दिएजस्तो गरिएका अधिकारको पनि सनि समीक्षा गरेको छ। जुन दिनसम्म महिला दिवस मनाइरहन पर्छ, त्यतिन्जेल महिला विभेदमा रहने स्पष्‍ट छ। वर्षको ३६४ दिनसम्म पुरुषको रजगज चल्ने समाजमा एकदिने नारी दिवस मनाउनुको तुक नरहने तसलिमाको मत छ।

पुस्तकमा राखिएका रचनाक्रमले हाम्रो सोचाइ, हामीले बुझेका र बुझाइएका सामाजिक मान्यतामाथि प्रश्‍न छेड्छ, मनमा प्रश्‍नका खात चुलिन्छन्। महिलाका विषयमा उनले गरेका प्रश्‍नले मानसपटलमा एकप्रकारको तुफान पैदा गर्छ। उनले पुस्तकमा उठाउने गरेको महिला हक, अधिकार, पुरुषतन्त्र, यौनका प्रसंग, पुरुषको चरित्र, पुरुषत्वको विषयमा राखेका अनुभव, विचारका जति पारखी छन्, उति नै उनलाई गलत, कुसंस्कारी, बदचलन महिलाको उपनाम पनि भिराएका छन्।

पछिल्लो समय प्रगतिशील बनेजस्तो गर्ने महिला र पुरुषलाई समेत झस्काउँछ। महिला अधिकार भनेको पुरुषले अड्कलेर दिने वस्तु होइन भनी बुझाउँछ। खासगरी, पछिल्लो पुस्ताका छोरीहरू, जो महिला पुरुषको समानताका खातिर सोच्छन् र बुझ्‍न चाहन्छन्, उनीहरूका लागि निकै उपयोगी छ यो पुस्तक। पुरुष चरित्र कस्तो हुन्छ र आफूलाई सामान्य लाग्‍ने आफ्नो चरित्रबारे बुझ्‍न मद्दत गर्छ। अनि आफूलाई सामान्य लाग्‍ने चरित्र विभेद र हिंसा पनि हुनसक्छ भन्‍ने चेत दिन्छ।

‘आइमाईको कुनै देश छैन’ पुस्तक अलिक कट्टरपन्थी हो कि भन्‍ने पनि लाग्‍न सक्छ। तर, लेख्दालेख्दै र बहस हुँदाहुँदै पनि समाजमा महिलाको अवस्था कुवाको कुवामै छ भन्‍ने यसले प्रष्‍ट्याउँछ। अझै पनि लेख्‍न र बहसमा ल्याउन बाँकी धेरै कुरा छन्, हाम्रो समाजमा।

महिला भएर पनि यस्तो लेख्‍ने भन्‍नेहरू पुरुषले महिला चरित्र भएर लेखिएका साहित्यहरू हेर्नु, समीक्षा गर्नु, महिलाको सौन्दर्य, धैर्य, पर्खाइ, कोमलता, फूल र जुनसँग गरिएका तुलना बाहेक र चरित्रहीन पुरुष फेर्ने चरित्र बनाइएका अधिकांश लेखनीले महिलाका आवाज सुन्‍नेगरी उठाएनन्। मात्र महिलालाई महिलाको स्वरूपमा बस्‍न, महिला हुन सिकाए तसर्थ तसलिमाको ‘आइमाईको कुनै देश छैन’ पुस्तकले प्रत्येक महिलाको स्वर अभिव्यक्त गरेको छ। एक महिलाले प्रतिनिधित्व गरेर सारा महिलाको आवाज मुखरित हुँदैन, सुनिँदैन। हरेक महिलासमक्ष आवज गुञ्‍जाउने, प्रश्‍न गर्ने, कम्पन छोड्ने यस्ता पुस्तक लेखिनुपर्छ, हात-हातमा पुगिनुपर्छ।

 Published Date: Saturday, 23rd October 2021 6:11:00 pm