Kathmandu Press

भावनाको ‘चेम्बर’ इसान्ड-आउट : खुशी, दुःख, रिस, घृणा र डरको संगम

दुःख, नैराश्यका बीच पनि मानिस बाहिरी दुनियाँमा खुशी देखिन प्रयासरत हुन्छ। खुशी, दुःख, रिस, घृणा, डरजस्ता संवेदनासँग मानसिक र भौतिक दुई भिन्‍न दुनियाँको सम्बन्ध चित्रण गरेको छ, एनिमेटेड हलिउड फिल्म ‘इन्साइड-आउट’ले।
भावनाको ‘चेम्बर’ इसान्ड-आउट : खुशी, दुःख, रिस, घृणा र डरको संगम
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : चलचित्रकी प्रमुख पात्र रायलीको जन्म हुन्छ। पहिलोपटक आँखा उघारेकी उनले बाहिर आफ्ना बाबु-आमा देख्छिन्। मातापिताको पहिचान भने उनको मस्तिष्‍कभित्रका जोय (खुशी), स्याडनेस (नैराश्य), एंगर (रिस), डिस्गस्ट (घृणा) र फियर (डर) जस्ता भावनाले गरेका छन्। भावनात्मक यी संवेगलाई ‘पर्सोनिफिकेसन’ गरिएको छ। वास्तविक जीवनमा देख्‍न नसकिने तर महसुस गर्न सकिने यी भावहरूलाई मानवस्वरूप दिएर प्रस्तुत गरिने शैलीलाई ‘पर्सोनिफिकेसन’ भनिन्छ।

मानिसको भित्री भावनात्मक स्थितिले उसको बाहिरी व्यक्तित्वलाई प्रभाव पारिरहेको हुन्छ। दुःख, नैराश्यका बीच पनि मानिस प्रयास गरिरहेको हुन्छ, बाहिरी दुनियाँमा खुशी देखिन। खुशी र दुःखसँगै रिस, घृणा, डरजस्ता मानव संवेदनासँग मानसिक (भित्री) र भौतिक (बाहिरी) दुई भिन्‍न दुनियाँको सम्बन्धलाई दर्साउँछ, सन् २०१५ मा बनेको एनिमेटेड चलचित्र ‘इन्साइड-आउट’ले। निर्देशक पेटे डक्टेर र उनको टिमले मनोवैज्ञानिसँगको पाँचवर्षे सहकार्य तथा मिहिनेतपछि चलचित्रको स्वरूप दिन सफल भएका थिए।

‘इन्साइट-आउट’ अर्थात् भित्री-बाहिरी दुनियाँ

नामजस्तै चलचित्रको बाहिरी पर्दामा रायली प्रमुख पात्र छिन्। ‘इन्साइडट’ अर्थात् उनको बाहिरी गतिविधिलाई निर्देशन गर्छन्, भावनाहरूले। उनी तिनै भावनाबाट निर्देशित छिन्। हुन त, हरेक व्यक्ति भावनाहरूबाटै निर्देशित हुन्छ। खुशी, दुःख, रिस, डाहा, घृणा, डर सबै मानवभित्र रहेका भावना हुन्। यी भावना जन्मदेखि नै जोडिएर आएका हुन्छन्। र, मृत्युसम्म साथ दिन्छन्।

चलचित्रको सुरुवातमै रायलीको आँखा खुल्दा खुशी, दुःख, रिस, घृणा र डरको परिचय पनि जोडिएर आउँछ। खुशी यी भावनाका लिडर हुन्छिन्, जो रायलीलाई सदैव खुशी राख्‍न प्रयासरत रहन्छिन्। चलचित्रमा ‘न्यारेसन’ पनि जोय अर्थात् खुशीले गरेकी छन्।

यस्तै, स्याडनेस (दुःख)ले आफूले इच्छाएको कुरा वा परिस्थिति अनुकुल नहुँदा महसुस गरिने भावलाई दर्साउँछ। फियर (डर) ले रायलीलाई डर लाग्‍ने वस्तुस्थितिबाट सचेत राख्‍ने गर्छ। डिस्गस्ट (घृणा) ले उनलाई मन नपर्ने कुरामा ‘कम्प्रमाइज’ नगराउने हुन्छ। रायलीलाई ब्रोकाउली मन पर्दैन। ब्रोकाउली खानु पर्‍यो कि उनलाई रिस उठ्छ। एंगर (रिस) अर्को भाव हो, जसले सोचबिना नै मन नपरेको भाव व्यक्त गर्छ।

चलचित्रको मुख्य पाटो नै मानव भावनाले कसरी बाहिरी आवरण सञ्‍चालन गरिरहेको हुन्छ भन्‍ने हो। र, मानिस तिनै भावनाबाट सञ्‍चालनमा हुन्छ।

चलचित्र निकै रमाइलो पनि। कमेडी जानरामा बनेको यस चलचित्रको सन्देश भने आफैँमा गहन छ। स-साना विषयमा पनि चलचित्रमा धेरै मिहिनेतका साथ प्रस्तुत गरिएको छ। ती विषयले सोचमग्‍न बनाउँछन्। आफू अनि आफूभित्रका भावनालाई बोध गर्न पनि यो चलचित्र हेर्नु आवश्यक छ।

स्थान र भावनात्मक आत्मीयता

स्थान मूर्त हुन्छन् तर त्यसमा प्राण हुँदैन। जब कुनै स्थानमा लामो समय बित्छ, निर्जीव लाग्‍ने स्थानमा पनि प्राण छाएजस्तो लाग्छ। हरेक पटक उक्त स्थानमा पुग्दा बितेका पलको सजीव चित्रणझैँ अनुभूति हुन्छ। अर्थात्, त्यस्तो स्थान ‘क्याटलिस्ट’को भूमिकामा रहन्छ।

पिक्सार मोसनले बनाएको सिनेमा ‘इन्साइट आउट’मा पनि यस्तै स्थानले क्याटलिस्टको भूमिका वहन गरेको छ। नेपथ्यमा भइरहेका घटना देख्‍न सकिँदैन, आभास भने हुन्छ।

११ वर्षीया रायली चलचित्रको प्रमुख पात्र हुन्। मन्द ढंगले अगाडि बढ्ने चलचित्रको कथावस्तुले रायली र उनको परिवारको स्थानान्तरणसँगै गति लिन्छ। अमेरिकाको मिनेसोटामा बसिरहेका उनी र उनको परिवार अमेरिकाकै अर्को प्रान्त सान फ्रान्सिस्कोमा बसाइँ सर्छन्। नयाँ ठाउँको बसाइले उनका अभिभावकलाई कठिनाइ हुन्छ। तर, रायलीलाई यस कुराले अझ धेरै असर गर्छ। यसरी हेर्दा उनी पुराना स्थान र सम्झनाले पिरोलिन्छिन्।

आफ्ना भावनात्मक संवेग उनी बाबु-आमालाई भन्‍न सक्दिनन्। कारण- नयाँ ठाउँको बसाइमा उनीहरू पनि हरेक कुरामा संघर्ष गरिरहेका हुन्छन्। सोही कारण उनले पहिलेजस्तो पारिवारिक सौहाद्र्रता, पुराना साथीभाइ र रमाइलोपन सबै मिस गर्छिन्। यससँगै चलचित्रमा जति पनि उतारचढाव आउँछन्, तिनमा स्थानको निकै ठूलो भूमिका छ।

मानव भावनाको मापक खुशी

चलचित्रमा रायलीको मस्तिष्‍कभित्र एउटा ‘इमोसनल बोर्ड’ हुन्छ, जसलाई जोय (खुशी) ले सञ्‍चालन गर्छिन्। रायलीभित्रका भावनामा लिडर जोय (खुशी) हुन्छिन्, जसले हरबखत रायलीलाई खुशी राख्‍ने प्रयास गर्छिन्। खुशीकी समकक्षी स्याडनेस (दुःख-नैराश्य)लाई सकेसम्म इमोसनल बोर्डलाई नछुन आग्रह गर्छिन्।

स्थान परिवर्तन नहुँदासम्म सन्तुलित मानसिक भावमा रहेकी रायली सान फ्रान्सिस्को आएसँगै अझ दुःखी हुन्छिन्। उनले अनुभव गरेको दुःखको भावलाई जोयले परै राख्‍न खोज्छिन्, सोही कारण बाहिर रायली खुशी हुने प्रयासमा रहन्छिन्। बाबु-आमालाई आफ्नो भावना व्यक्त गर्न नसकेकी उनी आफूलाई खुशी देखाउन खोज्छिन्।

रायलीलाई खुशी राख्‍ने र दुःखलाई नजिक आउन नदिने प्रयासमा केन्द्रित कथावस्तुमा विभिन्‍न घटना र दुर्घटनाले सिनेमालाई अगाडि बढाएका छन्।

सिनेमाको एक दृश्यमा रायलीले नयाँ स्कुलमा शिक्षकलाई आफ्नो अनुभव सुनाउने क्रममा सुरुमा सबै राम्रै लाग्छन्। तथापि, बोलिरहने क्रममा उनले विस्तारै आफूले मिस गरिरहेको पुराना सम्झना अनायासै व्यक्त गर्छिन् र रुन्छिन्। जुन उनको ‘कोर मेमोरी’ बन्‍न जान्छ। चलचित्रमा कोर मेमोरी अन्यभन्दा लामो समय रहने सम्झनाको रूपमा चित्रित गरिएको छ।

पीडाको ‘कोर मेमोरी’ बन्दा उक्त मेमोरीलाई जोयले हटाउने प्रयास गर्छ। तर, स्याडनेसले उक्त ‘कोर मेमोरी’ आफ्नो भएको र जोयले यसलाई हटाउन नमिल्ने भन्छिन्। स्याडनेसको प्रकृतिअनुसार नै उनले मन्द स्वरमा हक माग्छिन्। यद्यपि, हरबखत रायलीलाई खुशी देख्‍न चाहने जोयले उनको आग्रहलाई अस्वीकार गर्छिन्। सोही विषयमा मतभेद हुँदा उनीहरू एक ट्युबमार्फत हेडक्‍वाटरबाट बाहिर पुग्छन्।

अब हेडक्‍वाटरमा एंगर, फियर र डिस्गस्ट मात्र बाँकी रहन्छन्। इमोसनल बोर्ड सदैव जोयले विवेकपूर्ण रूपमा चलाइरहेको समयमा उनीहरूलाई कसरी चलाउने थाहा हुँदैन।

यसै पनि रिस, डर र घृणाका भावमा मानिस कहाँ विवेकशील रहन्छन् र ? खुशी र दुःखी हुँदा जति मानिसले आफूलाई नियालेको र बुझेको हुन्छ, अरू भावना तिनको तुलनामा पक्कै कमजोर हुन्छन्।

जोय र स्याडनेस हेडक्‍वाटरबाट हराएपछि चलचित्रको कथावस्तु अझ रोचक हुन जान्छ। रायली रिस, डर र घृणाको मिश्रित निर्देशनमा परिवारबाट टाढा हुन्छिन्। के यी भावनाले रायलीलाई उचित निर्देशन दिन सक्लान् ? के हेडक्‍वाटर फर्किने जोय र स्याडनेसको प्रयास सफल होला ? के उनीहरू हेडक्‍वाटर पुग्छन् र सम्भावित दुर्घटनाबाट रायलीलाई बचाउन सक्छन् ? चलचित्र यही परिधिमा रुमलिएको छ।

यथार्थपरक मनोवैज्ञानिक सिनेमा

कमेडी जानरामा बनेको यस चलचित्रले गहन सन्देश दिन खोजेको छ। हामी सदैव खुशीको खोजीमा हिड्छौँ। खुशी हुनु नै जीवन सफल हुनुको भाष्‍य मान्दै आएका छौँ। अवश्य पनि खुशी हुनु आवश्यक छ। तर, जीवनका कुनै मोडमा जब मानिस दुःखी रहन्छ, उसले धेरै कुराको महसुस गर्छ, जुन ऊ प्रफुल्ल हुँदा कदापि महसुस गर्नसकेको हुँदैन।

रायलीलाई सधैँ खुशी राख्‍ने प्रयासमा रहेकी जोयले एउटा ‘मेमोरी बल’ पाउँछिन्। त्यतिबेला रायली दुःखी भएर बसेकी हुन्छिन्। हकी उनको ‘फेभरेट गेम’ हुन्छ। सोही खेल हार्दा उनी दुखित हुन्छिन्। उनका पितामाताले सम्झाउँछन्। उनका साथीहरूले पनि आएर चियरअप गर्छन्। त्यसपछि उनको मन हल्का हुन्छ। त्यस विन्दुमा उनले दुःख र सुख दुवैको महत्त्व मानिसका लागि उत्तिकै आवश्यक हुने बोध गर्छिन्।

सिनेमाको क्लाइमेक्समा रिसमा घर छाडेर हिँडेकी रायलीले आफ्ना आमाबुवासँग फर्किएर आफ्नो दुःख पोख्छिन्, आफ्ना सबै पीडा बताउँछिन्। यसरी अभिभावकबीच आएको खाडल आफ्नो दुःखसँगै उनले मेटाउँछिन्। यसरी दुःखी हुँदा आफ्नो आत्मीय मानिसबाट पाइने साथ निकै विशेष हुन्छ भन्‍ने सिनेमामा चित्रित गरिएको छ, जसले खुशी हुँदाभन्दा पनि मीठो आभास दिन्छ। यसरी जोयले रायलीको जीवनमा उनको मात्र नभई ‘स्याडनेस’ का साथै अन्य भावनाको पनि उत्तिकै महत्त्व रहेको बुझ्छिन्।

स्थान परिवर्तनको प्रतीकात्मक सन्देश पनि सिनेमा हेर्दै गर्दा हामी अनुभूत गर्न सक्छौँ। बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाको एक बालकको मनोविज्ञानमा आउने परिवर्तनलाई स्थान परिवर्तनसँग तुलना गर्न मिल्छ। किशोरावस्थामा प्रवेश गर्दै गर्दा आफूभित्र हुन थालेका परिवर्तनबारे उनीहरूले परिवारलाई भन्‍न सकिरहेका हुँदैनन्। तब रिस नै उनीहरूको साथी बन्छ। अनि उनीहरू अभद्र बन्छन्।

साथै, दैनिक जीवनमा सुखका लागि गरिने प्रयासलाई पनि सिनेमाले चित्रण गरेको छ। यद्यपि, के जीवनको मापन खुशीबाट मात्रै हुने हो त ? सिनेमाको सन्देश छ- जीवनमा सुख, दुःख, रिस, ईर्श्या, डाहा, लोभ हरेकको आफ्नै स्थान रहन्छ। फरक यति हो, यी सबैलाई सन्तुलनमा राखी जीवनमा खुशी हुनसक्नुपर्छ।

बिलाउँदै जाने सम्झना : डम्पिङ मेमोरी

चलचित्रमा बिङबङ नामक एक पात्र छन्, जो रायलीको बाल्यकालका काल्पनिक साथी हुन्छन् । तर, हुर्कँदो उमेरसँगै रायलीले उनलाई बिर्सिएकी हुन्छिन्। हरेक मानिसको बाल्यकालमा कुनै खेलौना वा केही सामान या काल्पनिक साथी हुन्छन्, जुन निर्जीव हुँदाहुँदै पनि हामी त्यसलाई सजीव साथीसरह मान्छौँ।

रायलीका पुराना सम्झना विस्तारै बिलाएर जान्छन्, जसलाई फिल्मले डम्पिङ मेमोरीको संज्ञा दिएको छ। यसलाई ‘डम्पिङ मेमोरी थ्योरी’ पनि भनिन्छ। सम्झना समुद्रमा बन्‍ने छाल हुन्, जो बिलाउँदै जान्छन्।

कुनै समय अति नै प्रिय लागेको चीज, वस्तु वा व्यक्ति नै पनि समयको गतिसँगै भेटघाट र समिप्य पातलिँदै गएपछि कालान्तरमा बिलाएर जाने बिङबङले बताउँछ।

समग्रमा मानिसले सुख, दुःखका भोगाइ, जुन अविस्मरणीय छन्, ती कोर मेमोरीका रूपमा स्थापित भएका हुन्छन्। अन्य सम्झना भने कालान्तरमा धमिलिँदै र हराउँदै जाने गर्छन्।

सुख, दुःख एक सिक्काका दुई पाटा हुन्। दुःखले मानिसलाई अझ यथार्थवादी अनि हरेक विषयलाई गहन रूपमा हेर्न सिकाउँछ भने खुशी हुँदा मानिस यथार्थबाट थोरै ‘डेभियट’ भएको हुनसक्छ। यसका साथै रिस, डाहा, डर, घृणाजस्ता भावनालाई पनि नियन्त्रणमा राख्‍नु जरुरी छ। भावनाले हामीलाई होइन, हामीले भावनालाई नियन्त्रणमा राख्‍न सक्ने क्षमताको विकास गर्नुपर्छ।

यस सिनेमाले सन् २०१५ को उत्कृष्‍ट एनिमेसन फिल्म अवार्ड हात पारेको थियो। बालमनोविज्ञानका माध्यमबाट यस चलचित्रले मानव संवेदनालाई निकै सुन्दर चित्रण गरेको छ। सोही कारण ‘कान्स फिल्म फेस्टिबल-२०१५’ मा यस चलचित्रले आठ मिनटको ‘स्ट्यान्डिङ ओभिएसन’ पाएको थियो।

प्रकाशित मिति: १४:४२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्