Kathmandu Press

पहिरोले मुक्तहलियाको उठिबास

पहिरोले मुक्तहलियाको उठिबास

डडेलधुरा, कात्तिक ६ : यसै साता भएको अविरल वर्षाका कारण खसेको पहिराले अजयमेरु–१ मुद्राडका मुक्त हलिया केशव पार्कीका परिवारकै उठिबास भएको छ। तीन दशकभन्दा बढी समय अरुको हलेटी (हलिया) लगाई परिवारको गुजारा चलाउँदै आएका उनी पछिल्लो एक दशकदेखि (क) वर्गको मुक्तहलियाको परिचयपत्र लिएर पुख्र्यौली पेसामै अश्रित रहदै आएका थिए।

अहिले केशवका दुई नाति, छोराबुहारी र बूढाबूढी गरी छ जनाकै उठिबास भएको छ। अहिले उनीहरु अजयमेरु–१ मुद्राडमा आफन्तको घरमा आश्रित भएर गाउँलेको सहयोगमा  छाक टारिरहेको स्थानीयवासी अनिता भण्डारीले जानकारी दिइन्। गाउँलेका कारण मुखमा माडसम्म लगाउन पाएका छौँ, केशवकी श्रीमती पशुपतिले भनिन्, ‘दसैँमा जोगाएर राखेको भत्ता पनि पहिरोमा गयो। यसरी परिवारको विचल्ली नै हुने गरि दुःख खेप्नुभन्दा तेही पहिरामा आफू पनि गएको भए हुन्थ्यो,’ आँसु झार्दै उनी भक्कानिइन्। बुढेसकालमा सरकारले बनाई दिएको घरमा पनि वस्न पाइएन, उमेरमा त अरुकै घरमा बसियो हलिया भएर। केही समयमा भारतमा पनि बिताइयो, पछिल्लो समयममा सानो घर बनाएर छाक टारीरहेका थियौँ, त्यो पनि दैवले खोस्यो पशुपतिको गुनासो थियो।

जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन्। मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन। पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएको थियो तर उक्त घर नै पहिराले लगेपछि पछि केशवको कुनै सम्पत्ति बाँकी छैन।

Hardik ivf

‘सानो नाति घर खोज्दै कराइरहेको छ, दुहुनो गाई पहिरोले नै खायो, अरुले दिएको पिठो र चामलका भरमा छाक टार्नुपरेको छ भने बच्चाका लागि दूध कहाँबाट ल्याउने, के ले ल्याउने केशव पिरोलोमा छन्। ‘गोजीमा सुको पैसा छैन भएको सम्पत्ति घरसँगै बग्यो,’ उनले आफ्नो पीडा सुनाए।

उमेर छञ्जेल अर्काको हलो जोतियो, बुढेसकालमा सरकारले निर्माण गरिदिएको घर पनि पहिराले खायो, बाँस र निगालोको कामवाट अलिअलि पैसा जोगाएको थिए, त्यो पनि घरसँगै गयो, केशवले पीडा सुनाए। हालैको वर्षाले उनका परिवार पनि विचल्लीमा परेको थियो।

वडा कार्यालयले दिन सक्ने सहयोग दिइरहेका छौँ थप सहयोगका लागि सम्बन्धित निकायलाई आग्रह गर्नाका साथै उनीहरूका लागि खाद्यन्न लत्ताकपडासहित घर निर्माणका लागिसमेत पहल गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए।

सोमबार राति वर्षासँगै घरमाथिबाट गएको पहिरोले उनका परिवारको ज्यानमात्रै बच्यो तर अन्य सबै धनमाल पुरिदिएको थियो । हलियामुक्त भइसकेपछि नेपाल सरकारले पुनःस्थापना कार्यक्रममार्फत निर्माण गरिदिएको घरमा रु पाँच लाख ५० हजार खर्च भएको थियो। त्यो पनि पहिरोले लग्यो। घर बनाएको  ठाउमा कुनै निसाना छैन, गोठमा भएको गाई गोरु खोलामा अझै मृतावस्थामा छन्।

उनको घरभित्र रहेका पुशचौपाय र कुखुराका साथै खाद्यान्न र नगदसमेत पहिराले लगेको मुचुल्काका लागि उक्त स्थानमा पुगेका प्रहरीले बताए। घर भएको स्थानको कुनै नामनिसान छैन, गोठमा रहेका गाईगोरु नजिकैको खोलामा मृतावस्थामा छन् भएका सम्पत्तिको कुनै अत्तोपत्तो नभएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक शेरबहादुर बुढा ऐरले बताए। केशवको दुईतले तीन कोठाको घर, अन्नबाली र नगदसहित गरी करिब रु १४ लाख बराबरको धनमाल नोक्सान भएको उनले जानकारी दिए।

पहिराले घर मात्रै लगेन, दसैँको मुखमा श्रीमती पशुपतिले बुझेको ज्येष्ठ नागरिक भत्तासमेत पहिरोमा गुमनाम भएको पीडित केशवले गुनासो थियो।  सहयोगका लागि र नाति हुर्काउनका लागिसमेत अहिले उहाँका  परिवारले अनुरोध गरिरहेको छ। आफूले दैवबाट पाएको पीडा अरु कसैलाई नपरोस् भन्दै पीडितले  सरकारलगायत अन्य सङ्घसंस्थाबाट सहयोगको अपेक्षा गरिरहेका छन्।

डडेल्धुरामा केशवझै अन्यको पनि उत्तै पीडा छ । अमरगढी–१ को बण्ड, गन्यापधुराको भेटा गाउँनै पहिरोको जोखिममा परेकोे छ, करिब ४० घर विस्थापित हुनसक्ने खतरा छ। पहिरामा परी  दुई जनाको मृत्यु नै भएको र अन्य  दर्जन बढी घाइते भएका छन्। अजयमेरु–१ मा मात्रै दुई घर केशव र राज भण्डारीको भत्किएका थिए।

ग्रामीण सडक अवरुद्ध छन्। जिल्लाभरको क्षतिको यकिन विवरण आउन सकेको छैन। प्रहरी परिचालन गरिएका छन् चाँडै बाढीपहिरोबाट हुन गएको धनजनको क्षतिका साथै खाद्यान्न क्षतिको पनि विवरण सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

बिहीबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमसहित डडेल्धुराका बाढीपहिरोको अनुगमन गर्दै पीडितलाई चाँडै राहतको व्यवस्था गर्ने अश्वासन दिएका थिए । पीडित भने राहतमा ढिलाइ हुँदा झन पीडित भएका  छन्, अरुको भरमा बाच्नुपर्दा झनै समस्या भइरहेकाले चाँडो व्यवस्थापन गरिदिनुपर्ने मुक्तहलिया केशव भनाइ थियो । बस्ने घर छैन, खानका लागि गाँस छैन, लगाउने लुगा र ओड्ने ओछ्याउने समेत पहिराले खायो भन्दै उनी एकोहोरो भौतारिरहेका छन्। यसरी पीडित बनेका मानिसलाई प्रधानमन्त्री देउवाले भनेजस्तै चाँडै प्रबन्ध मिलाइदिनुपर्ने स्थानीयवासीको आग्रह थियो। रासस

 

प्रकाशित मिति: १३:०९ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्