Kathmandu Press

बिरुवामा चित्रकलासँगै जीवनको खोज

प्रसिद्ध श्रेष्‍ठले बिरुवाबारे बुझ्‍न थाले, उदय कर्माचार्यले गमलामा आफ्नो कला रंगाउन थाले, कोही मार्केटिङमा लागे त कोही विज्ञापनमा। अनि लकडाउन खुलेलगत्तै पाँच साथी मिलेर सुरु गरे, ह्वाट द प्लान्ट।
बिरुवामा चित्रकलासँगै जीवनको खोज

काठमाडौं, कात्तिक २ : एक साँझपख काठमाडौंलाई झरीले छाडेकी थिइनन्, सडकलाई निथ्रुक्क भिजाएकी थिइन्। लगातारको झरीले रात चिसा बन्‍ने संकेत थियो। चाबहिलस्थित स्तुपामा रहेका बुद्धका दुई आँखा दिन ढल्कँदै गर्दा झनै शान्त र सुन्दर देखिन्थे। स्तुपाको ठ्याक्कै अघिल्तिर बोटबिरुवाले सजिएको थियो पसल। स्तुपा अगाडि आगन्तुकको भीड थियो, पत्रिकामा बेरेर रोटी अण्डा खान व्यस्त थिए मानिस। रोटी र अण्डाको स्वादलाई त्यहीँ छोड्दै माथिल्लो तलामा उक्लिँदा थरिथरिका बिरुवाले स्वागत गरे। त्यहाँ दुइटा कोठा थिए। ढोकामा राखिएको डोर प्लान्टले गार्डेनिङ स्टोर हो भनी अनुमान लगाउन गाह्रो थिएन। फिस ट्यांकमा राखिएका बिरुवा र खेलिरहेका माछाहरू, ह्यांगी बिरुवासहित अन्य धेरै इन्डोर प्लान्ट सजाएर राखिएको थियो।

अर्को कोठामा थरिथरिका गमला थिए। विभिन्‍न देवीदेवताका पोट्रेट भएका सेरामिक र माटोबाट तयार पारिएका गमलाहरू निकै आकर्षक थिए। गमलामा उतारिएको कलाकारिताले जो कोहीको ध्यान तान्छन्। सेरामिक गमलामा फेस पोट्रेट उतार्न व्यस्त देखिन्थे, उदय कर्माचार्य (३९ वर्ष)। उदय खासमा व्यावसायिक फोटोग्राफर हुन्। उनको पारिवारिक व्यवसाय भने चित्रकला हो। ०५५ सालदेखि उनले पनि बुवाले गरेको देखेर आर्टतिर आकर्षित भए।

‘घरमा अजा, बुवाले चित्र कोरेको देखेर हुर्केको मैले पनि एसएलसीपछि नै आर्ट सुरु गरेको हुँ,’ उनले भने। सोही कलालाई अगाडि बढाउन उनले ललितकला क्याम्पसमा पनि अध्ययन गरे। तर, उनलाई फोटोग्राफीले तान्यो र व्यावसायिक फोटोग्राफीमा लागे। लामो समय फोटोग्राफीमा भुलेका उदयलाई लकडाउनले आर्टमा फर्कने मौका दियो। कामको व्यस्तताले चित्रकलालाई समय दिन नसकेका उनी हिजोआज रंगमा ब्रस चोपेर सुन्दर आकृतिका गमलामा उतार्छन्। सबै साथी मिलेर केही नयाँ काम गरौँ भन्‍ने सल्लाह भएपछि लकडाउनको समयलाई आर्टमा सदुपयोग गरे उनले। फोटोग्राफी व्यवसाय भए पनि चित्रकलालाई निरन्तरता दिन पाउँदा नयाँ ऊर्जा मिलेको छ उनलाई।

लकडाउनले हुर्काएको ‘ह्वाट द प्लान्ट’

लाइनै मिलाएर राखिएका ह्यांगिङ बिरुवाहरूमा पानी हाल्न व्यस्त थिए, प्रसिद्ध श्रेष्‍ठ (३६ वर्ष)। ‘बिरुवा हुर्कनुमा पानी र घामको विशेष भूमिका हुन्छ, बिरुवालाई चाहिने मात्रामा घाम, पानी मिलाउन सकियो भने बिरुवा हुर्कन्छन्,’ उनी भन्दै थिए। पसलमा उनी विशेष बिहान र साँझको समयमा भेटिन्छन्। दिनभरि उनलाई बिरुवाको बारेमा बुझ्‍न, नयाँ बिरुवाको बारेमा जानकारी लिन र हुर्काइको बारेमा सिक्न अन्य नर्सरीमा डुल्छन्, दिनभर भ्याइनभ्याइ हुन्छ उनलाई। बिरुवासम्बन्धी ज्ञान भएका मानिसहरूसँग भेट्नु, विभिन्‍न तालिमहरू लिनु उनको दैनिकी हो। भर्चुअलदेखि भौतिक रूपमा उनी बिरुवाको बारेमा जानकारीका लागि विभिन्‍न तालिममा सक्रिय रहन्छन्।

प्रसिद्धको घरमा मसलाको पसल छ, उनी मसला व्यापार गर्थे। उनका बुवा भने व्यावसायिक रूपमा बिरुवासम्बन्धी काम गर्छन्। कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा घरमै थुनिनु पर्दा उनलाई नयाँ तरिकाले केही रोचक काम गरौँ भन्‍ने लाग्यो। बुवाले गरेको देखेर प्रसिद्धलाई पनि बिरुवाको रेखदेख गर्ने रहर चल्यो। लकडाउनको समय घरमै अधिक समय बिताउँदा बुवाले बिरुवालाई गर्ने व्यवहार उनले नजिकबाट नियाल्न पाए। अनि, प्रसिद्धमा पनि बुवाको सिको गर्ने प्रेरणा जाग्यो। घरमै गाइड गर्ने अभिभावक हुँदा बिरुवाको व्यवसाय सुरु गर्ने सोच पलायो प्रसिद्धमा।

त्यसपछि नयाँ केही गरौँ भन्‍ने साथीहरूको टिम एक ठाउँमा बसेर सल्लाह गर्ने योजना बनाए। पाँचजना साथी मिलेर योजना अनुरूप अगाडि बढ्ने निर्णय लिए। प्रसिद्ध भने बिरुवाबारे बुझ्‍न थाले। उदय बिरुवा राख्‍ने गमलामा आफ्नो कला रंगाउन, केही साथी बजारमा बिरुवाको मार्केटिङ गर्न र केही विज्ञापनमा व्यस्त बने। ‘हामी सबै साथी आफ्नो सीप र समय दिन्छौँ, यसरी नै काम अगाडि बढिरहेको छ,’ उनले भने।

लकडाउनले जन्माएको बिरुवाको व्यवसाय सुरु गर्नुअघि नर्सरीमा गएर अवलोकन गरे। मान्छेले कस्तो बिरुवा रुचाउँछन्, के के लैजान्छन् भन्‍ने नियालेर हेरे उनीहरूले। युट्युबलगायत सामाजिक सञ्जालमा बिरुवाको बारेमा थप जानकारी लिए। र, सुरु गरे ‘ह्वाट द प्लान्ट’।

व्यवसाय सुरु गर्दा पसलको नाम के राख्‍ने भन्‍ने विषयमा छलफल भयो। सविन श्रेष्‍ठले नाम जुराए- ‘ह्वाट द प्लान्ट’। दोस्रो लकडाउनपछि खुलेको ‘ह्वाट द प्लान्ट’मा थरिथरिका बिरुवा उपलब्ध छन्। बोटबिरुवाले मानिसमा छुट्टै प्रकारको सकारात्मक ऊर्जा दिने भएकाले कोठामा सजाउन प्रयोग गरिन्छ।

‘बोटबिरुवाको व्यवसाय अरूभन्दा नितान्त फरक रहेछ,’ प्रसिद्ध भन्छन्, ‘बिरुवा व्यापार, व्यवसाय मात्र होइन, जीवन बचाइराख्‍ने कला पनि रहेछ।’ अहिले ‘ह्वाट द प्लान्ट’मा आर्किड, साइक्लेमेन, एन्थुरियम, डिफेन, ड्रासेना, क्रोटन, मारेन्टा, बेगोनिया, क्याक्टस, फिकस, धुपी, डान्सिङ बेम्बो, स्नेक प्लान्ट, स्पाइडर प्लान्ट, गुडलक बेम्बो, रोजलगायत थुप्रै भेराइटीका बिरुवा उपलब्ध छन्, उनीहरूको पसलमा।

गमलामा पोट्रेट

आर्टको आफैँमा निकै विस्तृत छ र बुझाइ पनि फरक। आर्टलाई बुझ्‍ने आ-आफ्नै धारणा पनि छन्। चलिआएको भन्दा केही फरक गर्न सके उक्त फरकपनको चर्चा हुने गर्छ। आर्टको पाटोबाट हेर्ने हो भने पछिल्लो समय आर्टबाट प्रेरित भएर गरिएका काम धेरै रुचाइएको र चर्चा पाएको पाइन्छ। बजारमा कलात्मक शैलीका सामग्रीमा मानिसको रुचि बढेको उदय बताउँछन्।

पछिल्लो समय युवा हुन् या पाका, हरेक उमेर समूहका मानिसमा आर्टप्रति रुचि रहेको उनको बुझाइ छ। ‘हामीले रिसर्चको क्रममा यो जानकारी पायौँ,’ उनी भन्छन्, ‘बिरुवाहरूमा पनि केही कलात्मक शैली जोडौँ भनेर सिम्रिक पट र माटोबाट बनेका गमलामा आर्ट गर्न थाल्यौँ।’

गमलामा आर्ट गरेर उपहार दिन मिल्ने भएपछि ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछन्। पछिल्लो समय अधिकांश कार्यालयको स्वागत र बिदाइ कार्यक्रमदेखि बधाइ, जन्मदिनलगायत समारोहमा उपहार दिन सेरामिक पटमा फोटो पोट्रेट गर्न अर्डर आउने गरेको उनीकहाँ।

सजावटदेखि उपहारसम्म

बोटबिरुवालाई घरमा सजावटका रूपमा राख्‍ने मात्र नभएर बिरुवाको विशेष महत्त्व छ। पछिल्लो समय बिरुवा संकलन गर्ने र घरमा सजाउनेहरूको संख्या बढेको पाइन्छ। प्रशस्त जमिन हुनेले मात्र घर वरिपरि बिरुवा रोप्‍न पाउँछ भन्‍ने सोच अहिले गलत सावित भएको छ। खासगरी, काठमाडौंमा भाडामा बस्नेहरूदेखि सानो क्षेत्रफलमा पनि बिरुवा लगाएका प्रशस्त भेटिन्छ। निकै उत्साही प्लान्ट लभरहरू भेटेका छन्, प्रसिद्धले अहिले। सानो स्पेसमा पनि हरियाली बनाउनका लागि इन्डोर प्लान्ट, सजावटका विभिन्‍न फूलका थरिथरिका बिरुवाको माग रहेको उनी बताउँछन्।

बिरुवाका विभिन्‍न प्रकार छन् र प्रतीक पनि। बिरुवालाई उपहारको रूपमा दिने र लिने ट्रेन्ड पनि बढ्दो छ। कुनै बिरुवालाई गुडलकको प्रतीक मानिन्छ भने कुनै बिरुवा प्रेम, मित्रता र सौन्दर्यको। त्यस्तै प्रतिकका रूपमा बिरुवाहरू उपहारस्वरूप आदानप्रदान गर्ने चलन बढेको प्रसिद्ध बताउँछन्। आफूले माया गरेको मान्छेलाई उपहारस्वरूप गमलामा पोट्रेट फोटो आर्ट गरेर दिनेहरूको संख्या धेरै रहेको उनको भनाइ छ। भन्छन्, ‘थरिथरिका बिरुवा मन नपराउने कुनै कारण हुँदैन, बिरुवाप्रतिको रुचि उमेरले निर्धारण गर्दैन।’

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्