Kathmandu Press

भान्सामा लैंगिक विभेद : चाडबाडमा अझ चर्को !

चाडपर्वमा महिला र पुरुषबीचको विभेद खुलस्त देखिन्छ। महिलाले भान्सामा दिनुपर्ने समय र पुरुष फुर्सदमा रहँदा लैंगिक असमानताको खाडल प्रष्‍टिन्छ, चाडपर्वमा।
भान्सामा लैंगिक विभेद : चाडबाडमा अझ चर्को !

काठमाडौं, असोज ३१ : भक्तपुरकी सरिता (नाम परिवर्तन) लाई चाडपर्व आउँदा अत्यास लाग्छ। बागलुङ घर भएकी उनको माइती चितवन हो। खासगरी चाडपर्वको समयमा घर-माइतीको भागदौडले लखतरान हुने भएकाले खासै उत्सुक नहुने उनी बताउँछिन्। कार्यालयको कामसँगै सानो बच्चाको गृहकार्यको जिम्मेवारी, घर जाँदा बुहारीका लागि छुट्याइएको नियमअनुरूपको कामको बोझले चाडबाड झन् कष्‍टकर हुने उनी बताउँछिन्।

‘बाबु सानो छ, अरूसँग खासै मान्दैन। घर गयो भने यताउता सबै आफैँले हेर्नुपर्छ। दसैं आउनुभन्दा नआएको भए हुन्थ्योजस्तो लाग्छ,’ उनले भनिन्।

स्‍नातक तह सकेर बसेकी सुष्‍मिता थापालाई चाडपर्वमा घर जान पाउँदा रमाइलो लागे पनि आमाको दुःख देख्दा नरमाइलो लाग्छ। ‘घरमा आउने पाहुनाका लागि आमा भान्साकै काममा व्यस्त भएको देख्दा भने दिक्क लाग्छ,’ उनले भनिन्। घरका पुरुषहरू (बा, काका, दाजु, भाइ) दसैंमा घुमफिर गर्ने, रमाइलो गर्ने भए पनि दिदी, आमा र आफू घरकै काममा अल्झिनुपर्ने उनको भनाइ छ।

सुष्‍मितालाई विवाहित दिदीको धपेडी देख्दा चाडपर्वमा रुचि लाग्दैन। ‘बल्लबल्ल घरको काम सकेर दसैंको पर्सिपल्ट मात्र आमाको घर आउँछिन्, भोलिपल्ट नै फर्किन्छिन्, राम्रोसँग बस्‍न पनि पाउँदिनन्,’ उनले भनिन्।

चाडपर्वमा महिला र पुरुषबीचको विभेद खुलस्त देखिन्छ। महिलाले भान्छामा दिनुपर्ने समय र पुरुष फुर्सदमा रहँदा लैंगिक असमानताको खाडल प्रष्‍टिन्छ, चाडपर्वमा। कामकाजी महिलाले झेल्नुपरेका चाडपर्वका पिरलो अझ कष्‍टकर छ। महिला र पुरुषबीच विभेदको बहस चलिरहँदा भान्सामा हुने असमानताको बारेमा बहस हुन सकेको छैन।

महिलालाई बाँध्‍नका लागि समाजले तय गरेका धर्म, संस्कार र परम्पराको भूमिका मुख्य हुने अभियन्ता प्रणिका कोयू बताउँछिन्। महिलालाई फुक्र्याएर होस् या पाप र धर्मको नाममा जबर्जस्ती संस्कारको रूपमा स्थापित गरेकाले चाडपर्वमा लैंगिक विभेद अघिपछिभन्दा बढी हुने उनले बताइन्। ‘हाम्रा बोजु, आमाहरूले जे गरे, हामीले पनि त्यो परम्पराअनुसार गर्नैपर्छ भनी पुस्तान्तरण भएको छ,’ उनले भनिन्। चाडपर्वमा महिलामाथि लैंगिक विभेद भइरहेको महसुस हुनु आवश्यक रहेको उनले बताइन्। ‘हाम्रो धर्म, संस्कारको नाममा महिलालाई भार बोकाइएको छ,’ उनले भनिन्, ‘संरचनात्मक लैंगिक विभेदलाई सामान्यीकरण गरेको छ, जसले गर्दा धेरै कम महिलाले मात्र विभेद हो भन्‍न सक्छन्, बुझ्‍न सक्छन्।’

संसदमा समावेशिता, भान्सामा नि ?

चाडपर्व अर्थात घुमघाम, भेटघाट, मिठो मसिनो खाने समय भन्‍ने गरिन्छ। तर, यो सबैका लागि मनोरञ्‍जनको समय हुन्छ त ? चाडपर्वको समयमा कसरी लैंगिक विभेद हुन्छ भन्‍ने विषयमा ३० वर्ष अगाडिदेखि कुरा भइरहेको सञ्‍चारकर्मी बबिता बस्‍नेत बताउँछिन्। त्यसबाट पनि लैंगिक विभेदको अवस्था प्रष्‍ट हुने उनको भनाइ छ।

अन्य समयमा भन्दा चाडबाडमा महिलाले दोहोरो, तेहेरो जिम्मेवारी बहन गर्नुपर्ने उनी बताउँछिन्। पछिल्लो समय पुरुषहरूले लैंगिक समावेशिताका विषयमा कुरा गरे पनि घर र भान्साको काममा भने संलग्न भएको नपाइएको उनको भनाइ छ।

नेपाली समाजमा पहिल्यैदेखि चाडपर्वमा महिलालाई कामको बोझ हुने परम्परा यथावत रहेको उनी बताउँछिन्। ‘चाडपर्वमा थरिथरिका परिकार पकाउने, पाहुनापाछाको सम्मान गर्ने, संस्कार पूरा गर्नेलगायत सम्पूर्ण जिम्मेवारी महिलाको पोल्टामा रहने भएकाले चाडपर्वमा झन बोझ हुन्छ,’ उनले भनिन्। खासगरी, कामकाजी महिलाहरू झनै बढी मारमा परेको उनले बताइन्।

चाडपर्व पुरुषका लागि थकाइ मार्ने समय भए पनि महिलालाई भने घरको कामले फुर्सद नपाउने अवस्था यथावत रहेको उनी बताउँछिन्। भन्छिन्, ‘पुरुषहरू मनोरञ्‍जनमा व्यस्त हुन्छन् भने महिलाहरू भान्साको काममा अल्झिन पर्छ। घरको काम जुन जति गरे पनि काम देखिँदैन, पैसा पनि आउँदैन, त्यस्तो कामको बोझ महिलाले बोक्नुपर्ने संस्कार विभेदी हो।’

पुरुषले घरको काम सघाउने अभ्यास नभएको उनको भनाइ छ। जुन पुरुष घरको काममा सघाउनुपर्छ भनेर बोलिरहेका हुन्छन्, उनीहरू नै काम नगर्ने, आलटाल गर्ने गरेको उनले बताइन्। मेरो त घरको काम गर्ने बानी नै नै छैन भनेर छुटकारा लिने प्रवृत्ति व्याप्त रहेको उनको भनाइ छ।

पत्रकारितामा संलग्न महिला, प्रहारी प्रशासनका महिला, डाक्टर, वकिललगायत कामकाजी महिलाले समेत घर र बाहिर दुवै काम गर्नुपर्ने उनले बताइन्। चाडपर्वमा समय बिताउन किताब पढ्ने, नयाँ-नयाँ जानकारी लिने, आराम गर्ने अवस्था महिलाको तुलनामा भन्दा पुरुषमा पर्याप्त हुने उनी बताउँछिन्। चाडपर्वमा लैंगिक विभेदको विषयमा केही फरक नभएको उनको अनुभव छ। ३० वर्ष अगाडि पत्रकारिता गर्दा चाडपर्वमा लैंगिक विभेदका बारेमा बोल्ने, लेख्‍ने गरे पनि अवस्था त्यही रहेको उनी बताउँछिन्। भन्छिन्, ‘हामीले समावेशिताका नियम, कानून ल्यायौँ, समावेशितालाई संसदसम्म पुर्‍याए पनि हाम्रा भान्साहरूमा कहिल्यै समावेशिता भएन।’

‘कामको कुनै लिंग हुँदैन’

अधिकारकर्मी संजोग ठकुरी भन्छन्, ‘घरायसी कामहरू जीवनका लागि आवश्यक सीपहरू न कि कुनै लैंगिक भूमिका।’ महिलाहरू हेरचाह गर्ने, प्रेमिल, सहयोगी, सहनशील हुन्छन् भनी अतिरञ्‍जित गर्ने समय चाडबाड रहेको उनको बुझाइ छ। उनी भन्छन्, ‘चाडपर्वमा आमाले पकाएको, आमाको हातको, मेरी दिदी, श्रीमतीको हातबाट बनेको खान्कीको पारखीजस्ता कुराले लैंगिक विभेद गरेका हुन्छौँ।’

चाडपर्वमा एकातिर महिला सदस्यको व्यस्तता बढाइरहँदा सोही समयमा दुर्गामाताको आराधना गर्नुको कुनै अर्थ नरहेको उनको बुझाइ छ। चाडपर्वमा देवीको जस्तो १० वटा हात भएकी महिलाले एउटा हातमा डाडु, अर्कोमा कुचो, अर्कोमा लुगा, बच्चा, सरसफाइ, हँसिया समातेकोलगायत घरायसी काम गरेको सांकेतिक फोटोलाई महान दुर्गा माताको छविका रूपमा प्रस्तुत गर्ने खालका स्ट्याटस राखेर सेयर गरिने तर त्यो वास्तवमा कुनै माता नभएर गधा बनाइएको पोस्टर रहेको उनको बुझाइ छ।

‘महिलालाई देवीको नाम दिएर काम र जिम्मेवारी भने पेलाएर लगाउने संज्ञा दिने आकृतिमाथि पनि प्रश्न गरेनौँ,’ उनले भने। लैंगिक समानताको अभ्यासका लागि चाडपर्व पुरुषको लागि निकै राम्रो अवसर रहेको उनी बताउँछन्।

महिलाका लागि पनि चाडपर्व रमाइलो बनोस्

सामाजिक संरचनाले महिलालाई सधैँ पुरुषभन्दा तल नै रहनुपर्छ भन्‍ने मान्यतालाई संस्कारको रूपमा स्थापित गरेको लेखक धनकुमारी सुनार बताउँछिन्। चाडपर्वमा समुदायअनुसार महिलाको जिम्मेवारी रहने उनले बताइन्। खासगरी, हिन्दू धर्म, संस्कारलाई महिलाले नै बचाइराख्‍नुपर्ने मान्यताले महिलालाई झन लैंगिक विभेद झेल्न बाध्य बनाएको उनको भनाइ छ। घर-भान्सा सबै महिलाले नै हेर्नुपर्ने बाध्यकारी कुसंस्कार भत्काउँदै लानुपर्ने उनले बताइन्।

संस्कृति र प्रतिष्‍ठाको नाममा अत्यधिक खर्च गर्ने, गरगहना, लत्ताकपडाको मागले महिलालाई वस्तुकरण गर्ने गरेको उनको भनाइ छ। सामाजिक संरचनात्मक रूपमै महिलालाई धर्मको नाममा बाँध्‍ने प्रचलन बुझ्‍न आवश्यक रहेको उनले बताइन्। उनले भनिन्, ‘धर्ममा रहेका नकारात्मक कुसंस्कारहरू, जसले महिलालाई थप बोझ दिन्छ, तिनलाई फ्याँक्नैपर्छ।’

संस्कृति र चाडपर्वको नाममा सबैभन्दा बढी पीडित महिला हुने भएकाले चाडबाड मनाउने तौर तरिका पनि परिमार्जन गर्नुपर्ने उनले बताइन्। चाडपर्वमा महिलाले पनि रमाइलो गर्न पाउने, आराम गरी नयाँ जानकारी लिने, रिफ्रेस हुने अवस्थाको सिर्जना हुने वातावरण बनाउनुपर्ने उनले बताइन्।

पुरुषलाई आराम, महिलालाई कामै काम

घरायसी भनी छुट्याइएको र चुलोचौकाको काम, धार्मिक गतिविधि, खानपिन, संस्कारमा आफन्त, साथीभाइ जम्मा हुने भएपछि महिलामा कामको बोझ बढी हुने अनुसन्धानकर्ता कैलाश राई बताउँछिन्। पुरुष र महिलाका लागि छुट्याइएको कामको विभाजन नै विभेदी रहेको उनी बताउँछिन्। घर सरसफाइ, भान्साको पकाउने, धुने, पखाल्ने कामदेखि सबै महिलाले नै गर्नुपर्ने बाध्यतात्मक कामको शृंखलामा अत्यधिक भार महिलाको काँधमा पर्ने र एकआध बाहिरी काम पुरुषको जिम्मामा रहेकाले लैंगिक विभेद चाडपर्वमा निकै देखिने उनले बताइन्।

‘चाडपर्वमा काटकुट गर्ने, कम समय लाग्ने काम पुरुषले गर्ने र महिला भने राति नै उठेर भासा पसेपछि आधा रातसम्मै चुलोचौकामा काम गर्ने परिपाटी अझै उस्तै छ’ उनले भनिन्। कम काम गरे पनि पुरुषले जस पाउने, बिहानदेखि बेलुकीसम्म मेसिनसरी खटिँदा पनि महिलाले गरेको काम नदेखिने संस्कारको अन्त्य हुनुपर्ने उनले बताइन्।

‘चाडपर्व एउटा लिंगको लागि रमाइलो जस्तो,’ उनले भनिन्, ‘त्यही चाडपर्व अर्को लिंगका लागि भार, अलि बढी बोझजस्तो हुने परिपाटी परिवर्तन हुन आवश्यक छ।’ समान काम विभाजनका लागि व्यक्ति, परिवार र समुदायमै जसले भ्याउँछ, उसैले काम गर्ने संस्कारको विकास गर्नुपर्ने उनले बताइन्। घरको काम समग्रमा सुरुबाटै कार्यान्वयन गरियो भने चाडपर्वमा लागू हुने उनले बताइन्।

कामको लैंगिकता हुँदैन भन्‍ने कुरा सुरुदेखि नै परिवारमा स्थापित हुन सामान्य दिनमा पनि सबैले काम गर्ने अभ्यास हुनुपर्ने उनको बुझाइ छ। ‘अन्य समयमा पुरुषले घर-भान्साको काम नसघाउने, चाडपर्वमा मात्र सघाउने प्रवृत्ति छ,’ उनले भनिन्, ‘चाडपर्वमा मात्र नभएर दैनिक जीवनमा समेत कुन काम कसले गर्ने, कहिले गर्ने, कसले गर्दा जस दिने नदिने भन्‍ने अभ्यास हुनपर्छ।’

चाडपर्वमा लैंगिक विभेद अझ खुलस्त 

चाडपर्वमा महिलाहरू आशिर्वाद र दक्षिणा लिने, पुरुषहरू आशिर्वाद दिने, दक्षिणा दिने प्रचलन नै आफैँमा विभेदी रहेको समालोचक राम लोहनी बताउँछन्। महिलाहरूलाई आर्शिवाद दिँदा सौभाग्यको कामना गर्ने र पुरुषहरूलाई आयु, समृद्धी र व्यावसायिक पाटोको सफलताको कामना गर्ने प्रचलन हेर्दा आशिर्वाद दिँदा पनि विभेद रहेको उनले बताए।

‘महिलाहरूलाई चाडपर्वको नाममा आश्रित बनाइयो भने पुरुषहरूलाई कर्ता, दिने बनाइयो,’ उनले भने। चाडपर्वको बाह्य व्यवस्थापनमा आर्थिक खर्चको पाटो पुरुषको जिम्मा र चाडपर्वको आन्तरिक व्यवस्थापन महिलाले मात्र सम्हाल्नुपर्ने प्रचलन अझै यथावत रहेको उनले बताए। अधिकांश महिला आर्थिक रूपमा पुरुषको भर पर्नु परेकाले र पुरुषमा आश्रित हुनुपर्ने हुनाले पनि लैंगिक विभेदले निरन्तरता पाएको उनले बताए।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्