Kathmandu Press

निधारको बीचमा अक्षता किन लगाइन्छ ?

अक्षता निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ। आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो। यसको अर्थ धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्वसम्पन्न बन्नका लागि तेस्रो आँखा खुला राख्न संकेत गरिएको हो।
निधारको बीचमा अक्षता किन लगाइन्छ ?
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज २९ : सहकर्मी सरिशा अछामी ठूलाबडाको हातबाट दशैंको टीका थाप्न भनी मंगलबार आफ्नो गृहजिल्ला काभ्रेको पाँचखाल गइन्।

विगत पाँच वर्षदेखि पढाइ र जागिरका लागि काठमाडौं बस्दै आएकी उनी घर नगएको करिब ८ महिना भएको थियो। ‘माघमा बहिनीको बिहेको समयमा अलि दिन बस्ने गरी गएकी थिएँ। त्यसपछि काम र कलेजले जान पाइनँ,’ उनी भन्छिन्, ‘दशैंमा एक साता बस्ने प्लान छ।’ उनले यसपालि बुवाआमा, हजुरबा¬ हजुरआमा, मामामाइजु लगायत अग्रजबाट टीका लगाउने बताइन्। ‘दशैंमा ठूलाबडाबाट आशीर्वाद पाइन्छ। त्यसले मनलाई शान्ति दिन्छ,’ उनी भन्छिन्, ‘आशीर्वादमा शक्ति हुन्छ जस्तो लाग्छ, अर्कोतिर ठूलाबडालाई भेट्दा यसै पनि मन आनन्दित हुन्छ।’

दशैं आशीर्वादको चाड पनि हो। दशैंमा ठूलाबडाको हातबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ।

बुटवल घर भएका श्याम थापा सोमबार नयाँ बसपार्क गोंगबुमा भेटिए। पछिल्ला दुई वर्षयता वैदेशिक रोजगारीका सिलसिलामा दुबई बस्दै आएका उनी यसपालि दशैं मान्नकै लागि दुई महिनाको बिदामा घर आएका हुन्। ‘हजुरबाहजुरआमा बूढाबूढी हुनुभएको छ, उहाँहरुकै हातको टीका थाप्न आएको हुँ,’ उनले भने, ‘डाँडामाथिको घाम भन्छन् नि, अब आउने वर्ष के कसो हुने हो, त्यसैले यसपालि उहाँहरुकै हातको टीका थाप्न आएको हुँ।’

ठूलाबडाको आशीर्वाद

मान्यजनको हातबाट दशैंमा टीका लगाउँदा आशीर्वाद पाइन्छ। नेपाल पाञ्चांग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्यसचिव ज्यो.पं. श्री सूर्यप्रसाद ढुंगेल भन्छन्, ‘दशैंमा गुरु पुरोहित, हजुरबाहजुरआमा, बुबाआमा, मान्यजन आदि ठूलाबडाका हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा तथा प्रसाद ग्रहण गरिन्छ। यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।’

टीका लगाउँदा भनिने मन्त्र पनि आशीर्वाद हो।

जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तु ते।।

‘विजयादशमी आफैंमा शुभ दिन भएकाले यस दिन टीका लगाउन साइत खोज्नुपर्दैन। यस दिन मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ,’ ढुंगेल भन्छन्, ‘घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ।’ हाम्रो समाजमा टीका वा दशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।

विगतमा एउटा देशको राजाले अर्को देशमा संग्राम, लडाइँका लागि जानुभन्दा पहिले शक्ति आराधना गरेर, खड्ग पूजा गरेर मात्र लडाइँमा निस्कने चलन थियो। उदाहरणका लागि राम र रावणको लडाइँमा पनि यस्ता क्रियाकलाप भएको विभिन्न पुराण र ग्रन्थहरूमा उल्लेख छन्।

सांस्कृतिक मात्र नभई सामाजिक क्षेत्रमा पनि दशैंको टीका र आशीर्वादको निकै महत्त्व रहेको निर्देशक ढुंगेल बताउँछन्। ‘दशैंको पर्व हरेक समाजमा आ–आफ्नो तरिकाले मनाउने गरिन्छ। घरपरिवारबाट टाढा बसेका व्यक्तिहरू पनि यसै समयमा घर जाने, परिवारलाई भेट्ने गर्छन्,’ उनी भन्छन्, ‘अघिपछि झैझगडा भइरहेको थियो भने पनि दशमीका दिन टीका लगाउने र आशीर्वाद दिने परम्पराले एकआपसमा बोल्ने मौका पाएका हुन्छन्। यसले बिग्रिएको सद्भाव बलियो बनाउने काम पनि गर्छ।’

निधारमा अक्षता लगाउनुका अर्थ

मान्यजनले दिने आशिष हाम्रा निम्ति जीवनोपयोगी हुनुका साथै यसमा ठूलाबडाले आफूभन्दा सानालाई सही मार्गदर्शन, संस्कार दिनुपर्छ भन्ने सन्देश पनि लुकेको छ। नेपाल पाञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार, मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ। यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टीका जसलाई अक्षता पनि भनिन्छ। गाईको दूधको दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ।

‘यो दुवै आँखीभौंको माझमा हुन्छ। यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ,’ उनी भन्छन्, ‘आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो। यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ। यसको अर्थ धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्वसम्पन्न बन्नका लागि तेस्रो आँखा खुला राख्न संकेत गरिएको हो।’ टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ। साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन् भनिन्छ। यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ। आफ्नो घरमा टीका लगाएर आफन्तजनकोमा पनि टीका ग्रहण गर्ने चलन छ।

 

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्