महानवमी- परिवारसँग घुलमिल हुने दिन !

काठमाडौं, असोज २८ : दसैंका १० दिनमध्ये सबै दिन उत्तिकै पवित्र छन्। त्यसमध्ये पनि महानवमी अर्थात् बडादसैंको नवौँ दिन नवरात्रिमा शक्तिस्वरूपा भगवतीको पूजा, देवी महात्म्य पाठ र शक्तिपीठ दर्शन गर्ने प्रचलन छ।

नवरात्रभरिको महत्त्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्त्व अझ धेरै छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ। यही फूलपातीका प्रत्येक पत्रमा एक-एक देवीको पूजा गर्ने चलन छ।

दसैं सुरु भएदेखि नै अर्थात् घटस्थापनादेखि अष्टमीसम्म विभिन्न पूजा गरिन्छ। तर, नवमी भनेको एक हिसाबबाट पूजा समाप्तीको दिन हो। त्यस दिन हवनहरू गरिन्छ। तर, देवीको विसर्जन विजया दशमीकै दिनमा गरिन्छ।

नवमीको दिनमा नौ पाठ, २७ पाठ वा १०८ पाठ गरेर विधिपूर्वक हवन गरिन्छ। साथै,देवीको प्रतीकका रूपमा दुईदेखि १० वर्षका कन्या वा कुमारीहरूको पूजा गर्ने, राम्रा वस्त्र प्रदान गर्ने पनि गरिन्छ।

नवरात्रिको नवौँ दिनमा विशेषगरी सिद्धिदात्री देवीको पूजा आराधना गरिनुका साथै हवनका कृति र भीमसेनको पूजा गरिन्छ। सोही दिन गाडीहरू धोएर शुद्ध बनाई पूजा गर्ने पनि चलन छ। गाडीहरूलाई बाहन भनिने हुँदा त्यसले किरा फट्यांग्रालाई किच्ने, सामान्य हिंसादेखि ठूला दुर्घटनासमेत हुनसक्ने हुँदा अनिष्ट नहोस् भनेर विश्वकर्मा देवको पूजा गरिन्छ। त्यो पूजा गरिसकेपछि नरिवलको बलि चढाइन्छ। महानवमीमा यिनै कार्य विशेष रूपमा गरिन्छ।

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु। काम, क्रोध, लोभ, मोह, मद, ईर्ष्या, द्वेष, छल, कपटलगायत १० प्रकारका विकारहरू छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मदले चुर भएको हुन्छ। नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो। कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मदको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ।

महानवमीको मुल धारणा भनेकै हामीले सुरु गरेको कार्य वा पूजाको समाप्ति गर्नु हो। यसको भोलिपल्ट वा दशमीको दिन विसर्जन गरेर आफ्ना मान्यजनबाट देवीको प्रसाद लगाउँछौँ। यो अनादि परम्परा भएकाले पूजाको समाप्ति वा उद्यापनजस्तै हो, महानवमीको दिन।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ।

विगत र अहिले महानवमी पूजाको विधिमा खासै फरक आएको छैन। तर लगाउने, खानेलगायत आनीबानीमा केही परिवर्तन आएको छ। किनभने, पहिलेको दसैंलाई अत्यन्तै महँगो मानिन्थ्यो। अहिले पनि खर्चिलो त छ तर पनि पूजाको प्रक्रियामा एकरूपता नै छ। त्यसमा कुनै प्रकारको व्यवधान छैन।

दसैं भनेको एक किसिमको प्याकेज नै हो। अर्थात्, पहिलोदेखि अन्तिम दिनसम्मको एउटा पर्व हो। नवमी पनि यसैभित्र पर्छ। आजभन्दा ९५ करोड वर्ष पहिलेदेखिको परम्परा हो। त्यसैले यसको सुरुवात कहिले भयो भन्दा पनि यो अनादि परम्परा हो। जस्तै- दसैं, तिहारलगायत सबै पर्व अनादि परम्परा हुन् । र,शास्त्रले तोकेबमोजिम हामीले अनुसरण गर्नुपर्छ।

धर्मशास्त्रअनुसार नवमीका लागि साइतको आवश्यकता पर्दैन। सप्तमीका दिन ल्याएको फूलपाती अष्टमीमा नवदुर्गा पूजाका लागि तयार गरिन्छ। र, अष्टमीसम्म निरन्तर हुने उक्त पूजा, होम, व्रत नवमीमा फुकाइन्छ वा समाप्ति हुन्छ।

यसको धार्मिक महत्त्व त छ, साथै अन्य दिनको तुलनामा यसको सामाजिक महत्त्व बढी देखिन्छ। दसैंको समयमा विशेषगरी अष्टमी र दशमीको दिन बढी काम हुन्छ। नवमीको दिन कामको चाप केही कम हुने भएकाले आफन्तहरू भेट भएर रमाइलो गर्ने, मान्यजनसँग समय बिताउने, टीका लगाउन नमिल्नेहरू नवमीको दिन जाने, परिवारसँगै खानपान गर्नेलगायत समय पाउँछन्।

साथै, नवविवाहित महिलाले पनि परिवारसँग घुलमिल हुने समय पाउँछन्। घरमा कामको चाप कम हुनाले देवरानी-जेठानी, दाजुभाइ र छिमेकीलाई राम्ररी चिन्ने वा घुलमिल हुने समय पाउने भएकाले पनि महानवमीको सामाजिक महत्त्व बढी छ। फूलपातीदेखि घरको कामकै चाप बढी हुन्छ। दशमीको दिन पनि टीका लगाउने चटारोले राम्ररी बातचित गर्ने समय पाइँदैन। तर, नवमीको दिन यो सम्भव हुन्छ।

(नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा. भट्टराईसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)

 Published Date: Thursday, 14th October 2021 6:52:00 am