महाअष्टमी अर्थात् कालरात्रि

काठमाडौं, असोज २७ : अष्टमीलाई अन्य विशेष पर्व र तिथिमध्ये एक मानिन्छ। नवरथामा देवीको विशेष पूजा हुन्छ। त्यसमध्ये पनि महासप्तमीमा नवपत्रिका प्रवेश गराइसकेपछि महाअष्टमी, महानवमी र विजयादशमीको दिन विशेष पूजा हुन्छ।

महाअष्टमीका दिन भक्तजनहरू शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरमा जाने गर्छन्। काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठमा बलि चढाउने र पूजाआराधना गर्ने प्रचलन छ।

भागवत, मार्कण्डेय पुराणलगायतमा देवीको सृष्टिबारे धेरै निरूपण गरिएको छ। वर्षमा विशेषगरी चारवटा नवरात्र हुन्छन्- चैत्र शुक्लपक्ष, असार शुक्लपक्ष, आश्विन शुक्लपक्ष र माघ शुक्लपक्ष। त्यसमा पनि नेपालीहरूको परम्परा, संस्कृतिका साथै विविध कारणले शरदकालको पूजाको विशेष महत्त्व भएकाले पनि यो समयको अष्टमी वा महाअष्टमीको धेरै महत्त्व रहेको हो।

दसैं भन्नेबित्तिकै हामी सबैले यसको सांस्कृतिक महत्त्व बुझेकै छौँ। विगतमा मानिसहरू आर्थिक वा केही कारणवस दसैं मनाउन नसकेको खण्डमा राज्य वा साथीभाइ, समाज मिलेर सद्‍भाव बाँड्ने गर्थे। नसकेका मानिसहरूले पनि दसैं मनाउन सक्ने व्यवस्था समाजले नै गर्थ्यो।

दसैंमा सबैले मिठो खानुपर्छ, राम्रो लाउनुपर्छ, सबैमा सन्तोषको अनुभूति हुनुपर्छ, दुर्गादेवीको प्रसादको स्वरूप मान्ने हुनाले नेपाली समाजमा यसको सांस्कृतिक महत्त्व धेरै छ। यस्तै, धार्मिक महत्त्वको विषयमा कुरा गर्दा यो शक्ति आर्जन गर्ने समय पनि हो। देवीको आराधना गर्नु भनेको शक्तिको आराधना गर्नु हो। शक्तिबिना केही सम्भव छैन।

पुराणहरूमा उल्लेख भएअनुसार ब्रह्मा, विष्णु र महेश्वरबाट हीन भएपनि शक्तिबाट हीन हुनु हुँदैन। देवीको कृपाबिना संसार चल्दैन। महासप्तमीको दिन नवपत्रिका भित्र्याइसकेपछि महाअष्टमीमा अझै विशेष आवरणको पूजा हुन्छ।

प्रतिपदाको दिनमा जसरी विधिपूर्वक देवीको स्थापना, आह्वान र पूजा गरिन्छ, महाअष्टमीको दिनमा पनि त्यसरी नै नित्य पूजा हुन्छ।यसमा विशेषगरी वस्त्र, आभूषण देवीलाई चढाउने, नौ वर्षकी कन्याको पूजा गर्नेलगायतविधि पूरा गरिन्छ।

महाअष्टमीको रातलाई कालरात्रि भनिन्छ, जसमा देवी, गणेश, कलशलगायत अंग देवताको स्थापना गरी पूजा गरिएको ठाउँमा प्रधानदेवताको विशेष पूजा हुन्छ। सप्तमीको दिनमा भित्र्याइएको नवपत्रिकाबाट कालरात्रिमा पनि पूजा गर्ने विधान छ।

साथै सोही दिन शस्त्रअस्त्रको पनि पूजा हुन्छ। खुकुरी, खुँडा, तरवारलगायत हातमा लिएर प्रयोग गरिनेलाई शस्त्र भनिन्छ भने धनुषवाणलगायत टाढैबाट प्रहार गर्न मिल्नेलाई अस्त्र भनिन्छ। शस्त्रअस्त्रको पूजा गरिसकेपछि बलिको विधान पनि हुन्छ।

बलि कसरी र के दिने भने विषयमा पहिला दरबारबाट निर्णय गरिन्थ्यो। अहिले राज्यको तर्फबाट हनुमानढोकामा पशुबलि दिइन्छ। यस्तै, प्रतिनिधि बलिको विधानमा वर्णअनुसार हुन्छ। यदि कोही शाकाहारी भएमा कुस्मान्डा र इछुदन्ड आदि बलि दिइन्छ । त्यो भनेको कुभिन्डो, उखु, मुला, बेल, नरिवल, केरा, घिरौँलालगायत हुन्। बलिलाई उपहारको रूपमा पनि लिइन्छ। बलि दिँदा देवीको प्रिय वस्तु दिने चलन पनि छ।

महाअष्टमीकै दिन हामीभित्रको काम, क्रोध, लोभ, मोह, मद, मासलगायतका षटशत्रु (आफूभित्र भएका ६ वटा शत्रु) नाश गर्नका लागि पनि बलि दिने भन्ने विश्वास रहिआएको छ। सोही कारण कामको प्रतीकका रूपमा बोको, क्रोधको प्रतीकका रूपमा राँगो र मोहको प्रतीकका रूपमा हाँसको बलि दिइन्छ।

दसैंका अन्यदिनको तुलनामा महाअष्टमीको विशेष महत्त्व हुनुको अर्को कारण भनेको कालरात्रि पनि हो। अन्य दिनमा बिहान मात्र पूजा हुन्छ भने यस दिन रात्रिको समयमा पनि पूजा र हवन हुन्छ।

विगतको तुलनामा अष्टमी मनाउने विधिमा खासै फरक आएको देखिँदैन। जसले धार्मिक रूपमा शास्त्रीय पक्षलाई मात्र समेटेर पूजापाठ गर्छ, उनीहरूमा खासै भिन्नता छैन। सांस्कृतिक पक्षमा मानिसहरू चाडसँग जोडिन चाहने तर शास्त्रलाई ध्यान नदिने प्रचलन बढेको छ।

सबैले शास्त्रीय पक्ष नै अंगालेका छन् भन्न सकिने अवस्था छैन। कतिपयले अरूको देखासिकीमा मात्रै बलि चढाउने, हवन गर्ने गरेका उदाहरण पनि छन्।

काठमाडौं तलेजु भवानीको मन्दिर पनि यस दिन मात्र सर्वसाधारणका लागि खुला हुन्छ। यसै दिन दसैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिइन्छ। सोही दिन सुदूरपश्चिमको प्रमुख शक्तिपीठ निंगलाशैनी मन्दिरमा करिब एक हजार तीन सय राँगा र चार सयवटा बोकाको बलि चढाइन्छ।

धर्मको क्षेत्रमा अहिले अलि विचलन छ।सनातन पद्धति र धर्म संस्कृतिप्रति अतिक्रमण भएको देखिन्छ। धर्मप्रति अनास्था फैलाउने क्रम पनि बढेको छ। दसैं सबै हिन्दू र बौद्ध धर्मावलम्बीले मनाउँछन्। हाम्रो समाज धार्मिक समन्वय भएको समाज हो।

दसैं मनाउने भनेको असत्यमाथि सत्यको जित चाहना, सत्यका पक्षधरहरूले मनाउने पर्व हो। जस्तै- राक्षसी प्रवृत्तिविरुद्ध लाग्नेहरूले दसैं मनाउँछन्। देवीले राक्षसहरूलाई विजय प्राप्त गरेको खुशीयालीमा मनाउने पर्व हो, दसैं। इतिहासमा उल्लेख भएअनुसार उनीहरूले समाजमा विकृति फैलाएका थिए, धर्म-संस्कृतिमाथि अतिक्रमण गरेका थिए, नारीमाथि आफ्नो स्वामित्त्व स्थापना गरेका थिए। त्यस्तो प्रवृत्तिलाई हटाएर समाजको मर्यादा स्थापना गरेको खुशीयालीमा पनि दसैं मनाउँदै आएको विश्वास छ।

साथै, राम र रावणको प्रसंगसँग पनि दसैं जोडिएको छ। रावणले समाजमा अत्याचार फैलाउँदा रामले दैवशक्तिद्वारा रावणको वध गरेका थिए। सत्य, न्यायको स्थापना गरेको हुनाले त्यसको उपलक्ष्यमा दसैं मनाइएका किंवदन्ती पनि छन्।

जुनसुकै पौराणिक पक्ष जोडिए पनि सबैमा सत्यको पक्षमा लाग्नका लागि आह्वान गरेको र विजयी भएको हुँदा असत्यमाथि सत्यको विजय भएको सन्दर्भमा दसैं मनाउने हो।

(उपप्राध्यापक डा. भट्टराईसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)

 Published Date: Wednesday, 13th October 2021 9:28:00 am