Kathmandu Press

काठमाडौं उपत्यकाले दशैँमा कति खसीबोका र च्यांग्रा खाला ? 

‘सडकको समस्याका कारण चीनबाट च्यांग्रा कम आउँछ,’ संघका अध्यक्ष थापा भन्छन्, ‘मुस्ताङको मात्र च्यांग्रा आउने भएकाले महँगो भएको हो । माग बढे पनि बजारमा च्यांग्रा छैन ।’
काठमाडौं उपत्यकाले दशैँमा कति खसीबोका र च्यांग्रा खाला ? 

काठमाडौं, असोज २४ : दशैंका लागि काठमाडौंका चोक–चोकमा खसीबोका र च्यांग्रा बिक्रीका लागि राखिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र चौपाया खरिद–बिक्री सेवा संघले दशैंका लागि ४२ हजार खसी भित्र्याउने तयारी गरिरहेका छन् । संघले ४० हजार खसीबोका, चार हजार च्यांग्रा र लिमिटेडले २ हजार खसीबोका भित्र्याउने तयारी गरेको छ ।  

चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष दीपक थापा भन्छन्, ‘एक साता अगाडिदेखि खसीबोका आउन थालिसकेका छन् । शुक्रबारसम्म ७–८ हजार खसी आइसकेका छन् ।’

यसपालि चाङ्ग्राको मासु महँगिएको छ । गत वर्ष प्रतिकिलो सात सय रुपैयाँमा बिक्री भएको च्यांग्रा अहिले १३ सय रुपैयाँ पुगेको छ । ‘सडकको समस्याका कारण चीनबाट च्यांग्रा कम आउँछ,’ संघका अध्यक्ष थापा भन्छन्, ‘मुस्ताङको मात्र च्यांग्रा आउने भएकाले महँगो भएको हो । माग बढे पनि बजारमा च्यांग्रा छैन ।’

उनका अनुसार, पोहोर साल ६ हजार ५ सय च्यांग्रा बिक्री भएको थियो । त्यस्तै, गत वर्ष दशैं विशेषका लागि ५० हजारभन्दा बढी खसीबोका भिœयाइएको थियो । तर दशैंका बेला लगभग ४० हजार खसीबोका बिक्री भए । यसपालि दशैंका लागि ४० हजार खसीबोका ल्याए पनि ३०–३५ हजार खसीबोका बिक्री हुने अनुमान गरिएको थापा बताउँछन् । गत वर्ष र यस वर्ष कोरोना महामारीको संक्रमणसँगै  मानिसको आम्दानी घटेका कारण पनि दशैं सामान्य रूपले मनाउन थालेका छन् । 

कहाँबाट आउँछ उपत्यकामा खसी–बोका

काठमाडौं उपत्यकामा बढीजसो खसी–बोका कैलाली, दाङ, मकवानपुर र भारतबाट ल्याइन्छ । लोकलभन्दा भारतीय खसी बढी बिक्री हुने थापा बताउँछन् । भारतबाट ल्याइएको खसी लोकलखसी भन्दा २०–३० रुपैयाँ महँगो पर्छ । ‘किनभने, ३० किलोका लोकल खसीबोका काट्दा १३–१४ किलोभन्दा मासु हुँदैन,’ थापा भन्छन्, ‘सोही बराबरको भारतीय खसी काट्दा १८–१९ किलो मासु हुन्छ, त्यसैले धेरै व्यवसायीले भारतीय खसीबोका खरिद गर्छन् ।’ 

शुक्रबार नेपाली खसीको मासुको प्रतिकिलो मूल्य ६ सय ५० देखि ८०० रुपैयाँसम्म र भारतीय खसीको मासुको प्रतिकिलो मूल्य ७०० देखि ७२५ रुपैयाँसम्म छ । अहिले कलंकी, लोकन्थली, टुकुचा, बागबजारबाट खसी बिक्री भइरहेको छ । 

नेपाली र भारतीय खसी कसरी चिन्ने त ? ‘भारतीय खसीको ढाडको रौं काटिएको हुन्छ तर लोकल खसीको त्यस्तो हुँदैन । त्यसैले सहजै पहिचान गर्न सकिन्छ,’ थापा भन्छन्, ‘लोकलखसी कमै व्यवसायीले मात्र खोज्छन् ।’ 

बजार अनुगमन 

दशैंका लागि उपत्यकाका विभिन्न नाकाबाट खसीबोका तथा च्यांग्रा भित्रिन्छन् । प्रत्येक नाकाबाट कति भित्रिएका छन् भन्ने वास्तविक तथ्यांक सरकार वा कुनै आधिाकारिक निकायसँग छैन । चौपाया खरिद बिक्री सेवा संघले ल्याएको खसीबोका, च्यांग्राको तथ्यांक रहेको थापा बताउँछन् ।

भिœयाइएका खसीबोका तथा च्यांग्रा सबैको स्वास्थ्य परीक्षण समेत हुँदैन । ‘खसीबोका राति आइपुग्छन्, बिक्री बिहान हुन्छन्,’ थापा भन्छन्, ‘परीक्षणका लागि दिउँसो आइपुग्छन् ।’ 

खसीबोका परीक्षणका लागि आएका पशु चिकित्सकले लापरबाही गरेको उनको भनाइ छ । ‘अन्य समय परीक्षण गर्न आउँदैनन् । दशैं विशेषमा मात्र परीक्षणका लागि आउँछन्, त्यो पनि समयमा नआउने हुँदा राम्रोसँग परीक्षण गरिँदैन,’ थापाले भने, ‘परीक्षणका लागि आउने चिकित्सकले एक–दुई वटा परीक्षण गरेर जागिर पकाउने काम गर्छन् ।’

५ वर्षमा दशैंका लागि २ लाख १५ हजार खसी–बोका र ४१ हजार च्यांग्रा बिक्री

दशैं विशेषका लागि पछिल्ला पाँच वर्ष (०७३–७७)मा दुई लाख १५ हजार खसीबोका र ४१ हजार च्यांग्रा बिक्री भएको चौपाया खरिद बिक्री सेवा संघको तथ्यांक छ । 

दुई हजार खसीबोका ल्याउने तयारी, च्यांग्रा छैन : खाद्य संस्थान 

दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका ल्याउने तयारी गरेको छ । शुक्रबार बिहान ५ सय ३१ खसी ल्याइएको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि दशैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । यस वर्ष भने खसीबोका मात्र बिक्री गर्ने उनले बताइन् । ‘च्यांग्रा महँगो भएकाले यस वर्ष बिक्री गर्ने योजना छैन,’ उनले भनिन्, ‘गत वर्ष दुई हजार खसीबोका बिक्री गरिएको थियो । यसपटक पनि दुई हजार बिक्री गर्ने योजना भए पनि थपघट हुन सक्छ ।’

कम्पनीले खसीबोका आयातका लागि ३ करोड २० लाख रुपैयाँ रकम छुट्ट्याएको छ । बजारमा चलेको मूल्य भन्दा १० रुपैयाँ सस्तोमा दिने कम्पनीको भनाइ छ । 

ज्वरो आएका खसीलाई तत्काल बिक्री गर्न रोक

खसीबोका तथा च्यांग्रा लामो समय यात्रा गरेर ल्याउने भएकाले एक दिनपछि मात्र परीक्षण गरिन्छ । खसीबोका अवलोकन गरेपछि बिरामी जस्तो लागेमा मात्र परीक्षण गर्ने राष्ट्रिय पशुपन्छी खोप उत्पादन प्रयोगशालाका पशु चिकित्सक डा. मनिषमान श्रेष्ठ बताउँछन् ।

‘झोँक्राएर बसेका, चोटपटक लागेकालाई परीक्षण गरिन्छ,’ ‘उनी भन्छन्, ‘खसीलाई अवलोकन गर्नासाथ रोगी र निरोगी पत्ता लगाउन सकिन्छ, रोगी खसीबोकालाई छुट्टै राखेर तत्काल बेच्न रोक लगाइन्छ ।’

ज्वरो आएका, आँखामा चिप्रा लागेका पेट फुलेका खसीबोकालाई तत्काल बेच्न रोक लगाइने उनको भनाइ छ । ‘ज्वरो आएका खसीलाई ज्वरो कम हुने औषधि खुवाइन्छ,’ श्रेष्ठले भने, ‘ज्वरो कम भएपछि मात्र बिक्री गर्र्न दिइन्छ ।’ 

उनले अहिले टुकुचा खसी बजारको खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएका छन् । ‘निरोगी खसीलाई हरियो रंग र रोगी खसीलाई पहेँले रंग लगाएर छुट्ट्याइन्छ,’ उनले भने ।

सडकका फुटपाथमा गाउँबाट कम संख्यामा ल्याइएका खसीबोकाको भने स्वास्थ्य परीक्षण नहुने उनको भनाइ छ ।
 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्