Kathmandu Press

प्रेमको विनिर्माण : 'इज लभ इनफ सर?'

आर्किटेक्ट इन्जिनियर अश्‍विन र घरेलु कामदार रत्‍नाको सपना र त्यसलाई पूरा गरिछाड्ने संघर्षको कथा हो, बलिउड सिनेमा ‘इज लभ इनफ, सर?’ अश्‍विन र रत्‍नाले तब आफ्नो प्रेम प्राप्त गर्छन, जब उनीहरूको सपना पूरा हुन्छ।
प्रेमको विनिर्माण : 'इज लभ इनफ सर?'
Hardik ivfHardik ivf

काठमाडौं, असोज २३ : के साँच्चै जीवन जीउनका लागि प्रेम पर्याप्त छ? लामो समयदेखि मानव संवेदना र भावनाको बलियो मानक प्रेमलाई मानिँदै आएको छ। तर, आदर्शको दायरामा प्रेम यसरी कैद छ कि प्रेमका लागि सबै इच्छा, चाहना, सपनाको कुरवानी दिनुपर्ने भाष्‍य नै स्थापित भएको छ।

एउटा भनाइ छ- ‘अल इज फेयर इन लभ एन्ड वार’ अर्थात् प्रेम र युद्धमा सबै जायज हुन्छ। यसैकारण होला प्रेमकै टेकोमा टेकेर कसैले आफ्नो परिवार छोड्ने र कसैले आफ्ना सपनाहरूको तिलाञ्‍जली दिने गर्छन्। कसैले भने प्रेमको नाममा जीवन नै त्यागेका प्रशस्त उदाहरण छन्। महिलाबाट यस प्रकारको आदर्शमयी कदमको अपेक्षा राख्छ समाजले।

यस्तै भाष्‍यको विद्रोही स्वरूप हो, ‘इज लभ इनफ? सर’ चलचित्र। यस चलचित्रले प्रेमलाई हामीले गरिरहेको देवत्वकरणलाई चिर्ने प्रयास गरेको छ। यसको अर्थ प्रेमलाई लघुताभासमा पुर्‍याउनु पनि होइन। तथापि, प्रेमले लघुताभासमा पारेका विषय र फुस्रा आदर्शका चिर्नु हो। प्रश्‍नवाचक चिह्न र ‘सर’ शब्दको सम्बोधनले एक पुरुषलाई के प्रेम नै पर्याप्त हुन्छ भनी प्रश्‍न गरिएको छ।

एक महिलाले पुरुष अर्थात् ‘समाज’ लाई यो प्रश्‍न सोधिरहेकी छन्। प्रेम आफैँमा खराब होइन तर प्रेमसँगै समानान्तर रेखामा चल्ने आफ्नो दायित्व अनि सपनालाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा चलचित्रको कथाले जोड दिन खोजेको छ।

यद्यपि, चलचित्रको पटकथा अझ जटिल छ। सोही जटिलतालाई चिर्दै आफ्नो सपना साकार भएपछि मात्र प्रेमलाई आत्मसाथ गरेकी रत्‍नाको कथा हो, ‘इज लभ इनफ? सर’ सन् २०१८ मा बनेको यस फिल्ममा रत्‍ना (तितोतमा शोमी) चलचित्रकी प्रमुख पात्र हुन् भने उनीसँगै लिड रोलमा छन्, अश्‍विन (विक्की गोमर)। रोहिना गेराको निर्देशनमा बनेको यो चलचित्र पहिलोपटक सन् २०१८ को कान्स फेस्टिभलमा रिलिज भएको थियो। भारतीय हलहरूमा भने सन् २०२० मा मात्र रिलिज भयो।

वर्गीय खाडलमा फसेको प्रेम कथा

चलचित्रको ‘सर’ शब्दलाई पोस्टरमा फोकस गरिएको छ। शाब्दिक अर्थ लगाउँदा प्राज्ञिक, बौद्धिक तथा स्तरका हिसाबले आफूभन्दा मान्य व्यक्तित्वलाई आदरस्वरूप हामी ‘सर’ शब्दले सम्बोधन गर्छौँ।

१६ औँ शताब्दीको बेलायतमा ‘सर’ उपाधि सीमित व्यक्तिलाई मात्र दिइन्थ्यो, जसले प्राज्ञिक मात्र नभई युद्ध कौशलमा दक्षता हासिल गरेका हुन्थे। अर्थात्, वार लर्ड्सले यस्तो आदर र सम्मान ओहोदाका रूपमा पाउँथे। त्यसैले, ‘सर’ शब्दले व्यक्तित्वको एउटा भिन्‍नतालाई पनि दर्साउँछ।

आधुनिक समाजमा ‘सर’ शब्दको प्रयोग बौद्धिक र प्राज्ञिक व्यक्तित्व मात्र नभई कर्पोरेटमा बढी प्रयोग हुन्छ। वर्गवादसँगै शाब्दिक भाष्‍य पनि विनिर्माण भइरहेको छ, आधुनिक समाजमा।

यस चलचित्रमा ‘वर्गीय भिन्‍नता’का कारण प्रमुख पात्र रत्‍ना र अश्‍विनलाई दुई विपरीत ध्रुवका रूपमा स्थापित गरिदिएको छ। उनीहरूका लागि वर्गीय खाडल सबैभन्दा ठूलो चुनौती हो, जसलाई पार गर्न निकै मुस्किल छ।

अश्‍विन पेशाले आर्किटेक्ट इन्जिनियर हुन्। हुन त, उनको इच्छा लेखक बन्‍ने हुन्छ। अमेरिका बसेर साहित्यलाई निरन्तरता दिएका उनी सहोदर भाइको निधनपछि मुम्बई फर्किन्छन्। सभ्रान्त परिवारका उनी छुट्टै गगनचुम्बी अपार्टमेन्टमा बस्छन्। रत्‍ना उनकी ‘मेड’ अर्थात् घरायसी कामदार हुन्।

चलचित्र एउटा सपनाको उडान भरेकी घरेलु कामदार र मालिकको सम्बन्ध वरिपरि घुमेको छ। जीवन यात्रा समानस्तरको नभए पनि सरदर उस्तै पीडाबाट गुज्रिएका छन्, यी दुई पात्र। सोही कारण पनि एकअर्काको भावनासँग जोडिन पुग्छन्।

जीवन भोगाइमा उनीहरू एकअर्काका पीडा बाँड्ने र त्यसबाट मुक्त हुन सुझाउने गर्छन्। र, कथा विकासको क्रममा उनीहरूबीच प्रेमको मुना अदृश्य रूपमा अंकुराउन थाल्छ।

सन् १९८९ मा आएको सलमान खानको पहिलो फिल्म ‘मैने प्यार किया’देखि सन् २०१३ मा रिलिज भएको ‘रमैया वस्ताभैया’जस्ता बलिउडका कमर्सियल सिनेमाहरूमा सभ्रान्त परिवारमा जन्मेका युवा र गरिब परिवारकी युवतीबीचको प्रेम कथा पस्किइएको छ। वर्गीय भिन्‍नताकै कारण सभ्रान्त परिवारले गरिबी घरकी युवतीलाई बुहारीका रूपमा नस्वीकार्ने, होच्याउने, अपमानित गर्नेजस्ता हर्कत गर्छन्। र, आफ्नी प्रेमिकाप्रति बफादार युवकले परिवारलाई त्याग्छ अनि गरिबको जीवन जिउन तयार हुन्छ।

तथापि, समालोचकहरूको भनाइमा बलिउडका पुराना चलचित्रमा वर्गीयताको जुन खाडल पुर्ने कोशिस गरिएको पाइन्छ, त्यो ‘प्रोगेसिभ’भन्दा पनि ‘रिग्रेसिभ’ छ।

यस्ता फिल्ममा महिलाले व्यक्तिगत उन्‍नति गर्ने, अभिनेताकै स्तरको बन्‍ने र करिअर बनाउनेभन्दा पनि जसरी हुन्छ प्रेमलाई नै सर्वश्रेष्‍ठ ठानेर अभिनेताको परिवारलाई रिझाउने कथा पस्किइने गरेको छ।

फिल्म ‘इज लभ इनफ? सर’ को कुरा फरक छ। यस सिनेमाले पारिवारिक र नाटकीय कथालाई तन्काएको छैन। रत्‍ना र अश्‍विनबीचको कुराकानीमा रत्‍ना निकै व्यावहारिक देखिन्छिन्। आफ्ना भावनालाई सोझै दबाएर अश्‍विनको प्रेम प्रस्ताव अस्वीकार गर्छिन्। यसरी हेर्दा वास्तविक जीवनमा उनी आफैँ केही बनेर अश्‍विनको स्तरमा पुगेर मात्र प्रेम आत्मसाथ गर्न खोजेको देखाइएको छ।

१९ वर्षमै बिहे भएको हुन्छ रत्‍नाको। विवाह भएको चार महिनामै श्रीमान बित्छन्। उनी विधवा बन्छिन्। विधवा भएसँगै समाजलाई अझ नजिकबाट उनले चिन्छिन्। अनेक आरोह-अवरोह सहेर उनका परिपक्वताको विकास भएको हुन्छ। परिवारको आर्थिक बोझ कम गर्दै आफ्नो सपना पूरा गर्न उनी गाउँबाट मुम्बई आएकी हुन्छिन्।

अश्‍विनले भने विवाह हुने दिन नै सम्बन्ध तोडेर फर्केका हुन्छन्। त्यसको एक मात्र कारण उनी आफैँले बताएका छन्, ‘नो इनफ लभ’ अर्थात् उनकी हुनेवाली दुलहीसँग गाढा प्रेम बसेन।

रत्‍नाले भने जीवनमा प्रेम कति महत्त्वपूर्ण छ भन्‍ने श्रीमानसँग बिछोडपछि अझ राम्ररी बुझ्‍न पाएकी छन्।

सिनेमाको एक दृश्यमा आफूले मन पराएको मानिस जीवनबाट जाँदैमा जीवन नरोकिने विचार पस्केकी छन्, रत्‍नाले। पीडामा मन छटपटाउनु स्वाभाविक हो तर जीवन नै सकिएको ठान्‍नु गलत हुने उनको प्रष्‍ट बुझाइ छ।

जीवनलाई भावनात्मक संवेग मात्र नभई समाजको यथार्थ पाटोबाट पनि हेरिनुपर्ने उनले आफ्ना मालिक अश्‍विनलाई बताउँछिन्। अश्‍विन विवाहको घटनापछि ‘मुभ अन’ हुन नसकेको सन्दर्भमा उनले मालिकलाई आश्‍वस्त पार्न आफ्नो अनुभव बाँडेकी छन्।

एउटा पर्खाल, भिन्‍न जिन्दगी

गगनचुम्बी अपार्टमेन्टमा बस्‍ने अश्‍विनको जीवन सामान्य छ। उनी दुःखी छन्। न त आरामको जिन्दगी, न कसैको जिम्मेवारीको बोझ नै। काम, साथीभाइ जमघट अनि कहिलेकाहीँ पबमा युवतीहरूसँग लसपस।

रत्‍ना भने आफूले पढ्न नसके पनि बहिनीलाई नोकरी गरेरै पढाइरहेकी छन्। एकै फ्ल्याटमा उनी सानो कुचुक्क परेको कोठामा बसेकी छन्। रत्‍ना बस्‍ने कोठा सानो छ तर उनका सपना ठूला छन्।

एकै फ्ल्याटमा रहेका यी दुई पात्रको जीवनशैली फ्ल्याटको पर्खालले भिन्‍न तुल्याइदिएको छ।

अश्‍विनका लागि उनी टेबलमा खाना पस्किदिन्छिन् भने आफू किचेनको भुइँमा खाना खान्छिन्। चलचित्रको एक दृश्यमा उनी आफूले बनाएको नयाँ कपडा कस्तो भयो हेर्न अश्‍विन नभएको समयमा मालिकको कोठामा जान्छिन्। उनको सानो कोठामा सिंगो मानिस देखिने ऐना हुँदैन। तर, सोही दिन अश्‍विन साविक दिनभन्दा चाँडै आउँछन्।

आफ्नो सिलाइबुनाइ जाँच गर्न उनी मालिकको कोठामा गएकी हुन्छिन्। मालिक अश्‍विनको आकस्मिक उपस्थितिले उनी डराउँछिन्। मानौं उनले ठूलो अपराध गरेकी छन्।

अश्‍विनको आरामदायक  कोठा वातानुकुलित हुन्छ। अनि, रातभर टेलिभिजन अन रहन्छ। रत्‍नाको कोठामा भने ऐनासम्म अटाउन सकेको छैन। यसरी एकै पर्खालले भेद गरेकी रत्‍ना उक्त पर्खाल आफ्नो सपनाको बलबुतामा फुटाउन चाहन्छिन्।

सपना पूरा गरिछाड्ने एक विधवाको अठोट

कलिलो उमेरमै विधवा बनेकी रत्‍नाको सानैदेखिको सपना फेसन डिजाइनर बन्‍ने हुन्छ। तर, बिनादाइजो विवाहको प्रस्ताव आएपछि उनको सपनालाई उनका बाबुआमाले विवाहसँगै तुहाइदिन्छन्। तर, श्रीमानको मृत्युसँगै आफ्नो भाग्य खोज्‍न उनी गाउँबाट मुम्बई पुग्छिन्। नोकरी नै गरे पनि फेसन डिजाइनर बन्‍ने उनको सपना भने मरेको छैन। बजार आउजाउका क्रममा बाटोमा पर्ने बुटिकबाट उनको नजर हट्दैन। घरमा आउने पाहुनाले लगाएका कपडामा पनि उनको ध्यान रहन्छ।

मालिक अश्‍विनसँग कुराकानी गर्ने क्रममा अश्‍विन उनको फेसन डिजाइनर भन्‍ने सपनाबाट चकित बन्छन्। तब उनले प्रश्‍न गर्छिन्, ‘के हामीले ठूला सपना देख्‍न सक्दैनौँ?’ अश्‍विन आफ्नो भनाइको तात्पर्य फेसन डिजाइनिङ निकै गाह्रो हुन्छ भन्‍ने भएको बताउँछन्। त्यसका लागि रत्‍नाले निकै संघर्ष गर्नुपर्ने सम्झाउन खोज्छन्।

सभ्रान्त वर्गले निम्‍न वर्ग र उनीहरूको सपनालाई गर्ने ‘अन्डरस्टिमेट’विरुद्ध उनी खरो जवाफ दिन्छिन्। यसरी हेर्दा उनी आफ्नो सपना पूरा गरिछाड्न अडिग छिन्। आफूभन्दा जति नै ठूलो व्यक्ति आए पनि उनी आफ्नो सपनाका लागि आइपर्ने समस्याबाट रत्तिभर विचलित छैनन्। यहाँ अश्‍विनको सभ्रान्त वर्गीय सोच झल्किन्छ। लगत्तै उनले आफ्नो गल्ती महसुस गरी रत्‍नाका लागि डिजाइनिङका पुस्तक ल्याइदिन्छन्। रत्‍नाले पनि उनका लागि सर्ट सिलाइदिन्छिन्। अव्यक्त प्रेमका भाव उनीहरू बीच यसरी नै झाँगिँदै जान्छ।

वास्तविकतामा बाँच्न चाहने रत्‍ना अश्‍विनलाई आफूहरूको सम्बन्धले फरक पर्ने सम्झाउँछिन्। अश्‍विनको चाहना सबैलाई सत्य बताएर रत्‍नालाई रोज्‍ने हुन्छ। तर, रत्‍ना आफ्नो सपना रोज्छिन् र अश्‍विनकोमा काम गर्न पनि छाडिदिन्छिन्। सिनेमाको उत्तराद्र्धमा उनले डिजाइनरका रूपमा कपडा पसलमा काम पाउँछिन् र आफ्नो सपनातर्फको कदम बढाउँछिन्।

‘जीवन अझै बाँकी रहन्छ’

जीवनमा कुनै अप्रिय घटनामा प्रिय व्यक्तिले छाडेर जाँदा मानिसले हरेश खान्छन्। उनीहरूलाई जीवन नै सकिएको भान हुन्छ। संसार नै डगमगाउँछ। चलायमान हरेक वस्तु स्थिर भएझैँ लाग्छ। रत्‍नाका अनुसार उनको गाउँमा विधवा भएपछि जीवन पूर्ण रूपमा सकिएको मानिन्छ। तर, त्यस विचारलाई चिर्दै उनी मुम्बई आउँछिन्, काम गर्छिन् अनि आफ्नो सपना पूरा गर्न तत्पर रहन्छिन्। आफू मात्र नभई बहिनीलाई समेत सबल बनाउने सपना उनको छ। अन्य गाउँका विधवाजस्तो जीवनलाई गाउँमै कैद गराएकी छैनन्।

बागी भए पनि रत्‍ना केही परिधिमा कैद भने छिन्। विधवा महिलाले चुरा लगाउनु हुँदैन भन्‍ने सामाजिक अन्धविश्‍वासका कारण उनी आफ्नो गाउँ जाने क्रममा मुम्बईमै हातका चुरा फुकालेर राख्छिन्। र, फर्केपछि पुनः लगाउँछिन्। यसरी उनी आफूले परिवर्तन गर्न सक्ने स्थानमा आफैँलाई बागी बनाएकी छन्।

मित्रता सधैँ साथमा

चलचित्रमा लक्ष्‍मी ताईसँगको उनको सम्बन्ध निकै घतलाग्दो छ। लक्ष्‍मी पनि सोही अपार्टमेन्टमा बस्‍ने परिवारकी घरायसी कामदार हुन्। उनीहरू आ-आफ्ना मालिकका अपार्टमेन्टबाहिर भेट्छन्। अर्थात्, अपार्टमेन्टभित्रको सामाजिक जीवनको प्रतिनिधित्व लक्ष्‍मीले गरेकी छन्, सिनेमामा।

उनीहरू आ-आफ्ना दुःख, सुख साटासाट गर्छन्। आवश्यक पर्दा एकअर्कालाई ऋण, सापटी पनि लेनदेन गर्छन्। उनीहरूको सम्बन्ध निकै मजबुत देखिन्छ।

प्रेम पर्याप्त हुँदैन तर प्रेमबिना जीवन कठिन

चलचित्रको अन्तिम दृश्यमा रत्‍नालाई अश्‍विनको फोन आउँछ। उनी पुनः अमेरिका गएका हुन्छन्, आफ्ना बाबुलाई सबै सत्य कुरा बताएर। चलचित्रको अवधिभर सर मात्र भनेकी उनले अन्तिम दृश्यमा अश्‍विन भनेर बोलाउँछिन्।

आफ्नो सपना यात्रामा एक कदम नजिकिएसँगै उनले अश्‍विनलाई ‘सर’ नभई सीधा नामबाट बोलाउँछिन्। त्यही शब्द सुन्‍न अश्‍विन धेरै अघिदेखि लालायित थिए। यही विन्दुमा चलचित्र समाप्त हुन्छ।

आर्किटेक्ट इन्जिनियर अश्‍विनको पनि सपना छ, लेखक बन्‍ने। र, अमेरिका बसेर लेखक बन्‍ने सपना पूरा गर्नुछ उनलाई। जब दुवैका सपना पूरा हुँदै जान्छन्, उनीहरूको प्रेचबीचको खाडल पनि पुरिन्छ। अनि सँगै जिउने सँगै मर्ने यात्रा अगाडि बढाउँछन्। सिनेमाले त्यही यात्रा अगाडि बढेको प्रष्‍ट नदेखाए पनि अन्तिम दृश्यमा रत्‍नाले अश्‍विनलाई नामबाटै बोलाएको प्रसंगले त्यही संकेत गर्छ।

चलचित्रमा सबैभन्दा मीठो पक्ष नै यी दुई पात्रबीच प्रायः अपूरा अनि सीमित संवाद हुन्। तर, उनीहरू भित्र विचलित भएका भाव दर्शकलाई आभास हुन्छ।

अमेरिकी साहित्यकार एफ स्कट फिजेराल्ड भन्छन्, ‘यदि तिमी प्रेममा छौ भने त्यसले तिमीलाई खुशी दिनुपर्छ। प्रेमले तिमीलाई खुशी बनाएको हुनुपर्छ।’ अर्थात्, सम्बन्ध तब स्वस्थ रहन्छ, जब दुवै खुशी रहन्छन्। र, स्वस्थ सम्बन्धका लागि एकअर्काप्रतिको माया, सम्मान मात्र नभई समानता पनि आवश्यक पर्छ। र, समानताको अवसर शिक्षा, सीप, करिअर, सम्पत्ति र सम्पन्‍नतासँगै आउँछ। सिनेमाको समग्र सन्देश यही हो।

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्