Kathmandu Press

नोबेल विजेताका फोन संयोग- एकको नम्बर भाउजूले दिइनन्, अर्काको ‘डु नट डिस्टर्ब’मा

यस वर्षको फिजियोलोजी तथा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार जितेका अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र अर्डेम पाटापुटियनले पुरस्कार जितेको खबर पाएको घटना भने निकै रोचक छ।
नोबेल विजेताका फोन संयोग- एकको नम्बर भाउजूले दिइनन्, अर्काको ‘डु नट डिस्टर्ब’मा

काठमाडौं, असोज २० : अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र अर्डेम पाटापुटियनले संयुक्त रूपमा यस वर्षको फिजियोलोजी तथा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार जितेका छन्। नोबेल पुरस्कार समितिले सोमबार नै उनीहरूले संयुक्त रूपमा विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार जित्न सफल भएको घोषणा गरेको थियो।

स्पर्श र तापप्रति हाम्रो शरीरको स्नायु प्रणाली, मुख्यतः रिसेप्टरहरूले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको युगान्तकारी अन्वेषणका लागि उनीहरूलाई नोबेल पुरस्कार प्रदान गरिएको हो।

ताप वा स्पर्श हामीले दैनिक कैयौँपटक महसुस गर्ने विषय हुन्, त्यसैले हामीले यसलाई धेरै महत्त्व दिइरहेका हुँदैनौँ। तर, कहिलेकाहिँ सामान्य विषय नै धेरै जटिल र महत्त्वपूर्ण हुन्छन्।

नोबेल समितिले एक कार्यक्रममार्फत् विजेताको सार्वजनिक घोषणा गरेको थियो। तर, पुरस्कार विजेता वैज्ञानिकद्वयले आफूले जितेको खबर पाएको घटना भने निकै रोचक छ।

जुलियसकी भाउजूले दिइनन् नोबेल समितिलाई नम्बर

नोबेल समितिले यसपटक विजेताहरूलाई सम्पर्क गरेर पुरस्कार जितेको जानकारी दिने जिम्मेवारी महासचिव थोमस पर्लम्यानलाई दिएको थियो। समितिले संयुक्त रूपमा जुलियस र पाटापुटियनलाई विजेता चयन गरेपछि थोमसलाई सम्पर्कको जिम्मेवारी आयो।

तर, थोमस र नोबेल समितिले जति प्रयास गरे पनि उनको व्यक्तिगत फोन नम्बर पाउन सकेन। अनेक संयन्त्र प्रयोग गरेर थोमसले जुलियसकी भाउजूको फोन नम्बर पत्ता लगाए। थोमसले उनलाई फोन गरेर आफ्नो परिचय दिँदै जुलियसको नम्बर दिन आग्रह गरे।

तर, उनले जुलियसको नम्बर दिन मानिनन्। पश्चिमा मुलुकमा गोपनीयता निकै ठूलो विषय हो। अनुमतिबिना कसैले कसैको पनि व्यक्तिगत सम्पर्क विवरण कसैलाई दिन पाउँदैन।

उनले थोमसको नम्बर मागिन् र जुलियसलाई सम्पर्क गर्न लगाउने भन्दै फोन राखिदिइन्। त्यसपछि उनले जुलियसलाई म्यासेज गरेर ‘थोमस पर्लम्यान नामक व्यक्तिले उनीसँग कुरा गर्न खोजेको’ भन्दै नम्बर पठाइन्। उनले जुलियसलाई थोमसको नम्बर पठाउनु अगाडि थोमस पर्लम्यान को हो भनेर गुगलसमेत गरेकी थिइन्।

अझै पनि जुलियसले थोमसलाई सम्पर्क गरेनन्। उनकी श्रीमतीले आफ्नो फोनबाट थोमसलाई फोन गरेर थप विवरण लिइन्। उनले विश्वसनीय रूपमा बेलिविस्तार लगाएपछि बल्ल श्रीमतीको माध्यमबाट नोबेलका महासचिव थोमस र जुलियसबीच कुराकानी सम्भव भयो।

तर, त्यसबेलासम्म निकै अबेर भइसकेको थियो। नोबेल समितिको पूर्वनिर्धारित योजनाअनुसार चिकित्सा विज्ञानको नोबेल पुरस्कार विजेता घोषणा गर्ने कार्यक्रम सुरु हुन तीन मिनट मात्र बाँकी थियो।

‘तपाईंसँग सम्पर्क गर्न धेरै गाह्रो रहेछ। तर, अहिले मसँग तीन मिनट मात्र समय छ। युट्युबमा घोषणा कार्यक्रम हेर्नुहोला, त्यसपछि हामी कुरा गर्नेछौं,’ कार्यक्रम सुरु हुनै लाग्दा थोमससँग भएको कुराकानीका बारेमा जुलियसले अन्तर्वार्तामा भनेका छन्।

यसरी उनले आफूले नोबेल पुरस्कार जितेको आधिकारिक खबर घोषणा कार्यक्रमबाट मात्र पाएका थिए। नोबेल समितिका महासचिवले सम्पर्क गरेका कारण अनौपचारिक जानकारी भने पहिल्यै आइसकेको थियो।

पाटापुटियनले मोबाइल राखेका थिए ‘डु नट डिस्टर्ब’

अर्डेम पाटापुटियन दिनभरको कामले थकित भएर बेलैमा सुतेका थिए। निद्रा नखल्बलियोस् भनेर उनी सुत्ने बेला फोनलाई ‘डु नट डिस्टर्ब’ मोडमा राख्छन्। फोनलाई त्यो मोडमा राख्दा मोबाइल खुला हुन्छ तर सम्पर्क हुँदैन। तर, कस–कसले सम्पर्क गर्न खोजेका थिए भन्ने जानकारी हुन्छ।

स्विडेनमा रहेका महासचिव थोमस पर्लम्यानले पाटापुटियनलाई सम्पर्क गर्दा स्थानीय समयअनुसार रातिको २ बजेको थियो। र, सधैंझैँ उनी फोनलाई ‘डु नट डिस्टर्ब’ मोडमा राखेर सुतिरहेका थिए। जति प्रयास गर्दा पनि उनको फोन नउठेपछि थोमसले अमेरिकामा रहेको आफ्नो संयन्त्र प्रयोग गरेर उनीसँग सम्पर्क हुने माध्यम खोज्न लगाए।

लामो प्रयासपछि पाटापुटियनका बाबुको नम्बर पत्ता लाग्यो। थोमसले उनका बाबुलाई छोराले नोबेल पुरस्कार जितेको खबर दिए र पाटापुटियनलाई जानकारी गराउन आग्रह गरे। १८ वर्षको उमेरमा द्वन्द्वग्रस्त मुलुक लेबनानबाट अमेरिका आएर आफ्नो छोराले दिनरात नभनी गरेको मिहिनेत बाबुले नजिकबाट नियालेका थिए। छोराको सफलतामा उनले खुशीका आँसु थाम्न सकेनन्।

डा. पाटापुटियनका बाबुले समय खेर नफाली छोरालाई फोन गरे। फोन ‘डु नट डिस्टर्ब’ मोडमा राखे पनि फेबरेट कन्ट्याक्टबाट फोन आउँदा सहजै सम्पर्क हुन्छ। त्यसैले थोमसले गर्दा फोन नलागे पनि बाबुले फोन गर्दा भने पाटापुटियनको फोनको घण्टी बज्यो।

‘मेरो बुवा ९२ वर्षको हुनुहुन्छ र वहाँ सानफ्रान्सिस्कोमा बस्नुहुन्छ। मैले नोबेल पुरस्कार जितेको खबर वहाँबाटै पाएँ। मलाई नोबेल जितेको सुनाइरहँदा वहाँको आवाजमा गर्व महसुस गरेको आभास हुन्थ्यो।

जति खुशी नोबेल पुरस्कार जितेकोमा लागेको छ, त्यसभन्दा कैयौँ गुणा विशेष त्यो खबर पहिलोपटक बुवाबाट सुन्न पाएर महसुस भइरहेको छ। जितभन्दा ठूलो खुशी त्यहाँ पाएँ मैले,’ पाटापुटियनले नोबेल समितिसँगको अन्तर्वार्तामा भनेका छन्।

प्रकाशित मिति: ०६:२४ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्