रुसी आक्रमणबाट मूर्ति बचाउँदै युक्रेनको लुभ्युबासी

रुसी आक्रमणबाट मूर्ति जोगाउन युक्रेनको ऐतिहासिक तथा सांस्कृतिक शहर लुभ्युका बासिन्दा स्वस्फुर्त रुपमा लागेका छन्।
रुसी आक्रमणबाट मूर्ति बचाउँदै युक्रेनको लुभ्युबासी
रुसी आक्रमणबाट जोगाउन मूर्तिलाई बेर्दै स्थानीय बासिन्दा। तस्बिरहरू: पउ भेन्टियो/युरोपा प्रेस

काठमाडौं, फागुन २२ : रुसी आक्रमणमा सुरू भएसँगै संसारको ध्यान युक्रेनले तानेको छ। पक्ष र विपक्षमा विश्वका देश तथा ठूला संठगनले आफ्ना मत राखिरहेका छन्।

शक्ति राष्ट्र रूससँग भिडिरहेको युक्रेनप्रति साहानुभूति देखाउने पनि कमी छैन। युक्रेनका लागि एक किसिमले संसार एकढिक्का भएको छ।

युक्रेनका कतिपय शहर क्षतिग्रस्त भएका छन्। राजधानी किइभतर्फ रुसी सेना बम तथा क्षेप्यास्त्रसहित अघि बढिरहेका छन्।

यस्तै, युक्रेनको ऐतिहासिक महत्त्व तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण शहर हो, लुभ्यु। युद्धको त्रासदी  अन्य शहरको तुलनामा लुभ्युमा भने केही कम छ। राजधानी किइभ तथा अन्य शहरको तुलनामा यहाँ आक्रामण भइसकेको छैन। यद्यपि, युद्धको तयारीमा भने सबै छन्। 

लुभ्युमा प्रोटेक्टिभ प्लास्टिकले बेरिएको रोमन देवताकाे मूर्ति।

ऐतिहासिक तथा सांस्कृतिक शहर लुभ्युमा १४औं शताब्दीदेखि दुई सय वर्ष पुरानोसम्मका मूर्ति तथा स्मारक छन्। सार्वजनिक स्थलमा रहेका ती मूर्ति तथा स्मारक अहिले भने प्लास्टिक, ढुंगा तथा फोसले छोपिएको तथा बेरिएको अवस्थामा देखिन्छन्।

१४औँ शताब्दीको पुरानो चर्च अघिको मूर्ति होस् वा रोमन देवता नेप्ट्युन वा ग्रिसकी देवी एम्फट्राइटी हुन् वा डियाना वा देवता एडोनिस वा अन्य सार्वजनिक स्थानमा रहेको देवताको मूर्तिलाई उनीहरूले प्लास्टिक, ढुंगा, फोम आदिले बेरेर राखेका छन्।

सीएनएनमा प्रकाशित ‘कन्र्सन्ड युकेनियन लोकल्स हेल्प प्रोटेक्ट लुभ्यु हिस्टोरिक स्ट्याचु’ र्शीषकको समाचारमा लुभ्यु शहरका बासिन्दा ऐतिहासिक सम्पदाको संरक्षणमा लागेको उल्लेख छ। उनीहरु विभिन्न स्थानमा रहेका मूर्ति संरक्षणमा लागेका छन्। उनीहरूले मूर्तिलाई फोम तथा प्लास्टिकले र्‍याप गरेर राख्न थालेका छन्।

कुनै सरकारी सूचना वा आदेशबिना यो काम भने लुभ्यु शहरका बासिन्दाले गरेको सीएनएनको उल्लेख गरेको छ। युद्धको क्रममा यस्ता ऐतिहासिक धरोहरमा कम क्षति वा सुरक्षार्थ यस्तो कदम चालिएको उनीहरुले बताएका छन्।

लुभ्युमा रहेको ल्याटिन क्याथेड्रलको १४औं शताब्दीको मूर्ति।

लुभ्यु फाउन्डेशन फर द प्रिर्जभेसन अफ आर्किटेक्चरल एन्ड होस्टिोरिकल मनुमेन्ट्सले  संस्थाबाट यस प्रकारको कुनै पनि कार्य नभएको र यो काम  स्थानीयले नै गरेको जनाएको छ। बिना कुनै प्रचार युद्धको समयावधिमा पनि स्थानीय कला, संस्कृतिको बचाउका लागि देखाएको झुकावमा संस्थाले आभार समेत व्यक्त गरेको छ।

युद्धको दोस्रो हप्ता पुग्दा त्यहाँका सम्पदाविद्हरूले युक्रेनका सम्पदामा पर्ने सक्ने क्षतिका बारेमा जानकारी दिएका थिए। जससँगै लुभ्युका स्थानीय आफ्नो तबरबाट सम्पदा संरक्षणमा लागेको जनाइएको छ।

युद्ध कै कारण युक्रेनको आइभेन्कइन संग्रहालयका करिब २५ वटा पुराना चित्रकला ध्वस्त भएका छन्। ति कला प्रसिद्ध कलाकार मारिया प्राइमाकिनले कोरेका थिए।

प्रकाशित मिति: ०७:०८ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्