Kathmandu Press

‘मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद, वामदेव गौतमसँगको छलफल चाँडै निष्‍कर्षमा पुग्‍छ’

‘वामदेव गौतम पार्टीका लागि महत्त्वपूर्ण र आवश्यक नेता हुनुहुन्छ। उहाँसँग छलफल हुँदैछ। र, त्यो छलफल चाँडै निष्‍कर्षमा पुग्‍नेछ।’
‘मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद, वामदेव गौतमसँगको छलफल चाँडै निष्‍कर्षमा पुग्‍छ’
Hardik ivfHardik ivf

नवगठित नेकपा (एकीकृत समाजवादी)का महासचिव हुन्, डा. वेदुराम भुसाल। पुराना र इमानदार कम्युनिस्ट नेता हुन् उनी। स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)मा विद्यावारिधि गरेका छन्, भुसालले। अहिले एकीकृत समाजवादीले आफ्नो मार्गदर्शक सिद्धान्त जबज कि जनताको बहुदलीय समाजवाद (जबस)लाई बनाउने हो भन्‍नेमा पार्टीभित्र र बाहिर दुवैतर्फ बहस देखिन्छ। पार्टीको मार्गदर्शक सिद्धान्त, आगामी कार्यदिशा र एजेन्डाका विषयमा केन्द्रित रहेर काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले महासचिव भुसालसँग गरेको कुराकानी :

एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा के हो ?

हामीले स्पष्‍ट व्याख्या गरेका छौँ, एकीकृत समाजवादीको कार्यदिशा भनेको वैज्ञानिक समाजवाद हो। मार्क्सवाद-लेनिनवादको सिद्धान्तअनुरूप द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्‍टिकोण, परिवर्तनकारी दृष्‍टिकोण र विशेषगरी श्रमजीवी वर्गको हितमा काम गर्दै अगाडि बढ्ने हो। मजदुर वर्गको हितमा काम गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको मुख्य ध्येय छ। एकीकृत समाजवादी मूलतः मार्क्सवादलाई लिएर गतिशील वैज्ञानिक सिद्धान्तको प्रयोग गर्दै सिर्जनात्मक रूपले अगाडि बढ्ने विचारप्रति प्रतिबद्ध छ। राजनीतिक परिस्थितिअनुसार मार्क्सवादको गतिशीलता अवलम्बन गर्छौँ।

मजदुर वर्गको हितका कुरा गर्नुभयो। एकीकृत समाजवादीको आर्थिक एजेन्डा के हुन्छन् ?

एकीकृत समाजवादीले आर्थिक सामाजिक रूपान्तरणको अभियान सञ्‍चालन गर्दै अगाडि बढ्नु आजको प्रमुख आवश्यकता हो भन्‍ने ठहर गरेको छ। देशभित्र रोजगारीका अवसर नहुँदा ठूलो संख्यामा विज्ञ र युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यता न्यूनीकरणका लागि युवा शक्तिलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नेछौँ। रोजगारी सँगसँगै कृषिक्षेत्रलाई विकास गर्नुपर्नेछ।

देशमै उत्पादन गर्ने गरी कृषिको आधुनिकीकरण र व्यावसायीकरण तथा उत्पादित वस्तुको बजारीकरणलगायत कृषिक्षेत्रलाई फराकिलो बनाउँछौँ। यस्तै, देशमै ठूला परियोजनाहरू सञ्‍चालन गर्ने हाम्रो लक्ष्‍य हुने छ, जसले गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, कलकारखाना स्थापना हुनेछन् र रोजगारीको सिर्जना पनि।

‘जनताको बहुदलीय जनवाद’ कि ‘जनताको बहुदलीय समाजवाद’ ? एकीकृत समाजवादीको मार्गनिर्देशक सिद्धान्त के हुन्छ ?

एकीकृत समाजवादीले अवलम्बन गर्ने मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद-लेनिनवादको क्रान्तिकारी चरित्र र वैज्ञानिक विश्व दृष्‍टिकोण एवं श्रमजीवी वर्गको मुक्ति तथा समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त नै एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त हो। तसर्थ, जबजलाई गतिशील रूपमा आत्मसात गर्दै अगाडि बढ्नेछौँ। त्यसको मतलव हाम्रो राजनीतिक सिद्धान्तभन्दा पर भएको जबजलाई छोड्ने, नकार्ने भन्‍ने होइन। पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन गर्नेछौँ। मुख्य कुरा पार्टी सिद्धान्त र कार्यपद्धतिअनुरूप संगठित र परिचालित हुनेछौँ।

एकीकृत समाजवादीले सामाजिक परिवर्तनका लागि कस्ता एजेन्डा उठाउँछ ?

हाम्रो पार्टीले समाज परिवर्तनका लागि सामाजिक विकृति र विसंगतिविरुद्ध आवाज उठाउँछ। त्यसका लागि जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नेछौँ। हामीसँग कार्य योजनाहरू तय छन्, केही निर्माणको क्रममा छन्। तसर्थ, एकीकृत समाजवादी पार्टीले जुन लक्ष्‍य लिएर अगाडि बढेको छ, त्यो प्राप्तिका लागि समाजमा भएका वर्गीय र जातीय विभेद, लैंगिक असमानता, महिलालाई बोक्सीको आरोपमा गरिने अमानवीय क्रियाकलापविरुद्धमा काम गर्नेछौँ। एकीकृत समाजवादी पार्टीका युवा नेतृत्वलाई समाज परिवर्तनका लागि आवश्यक एजेन्डा सेट गर्न जिम्मेवार दिएका छौँ। अबको परिवर्तन युवाको हातमा छ।

अब सामाजिक रूपमा पछाडि पारिएका, पिंधमा पारिएका वर्ग र समुदायका पक्षमा जनचेतनाका कार्यक्रमसहित अगाडि बढ्ने छौँ। मानिसको मानसिकतामा परिवर्तन नआएसम्म सामाजिक परिवर्तन हुन असम्भव छ तसर्थ जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै अगाडि बढ्ने योजना तय गरेका छौँ। समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाउन सामाजिक सचेतना अभियान सञ्‍चालन गरिने छ।

एकीकृत समाजवादीमा पार्टीको नामअनुसार पदीय जिम्मेवारी भएन। महिला, दलित, मधेशी, मुस्लिम र जनजातिको समान उपस्थिति छैन भन्‍ने आक्षेप पनि लागिरहेको छ नि ?

यसलाई हामीले आक्षेप नभई सकारात्मक ढंगबाट लिएका छौँ। हो, पक्कै पनि पार्टी निर्माणको क्रममा हामीले सोचेअनुरूप हुन सकेको छैन। तर, हामी समान सहभागिता र समावेशिताका लागि काम गर्दैछौँ। हामीले एकीकृत समाजवादी पार्टीमा दलित, मुस्लिम र मधेशलाई समावेश गर्न पाएका छैनौँ, त्यो हामी स्वीकार्छौँ। तर, दलित, मुस्लिम, मधेशलगायत अल्पसंख्यक समुदायलाई समावेश गर्ने तयारीमा छौँ, जुन हामीले छिट्टै गर्नेछौँ।

र, अब रह्यो महिला समावेशिताको कुरा। एकीकृत समाजवादीमा महिलाको उपस्थिति निकै उत्साहजनक छ। पार्टी दर्ताको क्रममै एक सय ११ सदस्यमा महिला ४० जना हुनुहुन्थ्यो, जुन निकै सकारात्मक र उत्साहजनक उपस्थिति हो। यो विषयमा सञ्‍चार माध्यमले पनि हाइलाइट गर्नुपर्ने हो तर गरेनन्। पार्टीलाई आएको यस्ता सकारात्मक सुझावउपर हामी काम गर्दैछौँ। सुझाव दिनुहुने सबैलाई धन्यवाद दिन्छौँ।

एकीकृत समाजवादी पार्टी सुरुमै कमजोर देखिएको आरोप पनि छ नि। के भन्‍नुहुन्छ ?

एकीकृत समाजवादी पार्टी कुनै हतारमा छैन। हामी समय लिएर काम गरिरहेका छौँ। कतिपय पार्टीका साथीहरूलाई कुर्नका लागि होस् या पार्टीमा सही व्यक्तिहरू चुन्‍न होस्, समय लिँदै अगाडि बढिरहेका छौँ। अर्को कुरा हामीले कुनै नयाँ पार्टी निर्माण गरेका होइनौँ। हामीले त व्यक्तिवादी अहंकारवाद, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध विद्रोह गरेका हौँ। तसर्थ, नेपाल (एकीकृत समाजवादी) विद्रोह गरेर निर्माण गरिएको नयाँ पार्टी हो। त्यसैले ढिला गरेका होइनौँ, समय लिएका हौँ।

के त्यसो भए एकीकृत समाजवादीले वैकल्पिक धारको नेतृत्व गर्छ ?

एकीकृत समाजवादीले वैकल्पिक धारको राजनीतिको नेतृत्व अवश्य गर्छ। राजनीतिक, आर्थिक स्वच्छता र पारदर्शितासहित अगाडि बढ्छ। पूर्ण अनुशासनको पालनासहित स्वच्छ एवं पारदर्शी ढंगले पार्टीलाई अगाडि बढाउने छौँ।

पार्टीलाई  देशभक्ति र स्वाभिमानी राजनीतिक शक्तिको रूपमा स्थापित गर्नेछौँ। देशको लोकतन्त्र, समाजवाद र राष्‍ट्रको पहरेदार शक्तिका रूपमा स्थापित हुनका लागि पार्टीभित्र विभिन्‍न एजेन्डा तय गर्नु आवश्यक छ। सबैभन्दा मर्कामा परेका श्रमजीवी वर्ग छन् तसर्थ श्रमजीवीको हितका लागि कार्ययोजनाहरू तयार गर्नुपर्नेछ। सामाजिक, आर्थिक र राजनीतिक रूपले उपेक्षित वर्गहरूको प्रतिनिधित्व गर्दै क्रान्तिकारी पार्टीका रूपमा पुनःस्थापित गरी गतिशील रूपमा अगाडि बढ्ने छौँ।

आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्तासहितको पार्टी निर्माण भइरहेको हुँदा विशेष योजना तयार गरिँदैछ। ५ असोजमा बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको दस्तावेज एक साताभित्र सार्वजनिक गर्नेछौँ। पार्टीका अन्य गतिविधिका प्रतिवेदनहरू पनि छलफलपछि सार्वजनिक गरिनेछ।

प्रसंग बदलौँ, वामदेव गौतमले एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिनुभयो। उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्ने कुरा पनि आएको थियो। तर, सतहमा त्यो प्रकट हुन सकिरहेको छैन नि ?

वामदेव गौतम पार्टीका लागि महत्त्वपूर्ण र आवश्यक व्यक्तित्व हुनुहुन्छ, उहाँलाई जिम्मेवारी दिन नखोजिएको होइन। उहाँ पनि एकीकृत समाजवादीमा आउन नचाहनुभएको होइन। यस विषयमा उहासँग छलफल हुँदैछ। र, त्यो छलफल चाँडै निष्‍कर्षमा पुग्‍नेछ।

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्