नेपाली आकाशमा प्रतिस्पर्धा गर्दै एटीआर र बमबार्डियर

काठमाडौं, असोज ६ : निजीक्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले हालै जेटस्ट्रिम जहाजहरूलाई ‘फेजआउट’ गर्दै एटीआर युगमा प्रवेश गर्ने निर्णय गर्‍यो। आन्तरिक उडानमा बढ्दो प्रतिस्पर्धामा खरो उत्रिन एटीआर जहाज नै उपयुक्त हुने निष्‍कर्षमा यती एयरलाइन्स पुग्‍नुको परिणति हो यो।

हुन पनि, यतीको प्रतिस्पर्धी कम्पनी बुद्ध एयरले आफ्नो आन्तरिक उडानमा एटीआरको सफल प्रयोग गरिसकेको छ। र, बुद्धलाई अग्रणी एयरलाइन्सको श्रेणीमा पुर्‍याउने श्रेय एटीआरलाई नै जान्छ। यतीले पनि ‘ट्रंक रुट’मा एटीआर जहाज प्रयोग गर्न थालेको चार वर्ष बितिसकेको छ। यतीसँग अहिले एटीआर-७२ मोडेलका पाँचवटा जहाज छन्, जो ‘ट्रंक रुट’मा उड्छन्।

अब २९ सिट क्षमताका जेटस्ट्रिम जहाजलाई बिदा गर्दै पूर्ण रूपमा एटीआर युगमा प्रवेश गर्ने यतीको योजना छ।

अर्थात्, अब नेपाली आकाशका दुई प्रमुख हवाई सेवा प्रदायक कम्पनीहरू (बुद्ध एयर र यती एयरलाइन्स) एटीआर जहाजमार्फत प्रतिस्पर्धामा उत्रिँदै छन्। र, ती दुवै कम्पनीलाई बम बार्डियर जहाजमार्फत सौर्य र श्री एयरलाइन्सले पछ्याउँदै छन्। निश्‍चित छ, आगामी केही वर्ष नेपाली आकाशमा एटीआर र बम बार्डियर जहाजको तीव्र प्रतिस्पर्धा देखिने छ।

नेपाली आकाशको उद्घाटन डकोटाबाट

तत्कालीन शाही नेपाल वायु सेवा निगमले डकोटा डीसी-३ जहाजमार्फत नै सुरु गरेको थियो उडान। त्यो जहाज २८ सिट क्षमताको थियो। सन् १९५८ देखि १९७३ सम्म निगमले डकोटा जहाजमार्फत आन्तरिक र भारत दिल्लीसम्मको उडान सञ्चालन गरेको थियो।

निगमका तीनवटा डकोटा जहाज त्यसबीचमा दुर्घटनामा परे। अत्यधिक आवाज र इन्धन खपतका कारण नेपाली आकाशबाट यो जहाज डेढ दशकमै बिदा भयो।

पिलाटस पोर्टर्सले पनि बोक्यो यात्री

नेपाली आकाशमा पिलाटस पोर्टर्स जहाजले लामो समय राज गर्‍यो। नेपाल सरकारले सिंगल इन्जिनका जहाज उडाउन फागुन ०७५ मा प्रतिबन्ध लगाउन्जेलसम्म यो जहाज उडिरहेकै थियो, कहिले यात्री लिएर त कहिले भारी बोकेर। निगम मात्र होइन, यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि उडाएको यो जहाज।

निगमले पिलाटसको पहिलो उडान सन् १९६१ मा गरेको थियो भने १९९८ मा आएर आफ्नो ‘फ्लिट’बाट सधैँका लागि यो भरियालाई बिदा गर्‍यो। यो जहाजमा ६ जना यात्री मात्र उड्न सक्थे। र, यो ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ’ (स्टल) रुट अर्थात् पहाडी भेगका विमानस्थलमा उडाउने गरिएको थियो।

लामो समय ट्‍विनअटरको राज

सन् १९७१ देखि ट्‍विनअटर जहाजले नेपाली आकासमा उडान सुरु गर्‍यो। १९ सिट क्षमताको क्यानेडियन जहाज हो यो। पाँच दशकदेखि नेपाली आकाशमा उडिरहेका छन्, ट्‍विनअटर जहाज।

सुरुमा निगमले नै भित्र्याएको हो, ट्‍विनअटर। त्यसपछि अन्य निजी क्षेत्रका कम्पनीले पनि यो जहाजबाट सेवा दिए।

तत्कालीन सांग्रिला एयर बन्द भएपछि त्यसका ट्‍विनअटर जहाज यती एयरलाइन्सले खरिद गर्‍यो। अहिले यतीको भगिनी कम्पनी तारा एयरले ट्‍विनअटर जहाज उडाइरहेको छ। अहिले निगमसँग दुईवटा ट्‍विनअटर छन् भने तारा एयरसँग चारवटा जहाज छन्।

एभ्रोको छोटो सेवा

यसबीचमा नेपाली आकाशमा एभ्रो जहाजले पनि सेवा दिए। बेलायतमा बनेका ‘हकर सिडली एचएस-७४८’ मोडलका टर्बोप्रप जहाज सन् १९७० मा पहिलोपटक निगमले भित्र्याएको थियो। निगमले सन् १९९६ सम्म एभ्रो जहाज उडायो।

निगम सँगसँगै नेपाल एयरवेज र नेकोन एयरले एभ्रो जहाज सञ्चालन गरेका थिए। नेपाली आकाशमा एभ्रो जहाज असफल मात्र भएन, यी दुवै कम्पनी पनि बन्द भए। ४४ सिट क्षमताको एभ्रो जहाजमार्फत आन्तरिक र अन्तर्राष्‍ट्रिय गन्तव्यमा पनि उडान सञ्चालन भएको थियो। अहिले नेपाली सेनाले मात्र आन्तरिक प्रयोजनका लागि एभ्रो जहाज उडाउँदै आएको छ।

यसबीचमा थुप्रै मोडेलका जहाज नेपाली आकाशमा उडे। कस्मिक एयर नामक कम्पनीले एक सय सिट क्षमताको ‘फोकर-१००’ जहाज ल्यायो। र, उक्त जहाजको असफलतासँगै कम्पनी पनि बन्द भयो। अहिले कस्मिक एयरको उक्त जहाज धनगढीस्थित एयरक्राफ्ट म्युजियमको शोभा बनेको छ।

निगमले नै सन् १९६३ देखि १९६५ सम्म चिनियाँ जहाज ‘फङ सु हार्भेस्टर एएन-२’ बाट पनि उडान गरेको थियो। निगमसँग सन् १९६६ देखि १९७० सम्म ‘फोकर फ्रेन्डसिप एफ-२७’ जहाज पनि थियो।

अहिले तारा एयरले डोर्नियर जहाजबाट पहाडी सेक्टरमा सेवा दिइरहेको छ। यस्तै, समिट एयरले ‘सेस्‍ना ग्रान्ड क्याराभान २०८ बी’ र ‘एलइटी ४१० यूभीपी-ई२०’ जहाजमार्फत पहाडी क्षेत्रमा उडान भरिरहेको छ। सीता एयरले डोर्नियर, मकालु एयरले सेस्‍ना जहाजमार्फत सेवा दिइरहेका छन्।

नेपाल वायु सेवा निगम ट्‍विनअटर जहाजबाटै उचाइमा पुगेको हो, जसको पुरानो भर्सन बन्द भए पनि नयाँ भर्सनको उत्पादन जारी छ। चेक रिपब्लिकमा उत्पादन हुने एलईटी जहाज पनि नेपाली आकाशमा उडिरहेको छ, राम्रो परफरमेन्सका साथ। बुद्ध एयरको बिचक्राफ्टको परफरमेन्स उत्कृष्‍ट छ। जेटस्ट्रिम, बम्बार्डियर जहाजहरूले पनि राम्रै कमाई गरिरहेका छन्। सबैभन्दा राम्रो परफरमेन्स बु्द्ध एयरले चलाइरहेका एटीआर जहाजहरूको छ। बुद्ध एयरले ती जहाज थपेको थप्यै छ र ट्रंक रुटमा यात्रीको मन पनि जितेको छ। 

कथा चिनियाँ जहाजको

त्यसो भए निगमले किन खरिद गर्‍यो चिनियाँ जहाजहरू ? त्यसको कथा कम रोचक छैन। स्वर्गीय क्याप्टेन रतनबहादुर लामिछानेको पुस्तक ‘आकाशको दुनियाँ’मा उल्लेख भएअनुसार निगमले एयरबस ३२० को साथमा एटीआर-४२ पनि ल्याउने योजना बनाएको थियो। गणेश ठाकुर प्राविधिकतर्फका उपमहाप्रबन्धक थिए। उनको टोलीले एटीआर-४२ को प्रस्ताव पनि तयार पारेको थियो।

युरोपको एक्जिम बैंकबाट ऋण लिनेलगायत सबै योजना बनिसकेको थियो। यही अवस्थामा चिनियाँहरूले एमए-६० को प्रस्ताव लिएर आए। चिनियाँ कम्पनीका प्रतिनिधि सधैं ठाकुरकहाँ किचकिच गर्न पुगिरहन्थे। ती प्रतिनिधिको प्रस्तावमा एमए-६० मात्र नभई वाई-१२ पनि थियो।

‘उनी ती जहाज काम नलाग्‍ने भनेर पन्छेको पन्छ्यै थिए। ठाकुरलाई कसैले भनेछ, ‘यो चिनियाँ व्यापार गर्न आएको हो, दुःख दिइरहन्छ। सित्तैंमा दे भन्‍नोस् न।’ ठाकुरलाई पनि झोंक चलेछ र ‘ग्रान्टमा देउ’ भनेछन्। चिनियाँ कम्पनीका ती प्रतिनिधिलाई त के खोज्छस् काना आँखो भनेझैं भएछ,’ पुस्तकमा उल्लेख छ, ‘चिनियाँ कति बदमास देखिए भने एउटा अनुदान र अर्को सहुलियतपूर्ण ऋणमा भन्‍ने प्रस्ताव ल्याइदिए। फन्दामा पर्‍यो निगम व्यवस्थापन। पन्छाउन खोज्दा गलपासो बनिदियो। त्यसपछि एटीआर-४२ को योजना तुहियो। मन्त्रालयदेखि नागरिक उड्यन प्राधिकरणका अधिकारीसम्मलाई सहमत गराएर चिनियाँ कम्पनीले निगममा ल्याएर प्रस्ताव लादिदियो।’

पोखरामा पनि एमए-६० जान नसक्ने प्रमाणित भइसक्यो। वाई-१२ जहाज पनि पोखरा जाँदा १४ जनाभन्दा बढी बोक्न सक्दैन। लुक्लामा पनि कम यात्री लिएर मात्र उड्न-अवतरण गर्नुपर्छ वाई-१२ लाई। त्यसैले श्री र सौर्य एयरलाइन्सले चलाइरहेका बमबार्डियर तथा बुद्ध एयरका एटीआर ४२ र एटीआर ७२ जहाजहरूसँगको यसले प्रतिस्पर्धा गर्नै सक्दैन।

यी चिनियाँ जहाज नउडाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिसकेको छ। तर, कहाँ थन्क्याउने या कसरी बिक्री गर्ने भन्‍ने कुरामा निगम व्यवस्थापन र मन्त्रालयले ठोस निर्णय लिन सकेका छैनन्।

कब्जा एटीआरको

निगमले त एटीआर जहाज खरिद गर्ने सोच धेरैपछि तयार पारेको हो। त्यसअघि नै बुद्ध एयरले एटीआरको सफल व्यावसायिक उडान थालिसकेको थियो। सन् २००८ मै एटीआर ४२ र एटीआर ७२ जहाज बुद्ध एयरले भित्र्याएको थियो। त्यसपछि लगातार एटीआर जहाज भित्र्याइरहेको छ, बुद्ध एयरले। अहिले बुद्ध एयरसँग १० वटा एटीआर ७२ र तीनवटा एटीआर ४२ जहाज छन्।

निगमको एटीआर खरिद योजना अधुरै छ। यसबीचमा यती एयरलाइन्स पनि एटीआरको यात्रामा अगाडि बढेको छ। ४ साउन ०७४ मा यतीले पहिलोपटक एटीआर-७२ जहाज भित्र्याएको थियो। अहिले यतीसँग पाँचवटा एटीआर-७२ जहाज पुगिसकेका छन्। थप जहाज खरिद गर्ने योजनामा यो एयरलाइन्स छ।

सरकारी स्वामित्त्वको निगमको उडान लगातार खुम्चिँदै गर्दा बुद्ध एयर र यती एयरलाइन्सको सेवा विस्तार भएको भयै छ। अब त, पहाडी क्षेत्रमा पनि एटीआर जहाज नै पुग्‍न थालेको छ। त्यसको उदाहरण हो- बुद्ध एयरले एटीआर-४२ जहाजमार्फत संखुवासभाको तुम्लिङटार विमानस्थलमा सुरु गरेको सेवा। सुर्खेत विमानस्थलमा पनि एटीआर जहाजबाटै सेवा सुरु गरेको छ, बुद्ध एयरले। भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीजस्ता ट्रंक रुटमा यो जहाज सफल भइसकेको छ।

बमबार्डियरबाट श्री र सौर्यको सेवा

सन् २०१४ मा हवाई सेवा सुरु गरेको सौर्य एयरलाइन्सले पहिलोपटक १४ अगस्ट २०१४ मा बमबार्डियर जहाज भित्र्याएको थियो। अहिले यो कम्पनीसँग ‘बम बार्डियर सीआरजे २०० एलआर-ईआर’ मोडेलका तीनवटा जहाज छन्। यी जहाजको सिट क्षमता ५० छ। नेपाली आकाशमा बमबार्डियर जहाज भित्र्याउने श्रेय सौर्य एयरलाइन्सलाई नै जान्छ। एटीआरभन्दा तीव्र गति र जेट इन्जिन भएकाले बमबार्डियरको सेवा पनि छिटो र छरितो छ। 

लामो समयदेखि ठूलो क्षमताका हेलिकोप्टर उडाइरहेको श्री एयरलाइन्स पनि २०१७ देखि ‘फिक्स्ड विङ’मा आयो। सुरुमै बमबार्डियरका तीनवटा जहाजबाट श्रीले आन्तरिक उडान सुरु गर्‍यो। अहिले यो कम्पनीसँग ‘बमबार्डियर सीआरजे २०० ईआर’ जहाज दुई, ‘बमबार्डियर सीआरजे ७००’ जहाज दुई र ‘बमबार्डियर ड्यास ८ क्यू ४००’ जहाज दुईवटा छन्। ‘बमबार्डियर सीआरजे २०० ईआर’ जहाजमा ५०, ‘बमबार्डियर सीआरजे ७००’मा ७० र ‘बमबार्डियर ड्यास ८ क्यू ४००’ जहाजमा ७८ सिट क्षमता छ।

सेवा सुरु गरेको छोटो अवधिमै श्री एयरलाइन्सले नेपालको निजीक्षेत्रको तेस्रो ठूलो हवाई सेवा प्रदायक बन्‍ने अवसर प्राप्त गरिसकेको छ, जसले कुल मार्केट सेयरको १५ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको छ।

पहिलो ठूलो बुद्ध एयर र दोस्रो यती एयरलाइन्सलाई श्री र सौर्यले पछ्याइरहेका छन्। अर्थात्, नेपाली आकाशमा एटीआर कम्पनीका जहाजलाई बमबार्डियर कम्पनीका जहाजले पछ्याइरहेका छन्।

 Published Date: Wednesday, 22nd September 2021 4:34:00 pm