Kathmandu Press

कांग्रेसको १४ औँ महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि?

केन्द्रीय सभापतिलाई अधिकारप्राप्त मनोनित सदस्यसमेत गरी बढीमा चार हजार ६ सय २३ जना कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधि हुनेछन्।
कांग्रेसको १४ औँ महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि?
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : यतिबेला कांग्रेसका तल्लो तहमा अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् ।

सबै तहका अधिवेशन सम्पन्न भएपछि पार्टीको १४औँ महाधिवेशन ९-१३ मंसिरमा सम्पन्न गर्ने तालिका छ । त्यसका लागि देशभरबाट महाधिवेशन प्रतिनिधि चुनिने छन् ।

प्रतिनिधिसभाका एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट २५-२५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने छन् । त्यो भनेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार हजार एक सय २५ जना प्रतिनिधि हुने छन् ।

यस्तै, सबै जिल्लाबाट १-१ जना अपांगता भएका व्यक्ति महाधिवेशन प्रतिनिधि हुने छन् । त्यो भनेको ७७ वटै जिल्लाबाट ७७ जनाको प्रतिनिधित्व हुनेछ ।

यस्तै, विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील संख्याका आधारमा दुई सय जनाभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

हालको केन्द्रीय समितिका एक सय ३१ सदस्य पनि महाधिवेशन प्रतिनिधि हुने विधानमा व्यवस्था छ । यसैगरी, १८ वटा भातृ र शुभेच्छुक संगठनबाट करिब ५० जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

सबैगरी कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार पाँच सय ८३ जना महाधिवेशन प्रतिनिधि हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए ।

कांग्रेसको विधानमा ६ प्रकारका केन्द्रीय महाधिवेशन प्रतिनिधिको व्यवस्था छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जना, दुई वा त्यसभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पनि २५ जना, निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र केन्द्रीय सदस्यहरू, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाबाट आउने महाधिवेशन प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका अधिवेशनबाट निर्वाचित भई आउने प्रतिनिधि तथा केन्द्रीय सभापतिले क्रियाशील सदस्यमध्येबाट मनोनित गर्ने बढीमा ४० जना प्रतिनिधिको व्यवस्था छ ।

केन्द्रीय सभापतिलाई अधिकारप्राप्त मनोनित सदस्यसमेत गरी बढीमा चार हजार ६ सय २३ जना कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधि हुनेछन् ।

क्षेत्रीय प्रतिनिधिको छैन यकिन आँकडा ?

देशभरका ६ हजार सात सय ५३ वटा वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधिको आँकडा भने देशभरका सबै वडा अधिवेशन सम्पन्न नहुन्जेल यकिन नहुने भएको छ । जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था भएकाले संख्या यकिन हुन नसकेको निर्वाचन समिति सदस्य पोखरेलले जानकारी दिए ।

उनका अनुसार एउट वडाबाट कम्तीमा १६ र बढीमा ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि हुने विधानको व्यवस्था छ । जस्तो– डेढ सयसम्म क्रियाशील सदस्य रहेका वडाबाट १६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् भने एक हजार क्रियाशील सदस्य भएका वडाबाट ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था छ ।

यस्तै, सातै प्रदेशमा प्रतिनिधिका रूपमा तीन सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रबाट पाँच हजार ६ सय १० जना चयन हुनेछन् ।

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्