Kathmandu Press

‘वामदेव एकीकृत समाजवादीमा आउनुहुन्छ, एमालेमै छुटेका १० भाइ तड्पिँदै बस्छन्’

वामदेव गौतम एकीकृत समाजवादीप्रति सकारात्मक हुनुहुन्छ। अन्तिम समयमा जसले हाम्रो साथ छोड्नुभयो, उहाँहरू एमालेभित्र तड्पिएर बस्नुभएको छ। ओली प्रवृत्तिको अगाडि घुँडा टेकेर छटपटाउँदै बस्नुभएको छ।
‘वामदेव एकीकृत समाजवादीमा आउनुहुन्छ, एमालेमै छुटेका १० भाइ तड्पिँदै बस्छन्’
Hardik ivfHardik ivf

नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख तथा प्रवक्ता हुन् जगन्नाथ खतिवडा। विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा प्रवेश गरेका अनेरास्ववियुको महासचिवसम्म बनेर एमालेको राजनीतिमा होमिएका थिए। ०५६ सालको आम निर्वाचनमा तत्कालीन उदयपुर क्षेत्र नम्बर २ बाट सांसद बने। एमाले र माओवादी केन्द्रबीच एकतापछि नेकपा गठन भएपछि अध्यक्ष केपी ओलीको कदमको सबैभन्दा पहिलो विरोधीका रूपमा प्रकट भए। प्रदेश कमिटी गठनमा मापदण्ड मिचेको विरोधमा उनी सार्वजनिक रूपमै उत्रिएका थिए। त्यसपछि तत्कालीन नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा प्रस्ताव गर्ने पहिलो नेता पनि थिए, खतिवडा। एमालेमा विवाद कायम रहँदा पार्टी विभाजन भयो र नेकपा (एकीकृत समाजवादी) खडा भयो। उनले पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रस्तुत छ, पार्टी, संगठन र भविष्यको सम्भावित राजनीतिक परिदृश्यमा केन्द्रित रहेर काठमाडौं प्रेसका लागि शुष्मा बरालीले खतिवडासँग गरेको संवाद :

पार्टी केन्द्रीय कार्यालयको पनि टुंगो लाग्यो। संगठन सुदृढीकरण अभियान कसरी अगाडि बढेको छ?

नेकपा (एकीकृत समाजवादी)का कमिटीहरू कतै विस्तार हुँदैछन् भने कतै गठनको प्रक्रियामा छन्। देशभरका लगभग ५५ जिल्लामा कमिटी गठन भइसकेका छ। पार्टीको विधानअनुसार लगभग ७७ हजार ८१ वटा कमिटी हुनेछन्। देशभर ७७ वटै जिल्ला कमिटी हुन्छन् र सातवटा प्रदेशस्तरीय कमिटीहरू पहिल्यै गठन भइसकेका छन्।

दुई तिहाइ जिल्ला कमिटीहरू गठन भइसकेका छन्। सबै जिल्ला कमिटी सक्रिय रूपले अगाडि बढिरहेका छन्। सबै जिल्लामा अहिले वडास्तरीय कमिटी गठनको काम भइरहेको छ। देशव्यापी रूपमा एकीकृत समाजवादीका कार्यकर्ताका रूपमा युवा पुस्ताको अत्यधिक सहभागिता देखिन्छ। खासगरी नयाँ पुस्ताले नयाँ विचारधार बोकेको नयाँ कम्युनिस्ट पार्टी खोजेको रहेछ। भोलिदेखि केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ। हामी केन्द्रीय कमिटी बैठकबाट आवधिक कार्ययोजना बनाएर सँगठन सुदृढीकरण र कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण गर्ने अभियानमा छौँ।

पार्टीमा युवा पंक्तिको आकर्षण कस्तो छ?

एकीकृत समाजवादीमा नयाँ पुस्ता भित्रिने क्रम दिनानुदिन बढिरहेको छ। पार्टीका हरेक कार्यक्रममा युवा पुस्ताको उत्साहजनक उपस्थिति रहन्छ। एमालेमै बसिरहेका कमरेडहरू सबैभन्दा बढी हाम्रो कार्यक्रममा सहभागी हुनुभएको छ।

एमालेको नेतृत्व पंक्तिले युवालाई जम्मा तीनवटा कुरा सिकायो। (१) केपी ओलीको पूजा गर्न, जयजयकार गर्न अझ भनौँ केपी ओलीलाई देवत्वकरण गर्न सिकायो। (२) कमिटीहरू र सँगठनको प्रणालीलाई अराजनीतिकरण गर्न सिकायो। नियम, अनुशासन, पार्टीको मूल्य मान्यता, आदर्शलगायत सबै कुरा समाप्त पारेर केपी ओली जयजयकार गरी भक्तिगान गाए भइहाल्ने भाव जगायो। सिद्धान्त, विचार, निष्ठाको राजनीति गर्न नपर्ने, कमिटीलाई अराजनीतिकरण गर्न सिकायो। (३) र, व्यक्तिलाई भ्रष्ट बनाउन सिकायो। व्यक्तिलाई लोभ देखाएर, लाभ बाँडेर र विचारशून्य मानिसको भीड जम्मा गरेर लाभ र स्वार्थका निम्ति केपी ओली, भ्रष्टाचारको संरक्षण गर्नदेखि तस्करी र माफियागिरि ठेक्काको निम्ति केपी ओली बनाएर सारा युवालाई ध्वस्तीकरण गदै स्वार्थका लागि पार्टीमा लाग्न अभिप्रेरित गरे ।

यी तीन प्रवृत्ति भएका नेता-कार्यकर्ता पार्टी र देशका लागि घातक हुन्छन्। यस्ता मनोवैज्ञानिक भएका युवापंक्ति हाम्रो पार्टीमा छैनन्। यस्ता प्रवृत्ति भएका युवा केपी ओलीसँगै छन्, हामीसँग मात्र इमानदार कार्यकर्ताहरू मात्र छन्। परिवर्तन चाहने, विचारको राजनीति गर्ने युवा छन्। त्यसकारण हामीसँग इमानदार नेता-कार्यकर्ताहरू छन्, पार्टीलाई बदनाम गर्दै हिँड्ने, विवाद सिर्जना गर्ने र युवाको नाममा युवाको स्वभाव र चरित्रको दुरूपयोग गर्ने मान्छेहरू हामीसँग छैनन्।

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा घोषणा गर्नुभयो। उहाँ एकीकृत समाजवादीमा आउने चर्चा पनि थियो। तर, अझै त्यसले औपचारिकता पाएको छैन। कारण के हो?

एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमा अटाउन नसक्ने घोषणा गर्नुभयो। एमालेले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सक्दैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो। उहाँको निष्कर्ष र हाम्रो निष्कर्ष मिलेको छ। अब एकीकृत समाजवादीमा बस्नका निम्ति उहाँले राजनीतिक बहस प्रारम्भ गर्नुभएको छ। दृष्टिकोणहरूको मेल गराउनको निम्ति अर्थ-राजनीतिक बहस आवश्यक हुन्छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र गौतमका बीचमा भएका बहस, छलफल स्थायी कमिटीमा आउनेछ। त्यसपछि अन्य तपसिलका कुराहरू किनारा लाग्ने छन्। र, नेता गौतम एकीकृत समाजवादीप्रति सकारात्मक हुनुहुन्छ।

एमालेमै बसेका १० जना नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई हरेक सार्वजनिक कार्यक्रममा सम्झिँदै आएका छन्। उहाँ एमालेमै फर्किए हुन्थ्यो भन्ने गरेका छन्। नेपालले पनि आफ्ना नेता-कार्यकर्तालाई उनीहरूलाई गाली नगर्न आग्रह गर्दै आउनुभएको छ। सम्झनाको यो तरेलीले कतै मिलन विन्दु पो भेटिने हो कि?

अन्तिम समयमा जसले हाम्रो साथ छोड्नुभयो, उहाँहरू एमालेभित्र तड्पिएर बस्नुभएको छ। ओली प्रवृत्तिको अगाडि घुँडा टेकेर छटपटाउँदै बस्नुभएको छ। केपी ओली प्रवृत्तिको अराजकता र स्वेच्छाचारिताको विरोध गर्न नसकेर बस्नुभएको छ। केपी ओली प्रवृत्तिका अगाडि देश, विकास र समृद्धिलाई समाधिस्थ गर्नुभएको छ।

त्यसकारण उहाँहरूको निरिहता देखेर हामीलाई बडो दुःख लाग्छ। हामीले आज पनि प्रवृत्तिको विरोध गरेका हौँ। व्यक्तिको विरोध गरेका होइनौँ। त्यो समयमा हामीलाई साथ दिनुभएन, तसर्थ उहाँहरू गुणस्तरीय मान्छे नै होइन। विचारको हिसाबले उहाँहरू पलायन हुनुभयो, त्यसमा हामीलाई दुःख लागेको छ। एकीकृत समाजवादीमा व्यक्ति जहिले आए पनि हामी स्वागत गर्न तयार छौँ। तर, प्रवृत्ति, त्यही अवसरवाद र त्यही कमजोरपन लिएर नआउनु हुन अनुरोध गर्दछौँ।

निकट भविष्यमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच पार्टी एकतासम्म हुने सुन्नमा आएको छ। के बृहत समाजवादी केन्द्र निर्माणको प्रक्रिया अगाडि बढिसकेको हो?

तत्काल त्यस्तो कार्ययोजना त केही पनि छैन। तर, समग्र समाजवादी पार्टीहरू बीच सहकार्यको राजनीति अगाडि बढाउने भन्ने हो। देश र संविधानको रक्षाको निम्ति सहकार्यको राजनीति अगाडी बढाउने भन्ने हो। अलिकति सहकार्य गर्दै जाँदा राम्रो कामले राम्रै परिणाम निकाल्छ भन्ने हो।

चुनावमा तालमेल वा सहकार्य हिजो पनि भएको थियो, आज पनि गर्न सकिन्छ। तर, पार्टी एकीकरण गर्ने विषयमा अहिले केही छलफल भएको छैन। देशको संविधान र संसद जोगाउनका निम्ति हामीले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्‍यौँ, जोगाउन सफलता पनि पायौँ। पुनरुत्थानवाद र मुलुकलाई अस्थिरतातिर धकल्नेलगायत देशमा संकट पैदा गर्ने प्रवृत्तिका विरुद्ध हाम्रो सहकार्यको फेरि-फेरि पनि हुन्छ। आगामी दिनमा पनि त्यो सम्भावना छ। तर, आज नै एकीकरणको विषयमा कुनै बहस, टुंगो भइसक्या छैन।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्