जहाँ ५० छात्राले संस्कृत पढ्छन् तर महिनावारी हुँदा पुस्तक छुँदैनन्

काठमाडौं, साउन ४ : नवलपरासीकी १२ वर्षीया उर्मिला विक चितवनको देवघाटधामस्थित ‘श्री रामजानकी गार्गी कन्या गुरुकुलम् विद्यालय’को कक्षा ७ मा संस्कृत अध्ययन गर्दै छन् । ‘घरमा हजुरबुबा संस्कृत पढ्न रुचाउनुहुन्थ्यो, उहाँले संस्कृत पढेको सुन्दा पढ्न मन लाग्थ्यो,’ उर्मिला भन्छिन्, ‘गाउँका दाइ पर्नेले महिला संस्कृत पढ्ने स्कुल छ भन्ने खबर गरे, अनि म पढ्न आएँ ।’ 

गाउँकै निजी विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेकी उर्मिलाले यहाँ कक्षा ६ देखि पढेकी हुन् । संस्कृत पढेर ज्योतिषी बन्ने उनको लक्ष्य छ

धादिङको बेनीघाटरोराङ गाउँपालिकाकी १४ वर्षीया रित्तिका घलाङ यहाँ कक्षा ९ मा पढ्दै छन् । गाउँकै सामुदायिक स्कुलबाट कक्षा ५ उत्तीर्ण गरेर यहाँ पढ्न आएकी रित्तिका भन्छिन्, ‘गाउँघरमा संस्कृत अध्ययन गर्दा राम्रो हुन्छ भन्ने सुनेकी थिएँ, त्यसैले पढ्न मन लाग्यो ।’

०७५ देखि सञ्चालनमा आएको यस विद्यालयमा अहिले कक्षा ६ देखि कक्षा ९ सम्म संस्कृत अध्ययन गराइन्छ । विद्यार्थी कक्षा चढ्दै जाँदा कक्षा पनि बढाएर १२ सम्म पु¥याइने योजना छ । विद्यालयका प्रधानाध्यापक खिमनाथ चालिसे भन्छन्, ‘भर्खर सुरु भएकाले कक्षा थप हुँदै जाने क्रममा छ ।’

प्रधानाध्यापक खिमनाथ चालिसे

संस्कृत शिक्षाअन्तर्गत कक्षा १० भन्दा कमलाई ‘पूर्व मध्यमा’ ११–१२ कक्षालाई ‘उत्तरमध्यमा’ भनिन्छ । शास्त्री र आचार्य (स्नातक र स्नाकोत्तर)सम्म अध्ययन गराउने उद्देश्य रहेको चालिसे बताउँछन् । अहिले कक्षा १२ सम्मको अनुमति लिइएको छ । 

संस्कृत विद्यालय भन्दैमा संस्कृत मात्रै पढाइने भन्ने होइन । अन्य सामुदायिक विद्यालयको तुलनामा संस्कृत पुस्तक मात्र थप हुने हो । ‘संस्कृतमा खासगरी चार वेद पढाइने चलन छ,’ प्रधानाध्यापक चालिसे भन्छन्, ‘यहाँ चार वेदमध्ये यजुर्वेद अध्ययन गराइन्छ । यजुर्वेद मन्त्र जानेकाले पूजापाठदेखि श्राद्ध गर्न सक्छन् ।’ 

संस्कृत पढ्ने बाहुन–क्षत्री पुरुषले मात्र हो भन्ने मान्यता समाजमा अझै पाइन्छ । तर, यहाँ दलित, जनजाति र बाहुनक्षत्री परिवारका छात्राले पढिरहेका छन् । ‘विद्यालयले कुनै भेदभाव गरेको छैन । जुनसुकै समुदायको आए पनि अध्ययन गराइन्छ,’ प्रधानध्यापकले भने ।

२२ छात्राबाट सुरु, अहिले ५० पुगे 

देशभर पुरुषले पढ्ने गुरुकुल दुई सय ५४ भन्दा बढी छन् । महिला गुरुकुल भने भर्खर खुल्न थालेको देखिन्छ । गुरुकुलमा विशेषतः छात्रावासमा राखेर पढाइन्छ । पुरुषवादी समाजमा महिलालाई राख्ने छात्रावास नबनाउनु, परिवारबाटै महिलालाई पुरुषसरह स्वतन्त्र रुपमा घरबाहिर बस्न नदिनु आदि कारण महिलाले संस्कृत गुरुकुलमा पढ्न नपाएको वा नआएको तर्क गरिन्छ ।  

यो अवस्थामा महिलाका लागि ‘श्री रामजानकी गार्गी कन्या गुरुकुलम्’ नेपालमै पहिलो समावेशी संस्कृत विद्यालय भएको प्रधानाध्यापक चालिसे बताउँछन् । ‘वेदमा उल्लेख मन्त्रको सत्यतथ्य अर्थ खोज्ने उद्देश्यले यस विद्यालय खोलिएको हो,’ प्रधानाध्यापक भन्छन्, ‘सुरुवाती दिनमा विद्यार्थी खोज्न कठिन भयो, तर अहिले सहज वातावरण भइसकेको छ ।’

०७५ सालमा विद्यालय सञ्चालनमा ल्याउँदा २२ छात्रा थिए । अहिले यहाँ विभिन्न जिल्लाका दलित, जनजाति, बाहुन–क्षत्री गरी ५० छात्राले अध्ययन गर्छन् । कक्षा ६ मा २०, कक्षा ७ मा १०, कक्षा ८ मा सात र कक्षा ९ मा १३ छात्रा छन् । 

अहिले यहाँ ४५ जिल्लाका छात्राले पढ्छन् । प्रत्येक जिल्लाबाट कम्तीमा एकजना भए पनि आऊन् भन्ने विद्यालयको अपेक्षा रहेको चालिसे बताउँछन् । 

‘महिनावारी हुँदा पुस्तक छुँदैनन्’ 

यहाँका छात्राले महिनावारी भएका बेला कक्षामा बसेर अध्ययन गर्छन् तर पुस्तक छुँदैनन् । कक्षा ९ मा अध्ययनरत रित्तिका घलाङ भन्छिन्, ‘संस्कृत पुस्तकलाई पूजा गरिने भएका कारण महिनावारी हुँदा छुन मन लाग्दैन । महिनावारी हुँदा कक्षामा बसेर पढ्छु, शिक्षकले भनेको कुरा कापीमा लेख्छु तर पुस्तक छुदिनँ ।’ 

कैलाली, कैलारी गाउँपालिका– ६ की १६ वर्षीया प्रतिभा चौधरी कक्षा ९ मा पढ्दै छन् । सुरुसुरुमा संस्कृत बुझ्न गाह्रो भएको उनको अनुभव छ । ‘अहिले त अभ्यास र बानी भइसक्यो,’ उनी भन्छिन्, ‘संस्कृत अध्ययन गरेर शिक्षिका बन्ने लक्ष्य छ ।’

उनले पनि महिनावारी भएका बेला संस्कृतका पुस्तक छुँदिनन् । यस सम्बन्धमा प्रधानाध्यापक चालिसे भन्छन्, ‘हिन्दू समाजमा भागवत गीता लगायत पुस्तकलाई पूजा गर्ने चलन छ । मन्दिरमा जाँदा जुत्ता–चप्पल खोल्ने गरिन्छ । महिनावारी हुँदा धेरैजसो मन्दिर प्रवेश गर्दैनन् । त्यसैले यहाँ पनि महिनावारी भएका बेला संस्कृत पुस्तक छुन दिइएको छैन । तर, महिनावारी हुँदा संस्कृत विषय पढ्न वञ्चित गराइँदैन । नुहाएर शुद्ध भएर पढिरहेका छन् । कोर्स नछुटोस् भनेर नोट गराइन्छ ।’

त्यसो त यहाँ अध्ययन गर्ने छात्रा शुद्ध शाकाहारी हुनुपर्छ । महिनावारी हुँदा संस्कृत पुस्तक छुन दिने कि नदिने भन्ने पनि एक प्रश्न रहेको चालिसे बताउँछन् । यसमा उनी थप प्रस्ट्याउँछन्, ‘महिलाले मन्त्र उच्चारण गर्नुहुँदैन भन्ने समाज हो । अहिले संस्कृत पढ्न चाहने सबै जातिले पढ्न पाउने वातावरण बन्दै छ । परिवर्तन हुन समय लाग्छ ।’ 

गुरुकुलमा विशेषगरी भुइँमा बसेर अध्ययन गराइने प्राचीन चलन छ । तर, यस विद्यालयमा बेन्चमा राखेर अध्ययन गराइन्छ । यहाँ पनि सुरुवाती दिनमा भुँइमा बसेर अध्ययन गराउन खोजिएको प्रधानाध्यापक  बताउँछन्  । तर, विद्यार्थीले बस्न अप्ठेरो भएको गुनासो गरेपछि बेन्च राखियो । 
यहाँ बिहान ७ बजेदेखि दिउँसो साढे २ बजेसम्म कक्षा सञ्चालन हुन्छ । छात्राको पोसाकमा सेतो पछ्यौरी र सुन्तला रंगको कुर्ता–सुरुवाल तोकिएको छ । त्यस्तै, तडकभडक नदेखिने साधारण चप्पल लगाउनुपर्छ । 

छात्राको सुरक्षाका लागि साँझ ९ बजेपछि बाहिर आवतजावत दिइँदैन । 

साढे चार लाख मासिक खर्च 

यस विद्यालयमा नौ शिक्षक (पाँच शिक्षिका र चार शिक्षक) र दुई कार्यालय सहयोगी छन् । विद्यालय सञ्चालनमा मासिक साढे चार लाख रुपैयाँ खर्च हुने प्रधानाध्यापक चालिसेको भनाइ छ । ‘शिक्षक तलबमा डेढ लाख रुपैयाँ र विद्यार्थीको सरसफाइदेखि खाद्यान्नमा तीन लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने । 

यहाँ विद्याथीलाई कुनै पनि शुल्क लिइँदैन । सम्पूर्ण खर्च विभिन्न सहयोगी संस्था तथा दाताबाट संकलन गरिएको छ । खर्च नपुगेको खण्डमा व्यवस्थापन समितिबाट हेरिने चालिसे बताउँछन् । 

यस विद्यालय पाँच कट्ठा जमिनमा छ । विद्यार्थी बस्नका लागि ठूला सात हल र सातवटा कक्षा कोठा छन् । ४० कोठाको ठूलो चारतले भवन निर्माण भइरहेको छ । गुरुकुलले आठ करोड रुपैयाँ लागतमा बनाउन लागेको सो भवनलाई भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले ८ वैशाख २०७८ मा शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा मेयर दाहालले आकस्मिक बजेटबाट निकासा हुने गरी ४० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको प्रधानाध्यापक चालिसे बताउँछन् । 

स्थापना 

०५३ सालमा यहाँ भगवती उपाध्याय (हाल विद्यालय व्यवस्थापन समिति अध्यक्ष)ले ‘रामजानकी वेद विद्याश्रम’ सञ्चालन गरेकी थिइन् । यहाँको राम मन्दिरका संरक्षक दिल्लीराम बाबाले भगवतीलाई पाँच कट्ठा जग्गा दिएर गुरुकुल सञ्चालन गर्न भनेका थिए । भगवती भन्छिन्, ‘सुरुमा त्यही राममन्दिरको आश्रममा कक्षा सञ्चालन हुन्थ्यो । ०५४÷५५ मा यहाँ भवन निर्माण गरियो ।’

भगवतीले त्यतिबेलै कन्या गुरुकुल सञ्चालन गर्न चाहेकी थिइन् । तर, त्यतिखेर पढ्न आउने महिला भएनन् । त्यसैले पुरुषलाई मात्र पढाइयो । वेद विद्याश्रम करिब एक दशक सञ्चालनमा रहेर राजनीतिक हस्तक्षेपका कारण बन्द भएको भगवती बताउँछिन् । ‘पुरुष पढ्ने वेद विद्याश्रम बन्द भएपछि कन्या गुरुकुल खोलिएको हो,’ उनले भनिन्, ‘महिला राख्ने भएपछि सोही अनुसार तयारी गर्दा ०७५ बाट सुरु गर्ने मौका मिल्यो ।’ यहाँ कन्या विद्यालय खोल्नुको पनि लामो कथा छ । 

शिक्षासेवी अंगुरबाबा जोशीले काठमाडौं हाँडीगाउँमा ०६८ मा ‘गार्गी कन्या गुरुकुल’ सञ्चालन गरेकी थिइन् । स्वास्थ्यमा समस्या भएका कारण जोशीले भगवतीलाई विद्यालय सञ्चालन गर्न आग्रह गरिन् । त्यतिबेला गार्गी कन्याको उपाध्यक्षमा मन काफ्ले र कोषाध्यक्षमा निर्मला पोखरेल थिइन् । सबैको सल्लाहमा देवघाटमा कन्या गुरुकुल खोल्ने योजना बनेको भगवती बताउँछिन् । 
 

 Published Date: Monday, 20th September 2021 11:27:00 am