इन्द्रजात्राभित्रका पात्रहरू

तस्बिरहरू : सुजल बज्राचार्य/काठमाडौं प्रेस

काठमाडौं, असोज ३ : २९ भदौ बुधबार। ‘ञंलाथ्व नवमी’को एकाबिहानै किलागल टोलको रौनक साविकभन्दा भिन्‍न थियो। स्थानीय डबलीमा ‘दीप्याखं’ अर्थात् ‘देवी नाच’को उल्लास थियो। नाच हेर्न र मुखौटा लगाएका देवदेवीको दर्शनमा टोलवासी गुजमुज्ज उभिएका थिए। सोही टोलका एक ज्येष्‍ठ नागरिक भन्दै थिए, ‘ल अब इन्द्रजात्रा सुरु भयो।’

‘दीप्याखं’ अर्थात् देवी नाचसँगै काठमाडौंका नेवार समुदाय इन्द्रजात्राको तयारीमा लाग्छन्। उपत्यकाकै सबैभन्दा ठूलोमध्यको एक हो, इन्द्रजात्रा। यसलाई नेपाल भाषामा ‘येँया पुन्ही’ भनिन्छ।

‘ञँलाथ्व नवमी’मा देखाइने दीप्याखंले इन्द्रजात्रा नजिकिएको संकेत गर्छ। जात्राको औपचारिक सुरुवात भने भाद्र शुल्क पक्षको ञंलाथ्व द्वादशीमा इन्द्र ध्वजोत्थानसँगै हुन्छ। जात्राको अवधि आठ दिनको हुन्छ। अन्तिम दिन ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतन गरी जात्रा सम्पन्‍न हुन्छ।

दीप्याखंजस्तै इन्द्रजात्राको रौनकता थप्ने नाच हुन्, महाकाली र दशावतार नाच। काठमाडौंको इन्द्रजात्राका लागि भक्तपुरबाट महाकाली गणको नाच आउँछ। भाद्र शुक्ल द्वादशीमा यो नाच देखाइन्छ। सोही दिन कुमारीघर सामुन्‍ने त्रैलोक्यमोहन नारायण मन्दिरको पछाडि पाँच खुड्किलाको पेटीमा दशावतारको नृत्य पनि प्रदर्शन गरिन्छ।

इन्द्रध्वज उठाइसकेपछि कागेश्‍वर महादेव मन्दिर अगाडि पुनः नाच प्रदर्शन गरिन्छ। जात्रा अवधिभर विभिन्‍न समय र खण्डमा नाच देखाइन्छ। ‘देवी नाच इन्द्रजात्राबाहेक अन्य समयमा पनि हुन्छ, इन्द्रजात्राको अवधिमा पनि देखाइन्छ,’ दीप्याखं गणका भैरव नर्तकको रूपमा रहेका बद्री महर्जन भन्छन्।

फूल चोरको कथा

इन्द्रजात्रासँग सम्बन्धित किवंदन्ती निकै रोचक छ। एकपटक देवराज इन्द्रकी आमा ‘दाँगी’ व्रत बसेकी हुन्छिन्। व्रतका लागि उनलाई परिजातको फूल आवश्यक पर्छ। उक्त फूल पृथ्वी लोकमा मात्र पाइन्छ। देवराज इन्द्र सोही फूल लिन रातको समयमा भेष बदलेर आउँछन्। मत्र्यमण्डलमा आफ्नो वाहन ऐरावत हात्तीसँगै अवतरित हुन्छन्।

ऐरावतलाई एक ठाउँमा बाँधेर उनी पारिजात फूलको खोजीमा हिँड्छन्। मरु टोल नजिकैको भगवती बारी (जहाँ अझै पनि फूलहरू पाइन्छ) उनी पुग्छन्। रातको समयमा फूल चोरी गर्न आएको भन्दै मालीले इन्द्रलाई समातेर भगवती बारी (हालको शान्ति निकेतन विद्यालय)मा दुई हात बाँधेर राख्छन्।

व्रतका लागि फूल लिन गएको छोरा लामो समय नफर्कँदा माता दाँगी आफैँ पृथ्वीमा आउँछिन्। आफ्नो छोरालाई छोडिदिन आग्रह गर्दा मालीले माता दाँगीसँग हुस्सु माग गर्छन्। धानमा चामल पसाउनको लागि हुस्सु आवश्यक हुने जनविश्‍वास रहिआएको छ। यसकारण पनि इन्द्रजात्रापछि काठमाडौंमा हुस्सु देखापर्न थाल्ने जनश्रुति पाइन्छ। र, सोही कारण इन्द्रजात्रा मनाउन थालेको मानिन्छ।

सबैभन्दा पहिले नाच्छन् आकाश भैरव

काठमाडौं हलचोकका सागर पुटुवारलाई गत वर्ष इन्द्रजात्राको अवधि निकै सकसपूर्ण रह्यो। विश्‍वभर फैलिएको कोरोना महामारीका कारण जात्रालाई औपचारिक पूजामा मात्र सीमित गरिएको थियो। जात्रा औपचारिकतामा सीमित भइदिँदा १५ वर्षदेखि नाच्दै आएको आकाश भैरव नाच देखाउन उनले पाएनन्।

आकाश भैरव नाच

‘हरेक वर्ष जात्रामा आकाश भैरव बन्दा लगाएका वस्त्र र मुखौटा लगाएर कुमारीको रथ वरिपरि नाच्ने गरेको आदतमा एक्कासि ब्रेक लाग्दा के नभएकोजस्तो लाग्ने रहेछ,’ भावुक हुँदै उनले सम्झिए, ‘अभाव र शून्यताको अर्को अर्थ गत वर्ष जात्रामा नाच देखाउन नपाउँदा महसुस गरेँ।’ उनीसँगै चण्डी र कुमारीका रूपमा नाच्नेहरूको पनि अवस्था उस्तै थियो। नाच देखाउन व्यस्त रहनुपर्ने बेलामा फोन र गफगाफमै चित्त बुझाउनु परेको अनुभव उनीहरूको छ।

जात्रा र नाचमा सहभागी हुन नपाए पनि रीति भने नछोडेको सागर पुटुवार बताउँछन्। जात्रा अवधिको सातै दिन उनीसहितका नर्तकहरूले सम्बन्धित देवदेवीको पूजापाठ गरे, गत वर्ष।

इन्द्रजात्राको एक महत्त्वपूर्ण पक्ष हुन्, आकाश भैरव र उनको नाच, जसलाई नेपाल भाषामा ‘सवः द्यः’ भनिन्छ। कुमारी रथले परिक्रमा गर्नुअघि सबैभन्दा पहिले आकाश भैरवको नृत्य प्रदर्शनी हुन्छ। नृत्यमा भैरवसँगै हुन्छन्, चण्डी र कुमारी पनि। यसबाहेक, गंगा, बाराही, महादेव, पार्वती, आकाशदेवी, महाकाली, दक्षिणकाली, सिंघ्रणी, व्याघ्रिणी गरी अन्य १० देवदेवीको पनि नृत्य देखाइन्छ। इन्द्रजात्राका लागि भने आकाश भैरव, कुमारी र चण्डी विशेष मानिन्छन्।

इन्द्रजात्रा सुरु हुनु एक दिनअघि एकादशीका दिन हलचोकस्थित आकाश भैरवको ‘द्यः छेँ’ (देवताको घर)मा पूजा हुन्छ। जात्राका लागि भाद्र शुक्ल द्वादशी तिथिकै दिन हलचोकका आकाश भैरव र अन्य देवगण इटुमबहालस्थित ताहननीमा आएर बस्छन्। अघिल्लो दिन (भाद्र शुल्क एकादशी) मुखौटाको पूजा गरी द्वादशीका दिन मुखौटा र पहिरनसहित उनीहरू ताहननी आउँछन्। र, भाद्र शुल्क त्रयोदशीका दिन सबैभन्दा अघि आकाश भैरव र उनको गण नाच देखाउँदै कुमारीलाई प्रशन्‍न गराउन तल्लीन रहन्छन्।

आकाश भैरवसँग सम्बन्धित किंवदन्ती

चण्डी र कुमारीलाई आकाश भैरवको सन्तानको रूपमा पुजिन्छ। एक पटक चण्डी र कुमारी खेल्ने क्रममा हराएछन्। खेल्न मात्र गएका बच्चा हराउँदा आकाश भैरवले दिव्यदृष्‍टिबाट हेरेछन् र लाखेले आफ्ना सन्तानलाई छोपेर राखेको पत्ता लगाएछन्। र, उनले आफ्ना सन्तानलाई लाखेबाट फिर्ता ल्याएको कथन छ।

काठमाडौं महानगरपालिकाले प्रकाशित गरेको ‘इन्द्रजात्रा’ नामक पुस्तकमा उल्लेख छ, ‘यो नाच कहिलेदेखि सुरु भयो भन्‍ने विषयमा कतै स्पष्‍ट लेखिएको पाइँदैन। संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले नाचको उत्पत्तिबारे संक्षिप्तमा लेख्नुभएको छ- कलिगताब्द ३८२२ मा राजा गुणकामदेवलाई श्री महालक्ष्‍मीले सपनामा आज्ञा दिएबमोजिम इन्द्रचोकमा कान्तिश्‍वर महादेवको स्थापना गरी पहिले इन्द्रचोकसम्म मात्र कायम रहेको राज्यको सीमा बढाएर कान्तिपुर नामाकरण गरी नगरको रक्षार्थ ठाउँ-ठाउँमा देवदेवीहरू स्थापना गरे। हलचोकमा १२ जना गण भएको भैरवको स्थापना गरिदिए। त्यसपछि राजा अमर मल्लले त्यही हलचोकको भैरव गरी तीनजनाको नाच नचाउन सुरु गरे। त्यसमध्ये इन्द्रजात्रामा आठ दिनसम्म सवः भकु दुईजना गणमा आकाशे रंगको भैरवको नाच नचाउने थाले।’

१५ वर्षयता आकाश भैरव बन्दै आएका सागर पुटुवारका अनुसार राजतन्त्रमा नारायणहिटीसमेत परिक्रमा गर्ने चलन थियो। नासल चोकमा राजपरिवार नै आएर भैरव नाच हेर्थे। अहिले भने विस्तारै संस्कृतिप्रति राज्यको चासो घटेको उनी बताउँछन्।

‘संस्कृति जोगाउन सबैजना लाग्नुपर्ने ठूल-ठूला कुराकानी भए पनि जात्रा सञ्‍चालन गर्ने समयमा उनीहरूले पन्छिन्छन्,’ पुटुवार भन्छन्, ‘जिजुबाजेहरूले कसरी संस्कृतिलाई हाँक्दै आए थाहा छैन। तर, मेरो लागि निकै चुनौतीपूर्ण  थियो। राष्‍ट्रियस्तरको कला संस्कृतिप्रति राज्यको दिन सकेको छैन।’

उनी ०६४ सालदेखि आकाश भैरव बन्दै आएका छन्। भन्छन्, ‘भैरवको वस्त्र अनि मुखौटा लगाउनेबित्तिकै बाह्य परिवेशको हेक्का नै हुँदैन। केवल हुन्छ त नजिकै बजिरहेको बाजाको ताल अनि भगवानलाई प्रसन्‍न बनाउन नृत्य।’

मुख्य पूजारीले पूजाविधि सम्पन्‍न गरेसँगै नाच सुरु हुन्छ। द्वादशी तिथि ‘लागा’सहित आकाश भैरव र उनको गण हलचोकबाट प्रस्थान गर्छन्। त्यस दिन उनीहरू किलागलमा बास बस्छन्। ‘राजा हुँदा पहिले नारायणहिटी दरबार घुम्थ्यौँ तर अहिले सीधै ताहननी पुग्छौँ,’ उनी भन्छन्।

भैरव र उनको गणमा रहेका देवदेवीका मुखौटा निश्चित अवधिमा फेरिन्छन्। १० वटा देवदेवीका मुखौटा १२-१२ वर्षमा एकपटक र भैरवसहित चण्डी र कुमारीको मुखौटा भने तीन-तीन वर्षको अन्तरालमा परिवर्तन हुन्छ।

चण्डी र कुमारी नाच

पुर्खाले पुराना मुखौटालाई विधिअनुसार खोलामा बगाउने चलन चलाएका थिए। तर, पुटुवारले भने खोलामा  विसर्जन नगरी देवताको घरमा राखेका छन्। इतिहास बोक्ने यस्ता कलालाई संरक्षण गर्नुपर्ने उनको मत छ।

कोरोना संक्रमण केही मत्थर भएका कारण यस वर्ष स्वास्थ मापदण्ड पूरा गरेर जात्रामा सरिक हुँदैछन्, हलचोकका आकाश भैरव र उनका गण। करिब ७० जना गुठियारमा सीमित गरी खोपको प्रावधानसहित जात्रामा सहभागी हुन उत्साहित छन्, उनीहरू।

हात्ती र आगोको संगम पुलुकिसी

इन्द्रजात्रा भन्‍नासाथ अधिकांशको मस्तिष्‍कमा विभिन्‍न प्रकारका नाचको आकृति आउँछ। नाचमा प्रयोग हुने सेतो हात्तीको आकृतिलाई नेपाल भाषामा ‘पुलुकिसी’ भनिन्छ। र, वसन्तपुर डबलीमा ‘पुलुकिसी’ वरिपरि डुलेपछि मात्र जात्रामा रमाइरहेको भान हुन्छ। ‘पुलु’ अर्थात् ‘पुलुपुलु’ गरी बलेको आगो र किसी अर्थात् ‘हात्ती’ हो।

पुलुकिसी नाच

नियालेर हेर्ने हो भने पुलुकिसी जताजता गयो, सँगै आगोको चिराग लिएका पनि सँगै परिक्रमा गर्नुपर्छ। चिरागको आगो निभ्न नहुने मान्यता पनि छ। जात्राका लागि हलचोकदेखि आकाश भैरव आएजस्तै वसन्तपुर नजिकैको किलागल टोलबाट भने पुलुकिसी निकाल्ने गरिन्छ।

किंवदन्तीअनुसार पारिजातको फूल खोज्न मत्यँमण्डल झरेका इन्द्रदेवले आफ्नो वाहन ऐरावतलाई हालको किलागलमा बाँधेका थिए। त्यतिबेला यो क्षेत्रमा घना जंगल थियो। त्यही क्षेत्रमा अन्य हात्तीलाई पनि बाँधिन्थ्यो। हात्तीको वासस्थानलाई नेपाल भाषामा ‘किसिगः’ भनिन्छ।

पुलुकिसी वाद्यवादन

माथि उल्लेख भएजस्तै किसीको अर्थ हात्ती र वासस्थानलाई ‘गः’ भनिन्छ। सोही शब्द अपभ्रंश भई किलागल हुन पुगेको नरेन्द्र महर्जनको ‘देवीनाचः एक परिचय’ नामक पुस्तकको उपशीर्षक किलागल टोल परिचयमा उल्लेख छ।

रहरै रहरमा ‘पुलुकिसी’ बने अमन महर्जन

रहरै रहरमा १४ वर्षको कलिलो उमेरमा पुलुकिसी नाचमा संलग्न भएका किलागलका बासिन्दा हुन्, ३१ वर्षका अमन महर्जन। पुलुकिसी देख्नेबित्तिकै उनीसँगै नाच्ने, पुलुकिसीलाई बोक्ने वा बाजा बजाउन तम्सिन्थे उनी।

रहरै रहरमा संलग्न भएको पुलुकिसी अब आफ्ना लागि जिम्मेवारी बनेको महर्जन बताउँछन्। भन्छन्, ‘अब संस्कृतिलाई निरन्तरता दिने जिम्मेवारी हाम्रो काँधमा छ।’ पुलुकिसी नाच किलागल टोलस्थित ज्यापु महर्जनले निकाल्ने गर्छन्। ‘किलागः त्वाः खलः’ नामक परम्परागत संस्था गुठीले जात्रामा पुलुकिसी सञ्‍चालन गर्दै आएको छ। गुठीअन्तर्गत एक सय ८० जनाको समूहबाट उक्त गुठी स्थापना भएको छ। प्रत्येक वर्ष गुठीअन्तर्गत्का ८-८ जनाको पालो आउँछ।

समितिका प्रमुख तथा गुठीका सदस्य चन्द्रमान महर्जनका अनुसार पुलुकिसीको शिरको भाग मात्र ३० देखि ४० किलो हुन्छ। अनुहार र समग्र जिउको वजन मिलाउँदा ७०-८० किलो हुन्छ। पहिले दुईजनाले पुलुकिसी बोकेर नचाउने गरेकोमा हाल तीनदेखि चार जनासम्म पुलुकिसीभित्र रहन्छन्।

जात्रा सुरु हुनु एक महिनाअघि पुलुकिसीको मुखौटो निकालिन्छ र चित्रकारकहाँ पठाइन्छ। त्यसपछि इन्द्रजात्राको एक दिनअघि पूजा गरेर नचाउन सुरु हुन्छ। इन्द्रजात्राको अवधिमा कुमारी रथको कहिले अघि र पछि गरिरहनुपर्ने महर्जन बताउँछन्। इन्द्रजात्रा भन्‍नेबित्तिकै उनलाई पुलुकिसीकै झल्को आउँछ।

१० वर्षअघि पुलुकिसीसँगै डल्लुमा बाजा बजाउने क्रममा एक ज्येष्‍ठ नागरिकले उनलाई १० रूपैयाँ दिए। पैसा लिन हिचकिचाए तर नलिई धरै पाएनन्। ‘बाजेसँग बोल्नुपर्यो भनेर बजाउँदै गरेको बाजा साथीलाई दिँदासम्म उहाँ हराइसक्नुभएको थियो। त्यति वृद्ध मान्छे कसरी एकैछिनमा हराउनुभयो,’ अचम्मित भाकामा उनले भने, ‘निकै अविश्मरणीय क्षण थियो त्यो।’ पुलुकिसी लिएर भिन्‍न-भिन्‍न स्थानमा पुग्दा पाइने सम्मानले निकै प्रशन्‍नता दिने उनी बताउँछन्।

पुलुकिसी बाहिर निकाल्दा एकजना पथप्रदर्शकले हातमा चिराग बाली उनलाई डोर्‍याइरहेको हुन्छ। पुलुकिसीको सेतो बुट्टेदार कपडाले छोपिएको भागभित्र दुईजना बसेका हुन्छन्। पुलुकिसीलाई बाहिर निकाल्दा ताङताङ आवाज आउने एउटा छुट्टैखाले बाजाको धुन सुनिन्छ। त्यो त्रिकोण आकारको बाजालाई ‘कँय् पुइचा’ भनिन्छ। त्यसको साथै एउटा धिमे र एउटा भुस्याः झ्याम्टा पनि बजाइन्छ। पुलुकिसी नाचमा बजाइने धिमे अरू सामान्य धिमेभन्दा फरक खालको हुन्छ।

मजिपा लाखे

इन्द्रजात्राको अर्को महत्त्वपूर्ण आकर्षण हो, मजिपा लाखे। तर, मजिपा लाखेको सम्बन्ध इन्द्रजात्रासँग नभई कुमारी रथ परिक्रमासँग रहन्छ। इन्द्रजात्राअन्तर्गत् आउने कुमारी रथारोहणसँग लाखेको सम्बन्ध छ। ‘श्री मजिपा लाखे आजु संरक्षण समिति’का अध्यक्ष राम रञ्‍जितकारका अनुसार मजिपा लाखे तलेजु भवानीका रक्षक हुन्। र, कुमारीलाई तलेजु भवानीकै प्रतिरूप मानिन्छ। मजिपा लाखेले कुमारीको रथलाई मात्र परिक्रमा गर्छ, आकाश भैरव वा पुलुकिसीसँग यसको कुनै सम्बन्ध छैन।

मजिपा लाखे

अध्यक्ष रञ्‍जितकारका अनुसार इन्द्रजात्रामा कुमारी पूजा तथा रथारोहणको चलन धेरैपछि मात्र सुरु भएको हो। जानकारहरूका अनुसार गुणकामदेवले १० औँ शताब्दीमा इन्द्रजात्राको सुरुवात गरेका थिए। इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चलन १८ औँ शताब्दीको मध्यतिर जयप्रकाश मल्लले सुरु गरेका थिए।

राक्षस वर्गमा पर्ने मजिपा लाखेलाई शान्त भैरवको स्वरूप पनि मानिन्छ। ‘ला’ को अर्थ ‘मासु’ र ‘खेँ’ अण्डा हो। मासु र अण्डा ज्यादै मन पर्ने कारण पनि राक्षस वर्गका यी जातिलाई लाखे भनिएको रञ्‍जितकार बताउँछन्।

रञ्‍जितकारका अनुसार लाखेअन्तर्गत पनि मजिपा लाखेका विषयमा विभिन्‍न किवंदन्ती जोडिएका छन्। त्यसमा पनि कतिपय संस्कृतिविद् तथा इतिहासकारले विषय राम्रोसँग नबुझी किंवदन्तीबारे गलत विश्लेषण गर्दै आएको उनको गुनासो छ।

पुर्खादेखि सुन्दै आएको किंवदन्तीलाई उनले यसरी सविस्तार बताए- मल्लकालमा काठमाडौंका राजा जयप्रकाश मल्लको समयमा लामो खडेरी पर्यो। राजालाई तान्त्रिकले तलेजु भवानीको स्थापना गर्न सल्लाह दिए। त्यसका लागि दरबारिया र तान्त्रिकहरू दक्षिण भारतमा गए। लामो यात्राका क्रममा उनीहरूले एउटा गुफा देखे। गुफाभित्रबाट होहल्लासहित डरलाग्दो आवाज आइरहेको थियो। गुफानजिकै पुग्दा भित्र लाखेहरू नाचिरहेको, खाइरहेको उनीहरूले देखे। भित्र त्यत्तिकै जान नसकेका कारण सँगै गएका तान्त्रिकहरूले आफ्नो शक्तिुसहित अक्षता फुकेर लाखेलाई बेहोस बनाए। गुफामा अझ भित्र पुग्दा तलेजु भवानी विराजमान् भएको उनीहरूले देखे। सानो गुफामा भवानी विराजमान थिइन्।

त्यसपछि भगवतीलाई कान्तिपुरी नगरीको अवस्था र राजाको आदेशबारे विस्तारमा बताए। भवानीले उनको खड्ग वा कलश लगेर स्थापना गर्न भनिन्। तथापि, तान्त्रिक र दरबारियाले उनकै उपस्थिति आवश्यक पर्ने जिकिर गरे। अनि, तलेजु भवानी काठमाडौं आउन राजी भइन्।

यद्यपि, देवीको सुरक्षामा केही सशंकित भएका लाखेहरूले देवीलाई प्रश्न गरे, ‘बाटो लामो छ, तपाईं कन्या हुनुहन्छ ?’ तब भवानीले आफ्नो अंगरक्षक मजिपा लाखे जतासुकै सँगै रहने बताइन्। गुफा प्रवेश गर्दै डराएका राजाका प्रतिनिधि र तान्त्रिकहरू अन्य लाखेभन्दा पनि बडेमान र अजंगका लाखे देखेर डराए। तलेजु भवानीले उनीहरूलाई मजिपा लाखेको केही पनि नगर्ने भएकाले त्रसित नहुन भनिन्।

अजंगको जिउडालको र जामा पहिरेको मजिपा लाखे बाटोभरि घांघला बजाउँदै नाच्दै हिँड्यो। कान्तिपुरी नगरको बाहिरी भाग पचली भैरवमै मजिपा लाखेलाई बस्न लगाइयो। कारण- नगरभित्रका बासिन्दा र बालबालिकालाई उसले आहारा बनाउने शंका उनीहरूमा थियो । अनि मजिपा लाखेलाई बस्ती बाहिरै राखियो। नगरमा तलेजु भवानी स्थापना गरेको केही समयपछि नै सहकाल सुरु भयो। यससँगै भवानीले आफ्नो प्रतिमा स्वरूपमा कलश वा खड्ग राख्न दिएको किंवदन्ती पनि छ।

तलेजु भवानीले आफ्नो अंगरक्षक मजिपा लाखेलाई नगर सुरक्षार्थ यहीँ छाडेर गएको जनश्रुति छ। नगरका मानिस र बालबच्चालाई नखाने सर्तमा छाडिएको लाखेबारे सुनेका राजासहित लाखे हेर्न सबै गए। तर, लाखे ढलिरहेको अवस्थामा भेटियो। लाखे साँच्चै बेहोस भएको हो वा सुतेको मात्र हो भन्‍ने थाहा नपाउँदा उनीहरूले एक चतुर बच्चालाई उसको नजिक पठाइयो। बच्चा पनि निडर थियो।

नजिकै गएर उक्त बच्चाले लाखेलाई चलाउने, कपाल तान्‍ने र जिस्क्याउने गर्यो। जसलाई हालको ‘झ्यालिचा’ले लाखेलाई जिस्क्याएको रूपमा मानिन्छ। लाखे ब्युँझिएर उक्त बच्चालाई लखेट्न थाल्यो। बच्चाले झुक्याउने, सताउने गर्दैगर्दा अन्त्यमा लाखेले बच्चालाई समात्यो तर खाएन। यसरी मजिपा लाखे आफ्नो वाचामा पक्का भएको मानेर उसलाई नगरभित्र आउन दिइन्छ। यससँगै मजिपा लाखेलाई ‘शान्त भैरव’को संज्ञा पनि दिइन्छ।

कुमारी माजुको नगर परिक्रमा क्रममा सुरक्षाको जिम्मा मजिपा लाखेको हुन्छ। दोबाटो र चौबाटोमा हुने अदृश्य नकारात्मक शक्तिलाई घांघला बजाउँदै हटाउने विश्‍वास रहेको ‘श्री लाखे आजु समिति’का अध्यक्ष रञ्‍जितकार बताउँछन्। यो राक्षस गणको जीव भएको उनको बुझाइ छ।

कुमारी रथारोहण

जात्राको केन्द्रका रूपमा कुमारी रथारोहणलाई लिइन्छ। राष्‍ट्रिय कुमारीको रूपमा काठमाडौंकी कुमारीलाई मानिन्छ। वर्षको १३ दिनमा कुमारी घरबाट बाहिर निस्कन पाउनेमध्यको विशेष दिन हो, इन्द्रजात्रा। कुमारी दर्शनका लागि राष्‍ट्रपतिसहित विभिन्‍न देशका राजदूतसमेत आउने गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्य बताउँछन्। तलेजु भवानीको प्रतीकको रूपमा स्थापित कुमारीलाई भाद्र शुक्ल त्रयोदशीको दिन ‘क्वः ने’ तल्लो टोल र चतुदर्शीका दिन चोने अर्थात् माथिल्लो टोलमा क्रमशः रथारोहण गरिन्छ। कुमारीसँगै गणेश र भैरवका पनि रथारोहण गरिन्छ।

जीवित देवी कुमारी

जात्रा अवधिभर गणेश र भैरवलाई पुलुकिसी, आकाश भैरव र मजिपा लाखेले भने कुमारीलाई मात्र परिक्रमा गर्छन्। कोभिड-१९ महामारीका कारण जीवित देवी कुमारी तथा गणेश र भैरवको रथमा विगतमाजसरी यस वर्ष भीडभाड नगराइने भएको छ।

नेपथ्यमा जात्राका अन्य पक्ष

दाँगी

इन्द्रजात्राको धेरैलाई थाहा नभएको पक्ष हो, दाँगी परिक्रमा। इन्द्रजात्राको मुख्य दिन कुमारीको रथ परिक्रमापछि रातको समयमा मरु टोलका ताम्राकारहरूले दाँगी निकाल्छन्। ‘दाँगी’ अर्थात् इन्द्रदेवकी आमा। फूल चोरी गर्न हिँडेका आफ्नो छोरो खोज्दै इन्द्रकी आमा ‘दाँगी’ पृथ्वी लोकमा अवतरित भएको किंवदन्ती माथि उल्लेख गरिएको छ। र, इन्द्रजात्रामा त्यसकै सम्झनामा दाँगी परिक्रमा गराउने गरिएको हो।

शक्तिका प्रतीक दाँगी र कुमारीको परिक्रमा गर्ने रुट एकै हुने कारण पनि भिन्‍न समयमा यी दुईलाई परिक्रमा गराइने गरेको ‘श्री दाँगी गुठी मरु ट्वाः ताम्राकार’का प्रतिनिधि सर्वेज्ञराज ताम्राकार बताउँछन्। यस्तै, देवीहरूलाई एकैपटक भेट गराउन नहुने जनविश्‍वास पनि छ। १३ जनाको निजी गुठीले दाँगी प्रहसन गराउँदै आएको छ।

शक्ति जुध्ने तथा परिक्रमाको रुट एकै पर्ने कारण कुमारी रथारोहणपछि मात्रै दाँगीको जात्रा निकाल्ने गरिन्छ। प्रायः कुमारी रथ परिक्रमामा समय लाग्ने र साँझ पर्ने भएकाले दाँगीलाई राति नगर परिक्रमा गराइन्छ। दाँगी परिक्रमाका लागि मरु टोलको लुकुफल्चादेखि न्याह्ख, इन्द्रचोक, प्याफल हुँदै कुमारीघर, वसन्तपुर पुर्‍याइन्छ। वसन्तपुरबाट चिंकमुग, ह्युमत, कोहिटी हुँदै पुनः मरु टोलमा आएर परिक्रमा सम्पन्‍न हुन्छ। त्यसका लागि मरु टोलका ताम्राकार र महर्जनहरू अग्रपंक्तिमा हुन्छन्। विगत १० वर्षयता मंगलमान महर्जन दाँगी बन्दै आएका छन्।

यसमा अर्को किंवदन्ती छ। छोरालाई छुटाएर स्वर्ग प्रस्थान गर्ने क्रममा इन्द्रकी आमाले आफूसँगै मृतात्मालाई पनि स्वर्ग लाने वाचा गरेकी हुन्छिन्। त्यसकै प्रतीकका रूपमा वर्षभर मान्छे मरेको घरबाट दाँगीको पछि लागि अक्षता छर्दै जाने प्रचलन सुरु भएको मानिन्छ। दाँगी परिक्रमाको अर्को दिन यस वर्ष मृत्यु भएकाहरू परिवारका सदस्य इन्द्र दहमा गएर स्नान गर्छन्।

दहमा पानीमा छप्लंग आवाज आएपछि मात्र स्नान पूरा भएको मानिन्छ। त्यसको अर्थ भने दाँगीले इन्द्र दहमा नुहाइन् भन्‍ने हुन्छ। मर्त्यमण्डलमा मानिससँग हिमचिम भएका कारण शुद्धीकरणका लागि उनले इन्द्र दहमा स्नान गरेर स्वर्गलोक गएको जनश्रुति पनि छ। त्यससँगै परिवारका मृत सदस्यले पनि स्वर्गमा स्थान पाएको मानिन्छ।

नानीचा रथयात्रा

जात्रा सम्पन्‍न हुने अघिल्लो दिन नानीचा रथयात्रा हुन्छ। पहिले इन्द्रजात्रा सात दिन मात्र हुन्थ्यो। राणा प्रधानमन्त्री जंगबहादुर राणाले एक दिन थप गरेका आठ दिन पुर्याएका हुन्। स्थानीयवासीका अनुसार जंगबहादुरले किलागलस्थित एक सुन्दरी नानीचाको अनुरोधमा कुमारीसहितको यात्रा किलागलमा पनि देखाउन लगाएका हुन्। उनलाई जंगबहादुरकी श्रीमती मानिएका कारण उनको इच्छा पूरा गरिदिन नानिचाको बसाइ रहेको किलागलमा पनि कुमारी रथसहितको जात्रा देखाउन थालिएको स्थानीयवासीको भनाइ छ।

अतिरिक्त पूजा ग्रहणमा कोभिड प्रभाव

डिसेम्बर २०१९ देखि विश्‍वव्यापी रूपमा फैलिएकोे कोरोना महामारीका कारण गत वर्ष औपचारिकतामा मात्र सीमित भएको थियो, इन्द्रजात्रा। यद्यपि, यस वर्ष स्वास्थ मापदण्ड पालन गरी जात्रा मनाइने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्य बताउँछन्।

जात्राका क्रममा निजी सवारी साधनलाई प्रवेश निषेध गरिएको छ। र, तोकिएकै समयमा जात्रा सम्पन्‍न गराउने तयारीमा समिति छ। ‘गत वर्ष औपचारिकतामा सीमित भएको जात्रा यस वर्ष हामी मनाउन लागेका छौँ। तर, कोरोनाको जोखिम अझै रहेका कारण यस वर्ष तोकिएको समयमै रथ परिक्रमा र रथ यात्रा गराइनेछ,’ उनी भन्छन्, ‘पञ्‍चांग निर्णायक समितिले तोकेको समयमा सकाउने हाम्रो योजना छ।’

यसका साथै, जात्रा अवधिमा पुलुकिसी, लाखे आजु तथा आकाश भैरवलाई विभिन्‍न स्थानमा डाकी गरिने पूजा ग्रहण पनि यस वर्ष नगरिने भएको छ। कोरोना व्यापक फैलिने जोखिमका कारण घर-घर पुग्ने कार्यक्रम नगरिने समितिले जनाएको छ।

दुई वर्षयता आएको छैन बजेट

२०७६ सालसम्म सरकारले इन्द्रजात्राका लागि बजेट दिँदै आएको थियो। ०७७ सालदेखि भने सरकारले बजेट दिएको छैन। समितिका अध्यक्ष शाक्यका अनुसार कोरोना महामारीका कारण देशको परिस्थिति जटिल हुँदा सरकारलाई बजेटका लागि यस वर्ष पनि दबाब दिइएन । उनी भन्छन्, ‘जात्रा सञ्‍चालनमा साथीहरू मिलनसार र सहयोगी भएका कारण गत वर्ष र यस वर्ष हामीले आफ्नै खर्चमा जात्रा सञ्‍चालन गरिरहेका छौँ।’ हुनमान ढोका संग्रहालय विकास समितिले भने प्रतिगुठी पाँच हजार रुपैयाँ दिने भएको छ।

परिष्‍कृत हुँदै खोला तर्न नहुने परम्परा

देवदेवीले खोला तर्न नहुने जनविश्‍वास विस्तारै परिष्‍कृत हुँदैछ। इन्द्रजात्राअन्तर्गत पुलुसिकी, हलचोक आकाश भैरव, लाखेले खोला तर्न नहुने भए पनि हाल संस्कृति परिष्‍कृत हुँदै आएको  हो। पूजा आमन्त्रणअनुसार हाल पुलुकिसी र लाखे ललितपुरपट्टि सानेपा र काठमाडौं पारितर्फ विष्‍णुमति पनि कट्न थालेका छन्।

‘पहिले खोलापारि घना जंगल थियो। सोही कारण खोलापारी जाँदैनथे होला,’ पुलुकिसी ‘किलागः त्वाः खलः’ गुठीका सदस्य चन्द्रमान महर्जनको अनुमान छ। हलचोकका आकाश भैरव सागर पुटुवार भने खोला तर्दा बाजागाजा अनुहारको ‘ख्वापा’ निकालेर, बजेका बाजा बन्द गरी कोही नबोली शान्त रूपमा तर्ने गरेको बताउँछन्।

खोलाहरू विभिन्‍न दोष मन्साउने ठाउँ भएकाले नकारात्मक शक्तिको प्रभाव नहोस् भन्‍नका लागि खोलापारि जान नहुने बुढापाकाले बताउने गरेका छन्।

भक्तपुर र ललितपुरमा पनि इन्द्रजात्रा

काठमाडौंजस्तै भक्तपुर र ललितपुरमा पनि इन्द्रजात्रा मनाइन्छ। काठमाडौंमा जसरी यी दुई जिल्लामा ‘येँया पुन्हि’कै रूपमा यो जात्रा मनाइन्छ। यद्यपि, ‘येँ’ को अर्थ  भने काठमाडौं हो। भक्तपुरमा भाद्रशूक्ल पूर्णिमा अर्थात् यँया पूर्णिमाको आठ दिनअघि विभिन्‍न टोलमा मूर्तिहरूको स्थापना गरिन्छ, जसलाई यमद्यः भनिन्छ।

काठमाडौंमा इन्द्रध्वज उठाएसँगै भक्तपुरमा ती इन्द्रका यमद्यः अघि होम गरी पूजा, आराधना गरिन्छ। यस्तै, सोही समयमा इन्द्रायणी देवीको जात्रा पनि हुने गर्छ। इन्द्रायणीको खटलाई बोकेर सिद्ध पोखरीमा विसर्जन गरिन्छ। इन्द्र दहको स्वरूपका रूपमा यंकिदहलाई लिइन्छ।

यस्तै, भक्तपुरमा पनि पुलुकिसी निकालिन्छ। भक्तपुरको लाकुलाछेँ टोलबाट निकालिने पुलुकिसी काठमाडौंको भन्दा फरक हुन्छ।

ललितपुर, भक्तपुर दुवै स्थानमा इन्द्रजात्रा आठ दिन नै मनाइन्छ। तर, काठमाडौं र भक्तपुरको भन्दा यहाँको जात्रा फरक हुन्छ। ललितपुरमा जात्रा सुरु हुने त्रयोदशीका दिनदेखि इन्द्रको मूर्ति स्थापना सुरु हुन्छ। जसमा त्रयोदशीको दिन आल्को, नागबहाल, च्यासलमा मूर्ति स्थापना हुन्छ भने चर्तुदशीमा सौगल, सुन्धारा, वकुवाहान, हःखामा मूर्ति स्थापना हुन्छ। पूर्णिमाको दिन मंगल बजार र हौगलमा मूर्ति स्थापना गरिन्छ।

पूर्णिमाको अर्को दिन गाः बहालस्थित पूर्ण चण्डीको मन्दिरमा पुंचली भुजा नामको विशेष पूजा हुन्छ। यस्तै, आल्कोमा बुद्धको जीवनीसँग सम्बन्धित माटाका मूर्तिहरू प्रदर्शन गरिन्छ। साथै, समयबजी बनाएर बाँड्ने र खाने परम्परा पनि छ।

उपत्यकाका तीन जिल्लाबाहेक दोलखा, प्यांगा र विदेशमा बस्दै आएका नेपालीले पनि आ-आफ्नो ढंगले जात्रा मनाउँदै आएका छन्।

 Published Date: Sunday, 19th September 2021 10:00:00 am