Kathmandu Press

प्रख्यात कलाकार भिन्सेन्ट भ्यान गगको साधनामा समर्पित ‘लभिङ भिन्सेन्ट’

विश्‍वविख्यात चित्रकार भिन्सेन्ट भ्यान गगको जीवन र रहस्यमय मृत्यु केलाउँदै फिल्म ‘लभिङ भिन्सेन्ट’मा चित्रकारिताकै विशिष्‍ट प्रयोग गरिएको छ। सिनेमामा चित्रकारिता ? आठ वर्ष लगाएर चुनौतिपूर्ण काम गर्दा निर्देशकहरूले प्रशस्त मिहिनेत गरेका छन्।
प्रख्यात कलाकार भिन्सेन्ट भ्यान गगको साधनामा समर्पित ‘लभिङ भिन्सेन्ट’

काठमाडौं, भदौ २६ : ‘ग्रेट आर्टिस्ट आर नट पिसफुल सोल’ अर्थात् ‘महान् कलाकारको आत्मा कहिल्यै शान्त हुँदैन’ कलाकार भिन्सेन्ट भ्यान गगको जीवनीमा आधारित फिल्म ‘लभिङ भिन्सेन्ट’को उत्तरार्धमा आएको एक अंश हो यो।

कुनै पनि नयाँ कला वा सिर्जनाको लागि मस्तिष्‍कमा उथलपुथल आवश्यक हुने कलाकारहरू स्वीकार्छन्। एउटा कलाकारमा नयाँ सिर्जनाको चिडचिडाहट र भोक जागिरहने उनीहरूको भनाइ हुन्छ। शान्त मस्तिष्‍कबाट सिर्जित गरिएका सिर्जनामा निखार देखिएला तर सिर्जनाकै प्रादुर्भावका लागि उथलपुथल आवश्यक पर्ने तर्क कलाकारहरूको हुने गर्छ।

कलाकारभित्र सौम्यताभन्दा पनि अशान्ति अर्थात् ‘तरंग’ फैलिनुपर्ने उनीहरूको भनाइ छ। हुन त, ‘अशान्त आत्मा’को भाष्‍य व्यक्तिपिच्छे फरक होला। यहाँ भने ‘तरंग’, ‘खोज’, ‘आविष्‍कार’ र आफ्नो सिर्जनाबाट सुन्तष्‍ट नहुनुलाई नै अशान्त आत्माको संज्ञा दिन सकिन्छ।

यस्तै, एक अशान्त आत्मा हुन्, विश्‍व प्रसिद्ध डच कलाकार भिन्सेन्ट भ्यानगग। र, उनको सोही अशाान्तिको चित्रण फिल्म ‘लभिङ भिन्सेन्ट’मा गरिएको छ। प्रख्यात कलाकार भिन्सेन्ट भ्यानगगको जीवनीमा आधारित फिल्म ‘लभिङ भिन्सेन्ट’ संसारकै पहिलो तैल चित्र एनिमेसनबाट बनेको चलचित्र हो।

कलाभित्र पनि विचित्र कला र प्रविधिको संयोजन यस फिल्ममा देख्‍न सकिन्छ। करिब ६५ हजार नौ सय ६० वटा हाते चित्रलाई प्रविधिसँग संयोजन गरी फिल्मको निर्माण गरिएको छ। सोही कारण यस फिल्मको निर्माण पूरा हुन करिब आठ वर्ष लाग्यो। सायद कलाप्रतिको साधना यसैलाई भनिन्छ।

को हुन् भिन्सेन्ट भ्यानगग ?

पोल्यान्ड मुलका डच आर्टिस्ट भिन्सेन्ट भ्यान गग ‘पोस्ट एक्स्प्रेसनिस्ट’ कलाकार हुन्। पोस्ट एक्स्प्रेसनिस्ट अर्थात् चित्रकलामा परम्परागत शैलीबाट परिष्‍कृत भई ब्रस स्ट्रोकको माध्यमबाट चित्रको भाव बुझाउने चित्रकार। भ्यान गगका प्रमुख पन्टिङहरूमा ‘पोटेटो इटर’, ‘सनफ्लावर’, ‘द स्टारी नाइट’, ‘बेड रुम अफ अर्लेस’, ‘यल्लो हाउस’ आदि हुन्।

उच्च मध्यवर्गीय परिवारमा जन्मेका भ्यान गग सानैदेखि गम्भीर र अन्तर्मुखी स्वभावका थिए। सन् १८५३ मा नेदरल्यान्ड्समा जन्मेका उनको सन् १८९० मा मृत्यु भयो।

२८ वर्षको उमेरमा चित्रकारिता सुरु गरेका भ्यान गगले कहिले डिलर, कहिले चर्चमा पादरी त कहिले मिसनरीमा काम गरे। अन्ततः उनी आफ्नो रुचिको क्षेत्र कलाकारितातर्फ मोडिए। ३७ वर्षको उमेरमै उनको मृत्यु भयो। उनको मृत्यु कसरी भयो भन्‍नेबारे किटान हालसम्म हुनसकेको छैन। यद्यपि, उनले गोली हानी आत्महत्या गरेको अधिकांशको भनाइ छ।

एक दशकको अवधिमा उनले करिब २१ हजार चित्र बनाए, तीमध्ये आठ सय ६० वटा तैल्यचित्र हुन्।

यद्यपि, उनको कलाकारिताले उनको जीवन अवधिभर ख्याती कमाउन सकेन। उनको जीवनकालमा उनले बनाएको ‘द रेड भाइन्स्’ नामक एक मात्र पेन्टिङ बिक्री भयो। त्यसबाहेक अन्य सबै पेन्टिङ उनका भाइ थिओ भ्यान गगले राखे।

भ्यान गगको मृत्युपछि भने उनका सिर्जनाले चर्चा पाए। ‘द स्टारी नाइट’ उनको सबैभन्दा रुचाइएको पेन्टिङ हो। आधुनिक कलाकृतिको पिताका रूपमा पनि भिन्सेन्ट भ्यान गगलाई मानिन्छ।

चिठी, जीवन अनि मृत्युको संयोग

फिल्मको सुरुवात हुन्छ, सन् १८९१ ताका (भिन्सेन्टको मृत्युको एक वर्षपछि ) फ्रान्समा एक हुलाकीका छोरा अर्माड रुइनबाट। उनका पिता जोसेफ रुइनले भ्यान गगको एउटा चिठी पाउँछन्, जुन उनले आफ्ना भाइ थिओ भ्यान गगलाई लेखेका हुन्छन्। पिता जोसेफ रुइनले छोरा अर्माडलाई चिठी पुर्याइ दिन आग्रह गर्छन्।

सुरुमा चिठी पुर्याउन आनाकानी गरेका उनी त्यहीँका लेफ्टिनेन्ट मिलेटबाट भिन्सेटको बारेमा केही रहस्यमय जानकारी हासिल गर्छन्। त्यसपछि भने बुवाको कुरा मानेर चिठी पुर्याउन जान्छन्। र, भ्यान गगको जीवनी उत्खननतर्फ उनी एकोहोरिन्छन्। यस्तो लाग्छ, उनले चिठी होइन, चिठीले उनलाई भ्यान गगतर्फ धकेलिरहेछ।

न त उनलाई भिन्सेन्टको परिवार कहाँ छन् भन्‍ने नै थाहा हुन्छ। चित्रकल व्यवसायी पेरहन टंगीसँग भिन्सेन्टको परिवारको ठेगाना माग्छन्। उनले चिठी हस्तान्तरण गर्नुपर्ने भिन्सेन्टका भाइले पनि उनको निधन भएको ६ महिनापछि नै इहलीला त्यागेको पत्तो लाग्छ। त्यसका बावजुद भिन्सेन्टको मृत्युबारे उनले थप शंकास्पद जानकारी पाउँछन्। यससँगै उनी लाग्छन् डा. ग्यासेको, जो भिन्सेन्टका हितैषी मित्र तथा चिकित्सक पनि थिए। डा. ग्यासेको बसाइ पेरिसमा हुन्छ।

काम विशेषले दुई दिन पेरिसबाहिर रहेका कारण उनलाई दुई दिन पर्खिनुपर्ने हुन्छ। उनी भिन्सेन्ट बसेकै होटलमा बस्छन्। दुई दिनको अवधिमा उनले होटलकी साहुनी, नाउ तथा अन्य विभिन्‍न पात्रबाट भिन्‍न-भिन्‍न कथा सुन्छन्। धेरैको इशारा डा. ग्यासेतर्फ हुन्छ। पात्रपिच्छेका भाष्‍यका उत्तरको प्रतीक्षामा अर्माड पनि डा. ग्यासेलाई पर्खेर बस्छन्।

यसलाई ‘नोइर डिटेक्टिभ’ फिल्मको रूपमा पनि लिन सकिन्छ। नोइर फिल्मको विशेषता भनेको फ्ल्यास ब्याक स्टाइलमा भनिने कथा हो, जसलाई ब्ल्याक एन्ड ह्वाइटमा चित्रण गरिन्छ। यस फिल्ममा पनि भिन्सेन्टको जीवनमा घटित घटनालाई फ्ल्यास ब्याक शैलीमा दर्साइएको छ। फिल्ममा भिन्सेन्टको हत्या वा आत्महत्या के थियो भन्‍ने किटान गरिएको छैन।

कलाकारहरू विभिन्‍न प्रकृतिका हुन्छन्। विश्‍व प्रसिद्ध साहित्यकार भर्जिनिया वुल्फ, सिल्भिया प्लाथका आत्महत्याका कहानी निकै अनौठा छन्। ‘स्ट्रिम अफ कन्ससनेस’को सुरुवातकर्ता भर्जिनिया वुल्फ यतिसम्म डिप्रेसनमा थिइन् कि उनलाई बाइपोलर डिअर्डसर थियो। आफ्नो लाश कसैले फेला नपारुन् भनेर उनले आफ्नो शरीरलाई ढुंगाले बेरेर नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्।

यस्तै, सिल्भिया प्लाथले खाना बनाउने ओभनमा आफ्नो टाउनको जलाएर आत्महत्या गरिन्। धेरै कलाकारले आत्महत्या गरेका यस्ता प्रशस्त उदाहरण छन्। तथापि, आत्महत्या रोजेका कलाकारले दिएका सिर्जना उच्चस्तरका छन् र छन् कालजयी पनि।

‘यु नो सो मच एबाउट हिज डेथ ? ह्वाट डु यु नो एबाउट हिज लाइफ ? (तिमी उहाँको मृत्युबारे यति धेरै जान्दछौ भने उनको जीवनको बारेमा कति थाहा छ ?)’ भिन्सेन्टको मृत्युबारे खोतल्न अर्माडलाई मार्गरिट ग्यासस (डा. ग्याससेकी छोरी) ले सोध्छिन्।

मार्गरिटको यस भनाइले जसरी हामी कुनै पनि मानिसको मृत्युप्रति किन यति धेरै सशंकित रहन्छौँ, जब कि हामी उनीहरूको जीवन कस्तो थियो भन्‍ने विषयमा भने जान्‍न किन इच्छुक रहँदैनौँ भन्‍ने प्रश्‍न गर्छ। मृत्युलाई यति महत्त्व दिइन्छ, जसप्रति कुनै पनि मानिस वा वस्तुको अस्तित्व नै रहँदैन। फिल्ममा पनि भिन्सेन्टको हत्या हो या आत्महत्या भन्‍ने विषयमा खोतल्ने प्रयास नगरिएको छैन। तर, प्रश्‍न अनुत्तरित छ। र, भिन्सेन्टले आफ्नो जीवनकालमा गरेको सिर्जनाका लागि उनलाई सम्मान गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराइएको छ।

फिल्मको अन्त्यमा भिन्सेन्टले लेखेको चिठी उद्धृत गरिएको छ, ‘एउटा चित्रकारको जीवनमा मृत्यु कति कठिन होला, त्यो मलाई थाहा छैन र म जान्‍न पनि इच्छुक छैन। तर, रातमा देखिने यी ताराहरूले मलाई सपना देख्‍न प्रेरित गर्छन्।’ उनका अनुसार मृत्युले उनलाई फरक पार्दैन। फिल्म अवधिभर उनले आत्महत्या गरे वा उनको हत्या भएको हो भन्‍ने विषयमा अर्माड केन्द्रित हुन्छन्। तर, अन्त्यमा उनी आफैँ पनि आफ्नो जीवन यात्रामा कसरी हिँड्नुपर्छ भन्‍ने बोध गर्छन्।

जीवनको अन्तिम समयमा एक्लोपन, डिप्रेसन, आर्थिक संकट सबैतिरबाट भिन्सेन्ट घेरिएका थिए। उच्च मध्यवर्गीय परिवारमा जन्मेका भिन्सेन्टको उपचारार्थ उनका भाइ थिओ भ्यान गगले गरेको संघर्ष फिल्म छुटाउन नहुने अर्को पाटो हो।

आफैँ पनि बिरामी र आर्थिक  संकटबाट गुज्रँदै गर्दा समेत थिओले दाइ भिन्सेन्टको उपचार र आवश्यकता पूरा गर्नबाट चुकेनन्। दाइको वियोगमा रहेका उनको पनि ६ महिनाको अन्तरालमै मृत्यु भयो। सोही कारण हुन सक्छ, भिन्सेन्टको चिहानसँगै उनका भाइको पनि लाश गाडियो। त्यसैले हो, भिन्सेन्टको गाथा गाउँदा उनका भाइ थिओलार्ई पनि सदैव सम्झने गरिन्छ।

संसारमा सबैभन्दा गाह्रो काम के होला ? केही कुरा नयाँ सिर्जना गर्नु। कुनै आकारप्रकारमै नभएका वस्तु, सामान वा विचारलाई अस्तित्त्वमा ल्याउनु। यो आफैँमा चुनौतीपूर्ण विषय हो। आकृतिलाई एउटा सुन्दर आकार दिनु सायदै सहज काम होइन। हुन त, कलाकार स्वतन्त्र हुन्छ सिर्जना गर्न, उनीहरूले जे पनि बनाउन सक्छन्। तर, भिन्सेन्टजस्ता कलाकार, जसको कलाकारितालाई उनीहरूको जीवनकालमा कसैले मन पराएनन्। निधनपछि भने आज उनै भिन्सेन्ट विश्‍वविख्यात छन्।

कला साधनाको पर्याय ‘लभिङ भिन्सेन्ट’

सुरुमा सर्ट फिल्मको रूपमा ‘लभिङ भिन्सेन्ट’ निर्माण गर्ने योजनामा निर्देशक डोरोथा कोबियला र ह्यु वेल्समेन थिए। तर, पटकथा बनाउने क्रममा उनीहरू फिचर फिल्मको कन्सेप्टमा गए। भिन्सेन्टले लेखेका चिठी पढ्ने क्रममा डोरोथालाई त्यो ‘आइडिया’ फुरेको थियो।

केही भिन्‍न गर्ने चाहना राखेका कारण पनि उनले फिल्मलाई भिन्सेन्टकै शैलीमा चित्रण गर्ने योजना बनाइन्। अर्थात्, डिजिटल प्रविधि र पेन्टिङको समिश्रण गरेर फिल्म बन्‍ने भयो। धेरैको सल्लाह डिजिटल पेन्ट बनाउने भन्‍ने थियो। तर, उनको रोजाइमा पर्यो आयल पेन्ट। आयल र प्रविधिको समिश्रणकै कारण यस फिल्मको निर्माण हुन आठ वर्ष लागेको थियो।

वास्तविक जीवनमा आधारित यस फिल्मका पात्र पनि भिन्सेन्टले बनाएका पेन्टिङकै आधारमा बनेका छन्। पृष्‍ठभूमिमा भिन्सेन्टकै ‘द स्टारी नाइट’, ‘द यल्लो हाउस’, ‘द ओल्ड मिल’, ‘द सोअर विथ सेटिङ सन’, ‘द फिसिङ बोट अन द बिच’, ‘ह्वाइट हाउस एट नाइट’, ‘द चर्च एट ओभर’ आदिलाई ‘सेट’ अर्थात् छायांकनस्थलमा प्रयोग गरिएको छ। उनको सबैभन्दा प्रख्यात चित्र ‘द स्टारी नाइट’लाई फिल्मको सुरुदेखि अन्त्यसम्मै कुशलतापूर्वक प्रयोग गरिएको छ।

पात्रहरू पनि उनैले बनाएका पेन्टिङका आधारमा सचित्र उतारिएको छ। फिल्मका हुलाकी पात्र जोसेफ रुइन उनको ‘द पोट्रेट अफ द पोस्ट-म्यान जोसेफ रुइन’बाट प्रेरित छ। यस्तै, आर्मन्ड रुइन ‘पोट्रेट अफ आर्मन्ड रुइन’, डा. मार्जरी ‘द सोअर विथ ओल्ड म्यान’, व्यापारी पेरहन टंगी ‘पोट्रेट अफ पेरहन टंगी’का रूपमा सचित्र छन्। फिल्मका अधिकांश पात्रका लागि भिन्सेन्ट र उनका चित्रकारिताका आधारमा कलाकारहरू छनोट  गरिएको छ। पात्रहरूका चित्रकलालाई संकलन गरेर सुहाउँदो अनुहार र बनाउन मिल्ने अभिनेता, अभिनेत्रीहरूको छनोट गरिएको छ।

त्यसपछि हरियो पर्दामा अन्य फिल्म जसरी नै प्रत्येक क्लिपको सुट गरी ती क्लिपलाई आयल पेन्टमा उतारियो। यसरी करिब ६५ हजार नौ सय ६० वटा पेन्टिङ फिल्मको लागि तयार गरियो। प्रविधिको संयोजन गरी उक्त पेन्टलाई एनिमेसनमार्फत फिल्मको रूपमा प्रस्तुत गरिएको छ।

प्रत्येक क्लिपलाई चित्रमा त्यो पनि आयल पेन्टमा ढाल्नु सहज काम भने थिएन। फिल्म युनिटले पोलिसका चित्रकार मात्र पर्याप्त नहुँदा विश्‍वभरको कलाकारलाई आह्वान गरेको थियो। पाँच हजार चित्रकारबाट ४५ जनाको टिमले फिल्मका लागि हरेक क्लिपको चित्र कोरे। डेढ घण्टाको यो फिल्म कुनै रिलमा खिचिएको सिनेमाभन्दा कम छैन। अझ दर्शकलाई भिन्‍न मनोरञ्‍जन दिएको छ।

फिल्ममा जति कलाकारितालाई जोड दिइएको छ, सोहीअनुसार फिल्मको पृष्‍ठभूमि स्कोरमा पनि कुशलतापूर्वक संयोजन गरिएको छ। कलाकारिताका कारण पार्श्‍वध्वनीजस्ता महत्वपूर्ण पक्ष छायामा परेका छैनन्। चाहे त्यो भिन्सेन्टको मृत्युको समयमा पृष्‍ठभूमिमा बजेको धुन होस् वा हुलाकी र उनको छोराबीचको संवाद वा उनको मृत्युको रहस्यमयी क्लाइमेन्समा, हरेक पाटोमा पार्श्‍वध्वनीलाई नजरअन्दाज गरिएको छैन।

फिल्मको निर्देशनको पाटो पनि अब्बल छ। ‘ग्रेट आर्टिस्ट आर नट पिसफुल सोल’को लोकोक्तिलाई सिनेमामा उतार्न निर्देशकद्वयले प्रशस्त मिहिनेत गरेको फिल्म हेर्दा अनुभूति हुन्छ। एक विशिष्‍ट कलाकारलाई दिइएको विशिष्‍ट सम्मान यही हो, सायद।

'लभिङ भिन्सेन्ट'को अफिसियल ट्रेलर

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्