अबको नारा : नेपाल जिन्दावाद

बिहान उठेर कलेज जान लाग्दै थिएँ, हजुरबुवा ठूलो स्वरमा चिच्याउँदै आउनुभयो र भन्न लाग्नु भयो, ‘नानी थाहा पायौ, फेरि त्यही घोप्टे मन्त्री बन्ने भएछ नि, आजै नियुक्ति पत्र दिएर शपथ ग्रहण गराउने रे ।’ मैले हजुरबुवालाई सोधेँ, ‘को भन्नुभएको हजुरबुवा ।’ उहाँको जवाफ, ‘त्यही के नानी हामी सँगै सानामा स्कुल पढ्थ्यौँ, पछि १० पनि पास गर्न नसकेर राजनीतितिर लागेको थियो । अहिले त पटक–पटक देशको मन्त्री भैरा’छ । हिजोजस्तो लाग्छ नानी, १० मा फेल गराएको भन्दै गुरुबा–गुरुआमालाई कालो मोसो दल्न हिँडेको । आज हेर त देश को मन्त्री त्यही पनि पटक–पटक । राजनीतिमै लागेर पछि बीकमसम्म पास ग¥यो रे भन्थे । तर, यसले देश चलाएको देख्दा त १० फेल हुँदा गुरुहरूलाई कालोमोसो लगाउन हिँडेको झल्झली याद आउँछ ।’

हजुरबुवा ७८ वर्ष पूरा भइसक्नुभयो । उहाँलाई देशको शासनपद्धति देखेर यति धेरै वितृष्णा छ भने आजको युवा वर्गमा कस्तो प्रभाव परेको होला ? त्यो सजिलै अनुमान गर्न सकिन्छ । साँच्चै हामीले हाम्रो देश सञ्चालनको साँचो कस्तो मानिसलाई सुम्पिँदै आएको छौँ । अब हरेक नेपालीले गम्भीर भएर सोच्ने बेला आएको छ । सयौँ वर्ष राणा र शाहहरूले देश कब्जा गरे, राणा र शाहहरूबाट ठूलो संघर्ष र बलिदानीबाट देशलाई मुक्त त गरियो तर देश र जनताको मुहारमा अपेक्षाअनुसार परिवर्तन हुन त परको कुरा, पुराना भएका सकारात्मक र असल कुराहरू पनि मासिँदै गए । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुदै संघीय गणतन्त्र पनि आयो । तर, सीमित मानिसका लागि आलोपालो सत्ता साझेदारीको अवसरबाहेक नेपाली जनताले केही पाउन सकेनन् । गरिब अझै गरिब हुने र धनी झन् धनी हुने प्रचलन दिन दुईगुना रात चारगुना हुन थालेको छ । प्रतिव्यक्ति ऋणको भारी प्रत्येक वर्ष बढिरहेको छ । सरकारको लाचारीका कारण शिक्षित बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दो छ ।

देशका विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उतपादन गर्ने कारखाना सिद्ध भएका छन् । आज पनि ५० लाखभन्दा बढी नेपाली अनेक बहानामा अरू मुलुकमा कष्टकर र हेपाइको जीवन बिताएर बस्न बाध्य छन् । नातावाद र कृपावादको जालो यतिसम्म बलियो भएर देशको भित्तामा टाँसिएको छ कि अब यो जालो फाल्नलाई ठूलै बलको आवश्यकता छ । आफ्नो चिनजानको मानिस ठाउँमा नहुने हो भने यहाँ जतिसुकै योग्यता हासिल गरे पनि रोजगारी पाउन असम्भव नै छ । कमिसनखोरी, भ्रष्टाचार, अराजकता, दण्डहीनता यतिसम्म मौलाएको छ कि एउटा बाटो निर्माणजस्तो आधारभूत विकासको काममा समेत टोलेदेखि मुण्डलेसम्मको कमिसन र भ्रष्टाचारले २० प्रतिशत रकम पनि बाटो निर्माणमा प्रयोग हुन पाउँदैन । महँगीले आकाश छोइसक्यो ।

देशमा लोकतन्त्र र गणतन्त्र आएको पनि डेड दशक भइसक्यो तर सीमित मानिसले बाहेक तीन करोड नेपाली जनताले त्यो कहिल्यै अनुभूति गर्न पाएनन् । सामाजिक र आर्थिक रूपमा परिवर्तन हुन कहिल्यै सकेन । आज देशमा यस्तो भयावह अवस्था आएको छ कि देशका नागरिकलाई नागरिकताभन्दा बढी आवश्यकता पासपोर्ट र परिवार पाल्ने रोजगारीको आवश्यकता छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको छ ।

देशमा राणाले शासन गरे, शाहले शासन गरे । पञ्चायत आयो, बहुदल आयो । कांग्रेस र कम्युनिस्टले पालैपालो सरकार चलाए तर स्थिति उही जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो कसैले पनि देश र जनताका लागि सिन्को भाँचेनन् । त्यति मात्र कहाँ हो र, देशमा सर्वहारा वर्गको उत्थान गर्ने नारा लिएर एउटा समूहले १० वर्ष लामो गृहयुद्ध ग¥यो । २०औँ हजारले अकालमा ज्यान गुमाए, हजारौँ अंगभंग भए, हजारौँ बालबालिका टुहुरा भए, हजारौँ विधवा भए, हजारौँको काख रित्तियो, अझै हजारौँ बेपत्ता छन् । देशको खर्बौँको सम्पत्ति नाश भयो । उनीहरूले पनि पटक–पटक शासन गर्ने मौका पाए तर परिणाम पहिलेको जस्तै ।

देशका नेताहरूले सत्ता, शक्ति र कुर्सीको मोहमा यसरी हानथाप गरे कि एउटा हड्डी कुकुरहरूको बथानमा फाल्दा जसरी लुछाचुँडी हुन्छ, त्यस्तै । आफ्ना सीमित आसेपासे र झोलेबाहेक तमाम तीन करोड नेपाली जनताको भागमा दुःख, पीडा, कष्टबाहेक केही हुन सकेन । सरकारको प्रमुख काम देशमा सुशासन कायम गर्नु हो तर यहाँ त्यस्तो हुँदैन । यहाँ त बलात्कारीलाई लुकाइन्छ, हत्यारालाई भगाइन्छ, सोझालाई फसाइन्छ, अर्बौँको भ्रष्टाचारीलाई लाखको दूधले नुहाएर चोख्याइन्छ । पैसा, सत्ता र शक्तिका लागि सिंगो पार्टी टुक्रा–टुक्रा पारिन्छ, पाँच वर्षमा १० वटा पार्टीमा चहारिन्छ । पार्टी परिवर्तन गर्न सिद्धान्त मिल्नुपर्दैन, कुर्सी मिले हुन्छ । पालैपालो सत्तामा जाने अनि आफ्नो १० औँ पुस्तालाई पुग्ने सम्पत्ति जोड्नेबाहेक सिन्को भाँच्ने काम भएको छैन ।

अचम्म हुँदो रहेछ यहाँको गणतन्त्रमा, जे गर्न पनि पाइँदो रहेछ । नेताका छोराछोरीलाई पहाड चढ्न मन लाग्यो भने रातारात करोडौँ विनियोजन हुन्छ, तिनीहरूलाई गँड्यौला पाल्न मन लाग्यो भने पनि करोडौँ विनियोजन हुने, सत्तामा छउन्जेल देशको ढुकुटी रित्याउने अनि सत्ताबाट बाहिरिएपछि पनि आफ्नो र परिवारको उपचारको बहानामा लुट्न सकेको लुट्ने ।

‘लुट्ने सके लुट नेपालमै छ छुट’ भन्ने कथन यथार्थ सिद्ध भएको छ । यी त समग्र देशमा भएको बेथितिपूर्ण शासन पद्धतिका प्रतिनिधि घटनाहरू मात्र हुन् । समाज, टोल र घर–घरका कथाव्यथाहरू त लेखेर र सुनाएर साध्य नै छैन । यो सबै हुनुमा गल्ती कसको छ ? अब समाधान के त ? यो विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ । र, समयमै उचित कदम चाल्नुपर्छ । अब पनि तपाईं हामी चुप लागेर बस्ने हो भने हाम्रो देश कहिल्यै उठ्न नसक्ने गरी दलदलमा फस्ने छ । देशमा यस्तो बेथिति बढ्नुमा शासन सत्ता चलाउने व्यक्तिको दोष होइन । दोष त मेरो हो, हाम्रो हो । हो, दोषी हामी हौँ, हामी नै हौँ, पटक–पटक जिताएर सत्तामा पु¥याउने, देश र जनतालाई लुट्न अवसर दिने ।

अब जे जति हुनु भइसक्यो तर अब हामीले आँखा खोल्ने बेला भएको छ । देश बचाउने जिम्मा तपाईं हाम्रो काँधमा आएको छ । आउनुहोस्, आजै र अहिले नै तपाईं हामी  कसम खाउँ– अबदेखि ७०, ८० वर्ष नाघेका वरिष्ठ र सम्मानितलाई आरामको जरूरत छ, उहाँहरूलाई विज्ञको रूपमा राखी आराम गर्न दिऊँ, हाम्रालाई होइन राम्रालाई सत्तामा, पहुँचमा पु¥याउँ, देशमै रोजगारीको अवसर सिर्जना गरौँ ।

पुराना अनुहारलाई विस्थापित गरौँ । उनीहरू पटक–पटक फेल भइसके, अब आशा गर्ने ठाउँ छैन । आउनुहोस् आजै र आहिलेबाटै देश बनाउने अभियानमा लागौँ । जबसम्म शिक्षित र योग्य व्यक्तिहरू नोकरी, व्यापार, व्यवसाय गर्ने अनि अशिक्षित र अराजकले देश चलाउने गर्छन्, देशमा परिवर्तनको कल्पनासमेत गर्न सकिँदैन । जति लुट्नु थियो लुटिसके, जति चुस्नु थियो चुसिसके, देशको ढुकुटी । आउनुहोस् आजैबाट खबरदारी गरौँ र अहिलेबाटै देशभक्ति, कर्मठ र नैतिकवान युवा वर्गलाई देशको चाबी सुम्पिऔँ ।

अब तपाईं हामी मिलेर शिक्षित र योग्य व्यक्तिलाई पहिचान गरेर देश सञ्चालनको चाबी बुझाउन जरुरी छ । तर त्यसभन्दा पनि अगाडि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्न अत्यन्त जरुरी छ । जसले गर्दा मैले काम गर्न सकिनँ भने मलाई फिर्ता बोलाउँछन् भन्ने डर हुन्छ । जबसम्म देशको कार्यकारी अधिकारप्राप्त व्यक्ति प्रत्यक्ष निर्वाचनबाट ‘राइट टु रिकल’को व्यवस्थासहित छनोट गरिँदैन, तबसम्म यी बेथिति समाधान हुन सक्दैनन् ।

अब पनि तपाईं हामीजस्ता शिक्षित युवाले यसबारेमा नसोच्ने हो भने देशले भोलि अफगानिस्तान, सिरिया र लिबियाको नियति बेहार्नुपर्ने हुन सक्छ । अनि त्यतिबेला हाम्रा सन्ततिले धिकार्ने छन् हामीलाई । हाम्रा पुर्खाले नै दुःख, पीडा, कष्ट, अन्याय र अत्याचार भोगिसके, हामी आज पनि भोग्दै छौँ । तर, अब तपाईं हामी मिलेर हाम्रा सन्ततिलाई यसबाट मुक्त गराउनुपर्छ । अब साँच्चै युवा देश परिवर्तनका लागि गाउँ, सहर, बस्ती र गल्ली–गल्लीबाट जागरुक हुने बेला भइसकेको छ । त्यसैले आजैबाट आफ्नो परिवार, इष्टमित्र र साथीभाइ सबैलाई लिएर देश बनाउने अभियानमा जुटौँ । हाम्रा भावी पिँढीलाई सुन्दर, शान्त र सुशासनसहितको भगवान गौतम बुद्ध र सगरमाथाको देश सुम्पिनु छ । आउनुहोस् देश बनाउने जागरण अभियानमा सहभागी बनौँ ।

नेपाल जिन्दावाद

(लेखक अधिवक्ता हुन्)
 

 Published Date: Saturday, 11th September 2021 10:24:00 am