बुवाको अधुरो सपना पूरा गर्न राजनीतिमा
दैलेख दुल्लु नगरपालिका-३ मा कांग्रेसको वडा सभापति बनेकी स्वस्तिका महत भन्छिन्, ‘बुवा बित्नु हुँदा अभिभावकविहीन वडावासीको अभिभावक बन्नुछ, म कमजोर छैन।’काठमाडौं, भदौ २० : १९ वर्षीया किशोरी स्वस्तिका महत अहिले चर्चामा छिन्। किशोरावस्थामै कांग्रेसको दैलेख दुल्लु नगरपालिका-३ को वडा सभापति निर्वाचित भएपछि उनले देशव्यापी चर्चा पाएकी छन्। उनलाई वडाका कांग्रेस नेता-कार्यकर्ताले सर्वसम्मत सभापति निर्वाचित गरेका हुन्।
बाबुको बिँडो थाम्न राजनीतिमा प्रवेश गरेकी उनको अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।
दुल्लु-३ पालीकी स्थायी बासिन्दा हुन् उनी। वडा अधिवेशनको तयारी सुरु भएपछि उनले वडाका आफ्ना अग्रजहरूसँग सभापतिका लागि आफू तयार रहेको प्रस्ताव गरिन्। तर, सुरुमा सकारात्मक जवाफ पाइनन्। उनका अग्रजहरूले सानो र पढ्ने उमेर भएकाले राजनीति उनका लागि सहज नहुने सल्लाह पाइन्। उच्च शिक्षा हासिल गरेर जागिरतर्फ लाग्नुपर्ने सल्लाह पनि अग्रजबाट पाइन्।
‘मैले सबैलाई बुझाउने प्रयास गरेँ। म सक्षम छु, अध्ययन र राजनीतिक सँगसँगै अगाडि बढाउनसक्छु भनेँ,’ उनी भन्छिन्, ‘पढे पनि देशको सेवा गर्ने हो राजनीतिमा लागे पनि सेवा गर्ने हो भनेर विश्वास दिलाएँ।’
कांग्रेसको वडा सभापति बन्ने निर्णय उनले गरिसकेकी थिइन्। उच्च शिक्षा हासिल गरेर करिअर अगाडि बढाउने सल्लाह पनि गलत थिएन। तथापि, उनी बाबुको राजनीतिक बिँडो थाम्ने निश्चयमा पुगिसकेकी थिइन्।
‘किशोरावस्था र त्यसमा पनि महिला भएकाले भोलिको दिनमा विवाह गर्नुपर्छ, राजनीतिमा लागेपछि विभिन्न ठाउँमा पुग्नुपर्छ भन्ने प्रश्न आयो,’ उनी भनिछन्, ‘महिला अगाडि बढ्न सक्छन्। सशस्त्र द्वन्द्वकालमा त १८-१९ वर्षको उमेरमा बन्दुक बोकेर महिला युद्ध लड्न गएका थिए। अहिले युद्ध छैन, बौद्धिक क्षमताअनुसार लड्ने हो। त्यसका लागि म सक्षम छु भनेर उहाँहरूलाई सहमत गराएँ।’
सरकारले १६ वर्ष पुगेपछि नागरिकता दिन्छ। ‘सरकारले नागरिकता दिनुको अर्थ सक्षम नागरिक बनिस् भन्ने हो। १८ वर्ष लागेपछि कानून पनि लाग्छ। कानूनले पनि १८ वर्ष भएपछि परिपक्व भइस् है भनेको छ। कानूनले सक्षम भनिरहँदा तपाईंहरूले मलाई सक्दिन भन्न नहुने तर्कबाट सबैलाई सहमत गराएँ,’ उनी भन्छिन्।
त्यसै पनि राजनीतिमा लाग्न विवाहले रोक्दैन। आफ्नो इच्छाशक्ति छ भने विवाह बन्धनले नरोक्ने उनको तर्क छ। ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने अग्रजलाई बुझाएर उनी वडा सभापतिको उम्मेदवार बनिन्। अग्रजहरूले पनि ‘तँ ताक् म पुर्याउँछु’ भन्ने उखान चरितार्थ गर्दै उनलाई सर्वसम्मत वडा सभापति बनाइदिए।
गाउँबाट पहिला नराम्रो प्रतिक्रिया पाए पनि सभापति भइसकेपछि सबै सकारात्मक बनेको उनी बताउँछिन्। सुरुमा सानो उमेर भएकाले जिम्मेवारी बहन गर्न सक्दिनन् कि भनेर शंकाको सुविधा लिएका अग्रजहरू अन्ततः उनलाई आफ्नो नेता बनाउन तयार भए। र, सबैले कार्यकाल सफल बनाउन हरसम्भव साथ दिने वचन दिएका छन्।
उनको बुझाइमा राजनीतिमा महिला आफैँ पछाडि परेका हुन्। महिलामा ‘सक्दिनँ’ भन्ने मनोविज्ञान हावी हुँदा राजनीतिमा उनीहरूको यात्रा नै सुरु हुन नसकेको उनको भनाइ छ।
‘पहिले महिला आफैँमा आत्मविश्वास हुनुपर्छ। राष्ट्रपति भएर महिलाले देश चलाइरहेकी छन्। उनी महिला भएर पनि देश चलाइरहेकी छन् भने हामीले किन नसक्ने ?’ उनी भन्छिन्।
कांग्रेस वडा सभापतिमा निर्वाचित भएपछि उनको पहिलो प्राथमिकता छ, स्थानीय तहका समस्याबारे माथिल्ला निकायलाई जानकारी दिने । र, त्यस्ता समस्या समाधान गर्न सकिने उनले बुझेकी छन्। ‘भ्रष्टाचार कम गर्ने, बलात्कार, बाल विवाह, आफ्नो गाउँमा भएको स्वास्थ्य समस्याहरूको समाधान गर्ने एजेन्डा छन्,’ उनी भन्छिन्, ‘युवा वर्गका लागि ‘युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्न माथिल्ला निकायसँग सल्लाह सुझाव लिएर अगाडि बढ्छु।’
बाबुको अधुरो सपना पूरा गर्ने धोको
पारिवारिक पृष्ठभूमि भएकाले स्वस्तिकामा सानैदेखि राजनीतिप्रति रुचि थियो। उनका बाबु भूपेन्द्रजंग महत कांग्रेस दैलेख जिल्ला उपसभापति थिए। ‘रेडक्रसबाट सुरु भएर नेविसंघ हुँदै पार्टीको जिल्ला कोषाध्यक्ष र १३ औँ महाधिवेशनमा जिल्ला उपसभापति हुनुभयो,’ स्वस्तिका भन्छिन्, ‘म राजनीतिमा लाग्नुको प्रेरणा र गुरु मेरो बुवा हुनुहुन्छ। उहाँले आफ्नो पूरा जिन्दगी राजनीतिमा बिताउनुभयो। समाज रूपान्तरण, विकास, सामाजिक विकृति हटाउने, महिला हिंसा र भ्रष्टाचार न्यूून गर्ने बुवाको सपना थियो। ती सपना पूरा गर्न पनि राजनीतिमा प्रवेश गरेँ।’
६ कात्तिक ०७६ मा उनका बुवाको निधन भयो। त्यसपछि वडावासीले अभिभावकविहीन बन्नुपरेको उनी बताउँछिन्। ‘बुबाको निधन भएपछि गाउँ नै टुहुरो भयो। बुवा बित्नु हुँदा अभिभावकविहीन बनेका वडावासीको अभिभावक बन्नु छ, म कमजोर छैन।’
भूपेन्द्रको निधनबाट गाउँ नै शोकमा डुबेको थियो। त्यतिबेलै उनले बाबुको बिँडो थाम्न राजनीतिमा होमिने निश्चय गरिसकेकी थिइन्।
‘बुवा बित्नु भएपछि गाउँको विकास गर्ने र सामाजिक विकृति हटाउने योजना अधुरै रहे। म घरको पहिलो सन्तान भएकाले उक्त जिम्मेवारी मैले लिएँ,’ उनी भन्छिन्।
उनले स्वास्थ्य सहायक (एचए)सम्मको अध्ययन सकेकी छन्। ०७४ सालमा सुर्खेतबाट बुलबुले भेरी एकेडेमीबाट एसईई गरेकी हुन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचए सकिन्। २७ कात्तिक ०५८ मा जन्मेकी हुन् उनी। आमा अरुणा बीसी महत र भाइ सन्दीपको जिम्मेवारी पनि उनले नै वहन गर्नुछ।
सशस्त्र द्वन्द्वकालमा उनीहरूको घर लुटियो। त्यसपछि उनको परिवार दैलेखबाट विस्थापित भयो। सुर्खेत वीरेन्द्रनगर पुगेर कोठा भाडामा लिएर बसे। त्यसको पाँच-सात वर्षपछि बल्ल शान्ति प्रक्रिया सुरु भयो। उनको बाल्यकाल कठिनाइसाथ बित्यो। ‘राजनीतिमा लाग्दा बुवाले पाएका दुःख र उहाँले गरेको योगदानबाट म प्रभावित थिएँ,’ उनी भन्छिन्, ‘पढाइ व्यक्तिगत जीवन हो भने राजनीति सामाजिक जीवन हो। त्यसैले म दुवैलाई अगाडि बढाउँछु।’
उनको बुझाइमा राजनीति देश र जनताको सेवा एउटा बलियो माध्यम हो। सोहीकारण इमानदारीसाथ निःस्वार्थ भावले काम गर्नुपर्ने उनले बुझेकी छन्।
आफ्नो बुवाका बारेमा सकारात्मक कुरा सुन्दा राजनीति बुझ्न मन लाग्थ्यो, उनलाई। तर, अध्ययनका कारण अगाडि बढाउन सकेकी थिइनन्। ‘एक्लै त घर चलाउन पनि सकिँदैन भने देश चलाउन कहाँ सकिन्छ र,’ उनी भन्छिन्, ‘सबै वडावासीको सहयोगका कारण सभापति भएँ। अब युवा वर्गका लागि प्रेरणा बन्छु।’
कुनै पनि महिला कमजोर नहुने उनी बताउँछिन्। उनीहरूलाई सामाजिक संरचनाले कमजोर बनाएको उनले राम्ररी बुझेकी छन्। ‘इच्छाशक्ति भएमा हरेक काम गर्न सकिने आत्मविश्वास छ। आगामी दिनमा राजनीति बुझ्दै र काम गर्दै जान्छु,’ उनी भन्छिन्।