Kathmandu Press

ईश्वर छ कि छैन ? 

धर्म र ईश्वरका प्रवक्ता र सञ्चालक जन्मिन थालेपछि, धर्मको नाममा कर्मकाण्डको थालनी गरेपछि, धर्म र ईश्वर धन, दौलत र प्रतिष्ठाको कब्जामा पर्न थालेपछि ‘बार’को रूपमा अनेकौँ बेथिति जन्माउन थाले ।
ईश्वर छ कि छैन ? 
Hardik ivfHardik ivf

मान्छे स्वतन्त्र जन्मन्छ । जन्मनासाथ उसलाई धर्म, जात, भूगोल र संस्कारका जालोहरूले छोप्न थालिन्छ । उसको नितान्त व्यक्तिगत कुराहरूलाई पनि समाजिकीकरणको नाममा खोसिन्छ र समाजको पछि लाग्न बाध्य पारिन्छ । उसले बेग्लै धारणा, विचार र शैली प्रस्तुत ग¥यो भने समुदाय, समाज र संस्कार विरुद्धको ठानेर समाजमा टिक्नै नसक्ने पारिन्छ । व्यक्तिले स्वतन्त्रपूर्वक चिन्तन गर्न, विवेक प्रयोग गर्न र नयाँ सिर्जना प्रस्तुत गर्न नपाउनु भनेको समाज यथास्थितिमा रहिरहन बाध्य पारिनु पनि हो ।

समाज विकासका क्रममा धर्मलाई समाज सञ्चालनको महत्त्वपूर्ण अङ्ग मानिन थालियो । धर्ममा ईश्वर पनि घुसाइयो । ईश्वर मिसाइएको धर्मका विधि विधान अनुसार नचल्नु पाप गर्नु हो भन्ने भ्रम फिँजाइयो । सुरुमा संसारको सृष्टि, सञ्चालन र प्रगतिमा एउटा अदृश्य शक्ति ‘ईश्वर’को हात होला भन्ने कल्पनाबाट जन्माइएको ईश्वरलाई धर्ममा घुसाइएपछि समाजका टाठाबाठाहरूले धर्मलाई समाज विकासका लागि ‘बार’को रूपमा स्थापित गरे । धर्मको आडमा जातभात, पेसा र संस्कारको जन्म गराइयो । धर्म र ईश्वर समाजको संरक्षण, संवद्र्धन र विकासका लागि खडा गराइयो । समाजमा कुरीति कुप्रथा नपसून्, समाज व्यवस्थित ढङ्गले अघि बढोस् र समाजलाई अहित हुने अँध्यारा पक्ष पस्न नपाऊन् भनेर ‘बार’को रूपमा ‘धर्म’ खडा गरिएको थियो । धर्म र ईश्वरका प्रवक्ता र सञ्चालक जन्मिन थालेपछि, धर्मको नाममा कर्मकाण्डको थालनी गरेपछि, धर्म र ईश्वर धन, दौलत र प्रतिष्ठाको कब्जामा पर्न थालेपछि ‘बार’को रूपमा अनेकौँ बेथिति जन्माउन थाले । नारी पुरुषको भेद, जातीय विभेद, धनी र गरिबको विकराल खाल्टो एवं पद र प्रतिष्ठामा रहनेहरूले निसहाय र निमुखाको हुर्मत लिँदै समाजका बहुसंख्यक मान्छेहरूको सपना नै खोस्नु मात्र नभई बारको रूपमा रहेको धर्म र ईश्वरले बालीको रूपमा रहेको समाजलाई नै रोक्ने, चिथर्ने, गिँड्ने, घाइते बनाउने र निल्ने समेत गर्न थालेका छन् ।

संसार बदलिरहेछ, बदलिरहन्छ पनि । विगतका घटनाहरू वर्तमानका लागि ज्ञान बन्न त सक्तछन् तर, विगतले नै वर्तमानलाई अचेटिरहने र च्यापिरहने हो भने वर्तमान स्वतन्त्र, सम्वृद्ध र सिर्जनशील बन्नै सक्तैन । हरेक मान्छेसँग एउटा सिर्जनशील मनस्थिति हुन्छ । कसैको पनि जञ्जालमा नफसी केही गर्न पाउने हो भने प्रत्येक मान्छेले समाज र संसारको लागि केही नवीन कृति प्रस्तुत गर्न सक्तछ । जवसम्म मान्छेले नवीन गोरेटो खन्ने स्वतन्त्रता पाउँदैन तबसम्म संसारको विकास ढुलमुल, अस्पष्ट र अघोगतियुक्त बन्दछ ।

स्वतन्त्र प्रकृतिमा मान्छेका क्रियाकलापहरू स्वतन्त्र कृतिको रूपमा फैलिन नपाएसम्म उज्यालो छाउन सक्तैन संसारमा ।

ईश्वरवादीहरू ईश्वर वास्तविक छ, ऊ सर्वशक्तिमान छ, ऊ सर्वज्ञ छ, ऊ पूर्णतः शुभ हुन्छ र त्यसो हुँदाहुँदै पनि संसारमा अशुभ घटनाहरू घटिरहनु वास्तविक हो भन्ने पाँच कुराहरूलाई मान्दछन् । उनीहरू ईश्वरले मानवलाई स्वतन्त्र छाडेकोले उसले शुभ वा अशुभ दुवै काम गर्न सक्तछ पनि भन्छन् । यी दुवै कुरालाई विश्लेषण गर्ने हो भने पनि मान्छे स्वतन्त्र छैन ऊ ईश्वरकै अधिनमा छ भन्ने उनीहरूको धारणा छ । यदि ईश्वर हुँदो हो, उसले संसार सृष्टि गरेको हुँदो हो र ईश्वर सधैँ शुभ हुने हो भने उसले मान्छेलाई अशुभ काम गर्न र प्रकृतिमा विपत्ति सिर्जना गर्न किन उक्साइरहन्छ ? आफैंले सृष्ट गरेको सृष्टिमा किन उसले विपत्ति, विनास र विकृति फैलाइरहन्छ ।

त्यसो हो भने त ईश्वर जत्तिको खलपात्र अरू बन्नै सक्तैन । आफैँले सृष्टि गरेकोलाई पीडा दिनु, सताउनु, विपत्तिको बबण्डर मच्चाउनु उसको कहाँसम्मको नैतिकता ? यस हिसाबले ईश्वरवादीहरूले ईश्वरलाई सर्वशक्तिमान रूपमा जन्म त दिए तर, उसलाई अन्यायी, अनुशासनहीन र निर्दयी पनि बनाइदिए । धर्म ईश्वरको सम्प्रभुता स्वीकार्छ । भगवानको स्तुति गर्नु, उपवास वस्नु, भजन कीर्तन गर्नु, भक्ति, ब्रत, प्रार्थना गर्नु जस्ता कुराहरू धर्मले समेटेको छ । धर्मले कारण खोज्नेलाई राम्रो मान्दैन, विश्वास गर्नुमा महत्त्व दिन्छ । धर्ममा आवद्ध हुनु र धर्मको मान्यता अनुसार संचालित हुनु मान्छेको प्रमुख कर्तव्य हो भन्ने धर्मको मान्यता र विधान छ । यस हिसावले धर्मबाट अलग भएर मान्छेले एक पल पनि बाँच्न र चल्न सक्तैन । यसले मान्छेलाई ऊ भित्र रहेको सिर्जनशीलतालाई दवाउने काममा बढावा दिन्छ र ‘मान्छे’ ‘मान्छे’को रूपमा स्वतन्त्र र विवेकशील बन्न पनि नपाउने अवस्था छ । परिणामतः संसारमा कहिल्यै पनि नव चिन्तन, नव क्रियाकलाप र नव आविश्कार गर्न गाह्रो हुने स्थिति धर्मले सिर्जना गरेको छ ।

धर्मले धार्मिक आचारमा विशेष जोड दिन्छ । भन्न त धर्म र आचरण बीच स्वतन्त्रता हुनुपर्छ भनिन्छ तर, विना आचारको धर्म सम्भव नहुने र बिना धर्मको अआचरण सम्भव नहुने तर्क पनि धर्मले अघि सार्दछ । त्यस अतिरिक्त धर्म मूल कुरा हो र आचरण त्यस अनुरूप मात्र हुनुपर्छ भन्ने धर्मान्धीहरूको अवधारणा समाजमा फैलेपछि स्वतन्त्र चिन्तनले अस्तित्व बचाउन असाध्यै गाह्रो पर्दछ ।

मान्छे धर्ममा आबद्ध नबनेर पनि अनुशासित र सिर्जनशील दंगबाट अघि बढ्न सक्तछ । कुनै पनि धर्ममा आवद्ध नबनेर नवीन सोच र नवीन सिर्जनाको माध्यमबाट प्रकृतिलाई अझ सुन्दर र जीवनलाई अझ सुखमय बनाउन सकिन्छ । धर्मले त्यो पक्षमा बार सिर्जना गर्दछ, उसले निर्देशनात्मक आदेशका बिटाहरू तेस्र्याउँछ र मान्छेलाई धर्म विना हलचल गर्न नसक्ने स्थितिमा पु¥याउँछ । त्यो प्रकृति विरुद्धको प्रणाली हो । प्रकृति एउटा आफ्नै प्रणालीमा चलेको छ, चलिरहन्छ । धर्मले प्रकृतिको बारेमा जत्ति आख्यानहरू सिर्जना गरेपनि प्रकृतिको एउटा मात्र प्रणाली रोकिने हो भने संसार ध्वस्त हुन्छ । संसारबाट सूर्य एउटा मात्र समाप्त हुने हो भने धर्ममा जतिसुकै कथा, पूजा, प्रार्थना, जप, तप बेकार सावित हुन्छन् । वि.सं. २०७२ वैशाख १२ गते शनिवार ११ः५६ मा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प आयो । त्यसले दशौँ हजार मान्छेहरूको ज्यान लियो । मन्दिरमा पूजा गरिरहेका, मस्जिदमा र चर्चमा प्रार्थना गरिरहेका असंख्य मान्छेहरू पनि भूकम्पमा ज्यान गुमाउन बाध्य बने । ईश्वर हो र छ भने ईश्वरले नै किन अकालमा नै मार्छ आफ्ना भक्तहरूलाई ? धर्म यस विषयमा ठोस तर्क अघि सार्न र तर्कको सामना गर्न उत्साह झिक्दैन ।

धर्मले मान्छेलाई स्वाभिमानी र सक्रिय होइन पापी, अधर्मी र कमजोर बनाउने प्रयास गरेको छ । धर्मले आदर्श आचरण पालना गर्नुपर्छ त भन्छ तर अर्को धर्मको आलोचना गर्नु, आफ्नो धर्मको जतिसुकै खराब गुणको पनि आलोचना नगर्नु, धर्मले निम्त्याएका विभेदलाई पनि सहर्ष स्विकार्नु उच्च कार्य हो भन्ने मान्छ । यसले मान्छेलाई जन्मजात रूपमा विवेकहीन र अमर्यादित बनाउन प्रोत्साहित गर्दछ । त्यस अवस्थामा मान्छे स्वतन्त्र हुनु भनेको एक्लिने स्थितिमा पुग्दछ । जसको सामना गर्ने क्षमता अत्यन्त साहसीमा मात्र हुन्छ । 

देवी–देवता, जादु–टुना, भूत–प्रेत जस्ता अमानवीय तत्त्वहरूको बढावा भएसम्म मान्छेले सरल ढंगबाट जीवनयापन गर्न गाह्रो पर्छ । धर्मले मान्छेलाई विभाजन गरेको छ । प्राकृतिक विपत्तिबाट बच्न प्रार्थना, जप, तपले मात्र धान्ने कुरै होइन, मानव सिर्जनाको सहारा नै जरुरी बनेको छ । मानव जातिले प्रकृतिमा आफ्नो प्रभाव फैलाउन थालेपछि प्रकृतिका अनेकौँ साधनलाई प्रयोग ग¥यो र मानव जातिलाई सुखमय बनायो । प्रकृतिका साधनको रूप परिवर्तन गर्ने क्रममा मान्छेले नयाँ नयाँ विचार फैलायो, नयाँ नयाँ आयाम विस्तार ग¥यो । यसलाई एकातिर धार्मिक रीतिमा मोडियो अर्कोतिर वैज्ञानिक सोचमा समेटियो । धर्म विश्वासमा बढ्न थाल्यो, विज्ञान प्रमाणमा । धर्म र विज्ञान दुवै मान्छेको जिज्ञासाबाट जन्मिएका हुन् तर, यी दुवैको दूरी यतिखेर सारै ठूलो बनिसकेको छ । धर्मले ब्रह्मप्राप्ति निर्वाण प्राप्ति, स्वर्गप्राप्ति, ईश्वरप्राप्ति जस्ता चरम उद्देश्य निर्धारण गर्दछ, हेरेर र प्रमाण खेलाएर पुष्टि हुने कुरा छैन । विज्ञान इन्द्रिय अनुभूति र तथ्यपूर्ण प्रमाणिकताको सामना गर्दछ । विज्ञानले सिर्जनात्मकतालाई जोड दिन्छ ।

संसार स्वतन्त्र ढंगबाट आफ्नै प्रणालीमा चलिरहेछ । मान्छे प्रकृतिको एक स्वतन्त्र सिर्जना हो । मान्छे स्वतन्त्र प्रकृतिमा स्वतन्त्र रूपमा जन्मिएपछि उसले आफ्ना क्रियाकलापहरू पनि अरूलाई नराम्रो असर नपर्नेगरी स्वतन्त्र रूपमा अघि बढाउन पाउनुपर्दछ । विद्यमान परिस्थिति र परम्पराहरूको विपरीत चलेर वा नयाँ अवधारणा जन्माएर पनि संसारलाई अझ समुन्नत बनाउन सकिन्छ भने त्यो मान्छेले गर्न पाउनु पर्दछ ।

पुराना जालोहरू र धूलो मैलोले ढाकिएर, समयले छोडेर हिँडिसकेका थोत्रा र जीर्ण विचारहरूमा मात्र जकडिएर मान्छेले उज्यालो संसार सिर्जना गर्न सक्तैन ।

मान्छेले टेक्ने र देख्ने संसारलाई समुन्नत बनाउन सोच्ने, काम गर्ने र उपभोग गर्ने अधिकार उसैलाई हुनुपर्छ । अरुको क्षेत्र नहडपेर सबैको हीतकोलागि स्वतन्त्र चिन्तन र नव आविश्कार गर्ने मान्छेको अधिकारलाई कुण्ठित पार्न पाइदैन कुनै पनि प्रथा, परम्परा र धर्मले ।

ईश्वरका ठेकेदारहरू भन्छन्— संसारमा राम्रो नराम्रो जे जति हुन्छ त्यो सबै भगवानले नै गराउने हुन्, मान्छे भनेका त ईश्वरको इसारामा नाच्ने प्राणी मात्र हो । 

त्यसो हो भने संसारमा भूकम्प, खडेरी, वर्षा, आँधी, सुनामी, पहिरोले विपत्ति निम्त्याएर सिधासाधा मान्छेहरूले मृत्युवरण गर्न बाध्य बनाउन र हत्या, चोरी, डकैटी गराउनु पनि भगवानकै काम हो । के ईश्वरलाई जन्माउनेहरू ईश्वर त्यति क्रूर छ र संसारमा त्यति धेरै वितण्डा मच्चाउनु ईश्वरको नैतिकता हो ? यदि ईश्वरले त्यस्तो गराउँछ भने उसलाई न्यायालयमा उभ्याएर दण्ड दिनुपर्दैन ? ईश्वरको कल्पना गर्ने तर उसको बेइमानीलाई पनि धर्मको नाममा मान्छेको विनयशीलता चपाउनेलाई छुट कसरी दिने ? आज कतिपय मान्छेहरू धर्मलाई एउटा मानसिक रोग पनि भन्दछन्, जसमा मान्छे यथार्थ जगत्लाई ‘सपना’ र काल्पनिक संसारलाई ‘यथार्थ र ‘सत्य’ मान्दछ । धर्म लुतो जस्तै चिलाउने रोग हो, जसलाई जति कन्याइरह्यो त्यति आनन्द मिल्छ । तर, वास्तविक आनन्द लिन त रगतमा रहेका कीटाणु नै औषधिद्वारा नाश पार्न सक्नुपर्छ । रोगको विरुद्ध लड्नु रोगको विरुद्ध लड्नु होइन भनेझैँ ईश्वर र धर्मको विरुद्ध सचेतता फैलाउनु भनेको समाजको विरुद्ध चल्नु नभै समाजलाई सुधारात्मक बाटोमा डो¥याउनु हो ।

कसैलाई आफ्नो कुरा मान्न बाध्य गराउन आतङ्कको सहारा लिनु आतङ्कवाद हो । धर्ममा विचारलाई जड रूपमा बाँधिएको छ, साम्प्रदायिकतालाई उच्चासनमा बसाइएको छ । रूढीवाद चमक चमक चम्किरहन्छ । धर्ममा भने भन्दा अरु कुरा मान्नै र सोच्नै नपाइनु आतङ्वाद नै हो । यो सब आतङ्वाद नै हो । वास्तवमा धर्मबाट आतङ्कबाद झिकिदिने हो भने शून्य बाहेक केही बाँकी रहँदैन । धर्मग्रन्थहरूमा देवताहरूलाई घटघटवासी, विघ्ननाशी, अन्तर्यामी आदि उपाधिद्वारा देवतालाई विभूषित त गरिएको छ, तर उनीहरूले गरेका क्रियाकलाप हेर्दा कुनै आतङ्कवादीको भन्दा कम लाग्दैनन् । अझ धर्ममा कट्टर ठेकेदार दाबी गर्ने पण्डित, कठमुल्ला, पादरीको क्रियाकलाप हेर्ने हो भने तिनै आतंकवादीको बफादार एजेन्ट जस्ता लाग्छन् । धर्मका एजेन्टहरू ‘यो देवतालाई मान, पूज र दान दक्षिणा चढाऊ, तिम्रो भलो हुन्छ, नत्र केही क्षणमै तिम्रो शक्ति गुम्छ, सन्तान नष्ट हुन्छन्, सञ्चित धन नास हुन्छ’ भन्न समेत पछि पर्दैनन् । यो धर्मको नाममा समाज धमिल्याउने खेल मात्र हो ।

(नोट : यो आलेख दामोदर पुडासैनी ‘किशोर’को ‘धर्मको ह्याङओभर’ पुस्तकबाट लिइएको हो । यस पुस्तकका सबै आलेखलाई काठमाडौंप्रेसले क्रमशः प्रस्तुत गर्नेछ । –प्रधानसम्पादक ।) 
 

प्रकाशित मिति: १७:१० बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्