हिमनदी पग्लिने क्रम तीव्र, नेपाल-चीनका हिमाली क्षेत्र जोखिममा

काठमाडाैं, साउन २३ : पछिल्लो समय हिमनदीहरु तीव्र गतिमा पग्लिन थालेका छन्। खोजकर्ताहरुले पछिल्लो समय धेरै हिमनदीहरु पग्लिन थालेको पत्ता लगाएका हुन्। यो समस्याको हलका लागि हिमाली क्षेत्रका सबै देशहरुले सहकार्य गर्नुपर्ने उनीहरुको भनाई छ।

चिंगहाई–तिब्बत पठारका हिमनदीहरु तीव्र गतिमा पग्लिरहेको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ। संयुक्त राज्य अमेरिकाको टेक्सास ए एण्ड एम विश्वविद्यालयका वैज्ञानिकहरुको एक समूहले यस्तो खोज गरेको हो। अनुमान गरिएभन्दा धेरै छिटो हिमनदीहरु पग्लिरहेको उनीहरुको अध्ययनले देखाएको छ।

हिमनदी पग्लिने क्रम बढ्नुको कारण ‘पोजिटिभ आइस–लस फीडब्याक’ भनिने वैज्ञानिक प्रक्रिया रहेको सो अध्ययनकर्ता हुओ दाले बताएका छन्। सुरुमा हिमनदी पग्लिँदा त्यसको सतहमा पोखरी वा तलाउजस्ता पानीको दह बन्दछन्।

यस्ता पानीका दहहरुले धेरै मात्रामा ताप सोस्दछन्, जसले हिमनदीलाई थप पगाल्दै जान्छ र एकपछि अर्को गर्दै अझ धेरै संख्यामा यस्ता दहहरु बन्दै जान्छन्। हिमनदीको सतहमा यसरी ताप सोस्ने पानीको दह बन्ने प्रक्रियालाई नै ‘पोजिटिभ आइस–लस फीडब्याक’ भनिन्छ। यस्ता दहहरु धेरै बन्दै गएपछि पछिल्लो समय हिमनदी पग्लिने क्रम तीव्र भएको हो।

हिमालय क्षेत्रमा भएका हिमनदीहरुमा ‘डेब्रि’, अर्थात् विभिन्न बनोटका भग्नावशेष वा टुक्राटुक्रीहरु हुन्छन्। निकै उचाईमा हुने भएतापनि यस्ता हिमनदीहरु स्थलाकृतिक कारण तथा पोजिटिभ फिडब्याक प्रक्रियाका कारण पग्लिने क्रम बढ्दै गएको हो।

वरफ पृथक्करण प्रक्रिया, अर्थात् पग्लिनेलगायत प्राकृतिक कारणले वरफ ह्रास हुने प्रक्रिया र ‘डेब्रि’ले भरिएका हिमनदीहरु पग्लिनुलाई धेरै जटिल कारकहरुले टेवा पुर्याउने खोजकर्ता हुओले बताए। त्यसैले, यस्ता विषयमा वैज्ञानिकहरुलाई ठोस निष्कर्षमा पुग्न सहज नहुने उनको भनाइ छ। जसकारण जलवायु परिवर्तनले हिमनदीहरुमा केकस्तो असर पारिरहेको छ भनेर पनि ठोकुवा गर्न नसकिने उनी बताउँछन्।

उनीहरुले गरेको अध्ययनले नयाँ गणीतिय मोडलको विकास गरेर हिमनदीहरुको पृथक्करण प्रक्रिया अनुसन्धान गरिररहेका छन्। हिमनदीको सतहमा पानीको दह बन्ने प्रक्रिया बढ्दै गर्दा पहाडी र समतल क्षेत्रमा पानीका स्रोतहरु बढेपनि यसले बाढीको खतरा पनि बढाउँदछ। यसरी आउने बाढी निकै भीषण, तीव्र र हिलोसहितको (मेलम्चीमा आएजस्तो) र हिमनदीमा भएका भग्नावषेश लिएर आउने भएकाले क्षती पनि बढी हुने अध्येताहरु बताउँछन्।

हिमालयलाई पृथ्वीको तेस्रो ध्रुव पनि भनिन्छ। विश्वको कुल वरफको १५ प्रतिशत यहीँ पाइन्छ भने १५ प्रतिशतभन्दा बढी हिमनदी पनि यही क्षेत्रमा छन्। चिनियाँ समाज विज्ञान एकेडेमीका खोजकर्ता हाओ सियुआनका अनुसार हिमालय क्षेत्रको चिंगहाई–तिब्बत पठारका हिमनदीहरुमा मात्रै वार्षिक दुई सय ४७ वर्ग किलोमिटर क्षेत्रफल बराबरको वरफ पग्लिने गरेको छ।

यस क्षेत्रका हिमनदीहरु चीन, पाकिस्तान र भारतका विभिन्न नदीहरुमा बग्ने पानीको मुख्य स्रोत हुन्। र, पृथक्करण प्रक्रियाले यी देशका तल्लो भेगका नदीमा बग्ने पानीको मात्रालाई असर गर्दछ। त्यहाँ आउने बाढीपहिरोको मुख्य कारण पनि हिमनदीको पृथक्करण प्रक्रिया नै हो।

हिमनदी पग्लेर पानीको मात्रा बढ्नु भनेको सधैं राम्रो कुरा हुँदैन। बाढी नै नआएपनि यसले सफा पानीका स्रोतहरुलाई धमिल्याउने गर्दछ। पानीसँगै बगेर आउने टुक्राटुक्रीले पानीको स्रोत नै पुरिदिन पनि सक्छ।

गत फेब्रुअरीमा उत्तरी भारतमा रहेको नन्ददेवी हिमनदी पग्लिएपछि भीषण बाढी आएको थियो। त्यसले नजिकै रहेको जलविद्युत परियोजना भत्काउनुका साथै आसपासका गाउँ पनि तहसनहस बनायो। फेब्रुअरी महिना भनेको माघ महिना हो, अर्थात् जाडोयाम।

जाडोयाम भनेको हिमालय क्षेत्रमा हिउँ परेर वरफ जम्ने समय हो। समतल क्षेत्रमा समेत चिसोले पानी जम्ने त्यो समयमा हिमाली क्षेत्रको तापक्रम सामान्यतय माइनस डिग्रीमा हुनुपर्छ। तर, त्यस्तो समयमा पनि हिमनदी पग्लिएर भीषण बाढी आएको थियो।

यो घटनाले वैज्ञानिक वृत्तमा ठूलो हलचल ल्याएको थियो। चिसो मौसममा हिमनदी कसरी पग्लियो? आखिर जलवायु परिवर्तनले हिमनदीहरुमा कस्तो असर गरिरहेको छ? त्यसयता यी र यस्ता प्रश्न वैज्ञानिकहरुको टाउको दुखाइको विषय बनेको छ।

‘यसको एकमात्र कारण जलवायु परिवर्तन नै हो। तर, यसले हिमनदीहरुमा के, कति र कस्तो असर गरिरहेको छ त?,’ वैज्ञानिक हाओ भन्छन्, ‘ जलवायु परिवर्तनको असर मानिसहरुले सोचेभन्दा धेरै गुणा खतरनाक र चिन्ताजनक छ। हिमनदी धेरै पग्लिन थाले भने वायुमण्डलमा कार्बनको मात्रा बढ्दै जान्छ। यसले जलवायु परिवर्तनको क्रमलाई ह्वात्तै बढाएर पृथ्वीको सबैभन्दा चिसो सतहमा जमेर बसेका विभिन्न प्राचिन भाइरसहरुलाई वातावरणमा खुला छाडिदिन्छ।’

जलवायु परिवर्तनको असर देश र समाजमा मात्र नभएर हरेक परिवार र व्यक्तिमा पर्ने कुरा धेरैले नबुझेको हाओको गुनासो छ। यो विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा भाषण गर्ने विषयवस्तुका रुपमा मात्र सिमित गर्ननहुने उनी बताउँछन्।

हिमालय क्षेत्रमा पर्ने चीन, नेपाल, भारत, पाकिस्तानलगायतका देशहरु जलवायु परिवर्तन र यसले हिमनदीमा पारेको प्रभावका बारेमा गम्भिर हुनुपर्नेमा वैज्ञानिकहरुले जोड दिएका छन्। हिमालय क्षेत्रका यी देशहरुको सहकार्यबिना यो विश्वव्यापी समस्याको हल नहुनेमा खोजकर्ताहरुले जोड दिएका छन्।

 Published Date: Saturday, 7th August 2021 6:55:00 am