आर्थिक पत्रकारलाई उपयोगी  ‘आर्थिक पत्रकारिता’ सार्वजनिक

काठमाडौं, साउन २० : नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘ आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ ।

आर्थिक समाचार के हो ? र कसरी लेख्ने भन्नेबारेमा आर्थिक पत्रकारिता गर्न चाहने र गरिरहेका पत्रकारलाई उपयोगी हुने विश्वास गरिएको पुस्तक अर्थमन्त्री जनार्दन शर्माले आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको विषयमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरोकार भएका सबै तह र तप्काको सार्थक सहयोग जरुरी रहेको बताए । उनले आर्थिक पत्रकारितामा संलग्न एवं नयाँ आउन चाहनेलाई पुस्तकले मार्ग दर्शन गर्ने भन्दै महत्वपूर्ण प्रकाशन गरेकामा सेजनलाई धन्यवाद दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनालले पुस्तक पत्रकारिताका विद्यार्थी अध्येताका लागि सहयोगी र पाठ्य सामग्रीका रुपमा रहने विश्वास व्यक्त गरे ।

आर्थिक पत्रकारिताका अवधारणा र प्रयोगका साथै नेपालको अर्थ जगतका विधि आयाम समेटिएको पुस्तकले पत्रकारिता जगत्लाई बढी तथ्यपरकरुपमा प्रस्तुत हुन थप प्रेरणा दिने उनको भनाइ छ । पुस्तकका आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्रः राष्ट्रिय आय, मौद्रिक नीति र उसका उपकरण, पूँजी बजारः काम कसरी ? नियमन कसरी ? लगायत अर्थतन्त्रका विभिन्न १४ क्षेत्र समेटिएको छ ।

यस्तै, आर्थिक पत्रकारिता गर्ने पत्रकारको आचारसंहिता, आर्थिक पत्रकारिताका अङ्कको प्रयोगलगायतका विषय समावेश गरिएको छ ।  

 Published Date: Wednesday, 4th August 2021 8:27:00 pm