समृद्धि यात्रामा लम्कँदै ताराखोला

बागलुङ, साउन १४ : युद्धपछि उठेको थलो हो, ताराखोला। यससँग संघर्षको आफ्नै कथा छ। प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन। अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ। आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ। 

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबभन्दा बढी यसैले नै झेल्यो। मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे। कोही बेपत्ता छन्। कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ।

परिवर्तित व्यवस्थाको जगलाई बलियो पार्दै जनतालाई विकास र सुशासनको अनुभूति दिलाउन तल्लीन छ। 

मुलुकमा तीन तहको शासकीय प्रणाली लागू भएसँगै ताराखोला स्थानीय सरकारका रूपमा गाउँपालिकामा बदलियो। 

यसलाई त्यसबेला ‘गाउँको सिंहदरबार’समेत भनेर नारा दिइयो। त्यो भनेको सिंहदरबारको अधिकार गाउँ(गाउँमा पुग्ने भन्ने नै थियो।

‘गाउँको सिंहदरबार’का रूपमा ताराखोलाले निर्वाह गरेको भूमिकाको समयक्रममा लेखाजोखा त हुँदै जाला  तर पनि स्रोतको सीमितता, दक्ष मानव संशाधनको अभाव, भौगोलिक कठिनाइ र नागरिक सशक्तीकरणको कमीका बाबजुद पनि पूर्वाधार विकास तथा नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोलाई स्वीकार्न कठिन छैन।

स्थानीय तह बनेर जनप्रतिनिधि आएको भर्खर चार वर्ष बितेको छ। 

सुरूका दुई वर्ष त स्थानीय तहले प्रभावकारी ढङ्गले कामै गर्न सकेनन्। नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनु चुनौतीपूर्ण त छँदै थियो त्यहीँमाथि लामो समयसम्म कमर्चारी नपाउने, अधिकारको प्रत्यायोजन नहुने समस्या स्थानीय तहले व्यहोरे।

ऐन, कानूनहरूको प्रबन्ध पनि ढिलो गरी भयो। त्यस किसिमको स्थितिबीच पनि स्थानीय तहले जनताको विकासप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न पछि परेनन्। आ–आफ्नो विशिष्ट परिस्थिति, विशेषता र शैलीअनुरूप जनताको सेवामा लागिरहे। ताराखोला पनि तिनैमध्येको एक हो जसले जनतालाई प्रत्यक्ष अनुभूति हुने तहमा ओर्लेर कर्तव्य निर्वाह गरिरहेको छ।

पूर्वाधारमा फड्को

‘समृद्ध ताराखोला’को लक्ष्यसहित गाउँपालिकाले दुई वर्षअघि प्रथम पञ्चवर्षीय योजना तयार पार्‍यो। विज्ञ, परामर्शदाता लगायतको सहयोगमा बनेको उक्त आवधिक योजनाअनुसार विकास गतिविधि सञ्चालित छन्। 

पाँच वर्षका लागि योजनावद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। ताराखोलाको सपना र भविष्यसँग जोडिएको पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ।

आवधिक योजनाले तोकेबमोजिम नै विकास योजनाले गति लिएका छन्। समृद्धि हासिल गर्ने पहिलो खुड्किलोका रूपमा पूर्वाधार र संरचना निर्माणलाई ताराखोलाले पनि ग्रहण गरेको छ। सोहीअनुरूप पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित छ। सडक, विद्युत्, खानेपानी, सिँचाइसहित शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गरी बजेट र कार्यक्रममा प्राथमिकता दिइएको छ। मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका उत्तिकै अग्रसर छ।

सडकतर्फ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्र, अन्य मुख्य सडकको स्तरोन्नति र कालोपत्र योजना अघि बढेको छ। 

यस्तै गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई पनि विशेष जोड दिइएको अध्यक्ष घर्तीले बताए। 

सडक बोर्डले रणनीतिक सडकका रूपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रूपमा स्वीकार गरेको छ। ३५ किमी दूरीको उक्त सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। गलकोट नगरपालिका, ताराखोला हुँदै म्याग्दीको रुम जोडिने सडक पनि अहिले धमाधम स्तरोन्नति भइरहेको छ।

यी दुई रणनीतिक सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रूपमा हेरिएको छ।

गाउँपालिकाको आफ्नै लगानीमा पनि सडक विस्तारको काम भइरहेको छ। गाउँपालिकाले वडा नं १ को भुस्कात र अमरभूमि जोड्ने सडक बनाएपछि गाउँपालिका केन्द्र भातखाने डाँडा आउने दूरी छोटिएको छ। बस्ती जोड्ने र गाउँका भित्री सडकमा पनि गाउँपालिकाले काम गरिरहेको छ।

संघ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा ‘औद्योगिक ग्राम’ निर्माणाधीन अवस्थामा छ। 

‘ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुनेछ’, उनले भने। 

यही वर्षको अन्त्यसम्ममा ग्राम सञ्चालनमा ल्याइने भएको छ। ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।

जिल्लामै पहिलो र सबभन्दा ठूलो सभागृह बनाएर ताराखोलाले अरू स्थानीय तहलाई उछिनेको छ। जबकि सदरमुकाम रहेको बागलुङ नगरपालिकामासमेत व्यवस्थित सभाकक्ष छैन। नगरसभासमेत ‘पार्टी प्यालेस’मा गर्नुपर्ने बाध्यता छ। ताराखोलाले वडा नं २ अर्गलमा ५०० जना क्षमताको सभागृह बनाएको छ। 

रु दुई करोड ६७ लाखमा बनेको सभागृहमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०र४० को लागत साझेदारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। 

मगर बाहुल्य रहेको ताराखोलाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणलाई पनि तीव्रता दिएको छ। परापूर्वकालीन समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी बन्न लागेको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ। 

रु दुई करोड १६ लाख बजेटमा निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सांसद विकास कोष र गाउँपालिकाको संयुक्त लगानी परेको छ।

ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल यही अवधिमा बनेका छन्। बाँकी पुल बन्ने चरणमा छन्। जिल्लाका अधिकांश स्थानीय तह भाडाका घरबाट चलिरहेका बेला ताराखोला भने आफ्नै भवनबाट सञ्चालित छ। 

रु पाँच करोड ६० लाखको लागतमा नयाँ प्रशासनिक भवन बनिरहेको छ। प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधीन उक्त भवन आउँदो वैशाखसम्ममा सक्ने योजना छ।

यही वर्ष वडा नं. ४ को भवन पनि बनेको छ। सोही वडाको दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ। वडा नं( ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ। 

‘पूर्वाधातर्फका योजना केही सम्पन्न भए, केही डिपिआर बनेर निर्माणको चरणमा छन्’, अध्यक्ष घर्तीले भने, ‘शहीद उद्यानसहित पर्यटकीय पूर्वाधारका काम पनि अघि बढाइएको छ।’

जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं। २ अर्गलको गयार भन्ने स्थानमा शहीद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। 

पर्यटन मन्त्रालयबाट बजेट ल्याएर उद्यान बनाउने तयारीमा गाउँपालिका छ। माओवादी आन्दोलनमा ताराखोलाका २१  शहीद बनेका थिए भने दुई अझै बेपत्ता छन्।

वडा नं. ५ को करिमेलालाई पनि ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणलाई अघि बढाइने भएको छ।

वडा नं. १ मा अवस्थित पर्यटकीय गाईघाट क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार थपिने गाउँपालिकाले जनाएको छ। सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार झरनाछेउ ‘रिसोर्ट’ पनि बन्दैछ । सय रोपनी जग्गामा आउँदो असोजदेखि ‘रिसोर्ट’को काम सुरू हुने जनाइएको छ। त्यसमा गाउँपालिकाको पनि लागत साझेदारी रहनेछ।

वडा नं. ५ हिले, वडा नं. १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ। पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं. २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरवास’ सञ्चालनमा ल्याइएको छ।

घरवास सञ्चालनका लागि पहिलो वर्ष रु। पाँच लाखका दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। 

यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरवास पनि ताराखोलामा सञ्चालित छन्। पर्यटक भित्राउन यसअघि घोषित ‘ताराखोला भ्रमण वर्ष’ भने कोभिड–१९ ले बिथोलिएको थियो। 

व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्त्व्यस्थल पहिचान गर्न सके पर्यटनमा पनि ताराखोलाको प्रचुर सम्भावना छ। शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्षेत्रमा पनि ताराखोला क्रमिक सुधारतर्फ अग्रसर छ। रासस

 Published Date: Thursday, 29th July 2021 2:23:00 pm