Kathmandu Press

प्रधानमन्त्रीले भने- धारा ७६ (५) किन राखेको भनेर सोध्न मन थियो, कुरा नसुनी पूर्वसभामुख हिँड्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखेको भनेर पूर्वसभामुख सुवास नेम्बाङलाई सोध्न मन भएको तर उनी आफ्नो कुरा नसुनी हिँडेको गुनासो गरेका छन्।
प्रधानमन्त्रीले भने- धारा ७६ (५) किन राखेको भनेर सोध्न मन थियो, कुरा नसुनी पूर्वसभामुख हिँड्नुभयो
कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्वीर।

काठमाडौं, साउन ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखेको भनेर पूर्वसभामुख सुवास नेम्बाङलाई सोध्न मन भएको तर उनी आफ्नो कुरा नसुनी हिँडेको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बधाइ ज्ञापन गर्ने सांसदहरूलाई धन्यवाद दिँदै देउवाले भने, ‘यो संविधानमा ७६ (५) किन लेख्नुभयो भनेर सोध्ने थिएँ, उहाँ सभामुख हुनुहुन्थ्यो ।’

तत्कालीन संविधानसभाका अध्यक्ष नेम्बाङले बीच कहिल्यै यो संविधान नभत्किने र संसद् भंग हुने छैन भनेर अभिव्यक्ति दिएको प्रधानमन्त्री देउवाले स्मरण गरे ।

यसअघि प्रधानमन्त्री देउवालाई बधाइ दिँदै नेम्बाङले जनादेश नभई परमादेशबाट प्रधानमन्त्री बनेको आरोप लगाएका थिए । र, अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गरेकामा असन्तुष्टी जनाएका थिए ।

‘राष्ट्रपति स्वयंले संविधानको धारा ७६ (५) अनुसार कुनै पनि सांसदले बहुमत पु¥याउन सक्छ भने आउनोस् भनेर आह्वान गर्नुभएको थियो । आह्वान गरेअनुसार नै हामी गएका हौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘बहुमत सदस्यहरूको हस्ताक्षरसमेत लिएर हामी पुगेका थियौँ । त्यसका आधारमा उहाँले प्रधानमन्त्री नियुक्त गरेर संसद्बाट विश्वासको मत लेऊ भन्न सक्नुहुन्थ्यो ।’

आफैँले सांसदहरूलाई बोलाएर सनाखत गराउने अवसर राष्ट्रपतिसँग रहेको उनले स्मरण गरे । र, भारतमा पनि त्यस्तो अभ्यास भइसकेको स्मरण गराए । भारतकै मध्यप्रदेशमा पनि सांसदहरूलाई लाइन लगाएर सनाखत गराएको उदाहरण रहेको प्रधानमन्त्री देउवाले बताए ।

‘तर, राष्ट्रपतिले त्यसरी सनाखत गराउनुभएन,’ उनले भने, ‘संविधानमा धारा ७६ (५) किन लेखियो थियो भन्ने कुरा पूर्वसभामुखजीलाई बढी थाहा छ । उहाँले प्रष्ट पार्नुपर्नेमा उल्टो प्रश्न गर्नुभयो ।’

कांग्रेसका सांसदलाई प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सन्दर्भमा ह्विप लगाइएको नेम्बाङको आरोप उनले खण्डन गरे । ‘पार्टीका सांसदहरूलाई काठमाडौं आइदिनोस् भनेर अनुरोध मात्र गरेका थियौँ, त्यो कसरी ह्विप भयो ?’ देउवाले प्रश्न गरे, ‘अनुरोध गर्नु ह्विप होइन नि ।’

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाए । जति महँगो भए पनि ऋण वा सापटी लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे । समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै उनले सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारे ।

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्