षट्कोणीय विकास अवधारणा

विकास सबैको प्यारो शब्द, सबैको चाहना र सदैव चलिरहने मानव प्रयासको प्रतिरूप। तर, विकासबारे बुझ्न जति कठिन छ, विकास गर्न त्यत्तिकै गाह्रो छ। अझ बढी कठिन समाजमा विकासको प्रतिफलको न्यायपूर्ण वितरण गर्न। त्यसैले विकास कार्यहरूलाई सफल बनाउन विकासका अवधारणा, कार्यान्वयन र प्रतिफलको वितरण आदिको बारेमा समग्र बुझाइ हुनु अति जरुरी छ।

जसरी हरेक व्यक्ति मौलिक हुन्छ, त्यस्तै हरेक मुलुक पनि मौलिक हुन्छ। जसरी एक व्यक्तिको सही विकास उसको मौलिकताको प्रस्फुटनबाट हुन्छ, त्यस्तै कुनै पनि देशको विकास त्यस देशको मौलिक स्रोतहरूको सही परिचालनबाट मात्र सम्भव हुन्छ। त्यसैले विकासका कार्यहरू सफल हुन विकासका नीति तथा कार्यक्रमहरू पनि मौलिक हुनुपर्छ। तर, हाम्रोजस्तो देशमा विकास अरूको जस्तो हुनुपर्छ भन्‍ने सोच व्याप्त छ। जसले गर्दा विकासका नीति तथा कार्यक्रमहरू साथै कार्यक्रम कार्यान्वयन गर्ने निकायहरूमा समेत मौलिकताभन्दा अन्यत्रको कपि-पेस्ट या नक्कल बढी पाइन्छ। नक्कल गरेको विकास सफल भएको विरलै पाइन्छ।

नेपाललाई सिंगापुर या स्विजरल्यान्डजस्तो बनाउने कुरा हामीले सुनेकै हो। भुटानको जस्तो जलविद्युतको विकास किन नगर्ने, रुवान्डामा गरेजस्तो विकासको तरिका किन नअपनाउने, बंगलादेशले गरेको जस्तो किन नगरेको होला, कोस्टारिकाको जस्तो हरित अर्थतन्त्रको बारेमा किन नसोच्ने आदि विषयहरू पनि हामी बारम्बार सुन्‍ने गर्छौँ। यसबाट के प्रष्‍ट हुन्छ भने हामी आफ्नो भूगोल, संस्कृति र समाजअनुसार विकासका मौलिक मोडेलहरूको विकास गर्नुभन्दा बाहिरका विकासका अवधारणाहरूबाट बढी प्रभवित भइरहेका छौँ। वास्तवमा विकासका अवधारणाहरू स्वरूपमा उस्तै उस्तै देखिए पनि तिनीहरूको मौलिक सार भने देशअनुसार फरक फरक हुने गर्छ। विकासलाई सफल बनाउनका लागि बुझ्नुपर्ने चुरो कुरो नै यही हो। ‘तपाईंको भित्री जानकारी मात्र तपाईंको साँचो जीवनको कम्पास हो’ भनेजस्तै आफ्नो देशको मौलिकताको जानकारी नै साँचो विकासको कम्पास हो।

विकासको मोडेल मौलिक भएपछि मात्रै दिगो र सफल हुन्छ। त्यति मात्र होइन, विकास न्यायपूर्ण पनि हुनु जरुरी छ। अर्को अर्थमा भन्‍ने हो भने राज्यका मौलिक र न्यायपूर्ण नीति तथा कार्यक्रमहरूले मात्रै दिगो र सामाजिक न्यायपूर्ण विकास दिन सक्छ। यहाँ जोन रावल्सको ‘न्याय कुनै पनि संस्थाको पहिलो सगुन हो’ भन्‍ने भनाइ स्मरणयोग्य होला।

यहाँ प्रश्न उठ्न सक्छ, विकासलाई कसरी मौलिक पथमा डोर्‍याउने र न्यायपूर्ण बनाउने? विकासलाई मौलिक बनाउन विकासका नीति, योजना तथा कार्यक्रमहरूमा देशको भौगोलिक, सांस्कृतिक, ऐतिहसिक, आर्थिक परिस्थिति र राजनीतिक परिपाटीहरूको सही रूपमा प्रतिबिम्बित भएको हुनुपर्छ। अर्को अर्थमा हिमाल, पहाड, तराई, नदी, वन जंगल, मौसम आदि नबुझी गरिने विकास कार्यहरू खास सफल हुन सक्दैनन्। देशको छरछिमेकको आर्थिक, सामाजिक र राजनीतिक अवस्था, आफ्नै देशको राजनीतिक अवस्था, मानव स्रोत र सक्षमता, सामाजिक परिपाटी, सोच र संस्कृतिले पनि विकास योजना निर्माण र कार्यान्वयनमा असर पार्छन्।

नोबेल पुरस्कार विजेता अमर्त्य सेनको विचारअनुसार प्रजातान्त्रिक र खुला समाज भएको मुलुकमा भोकमरीको समस्या प्रायः न्यून हुन्छ। यस्तै, थुप्रै अध्यनयनहरूले के देखाएका छन् भने विविध र स्वतन्त्र समाज बढी परिवर्तन आत्मसाति, आविष्‍कारी, प्रतिस्पर्धी र पौरखी हुन्छन्। त्यसैले विचारको विविधता र सामाजिक विविधताको सम्मान गर्ने राजनीतिक परिपाटीले मात्र सही मानेमा न्यायपूर्ण आर्थिक विकासलाई अगाडि बढाउन सक्छ। अर्को महत्त्वपूर्ण कुरा विकासको स्थितिअनुसार मानवको विकासको चाहनाहरू पनि फरक र फराकिला हुँदै जान्छन्। तर, हामीले द्रुत विकास खोज्ने कि दिगो विकास, आर्थिक विकासमा मात्र जोड दिने कि समग्र विकासमा, असमानता बढाउने विकास कि समन्यायिक आदिमा प्रष्‍टता उत्तिकै जरुरी छ।

चरम आर्थिक असमानताले राजनीतिलाई भ्रष्‍ट पार्छ र सामाजिक द्वन्द्व बढाउँछ र विकास प्रक्रियामा सुस्तता ल्याउँछ। असमानता बढाउने विकास न्यायपूर्ण हुनै सक्दैन भने वातावरण विनाश गर्ने विकास दिगो हुनै सक्दैन। त्यसैले हाम्रोजस्तो भौतिक विकासमा वामे सर्दै गरेको देशले दिगो र न्यायपूर्ण विकास पथ अँगाल्नुपर्छ। नेपाल संसारमै ठूलो आर्थिक असमानता भएको देशमध्येमा पर्छ। ९९ प्रतिशतको खल्तीबाट एक प्रतिशतको थैलीमा कसरी पैसा  बगिरहेको छ, शक्तिको विविधीकरण हुने लोकतान्त्रिक राजनीतिक व्यवस्थाले   सानो समूहमा आर्थिक एकत्रीतकरण हुँदै जानु लोकतन्त्र र शान्तिपूर्ण समाजका लागि ठूलो चुनौति हुन गएको छ। सामाजिक द्वन्द्वले कसरी देशको आर्थिक तहसनहस र राजनीतिक अस्थिरता ल्याउने रहेछ भन्‍ने ताजा उदाहरण त हामी आफैँ छौँ।

स्रोतसाधन कम भएको र भौतिक विकासको तीव्र चाहना भएको देशमा हामीलाई विकास कार्यमा गल्ति गर्ने विलासिताको छुट छैन। बनाउने-भत्काउने-बनाउने हालको विकास परिपाटीबाट देशको प्रगति सम्भव हुँदैन। हाम्रा विकासहरू जलवायु परिवर्तन अनुकुलित (अडाप्टिभ) र प्राकृतिक प्रकोप लचिलो (रेजिलेन्ट) हुनुपर्छ भन्‍ने कुरा हालै मनाङ, पर्वत र सिन्धुपलाञ्‍चोकलगायत जिल्लामा भएको ठूलो धनजन र भौतिक पूर्वाधारहरूको क्षतिले प्रष्‍ट पारेको छ। मनसुन सुरु भएलगत्तै आएको बाढी पहिरोले १० अर्ब रुपैयाँसम्मको क्षति भइसकेको र एक दर्जनभन्दा बढी विद्युत आयोजनाहरूमा नोक्सानी पुगेको अनुमान छ। यो नोक्सानी भनेको गण्डकी प्रदेशको यस आर्थिक वर्षको बजेटको एक तिहाइजति हो।

सामाजिक परिवर्तन र विकासलाई कसरी परिचालन गर्ने भन्‍ने कुरा पनि आ-आफ्नो देशको सामाजिक, आर्थिक र ऐतिहासिक मौलिक परिवेशले निर्देशित गरेको हुन्छ। सोह्रौँ शताब्दिका आइरिस विचारक तथा राजनितिज्ञ एड्मन बुर्कीको जस्तो क्रमिक परिमार्जनको बाटो लिने कि अमेरिकी विचारक तथा राजनीतिज्ञ थोमस पाइनको जस्तो क्रान्तिकारी परिवर्तनको बाटोमा लैजाने भन्‍ने आ-आफ्नो समाजको मौलिकताले निर्देशित गर्नुपर्छ। विश्‍व इतिहास हेर्दा साधारणतया बेलायत, स्कान्डेभियन मुलुकहरूले बुर्कीको विचारलाई अवलम्बन गरेको जस्तो देखिन्छ भने फ्रान्स, अमेरिकाजस्ता मुलुकले थोमसको विचारलाई आत्मसात गरेको पाइन्छ।

हामीले भने विकासलाई दिगो र दरिलो बनाउन त्रिकोणात्मक रणनीति अपनाउनु उपयुक्त हुन्छ। बीपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘लोकतन्त्र, राष्‍ट्रियता र समाजवाद’ नेपालको सामाजिक, आर्थिक परिस्थिति सुहाउँदो न्यायपूर्ण विकासको मौलिक र उपयुक्त  त्रिकोणात्मक रणनीति हो। किनकि, लोकतन्त्रविना राष्‍ट्रियता बलियो हुँदैन। त्यस्तै, आर्थिक प्रगतिविना लोकतन्त्र दिगो हुँदैन भनी बीपीले भन्‍नु भएजस्तै लोकतन्त्र, राष्‍ट्रियता र समाजवादी आर्थिक नीतिको त्रिकोण नै स्थिर, मजबुत र न्यायसंगत समाज निर्माणको दरिलो रणनीति हो। पुँजीवादको उत्पादन नीति र साम्यवादको वितरण नीतिको उचित मिश्रणलाई एक व्यावहारिक समाजवादी आर्थिक नीति मान्‍न सकिन्छ। समाजका हरेक वर्गलाई उत्पादनका स्रोतहरूमा, उत्पादन क्रियाकलापहरूमा र आर्थिक उपलब्धी या फाइदाहरूको वितरणमा न्यायपूर्ण पहुँच स्थापित गराउनु नै समाजवादी आर्थिक नीतिको मुल लक्ष्‍य हो।

यस्तै, वातावरण, विकास र जनताको मजबुत त्रिकोण पनि अत्यावश्यक छ। किनकि, सन्तुलित वातावरणमा मात्र विकास दिगो हुने सम्भावना हुन्छ भने दिगो विकासमा मात्र जनताको आर्थिक हित सुरक्षित हुन्छ।

वास्तवमा वैदिक शास्त्रहरूमा पनि त्रिकोणलाई स्थिर र बलियो ज्यामितीय आकार मानिन्छ। यी दुई त्रिकोण मिलाएर बनेको षट्कोणीय रणनीति या विकास अवधारणा नै हाम्रोजस्तो देशको विकासका लागि मौलिक रणनीति हुन सक्छ। मनन योग्य के छ भने षट्कोणलाई वैदिक अनुष्‍ठानहरूमा पनि शुभ संकेतको रूपमा प्रयोग गरिएको पाइन्छ। त्यसैले राष्‍ट्रको शुभ, जनताको सुख र वातावरणमा सन्तुलन प्राप्त गर्न षटकोणीय विकास रणनीति अवलम्बन गर्नेतर्फ सोच्ने हो कि?

(डा. बुढाथोकी राष्‍ट्रिय योजना आयोगका पूर्वसदस्य हुन्)

 Published Date: Tuesday, 20th July 2021 9:06:00 am