‘वर्क फ्रम होम’ले फेरेको काम गर्ने संस्कृति : कार्यालय फर्किन चाहँदैनन् कर्मचारी

कोभिड–१९ को निरन्तर जारी महामारीले हामी कहाँ र कसरी काम गर्छौं भनेर निर्दिष्ट गरिरहेको छ। अमेरिकाको कुरा गर्ने हो भने लकडाउनले धनी वर्गका बौद्धिककर्मीहरूलाई सहरभन्दा बाहिरका क्षेत्र, साना सहर र ‘जुम टाउन’का रमणीय फाँटहरूमा पुर्‍याएको छ। ‘जुम टाउन’ भनेको कोभिड–१९ को कहर बढेसँगै आएको शब्द हो।

सहरी क्षेत्रबाट घरबाटै काम गर्नका लागि मानिसहरू अस्थायी वा स्थायी रुपमा बसाइँ सरेर जाने रमणीय स्थानलाई ‘जुम टाउन’ भनिन्छ। अमेरिकाको कोलोराडोस्थित एस्पेन सहर पछिल्लो समयको सबैभन्दा चर्चित जुम टाउन हो। स्कीलगायत विभिन्न बाहिरी क्रियाकलापका लागि उपयुक्त एस्पेन सहरमा थुप्रै संख्यामा ‘रिमोट वर्कर’ अर्थात् घरबाटै काम गर्ने मानिसहरू सरेर आएका छन्।

समयसँगै लकडाउन खुकुलो भएपछि र कोरोनाको कहर सामान्य भएपछि धेरै मानिसहरू पहिलेजस्तै अफिस नै गएर काम गर्न थाल्नेछन्। तर, यो महामारीमा बाध्यता बनेको ‘वर्क फ्रम होम’ संस्कृतिले काम गर्ने शैलीमा दूरगामी प्रभाव पार्ने निश्चित छ।

यसले अमेरिकी परिदृश्यमा अफिसमै गएर काम गर्ने नियम, श्रम बजार र सहरी वित्तमा उल्लेखनीय परिवर्तन ल्याउने छ। साथै, यसले घरमै बसेर गरिने रिमोट वर्कका हकमा पनि नयाँ आयामको सुरुवात गर्नेछ।

को कहाँ सरे?

सानफ्रान्सिस्को र न्युयोर्क सहर छाडेर धेरैजना डेनभर, मायामी र टेक्सासको अस्टिनलगायत क्षेत्रमा गएको अनेक किस्साहरू सुनिएका छन्। लिङ्क्डइनमा उपलब्ध तथ्यांकले साल्टलेक सिटी, ज्याक्सनभिल र फ्लोरिडाजस्ता कम खर्चिला सहरमा धेरै मानिस गएको देखाउँछ।

तर धेरैजना टाढा सरेका छैनन्। अमेरिकी हुलाक सेवाका अनुसार ८४ प्रतिशत मानिसहरू सोही महानगरको अलि टाढा र सस्तो क्षेत्रमा सरेका छन्। कसैले सहरमा झन् ठूलो स्थान लिएका छन् भने मुख्य सहर र बाहिरी सहरको घरभाडामा पनि समान वृद्धि भएको छ।

सहरमा कस्तो प्रभाव पर्‍यो?

अधिकांश सहरहरूको चासो को विषय ‘को–को छाडेर गयो’ भन्दा पनि ‘को छाडेर आएन’ भन्ने भएको छ। कलेज पास गरेपछि विद्यार्थीहरू आफ्नो कार्यालयनजिकै डेरा लिएर बस्ने चलन थियो। तर, महामारीका कारण अफिस बन्द हुँदा उनीहरू आफ्नै घर फर्किएका छन् र घरमै बसेर काम गर्न थालेका छन्।

जसकारण सन् २०२० मा न्युयोर्क र सानफ्रान्सिस्को सहरको घरभाडामा दोहोरो अंकको ह्रास आएको थियो। सन् २०२१ मा स्थिति सुधारोन्मुख देखिएपछि भाडादर केही बढे पनि सहर छाड्ने मान्छे बढेपछि भाडादर उल्लेखनीय रूपमा घटेको हो।

‘वर्क फ्रम होम’ले अमेरिकाका राज्यहरूबीच भने किचलो सुरु गरेको छ। अमेरिकामा गैरआवासीय कामदारहरूले आफ्नो कार्यालय भएको राज्यमा कर तिर्नुपर्ने नियम छ। अर्को राज्यमा बसेर आफ्नो राज्यमा काम गर्न जाने व्यक्तिबाट कर असुल्दै आएका राज्यहरू अब कर्मचारी घरमै बसेर काम गर्न थालेपछि कर कसले पाउने भनेर आपसमा लडाइँ गर्न थालेका छन्।

घरैबाट काम गर्न मिल्ने भएसँगै अमेरिकीहरू सस्ता राज्य र सहरमा गएर बसेपछि कार्यालय भएको राज्य र कामदारले बसोबास गरेर काम गरिरहेको राज्यले कर आफूले पाउनुपर्ने माग राख्दै अदालतमा मुद्दा नै हालेका छन्।

कर्मचारी र रोजगारदाता कसरी काम गर्न चाहन्छन्?

अनलाइन भोटिङलाई आधार मान्ने हो भने अधिकांश कर्मचारी अफिस गएर काम गर्न चाहँदैनन्। उनीहरू महामारी सकिएपछि पनि कार्यालय नगई घरबाटै रिमोट वर्क गर्ने पक्षमा छन्।

रोजगारदाताको मत भने बाँडिएको छ। केही नयाँ चलनको सराहना गर्दै यसको सम्भावनालाई सम्बोधन गर्नुपर्ने पक्षमा छन्। वर्क फ्रम होमले कामदार नियुक्त गर्ने भौगोलिक दायरा फराकिलो पार्ने, सानो कार्यालय नै पर्याप्त हुने भएकाले घरभाडा बच्ने र कम तलबमा काम गर्न इच्छुक स्थानीयवासी पनि भेटिने भएकाले उनीहरू रिमोट वर्कको पक्षमा छन्।

केही भने ‘वर्क फ्रम होम’को प्रचलनबाट दिक्क हुँदै ‘रिटर्न टु अफिस’ भन्न थालेका छन्। अर्थात्, ‘घरबाटै काम गरौँ’ होइन, ‘कार्यालय फर्कौं’। उनीहरूले घरबाट काम गर्दा कर्मचारीहरू कार्यालयमा जति प्रभावकारी नहुने, कर्पोरेट संस्कृति मासिनेलगायत तर्क दिएका छन्।

सुप्रसिद्ध बहुराष्ट्रिय अमेरिकी कम्पनी गोल्डम्यान स्याक्सका प्रमुख कार्यकारी अधिकृत डेभिड सोलोमनले त घरबाटै काम गर्ने नयाँ प्रचलनलाई ‘विकृति’को संज्ञा दिँदै यसलाई छिटोभन्दा छिटो हटाउनुपर्ने धारणा राखेका थिए।

काम गर्ने तरिकाले भविष्यमा कस्तो मोड लिनसक्छ?

धेरै कर्मचारीले ‘हाइब्रिड’ शैली अपनाउनुपर्नेमा जोड दिएका छन्। हाइब्रिड शैली भन्नाले साताको केही दिन अफिस आएर काम गर्ने र केही दिन घरबाटै काम गर्ने मध्यमार्गी तरिका हो।

फोर्ड कारको निर्माता फोर्ड मोटर कम्पनी र एपोलो ग्लोबल म्यानेजमेन्ट कम्पनीले विस्तारै हाइब्रिड शैली अपनाउने बताएका छन्। साताका पाँचै दिन अफिस जानु नपर्ने भएपछि मुख्य सहरभन्दा टाढै बसेर पनि काम गर्न सकिने कर्मचारीहरूले बताएका छन्।

कार्यालयहरूमा कस्तो परिवर्तन आउन सक्छ?

केही अमेरिकी कम्पनीले कार्यालयमा पहिलेजस्तो व्यक्तिगत टेबल–कुर्सीको सट्टा कुनै एक परियोजनामा कार्यरत कर्मचारीहरूबीच सहकार्य गर्न सहज हुने किसिमको साझा कार्यालयको अवधारणा ल्याएका छन्।

यसैअनुरूप टार्गेट कर्पोरेसनले मिनिअपुलिसस्थित आफ्नो लगभग १० लाख वर्गफिटको कार्यालय हटाउने भएको छ। बोइङले पनि सियाटलमा रहेको कमर्सियल एयरप्लेन मुख्यालय हटाउने विषयमा छलफल चलिरहेको बताएको थियो।

सन् २०२१ को मध्यतिर घरभाडामा लिने क्रम पुनः सुरु भए पनि महामारीपछिको समयमा कार्यालयका लागि स्थानको माग १० देखि १५ प्रतिशतले घट्ने अनुसन्धान कम्पनी ग्रिन स्ट्रिटले जनाएको छ।

अमेरिका बाहिरको अवस्था के छ?

अस्ट्रेलियामा कामदारहरू सहर छाडेर अर्धसहरी क्षेत्रमा धमाधम बसाइँ सरिरहेका छन्। युरोपमा बोर्डर बन्द तथा भ्रमण प्रतिबन्ध गरिएपछि मानिसहरू हरियालीयुक्त रमणीय ठाउँ खोज्दै सर्न थालेका छन्।

सामान्यतः लन्डनलगायत ठूला युरोपेली सहर गएर बस्नेको संख्या धेरै हुन्छ। तर, पछिल्लो समय ती ठूला सहर र देशबाट चेक रिपब्लिक, रोमानिया र पोल्यान्डजस्ता देशमा फर्किनेहरूको संख्या बढेको देखिन्छ।

के यो सहरीकरणको अन्त्य हो?

पक्कै पनि होइन। सहरहरू सजिला छन्, रमाइला छन्। धेरै मान्छे अझै पनि सहरमै बस्न रुचाउँछन्। सहरमा आर्थिक तथा पेशागत रूपमा लाभदायक अवसर पनि प्रशस्त हुन्छन्।

तर, धेरै कम्पनीले रिमोट वर्क अर्थात् घरैबाट काम गर्ने नयाँ प्रचलनलाई प्रश्रय दिइरहेका छन्। यसले मानिसहरूलाई इच्छाअनुसारको क्षेत्र र स्थानमा बसेर आफ्नो क्षमता र रुचिअनुसारको काम गर्ने स्वतन्त्रता दिन्छ।

(ब्लुमबर्गबाट)
 

 Published Date: Wednesday, 30th June 2021 6:11:00 am