Kathmandu Press

गर्भपतन गराउन आएकी महिलाको मृत्युपछि ज्योति अस्पतालमा तनाव

काठमाडौं, असार २ : गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएपछि कालीमाटीस्थित ज्योति अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरवाहीका कारण ती महिलाको...
गर्भपतन गराउन आएकी महिलाको मृत्युपछि ज्योति अस्पतालमा तनाव
तस्बिरहरू : सुजल बज्राचार्य
Hardik ivfHardik ivf

काठमाडौं, असार २ : गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएपछि कालीमाटीस्थित ज्योति अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरवाहीका कारण ती महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

मृतक २८ वर्षीया महिला रामेछापको दोरम्बा गाउँपालिका-६ की हुन् । उनको स्वास्थ्यमा अन्य केही समस्या नभएको परिवारको भनाइ छ । उनी एक्लै सोमबार अस्पताल आएको आफन्त मनोरथ गौतमले बताए।

यसअघि तीन सन्तानकी आमा रहेकी उनको गर्भमा छोरी रहेको चिकित्सकले बताएका थिए। चिकित्सकले गर्भपतनका लागि सल्लाह दिएको तर गर्भपतनका क्रममा उनको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। घटना ढाकछोप गर्न ज्योति अस्पतालले शव भने बीएन्डबी अस्पतालमा पुर्याएको आरोप पनि परिवारको छ।

‘अस्पताल जान्छु भनी हिँडेको ५/६ घण्टापछि राधिकाको मृत्यु भएको तर शव भने बीएन्डबी अस्पतालमा रहेको भनी खबर आयो,’ गौतमले भने, ‘गर्भपतनका लागि मन्जुरीनामा गर्नुपर्ने भए पनि आफन्त कसैलाई त्यसबारे जानकारी छैन।’ सत्यतथ्य बाहिर नआएसम्म र मृतकले न्याय नपाएसम्म शव जिम्मा नलिने बिरामीका आफन्तहरूको भनाइ छ।

अस्पतालसँग मंगलबार भएको छलफलमा गर्भपतनका क्रममा बिरामीको मृत्यु भएको घटनालाई स्विकारे पनि बुधबार बोली फेरेपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको आफन्तहरूले बताएका छन्। ‘अहिले आएर अस्पतालले आफ्नो गल्ती नभएको कुरा गर्छ, बिरामीले बाहिर नै औषधि खाएर आएको भन्ने अस्पतालको आरोप झुटो हो,’ गौतमले भने।

अस्पतालले कानूनविपरीत गर्भमा छोरा या छोरी भनी जानकारी दिएको, ४–५ महिनाको गर्भपतन गर्न अघि सरेको र लापरवाहीपूर्ण ढंगले उपचार गर्दा बिरामीको मृत्यु भएको आरोप आफन्तहरूले लगाएका छन्।

उनीहरूले ज्योति अस्पतालबाटै मृतकको शव र शवसँगै गर्भपतनपछि निकालिएको बच्चाको पनि शव पाउनुपर्ने माग गरेका छन्। शव बीएन्डबी अस्पतालबाट ल्याएर ज्योति अस्पतालबाटै आफूहरूलाई जिम्मा लाउनुपर्ने माग पनि उनीहरूले गरेका छन्।

प्रदर्शनका क्रममा मृतकका आफन्त अस्पतालभित्र पस्न खोजेपछि महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहीले रोक्न खोजेको थियो। त्यसक्रममा धरपकड हुँदा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्।

बिरामी पेटको समस्या भनेर अस्पताल आएको, एन्टिबायोटिक औषधि चलाएको र पेट दुख्यो भनेर शौचालय जाँदा बच्चा खसेको, गाह्रो भएर आईसीयूमा राख्न बीएन्डबी अस्पताल लगेको अस्पताल प्रशासनको दाबी छ। ४-५ दिनअघि उनी गाउँबाट आएको र गाउँतिरै केही औषधि प्रयोग गरेकाले यस्तो भएको हुन सक्ने अस्पतालको दाबी छ।

 

 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्