Kathmandu Press

प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

काठमाडौं, असार १ : प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको...
प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

काठमाडौं, असार १ : प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३० प्रतिशत बजेट विनियोजना गरेको जानकारी दिए ।

बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने रु एक अर्ब आन्तरिक ऋण लिने उनले बताए । बजेटले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु २ अर्ब ३५ करोड र प्रदेशका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न रु तीन अर्ब १६ करोड ५० लाख विनियोजन गरेको छ  ।

यसैगरी कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको र बेरोजगारी दर बढेकाले बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिएको छ । प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिद गर्नका लागि  २० करोड विनियोजन गरेको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड विनियोजन गरेको छ ।

मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न रु १२ करोड विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिए । बजेटले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्र सडक निर्माणका लागि  ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम सुरुवात गर्नका लागि  ८ करोड, मझौला सिचाई कार्यक्रमका लागि  ४१ करोड, नदी नियन्त्रण कार्यक्रमका लागि रु ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि  ६८ करोड विनियोजन गरेको छ ।

यसैगरी बजेटले रामराजा सिंह र गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु चार करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि  २ करोड रकम विनियोजन गरेको छ । त्यस्तै बजेटले प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि रु २० करोड तथा पोखरी सौन्दर्यकरणका लागि ३२ करोड विनियोजन गरेको छ ।

प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षका लागि  ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो भने आर्थिक वर्ष २०७६-७७ का लागि  ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । (रासस) 
 

प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्